Successfully Copied

क्यानभासमा फैलिरहेकी एरिना

तीन दशकभन्दा बढी समयको सिर्जनायात्रामा एरिना आफ्ना चित्रमा मात्र सीमित रहिनन् । नेपाली कला क्षेत्र, कलाकारको अवस्था, नयाँ पुस्ता र मौलिक कला–परम्परासँग उनको सम्बन्ध निरन्तर फराकिलो हुँदै गयो ।


सिर्जना दुवाल
वर्षौंसम्म एरिना ताम्राकारका क्यानभासमा थर्ड आई सिरिजमार्फत महिलाहरूका आँखा बन्द थिए । अहिले उनका नयाँ चित्रहरूमा आँखाहरू खुलेका छन् ।
महिला, सम्बन्ध, पहिचान, चेतना र शक्तिका विविध पक्ष उनका चित्रका निरन्तर विषय हुन् । लामो समयसम्म उनले आँखा चिम्लिएका महिला पात्रमार्फत भित्री चेतना र आत्मविश्लेषणलाई प्रस्तुत गरिन् । ‘थर्ड आई’ उनका लागि बाहिरी आँखाले नदेख्ने दृष्टिको प्रतीक थियो, आफूभित्र हेर्ने र जीवनलाई अझ गहिराइबाट बुझ्ने माध्यम ।
सन् २०२६ मा प्रस्तुत ‘म’ शीर्षकको एकल प्रदर्शनीमा भने ती आँखा खुले । यो एरिनाको चित्रको शैलीमा आएको परिवर्तन मात्रै थिएन वर्षौंदेखि बाहिरी संसार र मानवीय सम्बन्धलाई नियाल्दै आएकी कलाकारको दृष्टि यसपटक अझ भित्री यात्रातर्फ मोडिएको थियो । ‘मभित्रको ‘म’ लाई केलाउन खोजेकी छु,’ उनी भन्छिन् ।
उनी क्यानभासमा एउटा पात्र मात्र बनाउँदिनन्, हेर्ने मानिसलाई पनि त्यसको हिस्सा बनाइदिन्छिन् । उनका चित्रलाई नियाल्दै जाँदा दर्शकले चित्रमा आफूलाई नै भेट्न थाल्छ । मानौं क्यानभासमा चित्रित पात्र उसको आफ्नै प्रतिबिम्ब हो र त्यो ‘म’ विस्तारै चित्रबाट फर्केर हेर्ने मानिसभित्र प्रवेश गर्छ ।
तीन दशकभन्दा बढी समयको सिर्जनायात्रामा एरिना आफ्ना चित्रमा मात्र सीमित रहिनन् । नेपाली कला क्षेत्र, कलाकारको अवस्था, नयाँ पुस्ता र मौलिक कला–परम्परासँग उनको सम्बन्ध निरन्तर फराकिलो हुँदै गयो । काष्ठमण्डप आर्ट ग्रुपदेखि इ आर्टस् नेपालसम्मको संस्थागत यात्राले त्यसलाई थप विस्तार गर्‍यो ।
२०८३ मा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको कुलपति बन्नु उनको यात्राको अर्को महत्वपूर्ण चरण हो । लामो समय क्यानभासमा काम गरेकी कलाकार अब नेपाली कलाको ठूलो परिदृश्यमा आफ्नो अनुभव, दृष्टि र जिम्मेवारीलाई विस्तार गर्ने ठाउँमा पुगेकी छन् । किरण मानन्धर, रागिनी उपाध्याय, केके कर्माचार्य, नारदमणि हार्तम्छाली पछि एरिना ताम्राकार पाँचौं कुलपति हुन् ।
पाटनको गल्लीबाट क्यानभाससम्म
एरिनाको बाल्यकाल सम्पदाले भरिएको पाटनका मठ–मन्दिर, पुराना गल्ली र नेवार सांस्कृतिक वातावरणबीच बित्यो । पाटन दरबार क्षेत्र आसपास हुर्किएकी उनी ताम्राकार परिवारकी छोरी हुन् । उनको परिवार परम्परागत धातु–कलासँग जोडिएको थियो । हजुरबुवा, बुवा र काकाहरू तामा, पित्तललगायतका धातुबाट भाँडा, पूजाका सामग्री र विभिन्न आकृति बनाउने काम गर्थे ।
ज्यासलभित्र धातुमा ज्यावल ठोकिँदा निस्कने आवाज उनको बाल्यकालको परिचित धुनजस्तै थियो । तामाका पाता, पित्तलका सामान र धातुका आकृतिहरू बन्दै गरेको हेर्दै उनी हुर्किइन् । बुवाको पसलमा बसेर काम हेर्नु, पसल कुर्नु उनका लागि सामान्य दिनचर्याको हिस्सा थियो । तर त्यतिबेला उनले पुर्खाहरूले गरिरहेको त्यो कामलाई ‘कला’ का रूपमा बुझेकी थिइनन् । उनका लागि कला भनेको मुख्यत: चित्र बनाउनु थियो ।
बुवाको पसलमा बस्दा उनले नेपाल भाषाका पुस्तक र पत्रपत्रिका खुब पढिन् । नेपाल भाषामै कविता लेख्न थालिन् । उनी त्यतिबेला महिलामाथि हुने असमानता, महिलाहरूको पीडामा खुबै नेपाल भाषाका कविता लेखे । गीत गाउने र कापीका पानामा चित्र कोर्ने उनको रुचि थियो । कहिलेकाहीँ धूपका बट्टाका खोलसमेत उनका लागि चित्र कोर्ने ठाउँ बन्थे । केही समय भ्वाइलिन पनि सिकिन् ।
बाल्यकालको एउटा सानो घटना उनलाई अझै सम्झना छ । धूपको खोलमा उनले राधाको चित्र कोरेकी थिइन् । चित्र पूरा भएपछि आफूले बनाएको चित्र उनलाई निकै राम्रो लाग्यो । त्यो अनुभवले उनको मनमा चित्रप्रतिको रुचि अझ बढाएको हुनसक्छ । कम्तीमा, आफ्नै हातले बनाएको चित्रलाई हेरेर आफूलाई खुसी लागेको त्यो क्षण उनको बाल्यकालीन सिर्जनात्मक स्मृतिमा भने बसेको छ ।
त्यसपछि चित्रप्रतिको उनको रुचि विस्तारै गहिरिँदै गयो । पाटनको सांस्कृतिक परिवेश, घर–परिवारको सिर्जनात्मक वातावरण र बाल्यकालदेखि नै चित्र, कविता र संगीतप्रतिको आकर्षणले उनको रुचिलाई आकार दिादै लग्यो ।
कलाकार बन्ने निर्णय
पाटन क्याम्पसमा आईए पढ्दै गर्दा बुवाले कलासम्बन्धी औपचारिक पढाइ हुने ठाउँबारे सुनाए । ललितकला पढ्न पाइन्छ भन्ने थाहा पाएपछि उनी ललितकला क्याम्पसमा बुझ्न गइन् र तत्कालै भर्ना भइन् । त्यहाँ पुगेपछि उनलाई लाग्यो– सायद मैले खोजिरहेको बाटो यही हो ।
कलालाई औपचारिक रूपमा पढ्न सकिन्छ भन्ने बुझेपछि उनको मनमा विस्तारै एउटा अठोट बस्यो–अब जीवनलाई अरू कुनै बाटोमा मोड्ने होइन, कलामै आफूलाई खोज्ने हो ।
चार दशकअघि कलाकार बन्ने निर्णय गर्नु आजजस्तो सहज थिएन । कला रोज्नु भनेको निश्चित भविष्यभन्दा एउटा अनिश्चित यात्रालाई रोज्नुजस्तै थियो । तर एरिनाले अनिश्चिततालाई भन्दा मनको आवाजलाई विश्वास गरिन् ।
त्यही क्रममा कलेजमा उनको भेट कलाकार प्रशान्त श्रेष्ठसँग भयो । प्रशान्तको मार्गदर्शनले उनलाई कलाकारितामा टिकिरहन मात्र होइन, कलालाई हेर्ने र बुझ्ने दृष्टि पनि फराकिलो बनाउँदै लग्यो । उनकै अगुवाइमा सुरु भएको काष्ठमण्डप आर्ट ग्रुप यस यात्राको अर्को महत्वपूर्ण आधार बन्यो । साझा स्टुडियोमा कलाकारहरू सँगै काम गर्थे, एक–अर्काका सिर्जना हेर्थे, प्रश्न उठाउँथे र नयाँ प्रयोगबारे छलफल गर्थे । एरिनाका लागि त्यो ठाउँ औपचारिक कक्षाभन्दा फरक किसिमको सिकाइको वातावरण थियो, जहाँ क्यानभाससँगै संवाद, बहस र निरन्तर अभ्यासबाट कलाकार बन्ने प्रक्रिया अघि बढ्थ्यो ।

