कवि रेनुका भट्टको नयाँ कवितासंग्रह ‘प्रेमी पहाड’ प्रकाशित छ । ३१ कविता संग्रहीत किताबले मान्छे बाँचिरहेको समय र उसले भोगिरहेको संकटबारे विमर्श गर्छ । देश, राजनीति, क्रान्ति, अपेक्षा, सपना, प्रेम, आशा, निराशा र जीवन भोगाई भट्टका कविताका विषय हुन् । उनीसँग गरिएको कविता–वार्ता :
नेपाली कविताका बलिया र कमजोर पक्ष के के हुन् ?
नेपाली कविताका बलिया र कमजोर पक्षबारे बोल्दा नेपाली समाजका बलिया र कमजोर पक्षबारे पनि बोल्नुपर्छ । हाम्रो समाज जस्तै हाम्रा कविता पनि ठीकै अवस्थाका छन् कि धेरै कुरामा हामी पछाडि भए पनि हाम्रो सामाजिकता, सहयोगी भावना, करुणा र दु:ख बुझ्ने कुराको छाप हाम्रा कवितामा छन् । तर आधुनिकता, विज्ञान र जीवनबोधको विषयमा हाम्रो चेतना अलिक पछाडि नै छ । कवितामा कविले आफू बाँचेको समय र समाजलाई प्रतिनिधित्व गर्ने हुँदा समाज निक्कै पछाडि छ भने साहित्य मात्र नाटकीयरूपले अगाडि बढ्न सक्दैन ।
तपाईंको नयाँ कविता किताब ‘प्रेमी पहाड’ को प्रतिक्रिया कस्तो छ ?
म अहिले युरोप बस्ने भएकाले नेपाल हुँदा जति सहज छैन किताबको प्रतिक्रिया पाउन । तर पनि साथीभाइ र कविता प्रेमीबाट जति पनि प्रतिक्रिया पाएँ यो मेरो लेखनको लागि सकारात्मक ऊर्जा हुनेछ । खुसीको कुरा मेरो यो कविता संग्रह स्वेडिश र फिन्निस भाषामा पनि अनुवाद हुँदैछ । केहि कविता चिनियाँ भाषामा पनि अनुवाद भएका छन् । अरु भाषामा पनि काम गर्ने कोशिशमा छु ।
अग्रजहरूका विचार र शैलीका पथ अनुकरण गरेर पछिल्लो पुस्ता अघि बढ्दै जाँदा उसले आफ्नै किसिमका निजत्व पनि दिएको पाइन्छ । तपाईं आफूलाई चाहिँ कुन अग्रज कविको निकट मान्नुहुन्छ ?
समयको विकास क्रममा गोरेटाहरु पक्कि बाटोमा परिणत भएजस्तै कविताको राजमार्ग पनि त्यसै गरी विकास हुँदै जाने हो भन्दा फरक नपर्ला । विगतका सबैको योगदान हामीले बिर्सिनु हुँदैन । मेरा कवितामा पनि अग्रज र समकालीनका कविता पढेर आएको चेतना, बनेको शैली आएको हुन सक्छ । तर म, म नै भएकाले आफ्नोपन दिने प्रयास सँधै गरिरहन्छु ।
तपाईंका कवितामा तत्कालीन पात्र, प्रवृत्ति र घटनाप्रति असन्तोष, आक्रोश र असहमति पोखिएको देखिन्छ । आफू बाँचेको समयप्रति यतिविघ्न असन्तुष्टि आउनुका पछाडिको कारण के हो ?
मान्छे चेतनशील प्राणी हो । ऊ स्वभावैले कुनै एउटा अवस्थामा चुप लगेर बस्न सक्दैन । त्यति मात्र होइन मान्छे सधै नयाँ कुरा खोजिरहेको हुन्छ । नयाँ ठाउँ जाने र केहि न केहि नयाँ खोजी गर्ने भोकले नै मान्छे आजको अवस्थामा आइपुगेको हो । अहिले देशको अवस्था हेर्नोेस् त, त्यसले बेलाबेला आक्रोश उमार्छ नि । मेरो कवितामा पनि म बाँचेकै समय अनि समाज आउने त हो नि ।
आफ्ना सुरुका र पछिल्ला कवितामा के परिवर्तन भेट्नुहुन्छ ?
सुरुमा जे लेखे पनि खुब लेखियो भन्ने लाग्छ । विचार र शैलीले हामी बिस्तारै माझिदै जान्छौं । पहिला संख्यात्मक रूपले धेरै लेख्न सकियोस् भन्ने लाग्थ्यो भने अब थोरै लेखौं तर राम्रो लेख्न सकौं भन्नेतिर कविताको गुणात्मकता हेर्न थालेको छु ।
कविको जनसंख्या अत्यधिक छ । अनेक शैली, प्रकृति र विचारका कविता प्रचुर मात्रामा लेखिँदै छन् । यस्तोमा तपाईं आफूचाहिँ कस्तो कविता लेखिरहनुभएको छ?
धेरै कवि हुनु अनि धेरै कविता लेखिनु पनि राम्रो हो नि, होइन र ? यी धेरै लेखिएका कविताबाट नै राम्रा कविता छानिएर आउँछन् । विदेश आएपछि जीवन र संघर्षका अनेक आयाम बुझ्न पाएकी छु, कवितामा तिनै विषय लेख्छु । सकेसम्म यता लेखिएका साहित्य पनि नजिकबाट नियाल्ने कोसिस गरेको छु । मेरो बुझाइ, भोगाई र मैले आफुले नजिकबाट नियालेको अनुभवलाई सारमा दिने प्रयासमा छु ।