पाकिस्तानी मूलकी मुस्लिम महिला जेहरा नक्भी अमेरिका प्रवेश गर्दा आप्रवासी थिइन् । अहिले उनी अमेरिकी कूटनीतिज्ञ छिन् । सुरुवाती दिनमा वकालत पेसामा संलग्न उनले पेन्सिलभेनिया विश्वविद्यालय र अमेरिकन युनिभर्सिटी वासिङ्टन कलेज अफ लबाट अध्ययन पूरा गरेकी हुन् । हाल अमेरिकी दूतावास काठमाडौंमा प्रवक्ताका रूपमा काम गर्न पाएकामा गर्व महसुस गर्ने नक्भीसँग लक्ष्मी भण्डारीले गरेको कुराकानी
कूटनीतिमा तपाईंको यात्रा कसरी सुरु भयो ?
सन् २०१६ मा अमेरिकी विदेश मन्त्रालयमा काम थालें । नेपाल आउनुअघि इजिप्ट र थाइल्यान्डमा कार्यरत थिएँ । कूटनीतिज्ञ हुँदा प्रभावशाली र आकर्षक काम गर्न पाइने, घुम्न पाइने, हरेक दिन नयाँ कुरा सिक्ने अवसर पाइने भएकाले यही क्षेत्र रोजें । प्रत्येक पोस्टिङमा राम्रा मान्छे भेट्ने, रमाइला ठाउँ घुम्ने र जीवन रूपान्तरण गर्ने खालका काम गर्ने मौका पाइरहेकी छु ।
अमेरिकी दूतावासका प्रवक्ताका रूपमा तपाईंको भूमिका के हो ?
मेरो काम नेपाली जनताले के सोचिरहेका छन्, कुन विषयमा चिन्तित छन् र के कुरामा आशावादी छन् भन्ने सुन्नु र बुझ्नु हो । म नेपालका सरकारी अधिकारी, विद्यार्थी, उद्यमी, पत्रकार, अभियन्ता र किसानसँग कुरा गर्छु । मानिसले के सोचिरहेका छन् र के चाहन्छन् भन्ने बुझ्नका लागि सामाजिक सञ्जाल पनि हेर्छु । हामी अमेरिकी को हौं, हाम्रो संस्कृति के हो र नेपालसँगको हाम्रो ७७ वर्षको सम्बन्ध कस्तो छ भन्ने विषयमा हाम्रा कथा साझा गर्नु मेरो कामको दोस्रो भाग हो । जस्तैः एमसीसी नेपाल कम्प्याक्टजस्ता अनुदान सहायता कार्यक्रममार्फत हामी नेपालीलाई सहयोग गर्दैछौं, जसबाट नेपाली जनताले थप रोजगारीका अवसर, गुणस्तरीय हरित ऊर्जा र उन्नत सडक पाउनेछन् । युएसएआईडीका कार्यक्रमले नेपाली महिला, पुरुष र बालबालिकालाई सघाएका छन् । सांस्कृतिक संरक्षण कोषमार्फत नेपालका महत्वपूर्ण सम्पदास्थलको जीर्णोद्धार भएको छ । साथै, पिसकोर, विद्यार्थी आदानप्रदान, दूतावासको युथ काऊन्सिल, क्रियटर्स मेला र अमेरिकन कर्नरजस्ता अन्य कार्यत्रममार्फत पनि हामीले सहयोग गरेका छौं ।
हामी सार्वजनिक कार्यक्रम र प्रेस संलग्नताका साथै सामाजिक सञ्जालमार्फत आफ्ना कथा प्रस्तुत गर्छौं । हाम्रा महत्वपूर्ण कामबारे नेपाली भाषामा प्रस्तुत गरिने ‘मन्थली हाइलाइट्स’ भिडियो शृखंला यसको एउटा उदाहरण हो । नेपालले विश्वव्यापी चुनौतीको सामना गर्दैगर्दा यसलाई थप आत्मनिर्भर, स्वतन्त्र र उत्थानशील बनाउन हामीले कसरी साझेदारी गरिरहेका छौं भन्ने कुरा बुझाउन यस्ता भिडियो सामाजिक सञ्जालमा राख्छौं । मेरो काम अत्यन्त फलदायी छ, किनभने यो सम्बन्ध निर्माण गर्ने विषयसँग सम्बन्धित छ । यसले नेपालसँगको हाम्रो मित्रताप्रतिको कटिबद्धतालाई झल्काउँछ र हाम्रा दुई देशबीचको सांस्कृतिक आदानप्रदानलाई सघाउँछ ।
दूतावासले नेपालमा महिलाका लागि कस्ता कार्यक्रम सञ्चालन गर्छ ?
