Successfully Copied

विमलाको छलाङ

अहिले पनि महिलालाई हेर्ने दृष्टिकोण फरक नै छ । उनलाई कत्ति ठाउँमा त हलेसी तुवाचुङबाट आएको भन्दा ‘कर्मचारी हो, उपमेयर हो’ भनेर सोध्ने धेरै भेटिन्छन् ।


घरमा राजनीतिक वातावरण थिएन भने विमला राई आज सायद राजनीतिमा सक्रिय हुन्न थिइन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा अरू नै कोही हुन्थे कि बुवा दानबहादुरले राजनीतिको जग घरमै खडा गरिदिएकाले नै उनलाई राजनीतिमा लाग्न सहज भयो । त्यसताका घर सानोतिनो राजनीतिक ‘सेल्टर’ नै थियो । त्यसैले जान्ने–बुझ्ने हुँदा राजनीतिबारे धेरै कुरा सिकिसकेकी थिइन् ।  दानबहादुर पञ्चायतकालमा प्रधानपञ्च थिए । जसले गर्दा घरमा पाहुना नभएको दिन हुँदैन थियो । कति समय त उनको पाहुनाको स्वागतमै बित्थ्यो । घरमा आउनेहरूले राजनीतिक कुरा सुनाउँथे, त्यसैले उनी यसबारे ‘अपडेटेड’ हुन्थिन् । पञ्चायती व्यवस्थापछि जेठा दाइ देवेन्द्र पनि राजनीतिमा सक्रिय हुन थाले । त्यतिबेला देवेन्द्र च्यास्मिटार गाविसको अध्यक्ष नै बने । नेपाली कांग्रेस खोटाङको उपसभापति र जिल्ला विकास समीतिको सदस्य भए ।  विमला भने २०७४ सालमा हलेसी तुवाचुङ नगरपालिकाको उपमेयर निर्वाचित भइन् । पछि २०७९ सालमा सबै दल एकातिर हुँदा पनि उनी नेपाली कांग्रेसबाट आफ्नो समूह बनाइ चुनावी प्रतिस्पर्धामा उत्रिइन् । अन्ततः मेयर, उपमेयरसहित अधिकांश वडा उनको पार्टीले जित्यो । त्यसो त उनको राजनीतिक यात्रा यत्तिमै भने टुंगिदैन । यो अवस्थासम्म आइपुग्न राम्रै मेहनत गरिन् । निकै आरोह अवरोह खेपिन् ।

दुर्छिम माध्यमिक विद्यालयबाट एसएलसीसम्मको पढाइ पूरा गरिन् । विद्यालय पढ्दाबाटै उनी राजनीतिमा सक्रिय भइन् । त्यतिबेला विद्यार्थी राजनीति हाबी हुन्थ्यो । अहिले कमजोर हुँदै गएको उनको बुझाइ छ । विद्यालयबाट अहिले राजनीति क्याम्पसतिर सरेको उनी सुनाउँछिन् । ‘त्यतिबेलाको व्यवस्था परिवर्तन गर्न हामी तम्सिन्थ्यौं,’ उनी भन्छिन्, ‘विद्यालयमा पढ्दादेखि नै नेतृत्वको पछाडि लागेर हिंड्न थालें ।’ २०५५/२०५६ सालमा एसएलसी उत्तीर्ण गरेकी उनी थप अध्ययनका लागि छिमेकी जिल्ला ओखलढुंगा पुगिन् । जहाँ हिमालय पारा मेडिकलमा सीएमए पढ्न भर्ना भइन् । त्यहाँ राजनीति गर्न पाइँदैन थियो । पछि २०५८ सालमा दिक्तेल बहुमुखी क्याम्पसमा ११ र १२ पढ्न भन्दै भर्ना भइन् । उक्त क्याम्पसमा २०६१ सालदेखि नेपाल विद्यार्थी संघको इकाइ कोषाध्यक्ष भएर काम गरिन् । शिक्षा संकायमा भर्ना भएर स्नातकसम्मको पढाइ त्यहीँ सकिन् । ‘नेविसंघमा काम गर्दैगर्दा केही संघसंस्थाहरूमा पनि काम गर्न थालें, पछि विद्यार्थी राजनीति छाडेर मूल पार्टीतिर लागें,’ उनी भन्छिन्, ‘२०६७ सालतिर नेपाल महिला संघको जिल्ला सचिव भएर काम गरें ।’ अहिले उनी पार्टीको कोशी प्रदेश सदस्य छिन् । ‘कोशी प्रदेशमा कार्य सम्पादन समिति सदस्य सँगै संसदीय समितिमा पनि छु,’ उनले भनिन्, ‘२०६२/२०६३को जनआन्दोलनपछि अन्तरिम संविधान आयो, अन्तरिम नै भए पनि त्यो उन्नत थियो ।समावेशीताको कुरा थियो ।’ २०७२ सालमा संविधान आयो । यो बेलासम्म धेरै कुरा परिवर्तन भइसकेका थिए । नेपाली राजनीतिमा महिलाहरूको साझा फोरम, अन्तर पाटी महिला सञ्जाल छ । यसको खोटाङको अध्यक्ष भएर उनले दुई वर्ष काम गरिन् । ‘ठूलो पार्टीबाट नेतृत्व गर्नुपर्ने भएकाले मैले नेतृत्व गरेको थिएँ, जसमा संविधान सभा सदस्यहरू पनि हुनुहुन्थ्यो, यो बेला मैले आफूलाई निखार्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छिन् ।


