आरती पौडेल
गाउँघरमा हुने देउडा खेल्दा कहिले रात पथ्र्यो । त्यो ‘रात’ प्रति समाजको दृष्टि अँध्यारो थियो । रातसँग छोरीचेलीलाई जोडेर हेर्ने नजरिया असल थिएन । ‘राति छोरीलाई के गर्न पठाएका हुन् ? छोरीमान्छे बिग्रन्छन्’ भन्दै विभिन्न किसिमका कुरा गाउँलेले घरमा सुनाउँथे ।
यस्ता आलोचनाबीच पनि विपना सिंहले आफ्नो पाइला रोकिनन् । किनभने उनको सबैभन्दा ठूलो शक्ति परिवार सधैं उनको साथमा थियो । भन्छिन्, ‘आफ्नो सन्तानप्रति परिवारको विश्वासका कारण कहिल्यै तिमी गीत नगाऊ, यो पेसा राम्रो होइन भन्नु भएन ।’
स्कुलमा हुने कार्यक्रममा उनी देउडा खेल्न जान्थिन् । सानैदेखि संगीतप्रति गहिरो रुचि राख्ने उनी हरेक प्रतियोगितामा उत्कृष्ट बन्दै गइन् । अरुका कुरा नसुनी आफ्नो सपना पूरा गर्न परिवारले दिएको हौसला नै उनका लागि लाख भइदियो ।
उनका बुवा पहिले पत्रकार थिए, अहिले राजनीतिमा सक्रिय छन् । आमा पनि गीत गाउँछिन् । यही वातावरणले विपनालाई अझ आत्मविश्वासी बनायो ।
विपनालाई एउटा क्षण निकै प्रिय लाग्छ । उनी १६ वर्षकी हुँदा सुर्खेतको रंगशालामा हजारौं दर्शकमाझ देउडा खेलेकी थिइन् । उक्त प्रस्तुति सबैले मन पराएका थिए । त्यही क्षणले उनलाई थप ऊर्जा प्राप्त भएको थियो ।
त्यसको केही समयपछि १७ वर्षकै उमेरमा विपना काठमाडौं आइन् । सधै देउडा गाएकी उनलाई काठमाडौं आउनासाथ इन्द्रेणीमा दोहोरी गाउने अवसर मिल्यो । ‘झल्को लाली ओठको बाटो खुल्यो–मोटर चल्यो जुम्ला काली कोटको’ भाकामा उनले दोहोरी गाएकी थिइन् ।
पहिलो दोहोरी काठमाडौंमा के–कसो होला भन्ने प्रश्न उनको मनमा आएका थिए । तर कलाकार छत्र शाहीसँग गाएको दोहोरी नै जीवनको ‘टर्निङ पोइन्ट’ बन्यो । सबै दर्शकले दोहोरी रुचाए । विपनालाई विभिन्न ठाउँबाट दोहोरी, गीत रेकर्डका लागि प्रस्ताव आउन थाले । उनले एकपछि अर्काे हिट दोहोरी समेत गाउन थालिन् । उनले राजु परियार, खुमन अधिकारी, प्रकाश पराजुली आदि कलाकारसँग गाएको दोहोरी दर्शकले निकै रुचाएका छन् ।
उनले गाएका गीत पनि उत्तिकै चर्चित छन् । अरे वा, सुनौली कोल, चर्कालाई चर्कै छु जस्ता गीत उनले गाएकी छिन् । उनले लाइभ दोहोरी, ठाडी भाका ५ सयभन्दा बढी गाएको सुनाइन्् ।
सुदूरपश्चिमदेखि कर्णालीका मेला, महोत्सवमा अफर आउँछन् र उनी सहभागी हुन्छिन् । भनिन्, ‘सबै ठाउँबाट धेरै दर्शकले माया गर्नुभएको छ । कोही त भावुक पनि हुनुहुन्छ । मलाई माया गर्ने हरेक दर्शकलाई देखेर खुसी लाग्छ ।’
विपना देउडा र दोहोरी दुवै गाउन निकै सिपालु छिन् । त्यसैले दर्शकहरूको साथ पाउँदै आएकी छिन् । उनले भनिन्, ‘प्रत्यक्ष प्रस्तुतिमार्फत देउडा खेल्ने, दोहोरी गाउने भएर होला सबैले मन पराउनुभएको छ ।’ उनले भारतका विभिन्न ठाउँमा दुई पटक पुगेर गाउने अवसरसमेत पाइन् ।
कालीकोट महाबै–४ घर भएकी विपना २० वर्षकी भइन् । अहिले उनी ब्याचलर तेस्रो सेमेस्टरमा कानुन पढ्दै छिन् । गायन क्षेत्रसँगै वकिल बन्ने सपना पनि पूरा गर्ने सोच रहेको उनले सुनाइन् । वकिल बनेर आफ्नो गाउँघरमा हुने महिला–पुरुष असमानताको खाडललाई पुर्ने मन छ उनलाई ।
हिजोसम्म छोरीमान्छे एक्लै कार्यक्रममा जान हुँदैन भन्ने समाज आज भने विपनाले राम्रो गरेको भन्दै प्रशंसा गर्छन् । ‘अहिले सबैले माया गर्नुहुन्छ । म गीत गाउन गएको कार्यक्रममा पनि आउनुहुन्छ खुसी लाग्छ ।’
उनी परम्परा, संस्कृति झल्कने पोसाकमा प्राय: मेला–महोत्सवमा पुगेकी हुन्छिन् । जसलाई सबै दर्शक–श्रोताले मन पराइरहेका छन् । आउँदा दिनमा पनि यसरी नै आफ्नो संस्कार र संस्कृति जोगाउँदै अगाडि बढ्ने चाहना रहेको उनले सुनाइन् । ‘देश–विदेशमा बस्ने सबैबाट सधै यसरी नै साथ, माया पाऊँ भन्ने छ,’ उनले भनिन्, ‘आफ्नो गाउँठाउँ, भाषा, संस्कृति चिनाउन सधै यसरी नै अगाडि बढ्ने छु ।’