नेपाली महिलालाई सहयोग गर्न अमेरिकी दूतावासले नेपाल सरकार र स्थानीय कार्यान्वयन साझेदारसँग साझेदारी गर्दै आएको छ । सन् २००० यता युएसएआईडीले नेपालको विकासका लागि १.५ अर्ब डलरभन्दा बढी अनुदान उपलब्ध गराइसकेको छ । २०२३ मा मात्र युएसएआईडीको सहयोगबाट १० लाखभन्दा बढी नेपाली महिलाको जीवनस्तरमा सुधार आएको छ । युएसएआईडीले महिलालाई जीवनको हरेक चरणमा सहयोग गर्छ । युएसएआईडीका कार्यक्रमले आमा तथा गर्भवती महिलालाई पोषण, परिवार नियोजन र बच्चा जन्माउने सम्बन्धमा आवश्यक स्वास्थ्य सेवा, तालिम र सूचना दिन्छन् । साथै, बाल, कम उमेरको र जबर्जस्ती विवाह रोक्नका लागि किशोरीहरूको सशक्तीकरणमा ध्यान दिन्छ । किशोरीलाई सुरक्षित तथा मर्यादित महिनावारीसम्बन्धी तालिम दिएको छ । सीमान्तकृत समुदायका बालिकाले आफ्नो भविष्य उज्ज्वल बनाउन पढाइलाई निरन्तरता दिन सकून् भनी उनीहरूलाई सुधारात्मक शिक्षा प्रदान गरेको छ । साथै, युएसएआईडीले लैंगिक–उत्तरदायी बजेटलाई समर्थन गर्छ र महिला किसान तथा महिलाले अगुवाइ गरेका व्यवसायलाई बीउ, मल र आर्थिक सहायता दिन्छ । अमेरिकी दूतावासले पत्रकार, उद्यमी, वकिल र ‘सर्भाइभर’ लगायतका नेपाली महिला परिवर्तनकारीहरूलाई विभिन्न अनुदान, आदानप्रदान कार्यक्रम र इन्टर्नसिप कार्यक्रममार्फत सहयोग गर्दै आएको छ । गतवर्ष विभिन्न पृष्ठभूमिका तीन प्रेरणादायी नेपाली महिलाहरूले इन्टर्नसिप कार्यक्रममा भाग लिए ।
महिलाको भूमिकालाई निर्णायक तहमा पुर्याउन विश्वव्यापी रूपमा कस्ता प्रयासहरू आवश्यक छन् ?