महिला हिंसाको कुरा होस् चाहे महिला सहभागिताको सवाल । महिला राजनीति सुनिश्चिताका कुरा होस् वा दुःखमा परेका महिलाहरू हुन् । सहारा भनेको ‘अन्तर पार्टी महिला पार्टी सञ्जाल’ बन्यो । पार्टी नहेरी महिला भनिसकेपछि त्यो फोरमले काम गर्थ्यो । ‘यसले पनि मलाई नेतृत्व विकासमा सहयोग गर्‍यो,’ उनी भन्छिन्, ‘२०७२ को संविधान जारी भएर मुलुक संघीयतामा गएपछि पार्टीबाट उपमेयरका लागि टिकट पाएँ ।’उपमेयर सहजै रूपमा जितिन् । पाँच वर्ष राम्रोसँग काम गरिन् । ‘अब मेयर भएर काम गर्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छिन्, ‘पालिका, क्षेत्र, जिल्लाबाट मलाई सिफारिस गरिएन, म प्रदेश संसदीय समितिमा थिएँ, त्यहाँ पनि कुरा भयो, तर अन्तिम समयमा आएर मात्र मलाई पार्टीले टिकट दियो, अरु पार्टी सबै एकातिर हुँदा पनि पार्टीबाट एक्लै चुनाव लडेर जितें ।’
तर, अहिले पनि महिलालाई हेर्ने दृष्टिकोण फरक नै छ । उनलाई कत्ति ठाउँमा त हलेसी तुवाचुङबाट आएको भन्दा कर्मचारी हो, उपमेयर हो भनेर सोध्ने धेरै भेटिन्छन् । ‘नेपाली राजनीतिमा महिलाहरूलाई प्रवेश पाउन सजिलो हुन्छ भनेर मेयरमा उठ्ने हिम्मत गरें, फेरि पार्टीको अस्वस्थ प्रतिस्पर्धाका कारण निकै पेलिएँ,’ उनी भन्छिन्, ‘उपमेयर भन्दा मेयरको भूमिका एकदमै फरक छ, नागरिकप्रति उत्तरदायी बढी हुनुपर्छ, नगरपालिकालाई कस्तो बनाउने भन्ने भूमिका ठूलो हुन्छ ।’

