Successfully Copied

‘स्थायी राजनीति हो लेखन’

लेख्दा पनि पाठक वा श्रोताका सामुमा आफूले लेखेका हरफ–हरफमा लेखकले परीक्षा दिइरहेको हुन्छ । पाठकले लेखन मन पराएन भने लेखक उठ्नै सक्दैन । एउटा कृति राम्रो लेख्यो अर्को कृतिमा झनै ठूलो अपेक्षा पाठकले राखेको हुन्छन् । पाठकले लेखकसँग हर कृतिमा अपेक्षाको उचाइ बढाउँदै



कविता लेखनमार्फत साहित्यमा प्रवेश गरेकी सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ गत असोजमा सार्वजनिक भएको छ । विराटनगरमा बसेर सिर्जनाकर्ममा सक्रिय सीमाको यो चौथो पुस्तक हो । यसअघि ‘साँझको संघारबाट’ कविता संग्रह, ‘टापुका स्वरहरू’ कथासंग्रह र ‘म स्त्री अर्थात् आइमाई’ कवितासंग्रह प्रकाशित भइसकेका छन् । साहित्यमा निरन्तर लागिरहेकी सीमासँग साहित्य र जीवनको सेरोफेरोमा  गरिएको कुराकानी ः
लेखक बन्ने सपना सानैदेखिको थियो ?
सानामा सपना के थियो थाहा छैन । बुझ्ने भएपछि राजनीति गर्छु र गतिलो नेता बन्छु भन्ने लागेको थियो । बुझ्ने भएपछि राजनीतिमा टिकिरहन निक्कै गाह्रो देखें । अझ महिलालाई इज्जतपूर्वक टिक्न त झनै कठिन महसुस गरें । सानैदेखि लेखनमा पनि रुचि थियो । तर लेखेर के हुने, कसो हुने थाहा थिएन । विभिन्न कारणले सक्रिय राजनीतिबाट अलिक टाढा भएँ अनि लगातार लेख्नतिर लागें । लेखन भनेको स्थायी राजनीति नै हो भनेर लेख्दै गएपछि बुझें । लेखेर के–के गर्ने भन्ने सपना त अहिले पो बनिन्छन् ।


कसरी यो क्षेत्रप्रति आकर्षित हुनुभयो ?
आकर्षण कसरी हुन्छ भन्ने त थाहा हुँदैन । पाठ्यपुस्तकका रचना पढेर, आमाले पनि कविता लेखेको देखेर लेखे हुँला । आमाको गुण सरेको पनि हो कि ? तर समयले आमालाई लेखक बनाउनुको साटो गृहिणीमा मात्र सीमित गरिदियो । त्यो समयका अधिकांश गाउँले महिलाको नियति पनि यही हो । आमाले नपाए पनि मैले विद्यालय, विश्वविद्यालय जाने मौका पाएँ । विभिन्न पुस्तक पढ्ने अवसरबाट वञ्चित भइनँ । कविता सुनाउने, लेख्ने, छाप्ने गर्दागर्दै साहित्यतिरै रस बस्यो । समय, संगत, परिस्थिति अनि साहित्यिक तृष्णाले साहित्यमा आजसम्म टिकाइरहेको छ ।


लेखनमा कस्ता घटना वा परिस्थितिले प्रेरित गर्छ ?
आफूले देखेका, जानेका र भोगेका विषयले लेख्न प्रेरित गर्ने रहेछ । साहित्य लेखनमा काव्यिक कल्पनाशीलताको ठूलो भूमिका हुन्छ । कल्पनाशीलतालाई म विशेष ध्यान दिन्छु । म महिला भएकीले मैले आफूलाई जति अरू केही जानेकी हुन्न । त्यसैले मेरा लेखनका विषयको प्राथमिकतामा महिलाका विषय पर्छन् । साहित्य लेखनमा वैयक्तिक विषयलाई पनि आम विषय बनाउनुपर्छ । आम विषय बनाउँदा आफ्नै देश, समाज, भोगाइ, विभेदजस्ता विषय लेखनमा प्रबल भएर आइदिन्छन् । विभेदयुक्त समाजले, विभेदी धर्मले, विभेदी कानुनले, विभेदी राज्यले कदम–कदममा महिलामाथि गरेका विभेदसँग चरम असन्तुष्टि छ । चित्त दुख्छ, विद्रोह जाग्छ, अमानवीय विभेद अर्को पुस्तामा जान दिनुहुन्न । जति सकिन्छ कम गर्नुपर्छ भनेर लेख्छु ।


