आरती पौडेल
नेपालीहरू विदेश पढ्न जाँदा प्राय: लत्ता, कपडा, चाहिने भाँडाकुँडाका साथै आवश्यक सामग्री लिएर जान्छन् । अपरिचित सहर, मेसो नपाउने साथै किन्न गाह्रो हुने सोचेर नै धेरैले त्यही गर्छन् । तर कोही यस्ता पात्र पनि भेटिन्छन्, जसले आफ्ना सपनालाई प्राथमिकता दिन्छन् ।
तिनैमध्येका एक हुन्, आदी पौडेल । जसले करिब १५ केजी रङ र ब्रस बोकेर तीन वर्षअगाडि बेलायत पुगेका थिए । आदी चित्रकार, फोटोग्राफरका साथै कन्टेन्ट क्रियटर हुन् । उनले रङभित्रको दुनियाँलाई आफ्नो क्षमताका साथै कलामार्फत नेपाली पहिचान विदेशी भूमिमा स्थापित गरेका छन् ।
रङले भरिएको लगेज गन्तव्यसम्म नपुग्दै पाङ्ग्रा भाँचिएको क्षण आज पनि उनलाई ताजै लाग्छ । त्यही लगेज लिएर बस स्टेसन हँुदै कोठासम्म पुग्दाको संघर्ष पनि उनको स्मृतिमा ताजै छ । ‘आफ्नो जन्मभूमिबाट सपनाको खोजीमा निस्किएको तीन वर्ष भइसकेछ,’ उनी सुनाउँछन् ।
उनलाई पनि बेलायत पुगेका सुरुवाती दिन सहज थिएनन् । अञ्जान सहर, चिसो मौसम, नयाँ परिवेश, परिवारको सम्झना सबै कुराले थिचेको महसुस गरेका थिए । तर हार मान्ने वा निराश भएर बस्ने छूट र विकल्प थिएन । आदी आफूसँगै बोकेर गएका हजार सपना पूरा गर्ने अठोट लिएका थिए । एक दिनको कुरा हो, आदी कलेज गएर आएपछि खाली समयमा के गर्ने होला सोच्दै थिए । त्यत्तिकैमा उनलाई कोठा भन्दा बाहिर गएर चित्र बनाउन मन लाग्यो । आफ्ना सबै रङका भारी बोकेर उनी लन्डन ब्रिज पुगे । आदीले त्यहाँ लाइभ पेन्टिङ गरेका थिए । उक्त पेन्टिङ नै उनलाई सामाजिक सञ्जालमा चिनाउने पहिलो माध्यम बन्न पुग्यो । उनले भने, ‘लन्डन ब्रिजमा पुगेर मैले बनाएको पेन्टिङ साथै आफ्नै आवाजमा त्यहाँको परिवेश समेटेर अपलोड गरेको भिडियो सबैले मन पराए ।’
विस्तारै उनका भिडियोलाई धेरैले मन पराएर प्रशंसा गर्न थालेका थिए । कलेजका साथी हुन् वा ट्रेनमा भेटिएका नेपाली लन्डन ब्रिजको पेन्टिङको खुब प्रशंसा गर्थे । आदीलाई त्यही क्षणले हौसला थप्ने काम गर्यो । उनले पहिले आफूले बनाएको पेन्टिङको फोटो भिडियो खासै राख्दैनथे । राखिहाले पनि युटुब्मा राख्न रुचाउने उनी विस्तारै विभिन्न स्थानमा यात्रा गर्दै त्यहीँ बसेर ‘लाइभ ल्यान्डस्केप’ चित्रहरूका भिडियो सामाजिक सञ्जालमा पनि राख्न थाले । त्यसरी नै विदेशमा नेपालीले गरेका संघर्षका कथाहरू आफ्नो मौलिक भाषामा प्रस्ट रमाइलो शैलीमा समेत भन्न थालेका थिए । उनको फरक शैलीले सबैको मन जित्दै गयो । उनले बनाएका चित्रले जितेको धेरैको मन आदीले रमाइलो कुराकानी शैलीमा राखेको भिडियोले पनि जित्छ ।
त्यसपछि आदीलाई एकाएक विभिन्न देशबाट पेन्टिङको अर्डर आउन थाल्यो । उनले भने, ‘नयाँ सहर, आफूलाई घरको सम्झना मेटाउन खाली समयमा बनाएका चित्रका भिडियोहरू राखेको थिएँ । एकाएक विभिन्न ठाउँबाट पेन्टिङको अर्डर आउन थाल्यो ।’
आदीलाई सबैभन्दा धेरै ‘मेमोरी पेन्टिङ’ को अर्डर आउने गरेको छ । उनले मानिसका सम्झनालाई चित्रमार्फत क्यानभासमा जीवन्त बनाउँछन् । कोही उनले बनाएका चित्र पाएर निकै भावुक भएका हुन्छन् ।
यद्यपि उनी कलालाई आम्दानीको माध्यम मात्र नभई भावनात्मक अभिव्यक्तिको साधन पनि मान्छन् । अन्य पेसामा पनि आबद्ध भएकाले उनले खाली समयमा मात्र पेन्टिङ गर्छन् । ‘अफिस बिदा भएको दिन त कहिले काम सकेर आएपछि खाली समयमा पेन्टिङ गर्छु,’ उनले भने । बेलायतमा मात्र नभएर अस्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउस आदिमा पुगेर पनि लाइभ पेन्टिङ गरेका छन् ।