मेयर भइसकेपछि सबैलाई नेतृत्व गर्नुपर्ने उनले सुनाइन् । ‘सबै पक्षलाई समेट्नुपर्छ, अवस्थानुसारको अपेक्षा हुन्छ, आम नागरिकको अपेक्षा दीर्घकालीन सोच, दीर्घकालीन विकास निर्माण, दिगोपनको कुरामा पनि जोडिन्छ,’ उनी भन्छिन्, ‘सबै अपेक्षालाई सन्तुलित रूपमा पूरा गर्दै लग्नुपर्छ, यसमा मेयरको भूमिका ठूलो हुन्छ ।’ आफ्नो पालिका पहिले कस्तो थियो र अहिले कस्तो भयो भन्ने कुरा हेरेर थाहा हुने उनको तर्क छ । ‘३० प्रतिशतले पनि विद्युत् उपभोग गर्न पाएका थिएनन्, सडक सञ्जाल विस्तारका लागि ५० हजार विकास बजेट हुन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले बस्ती–बस्तीमा सडक पुगेको छ, भलै दिगो छैन ।’ हलेसी क्षेत्रमा ठूलो समस्या खानेपानीको छ । ‘मुख्य समस्या खानेपानीको छ, मूल स्रोतको पहिचान गरेर काम गरेका छौं,’ उनी भन्छिन्, ‘८ वर्षअघिको हलेसी र अहिलेको हलेसी, त्यो बेलाको गाउँबस्ती र अहिले गाउँबस्तीमा धेरै परिवर्तन आएको छ ।’ पालिकाभित्र आवासीय विद्यालय बनाउन खोजिरहेको उनले सुनाइन् । ‘दुधकोशीको पानी ल्याउनेगरी लिफ्टिङ सिंचाइ निर्माणाधीन छ, यसबाट पानी आइसकेको छ, केही ठाउँमा पुर्‍याउने क्रममा नै छौं । यो पानीलाई ‘ट्रिटमेन्ट’ गरेर वितरण गर्ने तयारी छ,’ उनी भन्छिन्, ‘पानी भनेको जीवन हो, पानी पनि दिन नसक्दा म मेयर भएको अर्थ रहेन । १ अर्ब भन्दा बढी नेपाल सरकारको सहयोग छ, यसलाई व्यवस्थित र भरपर्दो बनाउन लागिरहेका छौं ।’


यो बन्दै गर्दा विकल्प नखोज्दा समस्या भयो । ‘त्यसैले गत वर्षबाट पानी र पर्यटन अभियान सुरु गरेका छौं, पानीतर्फ पाँचवटा मूलको पानी जम्मा गरेर आयोजना सञ्चालन गरेका छौं,’ उनी भन्छिन्, ‘पानीका कारण बसाइ सर्न नदिनेगरी काम गरिरहेका छौं ।’ बाटो घर–घरमै पुगेको छ । स्वास्थ्य चौकी बनेका छन् । नगर अस्पताल छ । प्रत्येक १५ मिनेट दूरी छिचोल्दा विद्यालय भेटिन्छ । र पनि बसाइ सर्ने क्रम रोकिएको छैन । ‘उतिबेला आर्थिक अवस्था कमजोर हुँदा बसाइ सर्ने हुन्थे, अहिले सम्पन्न भएकाहरू पनि बसाइँ सरिरहेका हुन्छन्,’ उनी भन्छिन्, ‘रोजगारी र सहजताका लागि सहर पसेका छन्, गाउँ रित्तिए पनि जमिन बाँझो बस्नु हुँदैन ।’ रमाइलो पक्ष बसाइँ सरेर हलेसी आउने पनि छन् । ‘२ सय २३ घर बसाइँ सरेर गएका थिए, तर बसाइ सरेर आउने १२ घरलाई नगरपालिकाबाट सम्मान नै गर्‍यौं ।’ नगरपालिकाबाट दिइने सेवा–सुविधा तथा अनुदानहरूमा प्रोत्साहित गर्ने भनेर नीति नै बनाएको उनले सुनाइन् । ‘हलेसी पर्यटकीय हिसाबले आत्मनिर्भर हुने सम्भावना धेरै छ, हलेसी महादेव मन्दिर मात्र होइन, वडा, टोल वा बस्तीमा ऐतिहासिक र सांस्कृतिक ठाउँहरू छन्,’ उनी भन्छिन्, ‘तिनलाई केन्द्रका रूपमा जोड्ने काम गरी राखेका छौं ।’ तुवाचुङ, ढुंगेबगैंचा, सप्तेश्वर, गुप्तेश्वर गुफा छन् । नगरपालिकाभित्र च्यास्मी गढी भुम्जुङ, होलेसुङ गढी र राजापानी खाम्तेल गढी गरेर ३ वटा गढी छन् । ‘यो भनेको इतिहास हो, यसलाई संरक्षण गरिरहेका छौं, अहिले हलेसी सांस्कृतिक सर्किट बनाइरहेका छौं फेरि हलेसी हिन्दू, बुद्धिजम र किराँतहरूको त्रिवेणी हो,’ उनी भन्छिन्, ‘दुई वर्ष भित्र सामुदायिक होमस्टे चलाउने गरी काम गरिरहेका छौं ।’ बालाचतुर्दशी, शिवरात्रि र रामनवमीमा हलेसीमा ठूलो मेला लाग्छ । वार्षिक करिब सात लाखले हलेसी घुम्छन् ।

