त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिइसकेको छ । यही चैत्र ८ हुने भनिएको स्ववियु निर्वाचनमा पहिलो पटक सभापतिमा महिला स्वतन्त्र उम्मेदवारको दावी परेको छ । स्याङ्जामा जन्मिएकी पदमा भुसाल स्वतन्त्र रुपमा सभापतिको उम्मेदवार बनेकी हुन ।
‘विद्यार्थी एकता, समावेशिता, लैङ्गिक समानता, सुरक्षित, सुसंस्कृत विश्वविद्यालय क्याम्पस क्षेत्र, अपाङ्ग मैत्री भौतिक संरचनाहरू, छात्र छात्राहरूको व्यवस्थित र सुरक्षित छात्रावास, निष्पक्ष र समानता को आधारमा छात्रवृत्ति कोषको वितरण, भ्रष्टाचारमुक्त प्रशासन, राजनीतिक हस्तक्षेप मुक्त, बिभेदमुक्त र न्यायोचित नियुक्तिहरू लगायतका धेरै विषयमा बहस गर्न सबल र दरिलो रुपमा विद्यार्थीहरूको प्रतिनिधित्व गरेर उपस्थिति जनाउन एक निर्भिक, साहसी, प्रलोभन मुक्त, जिम्मेवार र अनुभवी नेतृत्व यस विश्वविद्यालय क्याम्पसको स्ववियुमा आवश्यक छ ।’ चुनावी माहँैलमा व्यस्त पद्मा भन्छिन–‘यसकै लागि मैले आउंदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापति पदमा स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दिएकी हुं ।’
त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष को रुपमा आफ्नो दुई वर्षे कार्यकाल पूरा गर्दै गरेकी उनी बायोटेक्नोलोजी र ग्रामीण विकासकी विद्यार्थी हुन् । स्नातक तहको पढाइ अमृत क्याम्पसबाट सकेकी पदमा पहिलो कार्यकाल नेपाल विद्यार्थी सङ्घको प्रतिनिधित्व गर्दै कोषाध्यक्षमा निर्वाचित भएकी थिइन । अहिले भने लैङ्गिक विभेदता तथा भ्रष्टाचारमुक्त प्रशासन, अपाङ्गमैत्री भौतिक संरचना, २४ सै घण्टा सुरक्षित र शान्तिपूर्ण विश्वविद्यालय क्षेत्र, व्यवस्थित र सुरक्षित छात्रावास, विभेदमुक्त र नियमसंगत छात्रवृत्ति कोष, राजनीतिक हस्तक्षेप मुक्त र निष्पक्ष कर्मचारी नियुक्ति, विश्वविद्यालयका सेवाहरू पूर्णरूपमा प्रविधिमैत्री लगायतका विद्यार्थीसंग सम्बन्धित विविध नाराहरु लिएर स्वतन्त्र सभापतिको उम्मेदवार बनेकी हुन ।
पदमा भन्छिन, ‘विद्यार्थी माझ घुलमिल रहेको, निरन्तर अध्ययन गरिरहेको विद्यार्थी भएको नाताले तथा स्ववियुमा पदाधिकारीको रुपमा एक सफल कार्यकाल पूरा गरेको हिसाबमा पनि मलाइ एक अब्बल र सशक्त उम्मेदवार को रुपमा हेरिएको छ भन्ने महसुस गरेकी छु । विश्वविद्यालयका प्राध्यापक, प्रजातन्त्र समानता र निष्पक्षतामा विश्वासरत सम्पूर्ण विद्यार्थीहरूले मलाइ सघाउनेमा विश्वस्त छु ।’
उनले जीत–हार जे भए पनि आफू सधै स्वतन्त्र तथा स्वयत्त शिक्षामा जोड दिइरहने र विश्वविद्यालय क्याम्पसको गरिमा र प्रतिष्ठालाई उचाइमा पुर्याउका लागि सदा योगदान रहिरहने प्रतिबद्धता व्यक्त गरिन ।