केही समय पढाउनुभयो, लेख्न सजिलो कि पढाउन ?
कुनै पनि काम ध्यानपूर्वक र इमान्दार भएर गर्‍यो भने सहज हुन्छ र आनन्दित पनि भइन्छ । जबर्जस्ती गरियो भने जे काम पनि अप्ठेरो हुन्छ । पढाउने र लेख्ने दुवै कठिन काम हुन् । पढाउँदा हरेक कक्षामा विद्यार्थीका सामु शिक्षकले परीक्षा दिइरहेको हुन्छ । आफ्ना विद्यार्थीका सामु पास हुनु भनेको विद्यार्थी माथिको न्याय पनि हो । शिक्षकले विद्यार्थीलाई न्याय गर्नु उसको दायित्व हो ।
लेख्दा पनि पाठक वा श्रोताका सामुमा आफूले लेखेका हरफ–हरफमा लेखकले परीक्षा दिइरहेको हुन्छ । पाठकले लेखन मन पराएन भने लेखक उठ्नै सक्दैन । एउटा कृति राम्रो लेख्यो अर्को कृतिमा झनै ठूलो अपेक्षा पाठकले राखेको हुन्छन् । पाठकले लेखकसँग हर कृतिमा अपेक्षाको उचाइ बढाउँदै लैजानु पाठकको अधिकार पनि हो । पाठकको त्यो अधिकार पूरा गर्ने दायित्व लेखकको काँधमा कठिनसँग उभिएको हुन्छ । पढाएको कुरा विद्यार्थीले बुझेमा आनन्द हुन्छ । त्यसैगरी लेखेको कुरा पनि राम्रो भयो भनेर पाठकले प्रतिक्रिया दिएमा खुसी लाग्छ ।

भर्खरै सार्वजनिक ‘महायुग’ कस्तो उपन्यास हो ?
महायुग कृतिमा कल्पनाशीलतालाई विशेष ध्यान दिएर लेखकीय इमान्दारीसाथ लेखेकी छु । यस समाजका जीवित र मृत स्त्रीहरूको जीवन र शक्ति प्रकटको कल्पना गरेर लेखेकी छु । प्रत्येक महिला ं पढ्नमा रुचि राख्नुहुन्छ भने एकपटक पढिदिनुस् । महिलाहरूलाई अझै बुझ्नका लागि पढ्नुस् भनेर अनुरोध गर्छु । मेरो दृष्टिमा महिलाहरूले आफूलाई र आफ्नो शक्तिलाई अझै बुझ्न बाँकी छ । यो विषयलाई विशेष गरी लेख्ने प्रयास गरेकी छु ।


पुरुषका तुलनामा महिला साहित्यकार कम छन् । किन होला ?
महिलाहरू साहित्यबाट कहिल्यै विमुख थिएनन् । महिलाहरूलाई घुम्टोभित्र राख्दा, हाँस्न, बोल्न नदिँदा पनि उनीहरू सिर्जनशील भएर बाँचिरहे । जाँतो, ढिकी र मेलापात गर्दा श्लोक कथेर गाउँथे । कीर्तनहरूमा भजन बनाएर गाउँथे । सङ्गिनी रचेर गाउँथे । रत्यौलीमा विभिन्न अभिनय र कथा बनाएर प्रदर्शन गर्थे । तीजमा घरपरिवार, समाज, माइतीले गरेका अन्यायका विरुद्धमा गीतमार्फत प्रकट गर्थे । खासमा तीजगीतमा विद्रोह प्रकट गरेर गाउँथे । राति सुत्दा छोराछोरी र नातिनातिनालाई कथा सुनाउने गर्थे । महिलाहरूको साहित्य यही थियो । तर महिलाका यस्ता सिर्जनालाई साहित्यको दर्जा नै दिइएन । किनकि महिलाहरूको आफ्नो शरीरमाथिको पनि अधिकार थिएन भने उनीहरूको सिर्जनालाई साहित्य मान्ने त सवालै थिएन ।
महिलाहरूसँग अक्षरमाथिको अधिकार थिएन । त्यसैले सुनेर, गुनेर र कथेर आमा, हजुरआमा, जिजुमाहरूले जीवित राखेको सिर्जनाको विभिन्न विधा नै साहित्य हो । तर त्यसरी कथेका कविता, श्लोक, भजन, कथा, सङ्गिनी, गीतमा कुनै व्यक्तिको नाम हुँदैनथ्यो । नाम हुनका लागि पहिला महिलाको स्वतन्त्र अस्तित्व हुनुपर्‍यो । आफैंले लेख्न र पढ्न जान्नुपर्‍यो, त्यो थिएन । त्यसैले जसले रचना गरे पनि व्यक्ति नभएपछि त्यो लोकको हुन्थ्यो । महिलावर्गले स्वीकार गर्थे र सबैले गाउँथे ।
जब महिलाहरूलाई पनि अक्षरमाथिको अधिकार आयो तब मात्र लेख्न थाले । आफ्ना सिर्जना पुरुषहरूका जस्तै लेख्न थाले अनि मात्र साहित्य भनियो । तर स्त्रीसाहित्य आमा, हजुरआमा, जिजुमाहरूले हामीलाई उहिल्यै दिएका छन् । साहित्यको दर्जा नदिए पनि त्यो स्त्रीसाहित्य थियो । अहिले पनि महिला लेखकले लेखेको साहित्यलाई मूलधारको साहित्यको दर्जामा पुर्‍याउन महिला लेखकहरूको संघर्ष अलग छ ।


कस्ता पुस्तक पढ्न मन लाग्छ ?
फिक्सन र ननफिक्सन राम्रा पुस्तक जे पनि पढ्छु । विधा यही नै हुनुपर्छ भन्ने छैन ।

 Image