Successfully Copied

क्यामेराक्रेजी भगवती 

झन्डै २१ वर्षअघि चन्द्रकला क्षेत्री (भगवती) अनेकौं सपना बोकेर गुलम गुल्मीबाट काठमाडौं झरिन् । भविष्य बनाउन सहर पसेकी उनी सहरै सहरको बीचमा अन्योलमा परिन् । के गर्ने, कसो गर्ने, कहाँ जाने मानौं कुहिरोमा हराएको कागझैं बन्न पुगिन् ।

झन्डै २१ वर्षअघि चन्द्रकला क्षेत्री (भगवती) अनेकौं सपना बोकेर गुल्मीबाट  काठमाडौं झरिन् । भविष्य बनाउन सहर पसेकी उनी सहरै सहरको बीचमा अन्योलमा परिन् । के गर्ने, कसो गर्ने, कहाँ जाने मानौं कुहिरोमा हराएको कागझैं बन्न पुगिन् । यसैक्रममा उनका दाइले भनेछन्, ‘फोटो र भिडियोग्राफी सिक ।’ फोटो र क्यामेरा उनको भन्दा पनि दाइको सोख थियो । दाइले आफ्नो रहर बहिनीबाट पूरा गर्न खोजे । दाइको सल्लाह ठीकै होला भनेर उनले फोटोग्राफी र भिडियोग्राफीबारे प्रशिक्षण लिइन् । प्रशिक्षार्थीमा उनी एक्ली महिला थिइन् । करिब छ महिनाको तालिमले उनलाई फोटोग्राफी, भिडियोग्राफी र सम्पादनमा पोख्त बनायो । प्रशिक्षण सकिएपछि उनी विवाहको फोटो, भिडियो सम्पादन गर्न थालिन् । सिकेको सीप प्रयोग गर्ने सोचले उनी मिडिया क्षेत्रमा लागिन् । ‘गोर्खा एफएम’बाट उनले मिडियाको करिअर सुरु गरिन् । एफएममा ‘गोर्खाली गाथा’ बज्ने गर्थ्यो । त्यसमा लाहुरेका कथा–व्यथाहरू प्रस्तुत हुन्थे । उक्त कार्यक्रम नेपाल टेलिभिजनमा बज्थ्यो । त्यसमा फोटो खिच्ने, सम्पादन गर्नेदेखि प्रोडक्सनसम्मका काम उनले गरिन् । ‘इमेज एफएम’ को ‘अर्थ संसार’ मा उनले क्यामेराबाट गजबको भूमिका निर्वाह गरिन् । एफएममा काम गर्दै ‘क्यामेराम्यान’ का रूपमा ‘एभिन्युज टेलिभिजन’मा प्रवेश गरिन् । जब उनले टेलिभिजनमा काम सुरु गरिन् तब उनका संघर्षका दिनहरू सुरु भए । 

‘क्यामेराम्यान’ कम, त्यसमा पनि महिला, भिडियोग्राफीका रूपमा बिरलै भेटिन्थे । ठूलो क्यामेरा र ट्राइपड स्ट्यान्ड बोक्नुपर्ने, नेताहरूको भाषण बढी क्याप्चर गर्नुपर्ने हुन्थ्यो । उनले अतीत सम्झिदै भनिन्, ‘टेलिभिजनका लागि भिडियो खिच्दा एकदमै कठिन हुन्थ्यो, कुरेर बस्नुपर्ने, बाइट सबै क्याप्चर गर्नुपर्ने हुन्थ्यो ।’ उनलाई दुई घण्टासम्म उभिएर भिडियो खिचेको सम्झना छ । नखिचौं नेताको ‘बाइट’ छुट्छ खिचौं कतिन्जेल उभिने भन्ने थुप्रै अवस्थालाई उनले छिचोलेकी छन् । रिपोर्टरको निश्चित बिट हुने तर ‘क्यामेराम्यान’ ले सबै खिचेर भिडियो बनाउनुपर्थ्यो । सबैभन्दा बढी लाइभ कार्यक्रम खिच्न उनलाई सकस हुन्थ्यो । उनले भनिन्, ‘क्यामेराम्यानलाई सबैभन्दा बढी सकस भनेको लाइभ कार्यक्रममा घण्टौं उभिएर रेकर्ड गर्नुपर्ने हो ।’ छोटो केश, टाउकोमा क्याप, पछाडि क्यामेराको झोला यही नै उनको टेलिभिजनको पहिरन हुन्थ्यो । झट्ट हेर्दा केटाजस्तो देखिने उनलाई टेलिभिजनमा क्याप लगाउने केटी भनेर चिनिन्थिन् । जतिबेला जहाँ पनि कुद्नुपर्ने भएकाले उनलाई यही गेटअप नै सहज लाग्थ्यो । के रात, के दिन, क्यामेरा बोकेर कुद्नुपर्थ्यो । राति १२–१ बजेसम्म सिंहदरबार घुमेका थुप्रै सम्झना छन् उनीसँग । उनले भनिन्, ‘रातको समयमा धेरै पटक संसद्मा रेकर्ड गरेकी छु, राति कतिपटक सिंहदरबार घुमेको यादै छैन । २०–२५ जना पुरुषमा तीन जना महिलामात्र क्यामेरामा थिए । एभिन्युज, एबीसी, कान्तिपुर टेलिभिजनमा मात्र सीमित महिलाहरू थिए ।’ महिलाहरू फिल्डमा देखेर सबैले भन्थे–‘महिलाहरू राति–राति किन फिल्डमा ? घरमा बसेर आराम गर्दा हुने हो ।’ 