प्रतिनिधित्वको महत्वका बारेमा समूहमा, बैठक कक्षमा र निर्णय लिने क्रममा थप छलफल भएको राम्रो हो । तर निर्णय लिँदा क–कसको संलग्नता हुनुपर्छ भन्ने विषयमा हामी कसरी सोच्छौं, त्यसलाई बदल्न अझ धेरै काम गर्न बाँकी छ । हामीलाई आफ्नो समाजको विविधतालाई पूर्णरूपमा प्रतिबिम्बित गर्न सबै तहमा नेतृत्व चाहिन्छ । यो महिला वा संख्याको मात्र कुरा होइन । छलफल एवं निर्णय निर्माणमा विविधतायुक्त दृष्टिकोण र आवाज समावेश गर्ने अर्थपूर्ण अवसर चाहिन्छ । हामी किशोरीहरूलाई सफलताको सम्भावना देख्न कसरी सिकाउँछौं भन्ने कुरामा पुनर्विचार गर्न आवश्यक छ र उनीहरूले रोजेको क्षेत्रमा अगुवा बन्न सहयोग गर्नुपर्छ । महिलाका आशा र सपनालाई समेट्न र तिनलाई प्राप्त गर्न सघाउन आफ्नो सामाजिक मानसिकता परिवर्तन गर्न आवश्यक छ । युद्ध, जलवायु परिवर्तन र मानव बेचबिखनजस्ता विश्वव्यापी चुनौतीले महिलालाई असमान रूपमा प्रभाव पार्छन् । तर हामी तिनलाई कसरी सम्बोधन गर्ने भन्नेबारेका छलफलबाट महिलालाई बाहिर राख्छौं । धेरै काम हुनै बाँकी छन् । तर उत्साहजनक कुरा के छ भने छलफलहरू हुँदैछन्, पहिलेभन्दा धेरै महिलाले अवरोध तोडेका छन् र महिला अनि पुरुषले परिवर्तनका लागि सहकार्य गरिरहेका छन् ।
कूटनीतिमा महिलाहरूले कसरी प्रभावकारी रूपमा र दृढतापूर्वक काम गर्न सक्छन् ?
आत्मविश्वास, सञ्जाल निर्माण र लचिलोपन मुख्य कुरा हुन् । कूटनीति भनेको प्रभावकारी रूपमा सम्बन्ध व्यवस्थापन र निर्माण गर्ने विषयसँग सम्बन्धित हुन्छ । मेरो अनुभवमा महिलाहरू सामान्यतया सानो उमेरदेखि नै जटिल सम्बन्ध र परिस्थिति सम्हाल्न पोख्त हुन थाल्छन् । हामीले रूढिवादी सोचलाई परास्त गर्नुपर्छ, सामाजिक मान्यताको सामना गर्नुपर्छ र आफ्ना अनि अरूका लागि वकालत गर्नुपर्छ । हामीले परास्त गरेका सबै चुनौतीलगायतका हाम्रा पृष्ठभूमिले कुनै पनि क्षेत्रमा दृढतापूर्वक काम गर्नका लागि तयार पार्छन् । मेरो आफ्नै कुरा गर्नुपर्दा मैले आप्रवासीका रूपमा अनुभव सँगाल्ने क्रममा नयाँ भाषा सिक्नुपर्यो, नौलो वातावरणमा अभ्यस्त हुनुपर्यो, नयाँ समुदाय बनाउनुपर्यो । यसले मेरो पेसा रोज्ने कार्यलाई निकै प्रभावित गर्यो । नयाँ व्यक्ति अनि ठाउँका बारेमा सिक्ने मेरो दृष्टिकोणलाई पनि यसले प्रभावित गर्छ ।
विभिन्न देशमा काम गरिसकेपछि तपाईंको विचारमा महिलाले प्रगति गर्न र आत्मनिर्भर बन्नका लागि अपनाउनुपर्ने प्रमुख तीन कुरा के–के हुन् ?
मैले संसारभरि भेटेका सफल महिलाहरूमा देखेको साझा गुण, आत्मविश्वास, आफ्नो ‘कम्फर्ट जोन’ बाहिर जाने इच्छा र महिला तथा पुरुष सल्लाहकार अनि सहयोगीको बलियो सञ्जाल हो । म आफूलाई यस अर्थमा भाग्यमानी ठान्छु कि मैले सबै उमेरका ती विशेष महिला देखेकी छु जो साहसी छन् । उनीहरूका लागि होइनन् भनिएका भूमिका निर्वाह गरेका छन् र आफ्नै शङ्का वा अरूले उनीहरूका बारेमा गरेका शङ्काका बावजुद चुनौतीलाई जितेका छन् । यसरी नयाँ उचाइमा पुगेर असम्भवप्रायः देखिने कुरा पनि सम्भव छ र त्यसलाई पूर्णरूपमा हासिल गर्न सकिन्छ भन्ने देखाएका छन् ।
फुर्सदको समयमा के गर्न रुचाउनुहुन्छ ?
