वैज्ञानिक मनीषा
संघर्ष नगरी कुनै पनि सपना पूरा हुँदैन, कामप्रति रुचि राखेर अगाडि बढेको खण्डमा हरेक मानिसले आफ्नो लक्ष्य प्राप्त गर्न सक्छन् ।’
नेपालमा ज्योतिषशास्त्र अझै पनि पुरुषप्रधान क्षेत्रका रूपमा चिनिन्छ । विशेषगरी देशको पश्चिम भागमा त यो क्षेत्रमा महिलाको सहभागिता न्यून देखिन्छ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् ।
ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ?
यो विषयमा आकर्षण भयो भन्नुभन्दा पनि पारिवारिक पृष्ठभूमिले गर्दा म यसमा आइपुगेकी हुँ । हजुरबुवा–बुवाले संस्कृत पढ्नुभयो । हाम्रो गाउँमा नजिकको विद्यालयमा पढ्नुपर्ने बाध्यता पनि थियो । ब्याचलरसम्म आइपुग्दा कहिलेकाहीँ जबर्जस्ती पढेजस्तो पनि लाग्थ्यो, किनकि साथीहरू आधुनिक विषयमा पढिरहेका हुन्थे, म ज्योतिषशास्त्र पढिरहेकी थिएँ । संस्कृत विश्वविद्यालयमा आचार्य गरेपछि यही क्षेत्रमा सक्रिय भएँ ।
तपाईं कुन विधामा आफूलाई दक्ष ठान्नुहुन्छ ?
म ज्योतिषशास्त्रमा विशेष रुचि राख्छु र त्यही विषयमा राम्रो ज्ञान छ । ज्योतिषमा दुई विधा छन्–फलित र सिद्धान्त । फलित ज्योतिष भनेको भविष्यवाणी गर्ने पक्ष हो भने सिद्धान्त ज्योतिष ग्रह गणनासँग सम्बन्धित छ । समाजमा सिद्धान्त ज्योतिषप्रति बुझाइ कम भएको महसुस गरेर मैले यसतर्फ अझ बढी रिसर्च र अध्ययन गर्न थालेकी हुँ ।
आधुनिक जीवनशैलीमा ज्योतिषशास्त्रलाई कसरी हेर्न सकिन्छ ?
धेरै मानिसले यो विषयलाई विश्वास नगर्ने गरेको देखिन्छ । तर ज्योतिषशास्त्र पूर्णतः विज्ञानसँग सम्बन्धित छ । कहिलेकाहीँ यो विज्ञानभन्दा पनि माथिको विषय हो भन्ने लाग्छ । ग्रहहरू र तिनको चालले मानवीय जीवनमा पार्ने प्रभावलाई यसको माध्यमबाट बुझ्न सकिन्छ सही विधिबाट ग्रहको गणना गरेर जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । यो कर्मसँग पनि जोडिएको विषय हो । यो वर्तमान समयमा बुझेर मनन गर्नुपर्ने कुरा हो ।
नयाँ पुस्ताले यसमा कस्तो धारणा राख्ने गरेका छन् ?
अहिले समय बदलिएको छ । नयाँ युवाहरू यसप्रति आकर्षित हुन थालेका छन् । उनीहरूमा यसप्रति सकारात्मक सोच र विश्वास बढ्दै गएको देखिन्छ । अहिले स्कोप तथा आम्दानी राम्रो छ । साथै मानिसलाई आत्मसन्तुष्टि दिन सकिन्छ भन्ने ठूलो कुरा हो । मानिसहरूको मन बुझ्न र समाधान दिन सक्नु आफैंमा सन्तोषजनक अनुभूति हो ।
प्रसंग बदलौं, महिनावारीको समयमा तपाईं काम गर्नुहुन्छ कि हुन्न ?
ज्योतिषशास्त्रसँग अध्यात्म पनि जोडिएको हुन्छ । यस्तो बेलामा ध्यान केन्द्रित गर्न कठिन हुन्छ । मेरो अनुभवमा महिनावारी प्राकृतिक प्रक्रिया हो । यति बेला हुने शारीरिक पीडाका कारण ध्यान भंग हुने र ऊर्जाको व्यवस्थापन गर्न नसक्ने अवस्था आउँछ । त्यसैले महिनावारीको समयमा म व्यक्तिगत रूपमा भविष्यवाणी गर्दिन ।