यसो त उनलाई डेस्कमा काम गर्न अनुरोध पनि गरे तर उनको मन फिल्डमै दौडिरह्यो । त्यसैले उनीहरू आलोचनाहरू सुन्दै काममा निरन्तर खटिरहे । उनले भनिन्, ‘हामीलाई सबैले महिलाका रूपमा हेर्थे तर हामी पुरुषसरह नै काममा खटिन्थ्यौं । ’त्यसबेला क्यामेराले खिचेर डिबी चक्कामा रेकर्ड गर्नुपर्थ्यो । जति टाइम रेकर्ड गर्‍यो त्यति नै टाइम कम्प्युटरमा सार्न लाग्थ्यो, भिडियो सम्पादन गर्न पनि सयम उत्तिकै लाग्थ्यो । टेलिभिजनमा‘स्टिङ अपरेसन’ चाहिँ उनका लागि चुनौतीको काम थियो । बाटोमा मानिसहरूलाई ‘प्रांक’ गर्दै भिडियो खिच्नुपर्थ्यो । यो क्रममा उनले गाली मात्र होइन कहिलेकाहीँ कुटाइसमेत खाइन् । 

भीडभाडदेखि आन्दोलनसम्म दिनरात खटिनैपर्थ्यो उनलाई । ०६९ को अन्त्यतिर कमलरी आन्दोलन चर्किएको थियो । सिंहदरबारअगाडि आन्दोलनकारी र प्रहरीबीच भिडन्त चलिरहेको थियो । त्यसबेला उनी आन्दोलनको भिडियो क्याप्चर गर्दै थिइन् । आन्दोलनकारीले ढुंगामुढा गर्दै उनीतिरै पुगेछन् । उनीसँग हातमा क्यामेरा थियो । क्यामेरा जोगाऊँ कि आफूलाई–उनलाई सास्ती पर्‍यो । तत्काल उनी भुइँमा बसेर आफूलाई सुरक्षित बनाइन् । उनलाई अचेल लाग्छ सायद त्यसरी नबसेको भए मेरो टाउको काटिन्थ्यो ? आन्दोलनदेखि झडपसम्ममा क्यामेरा चलाएर चुनौती लिँदा टेलिभिजनले भने क्यामेरा र गाडीलाई प्राथमिकता दिन्थ्यो । उनले भनिन्, ‘कुनैपनि आन्दोलनमा होस् वा झडपमा पर्दा टेलिभिजन टिमले क्यामेरा कुन, कुन गाडी प्रयोग भएको चासो देखाउँथ्यो, रिपोर्टर, क्यामेराम्यानको भने अन्तिममा मात्र खोजी हुन्थ्यो ।’ लामो समय क्यामेरा बोक्दा स्वास्थ्य समस्या देखिन थाल्यो । चिकित्सकले लामो समय नउभिन उनलाई अनुरोध गरे । विदेश जाने योजनाका साथ दुई वर्षका लागि बिदा मागिन् । बिदा स्वीकृत नभएपछि उनले राजीनामा दिई विदेश गइन् । 

पछि मिडियामा काम नगर्ने निर्णयका साथ उनी स्वदेश फर्किइन् । थुप्रै मिडियामा अफर आउन थाले । त्यसपछिउनले ‘कमान्डर पोस्ट’मा काम थालिन् । उक्त दैनिक पत्रिकामा उनले एक्लै फोटोको काम सम्हालिन् । त्यसपछि उनी ‘नयाँ पत्रिका’ हुँदै सरकारी मिडिया राष्ट्रिय समाचार समितिमा विगत ५ वर्षदेखि कार्यरत छिन् । टेलिभिजनको भन्दा पत्रिकामा फरक अनुभव उनले बटुलिन् । टेलिभिजनमाक्यामेरादेखि गाडी उपलब्ध हुन्थ्यो भने पत्रिकामा सबै आफैंले व्यवस्था गर्नुपर्छ । एफएम, पत्रिकाको अनुभव बटुल्दै उनी यतिबेला सरकारी मिडियाको अनुभव बटुलिरहेकी छन् । सरकारी मिडियामा काम गर्न सहज महसुस गरेकी छन् उनले । ‘निजी मिडियाको जस्तो त्यति दौडधूप गर्नुपरेको छैन । फोटो खिच्नु नै उनको दैनिकी हो । आफूलाई उनी क्यामेराक्रेजी भएको र त्यसैमा लत लागेको बताउँछिन् । उनले भनिन्, ‘फोटो खिच्नु मेरा लागि लत नै भएको छ, भविष्यमा अरू पेसा रोजे पनि क्यामेरा भने छोड्न सक्दिन होला ।’ 

(कुराकानीमा आधारित)

 Image