 त्यसो त उनको जन्म हलेसी तुवाचङ–३, च्यास्मिटारमा भए पनि विवाह दिक्तेल बजारका रामकुमार राईसँग भयो । उनका एक छोरा छन् । ‘घर–व्यवहार मैले गर्नु परेन, छोरालाई सानैदेखि छाडेर हिँड्दा पीडा हुन्थ्यो, मैले दिन नसकेको समय भनेको सन्तान र परिवारलाई हो,’ उनी भन्छिन्, ‘बाबु १६ वर्षका भए, व्यस्तताले गर्दा घर कमै पुग्छु, काममै व्यस्त हुन्छु ।’ श्रीमान् सरकारी जागिरे हुन् । ‘राजनीतिमा परिवारबाट राम्रो सहयोग पाएँ, तर छोरा मसँग हुर्किन पाएन, अहिले त चाहेर पनि ऊ मसँग बस्न सक्दैन, मेरो जिम्मेवारी धेरै छ, त्यसैले मन बुझाउँछु,’ उनी भन्छिन्, राजनीतिक परिवारमा जन्मिएको मान्छेले राजनीति छोड्नुहुन्न भनेर श्रीमान्ले सधै हौस्याइरहे । ‘त्यसैले मेरो राजनीतिक सफलताको श्रेय बुवा, दाइ र श्रीमान्लाई जान्छ,’ उनी भन्छिन् । फेरि उनी ठूलो परिवारमा हुर्किइन् ।
परिवारमा चार छोरी र छ छोरा हुन् ।उनका साहिँला दाइ बितेकाले अहिले नौ जना मात्र सन्तान छन् । ‘म साहिँली हो, तर छोरीहरूमा राजनीतिमा म मात्र छु,’ उनी भन्छिन्, ‘कुनै बेला निजामति सेवामा लाग्नुपर्छ भनेर काठमाडौंको भोटाहिटी पुगेर खरिदारदेखि अधिकृतसम्मका किताव बटुलें, तर फेरि पछि लोकसेवातिर लागिन ।’ त्रिचन्द्र क्याम्पसबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेकी उनी अहिले राजनीति शास्त्रमा एमफिल गर्दैछिन् । ‘एमफिल पढ्नका लागि प्रवेश परीक्षा दिएँ, पास भएँ,’ उनी भन्छिन्, ‘कीर्तिपुरबाट राजनीति शास्त्रमा एमफिल गर्दैछु, कानुनतर्फ एलएलबी सक्न लागेकी छु ।’ उनी प्रायः जनताको काममै व्यस्त हुन्छिन् । ‘म महिला हो, कमजोर छु भनेर कहिल्यै अनुभूति भएन,’ उनी भन्छिन्, ‘बरु महिला भएर पनि विमलाले नेतृत्व राम्रो गरिरहेकी छन भन्ने भेटिनुहुन्छ ।’ काम नगरेको दिन उनलाई निद्रा लाग्दैन । नगरपालिकाभित्र के–कस्ता काम गर्न सकिन्छ भनेर विज्ञहरूसँग बेला–बेलामा राय–परामर्श लिइरहेकी हुन्छिन् । ‘कुनै दिन काम नगरी बस्दा मन भारी हुन्छ, आज के गरिन भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘काम गरेको दिन त खुसी भएर निदाउँछु, काम नगरेको दिन निद्रै लाग्दैन ।’ अघिल्लो दिन नै भोलिपल्ट के काम गर्ने भनेर उनी योजना बनाउँछिन् । ‘महिलाका लागि ठाउँ धेरै छ, अहिले संविधानले महिला हक–अधिकारका कुरा व्यवस्था गरेको छ,’ उनी भन्छिन्, ‘महिला मात्र भएर हुँदैन, आफू सक्षम पनि बन्नुपर्छ र नेतृत्व गर्न सक्ने क्षमता पनि हुनुपर्छ ।’

 Image