छोरीहरूलाई उद्यममा लगानी खोज्न गाह्रो छ : अध्यक्ष खत्री
'एउटै घरमा छोराले उद्यम सुरु गर्छु भन्दा कति पैसा चाहिन्छ भन्ने सोध्ने अभिभावकले छोरीलाई त्यस्तो व्यवहार गर्दैनन् ।'

होटल अन्नपूर्णमा एचआर म्यानेजरका रूपमा तीन वर्ष काम गरिसकेकी मलिका राणा अहिले आईडिपी नेपालको एचआर म्यानेजरमा कार्यरत छिन् ।
‘एचआर (ह्युमेन रिसोर्स) मा काम गरेपछि प्रत्यक्ष रूपमा सीप विकास र रोजगारीका क्षेत्रमा योगदान पुर्याउने अवसर मिल्छ,’ उनी भन्छिन्, ‘एचआरमार्फत ‘स्टाफ हायर’ (कर्मचारी भर्ना) का बेलादेखि नै महिला र पुरुषबीच भेदभाव नगर्ने, महिलालाई प्राथमिकतामा राख्ने महत्वपूर्ण काम गर्दै लैंगिक क्षेत्रमा पनि टेवा पुर्याइरहेकी छु ।’ उनका अनुसार एचआरको मूल मर्म भनेकै सीप वृद्धि गर्ने, मानव संसाधनबीच प्रतिस्पर्धात्मक क्षमता बढाउने र जतिसक्दो बढी महिलालाई रोजगारीको अवसर प्रदान गर्नु हो । यही काममार्फत एक दशकदेखि उनले मुलुकलाई योगदान दिँदै आएको उनको भनाइ छ ।
मलिकाले जोन्टा क्लब अफ काठमाडौंसँग जोडिएर महिला सशक्तीकरण र समाजसेवामा काम गर्न थालेको पनि चार वर्ष पुगिसकेको छ । यो अवधिमा जोन्टामार्फत ‘मसिने भिलेज चन्द्रागरी’ मा निःशुल्क स्वास्थ्य सेवा तथा उपचार, दरबार हाइस्कुलमा लाइब्रेरी, नवलपरासीमा साइकल डोनेसनलगायतका सामाजिक काम सम्पन्न भइसकेका छन् । अहिले मलिका जोन्टाको ‘जेन्डर इक्वालिटी एन्ड सोसल इन्क्लुजन’ हेडका रूपमा समेत सक्रिय छिन् । ‘दुई वर्षभित्र महिला सशक्तीकरण र लैंगिक समानताका लागि सक्रिय रूपमा वकालत गर्दै समाजमा सकारात्मक परिणाम ल्याउने योजनामा छु,’ उनको योजना छ, ‘वर्कफोर्समा महिलाको संख्या बढाउने कार्यमा पनि उत्तिकै लागि पर्नेछु ।’