विवाह कि कला ?
कलामा जति गहिरिँदै गइन्, एरिनालाई विवाहपछि कलाकारितालाई कसरी निरन्तरता दिने भन्ने प्रश्नले पनि पछ्याउन थाल्यो । परिवार र जिम्मेवारीसँगै क्यानभासका लागि समय र ठाउँ जोगाउन सकिएला कि नसकिएला भन्ने चिन्ता थियो ।
त्यो समय वरिपरिका महिला कलाकारहरूको जीवनलाई उनी ध्यानपूर्वक हेर्थिन् । शशिकला तिवारी र चन्दा श्रेष्ठजस्ता कलाकारहरूलाई देख्दा एरिनाको मनमा पनि कहिलेकाहीँ आउँथ्यो, विवाह नगरी कलामै समर्पित भएर बाँचूँ । विवाह गर्ने हो भने, आफ्नो कलाकारितालाई बुझ्ने र सम्मान गर्ने कलाकारसँगै गरूँ ।
काष्ठमण्डप आर्ट स्टुडियोमा कलाकार आशा डंगोल पनि थिए । दुवै एक–अर्काको सिर्जनात्मक संसारसँग परिचित हुँदै गए । कलाकार भएर बाँच्नुको अर्थ, त्यसका संघर्ष र सिर्जनाका लागि चाहिने स्वतन्त्रता, यी कुरा उनीहरू एक–अर्काले बुझ्थे । सायद यही बुझाइले उनीहरूको सम्बन्धलाई पनि गहिरो बनाउँदै लग्यो । अन्तत: एरिना र आशाले विवाह गरे । एरिना र आशाबीच एक–अर्काको सिर्जनालाई बुझ्ने, सम्मान गर्ने र आफ्नो कलायात्रालाई निरन्तरता दिने वातावरण दुवैले पाए । दुवैका क्यानभास अलग थिए, अभिव्यक्ति अलग थिए तर सिर्जनाप्रतिको समर्पण समान थियो । 

