आरती पौडेल
पोखरामा जन्मी–हुर्किएकी रोजिना आचार्य क्षेत्री उमेरले २५ वर्षकी भइन् । सानैदेखि पढाइमा अब्बल हुनुका साथै स्कुलका हरेक प्रतियोगितामा सहभागी उनी वादविवाद, वक्तृकलामा उत्कृष्ट हुन्थिन् । पढाइमा रुचि राख्ने र बोल्न नलजाउने कारण शिक्षक र छरछिमेकले उनका अभिभाकलाई भन्थे–छोरीलाई वकिल बनाउनुपर्छ है ।
सायद यही हौसलाले हुनुपर्छ, उनी कानुनी क्षेत्रमा छिन् । ‘साथीभाइदेखि आफन्त, इष्टमित्र, शिक्षक, सबैले प्रोत्साहन गुर्नभयो,’ उनी भन्छिन्, ‘त्यसैले वकिल बनेर सत्यका लागि लड्नुपर्छ भन्ने सोच सानैबाट थियो ।’
पढ्न–लेख्न मात्रै होइन उनलाई अदालतका दृश्य भएका फिल्ममा रुचि थियो । ‘किनकिन कानुनसँग जोडिएका फिल्मले मलाई निकै प्रभावित पार्थ्यो । सत्यको जित भएका फिल्म मेरो रोजाइमा पर्थे,’ उनले भनिन् ।
पोखराकै एक कलेजबाट साइन्स विषय लिएर प्लसटुमा उत्कृष्ट नतिजा हासिल गरेकी रोजिनालाई मेडिकलतिर जाऊँ कि आफ्नो सपनालाई निरन्तरता दिऊँ भन्ने कुराले पिरोल्न थाल्यो । ‘त्यतिबेला पढाइमा राम्रो गर्नेले मेडिकल लाइन नै पढ्नुपर्छ भन्ने हुन्थ्यो, त्यसैले पनि म आफ्नो सपनालाई निरन्तरता दिऊँ कि डाक्टर बनौं भन्ने कुरामा अलमलमा थिएँ,’ उनी भन्छिन् ।
आफूले पढेका स्कुलका शिक्षकले दिएको सल्लाहले नै कानुन विषयमा प्रवेश गरेको उनले बताइन् । ‘दोधारबीच नै म शिक्षकसँग सल्लाह लिन पुगें । तिमी एमबीबीएस पढेर मध्यमवर्गको विद्यार्थी हुन चाहन्छौ कि कानुन पढेर आफ्नो सपनालाई निरन्तरता दिँदै अब्बल विद्यार्थी हुन चाहन्छौ भन्नुभयो,’ उनले सुनाइन्, ‘उहाँले भनेको यो वाक्यले गर्दा नै सपना पूरा गर्ने सोच बनाएर कानुन विषय रोजें ।’
परिवारको साथ पाएकी रोजिनाले काठमाडौंमा रहेको नेपाल ल क्याम्पसमा कानुन विषयमा नाम निकाल्न सफल भइन् । पाँच वर्षे बीए एलएलबी निरन्तर मेहनतका साथ पढेकी रोजिनाले सधै उत्कृष्ट नम्बर ल्याइन् । भन्छिन्, ‘मेहनत गर्नुर्पछ तब मात्र आफूले चाहेको हरेक कुरा प्राप्त गर्न सकिन्छ ।’
नेपाल कानुन व्यवसायी परिषद्द्वारा सञ्चालित अधिवक्ता तहको ३२ औं परीक्षाको नतिजा गत वर्ष चैतमा प्रकाशित भएको थियो । उक्त नतिजामा रोजिना सर्वोत्कृष्ट भइन् । १० उत्कृष्टमध्ये ७ जना त महिला नै थिए ।
पाँच वर्ष पढेको कुराले नै अधिवक्ताको लाइसेन्स परीक्षामा राम्रो गर्न सकेको उनको भनाइ छ । ‘मेरो रुचिकै विषय भएको कारणले पनि होला बोझ लाग्ने हिसाबले कहिल्यै पनि पढ्न परेन र मैले पाँच वर्षमा जे जति पढें, सोही लाइसेन्स परीक्षाका लागि महत्वपूर्ण बन्यो,’ उनी भन्छिन्, ‘म पढाइमा कहिल्यै प्रेसर लिन्नँ, सकारात्मक भएर लाग्ने हो भने सोचेअनुरूपको नतिजा आउने रहेछ ।’
रोजिना अबका दिन नेपालमै बसेर वकालत क्षेत्रमा अझै शसक्त बन्न चाहन्छिन् । ‘सार्वजनिक सरोकारको विषयमा मलाई रुचि छ,’ उनको सपना छ, ‘पीडितको आवाजलाई न्यायालयसम्म पुर्याएर सत्यको जितको साक्षी बन्न चाहन्छु ।’