म संसारप्रति जिज्ञासु भएकीले नयाँ भाषा सिक्न, घुम्न र संसारभरका गीत–संगीत सुन्न मन लाग्छ । मलाई मनपर्ने नेपाली गीतमा वृजेश श्रेष्ठ र निकिता थापाको रङ्ग, सुशान्त केसीको अटेरी, वाङ्देनको तिमी नाच न र दीपक वज्राचार्यको मनमगन हुन् । मलाई महिला सशक्तीकरणसम्बन्धी पुस्तक पढ्न पनि मनपर्छ किनभने म केही महिलालाई ‘मेन्टर’ गर्छु । महिलालाई नेतृत्व गर्ने र सफल हुनेगरी सक्षम बनाउनु मेरो अनुरागको विषय हो । सिल्भिया एन हिउलेटको ‘एक्जेक्युटिभ प्रेजेन्स’ र एलिसन आर फ्रागेलको ‘लाइकेबल ब्याडयास’ मलाई मनपर्ने पुस्तकमध्ये पर्छन् । अहिले म लभी अजायी जोन्सको ‘प्रोफेसनल ट्रबलमेकर ः द फियर–फाइटर म्यानुअल’ पढ्दैछु ।
महिलाको जीवन सुखी र सन्तुष्ट बनाउनका लागि चाहिने मुख्य कुरा के हो ?
सबैका लागि एउटै सूत्रले काम गर्छ भन्ने छैन । मलाई संसारमा सकारात्मक प्रभाव पार्दा र महिलालाई सशक्त बनाउँदा खुसी र सन्तुष्टि मिल्छ । नयाँ ठाउँ घुम्न, नयाँ अनुभव बटुल्न र नयाँ समुदायमा पुग्न रमाइलो लाग्छ । महिलालाई जिम्मेवारी पूरा गर्न सिकाइएको हुन्छ । तर आफ्ना लागि समय दिनु, आफ्ना सपनामा केन्द्रित हुनु, आफूलाई खुसी बनाउने कुरालाई पछ्याउनु पनि उत्तिकै महत्वपूर्ण छ ।
भविष्यको योजना के छ ?
आशा छ, म नयाँ कुराको खोजी गर्न, सिक्न, कथा सुन्न र सुनाउन र जहाँ जसरी सकिन्छ सकारात्मक प्रभाव पार्न पाइरहनेछु । मेरो सल्लाह के छ भने सफलतालाई आफ्नै सर्तमा परिभाषित गर्नुपर्छ र जुन काम गर्न डर लाग्छ, त्यही गर्नुपर्छ । मैले रोजेको बाटो यही हो, जसले मलाई ठूल्ठूला उपलब्धितर्फ डोर्यायो । मैले आफ्नो पेसा बदलें, एकल यात्रामा पारंगत भएर अरूका लागि वकालत गर्ने अगुवा बनें । नेपालकी एक प्रेरणादायी कङ फु भिक्षुणीले भरखरै मलाई भनेजस्तै ‘हामी सबै आफ्नै हिरो बन्नुपर्छ ।’ साहसी बन्नुपर्छ । अरूले तपाईं जे गर्न सक्नुहुन्छ वा सक्नुहुन्न भन्छन्, त्यसलाई चुनौती दिनुपर्छ । तपाईंको वास्तविक क्षमता पहिल्याउनका लागि यो कुरा निकै महत्वपूर्ण छ ।