कलाकारबाट कुलपतिसम्म
२०८३ साउनमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको कुलपति नियुक्त भएपछि एरिना ताम्राकारको यात्रा व्यक्तिगत सिर्जनाबाट संस्थागत नेतृत्वतर्फ विस्तार भएको छ । अब उनको अगाडि आफ्नै क्यानभास मात्र छैन, नेपाली ललितकलाको समग्र परिदृश्यलाई फराकिलो बनाउने ठूलो जिम्मेवारी पनि छ ।
कुलपति बनेपछि एरिनाले नेपाली कलाको विकासलाई समकालीन सिर्जनामा सीमित राख्न नहुने सोच अघि सारेकी छन् । कला क्षेत्रका विभिन्न विधा, इतिहास, परम्परा र लोककलालाई अनुसन्धानमा आधारित भएर अभिलेखीकरण र संरक्षण गर्ने उनको योजना छ । विशेषगरी नेपालका विभिन्न भूगोलमा पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका मौलिक लोककला, स्थानीय कला–परम्परा र समुदायको कलात्मक ज्ञानलाई समान प्राथमिकताका साथ अगाडि ल्याउने उनको चाहना छ ।
उनको दृष्टिमा नेपालका सातै प्रदेश कला र संस्कृतिका आफ्नै विशिष्ट पहिचान बोकेका भूगोल हुन् । ती क्षेत्रका मौलिक कला, कलाकार, परम्परा र इतिहासलाई खोज, अनुसन्धान र अभिलेखमार्फत दस्तावेजीकरण गर्दै भावी पुस्ताका लागि सुरक्षित राख्ने कामलाई उनले प्राथमिकतामा राखेकी छन् । कुनै समय स्थानीय समुदायभित्र मात्र सीमित रहेका कला र कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने वातावरण बनाउनु पनि उनको योजनाको एउटा महत्वपूर्ण पक्ष हो ।
यसका लागि आफूसँगै सिर्जनशील, ऊर्जावाने र विभिन्न विधामा सक्रिय कलाकारहरूको समूह रहेको उनी बताउँछिन् । कलाकारितामा लामो समयदेखि हासिल गरेको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा प्रविधिलाई जोडेर नेपाली ललितकलामा केही दीर्घकालीन र सम्झनलायक काम गर्ने उनको सोच छ ।
एरिनाका लागि कुलपति पद कलाकारिताबाट टाढा जाने ठाउँ होइन, बरु आफूले वर्षौंदेखि क्यानभासमा खोज्दै आएको कला–चेतनालाई अझ फराकिलो क्षेत्रमा विस्तार गर्ने अवसर हो । आफ्नो क्यानभासमा ‘म’ खोज्दै आएकी कलाकार अब नेपाली कलाको ठूलो क्यानभासमा देशका विविध कला, इतिहास र पहिचान खोज्ने यात्रामा छिन् ।
थर्ड आइ’ बाट ‘म’ सम्म आइपुग्दा उनले खोजेको कुरा अन्तत: आफूभित्रको चेतना नै हो । अब त्यही खोज व्यक्तिगत क्यानभासबाट बाहिर निस्केर नेपाली कलाको फराकिलो संसारतर्फ फैलिएको छ । एरिनाका लागि ‘म’ अन्तिम बिन्दु होइन, आफूलाई चिन्ने एउटा बाटो हुँदै ‘हामी’ सम्म पुग्ने यात्रा हो । 

 Image