उनका सिर्जना बेलायतसँगै अस्ट्रेलिया, अमेरिका, फिनल्यान्ड, नर्वे र स्पेनलगायतका देशसम्म पुगेका छन् । बेलायतका नेपाली रेस्टुराँ र त्यहीँका स्थानीय रेस्टुराँमा उनले बनाएका पेन्टिङ, वाल पेन्टिङ देख्न सकिन्छ ।
आदीलाई हरेक चित्रको पछाडिका कथा, संघर्षहरू भेटिन्छन् जस्तो लाग्छ । ‘साधारण बनाएजस्तो लागे पनि हरेक चित्रमा फरक कथा, संघर्ष जोडिएका हुन्छन् । केवल सुन्दर हुनु मात्र राम्रो चित्र होइन,’ उनी भन्छन्, ‘चित्र कति सुन्दर भन्दा पनि किन र कुन परिवेशमा बनाइयो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’
आदी बाल्यकालदेखि नै पढ्न अब्बल थिए । पर्वत फलेवासमा सामान्य परिवारमा जन्मेका उनी सानैदेखि चित्रहरूमा रुचि राख्थे । चित्र बनाउने रुचि भए पनि उनी रङहरूसँग भने अपरिचित थिए । किनभने, त्यस समय उनका लागि चित्र कोर्ने रङ पाउनु भनेको सपना जस्तो थियो । खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं उनले गाउँमा पाइने खरी ढुंगामा, स्कुलमा हुने कालो पार्टीमा आफूलाई मन परेको चित्र कोर्थे । स्कुलमा चक भेटाउँदा उनी निकै खुसी हुन्थे ।
‘चित्र बनाउने रङ भने उनले कक्षा ७ पढ्दा पाएको बताए । त्यसअघि पेन्सिल, चक, ढुंगाको सहयोगले नै चित्र कोर्थे,’ उनले भने । सामान्य परिवारमा जन्मिएका आदि घरबाहिरको काम खेत जोतेर घास काँट्दै स्कुल पढेका थिए ।
विद्यालयमा हुने चित्रकला प्रतियोगितामा उनी भाग लिने र सधै जित हासिल गर्थे । एसएलसीपछि उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका थिए । प्लसटुमा विज्ञान विषय लिएर पढेका आदिले आफ्नो रुचिको विषय फरक भएको महसुस गरी आर्ट पढ्ने सोच बनाए । परिवारको साथ र सहयोग मिलेपछि ललितकला क्याम्पसबाट ‘फाइन आट्र्स’ मा स्नातक गरेका थिए । साथै रत्न राज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता तथा आमसञ्चार विषयमा पनि स्नातक गरेका थिए । आदिले लन्डन पुगेर फाइन आट्र्समै स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।
आदीले नेपालमा हँुदा चित्रकलालाई पर्यटनसँग जोड्ने उद्देश्यले ‘आर्ट फर टुरिजम’ अवधारणामा काम गरेका थिए । उनले नेपालका विभिन्न ६० भन्दा बढी जिल्लामा पुगेर चित्र बनाउँदै सांस्कृतिक अभिव्यक्ति प्रस्तुत गरिसकेका छन् । साथै पर्यटन प्रवद्र्धनसम्बन्धी पुस्तक पनि उनले लेखेका छन् । उनले भने, ‘नेपालका हरेक ठाउँ, संस्कृति र कलालाई संसारमा चिनाउनु मेरो मुख्य उद्देश्य थियो ।’
उनले नेपाल कला परिषद्मा आफ्ना कला धेरै पटक प्रदर्शनी गरेका छन् । स्वेदश वा विदेश जहाँ भए पनि आफ्नो क्षमता पहिचान गरी अघि बढेमा सफलता हात पर्ने कुरा गर्वसाथ सुनाउँछन् ।
गाउँका ढुंगा, स्कुलको कालोपाटीमा चित्र कोरेका आदी अहिले विभिन्न देशका भित्तामा चित्र कोरेर आफ्नो कलामार्फत नेपालीपनलाई रङहरूले विश्वसामु चिनाइरहेका छन् । उनी आगामी दिनमा विभिन्न देशमा पुगेर ‘आर्ट टुर’ गर्ने सपना रहेको सुनाउँछन् । सामाजिक सञ्जाललाई आफ्नो कला प्रचारको प्रभावकारी माध्यम मान्छन् । भन्छन्, ‘अहिले सामाजिक सञ्जालले क्षमता, कला प्रस्तुत गर्ने माध्यम बनेका छन् । यसले आफ्नो कलालाई पेसा मात्र नभएर, जीवन जिउने आधार बनाएको छ ।’
बढी माया: मनीषा कान्छी दिदी
शक्ति: दादा
स्नेह: ममी
प्रभावशाली महिला: बिना दिदी
आकर्षक महिला: अञ्जना माइली दिदी
मनपर्ने लेखक: नारायण बाग्ले
भेट्न मन लागेकी नारी: आङ सान सू ची