आरती पौडेल
प्रत्यक्ष देउडा तथा दोहोरी गायिका संगीता बडुवालको संघर्ष यात्रा सहज छैन । उनको बालापन सामान्य रूपमा बित्यो । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनलाई आफूले कमाउन पाए भन्ने सधै भइरहन्थ्यो । उनलाई सपना पूरा गर्न हौसला दिने एउटै थिइन्, आमा ।
उनी सानैदेखि गीत गाउन, नाच्न र स्कुलमा हुने हरेक कार्यक्रममा भाग लिन रुचाउँथिन् । सबैले उनको स्वरको प्रशंसा गर्थे । उनले त्यही समयदेखि कलाकार बन्ने सपना उनले बुनेकी थिइन् ।
त्यसबेला गाउँमा हुने विभिन्न चाडपर्वका कार्यक्रम, विवाहहरूमा गीत गाउँथिन् । उनलाई गाउँघरमा हुने कार्यक्रममा मात्र सीमित हुन मन थिएन । उनको चाहना काठमाडौं आएर कला क्षेत्रमा लाग्ने थियो । तर आर्थिक स्थितिका कारण आफ्नो सपनाका बारेमा खासै कसैलाई सुनाइनन् । तर सपना भने देख्थिन् । उनले भनिन्, ‘आमाले काठमाडौं गएर गीत गाउँदा घर खर्च पनि जोडिने साथै विभिन्न गीत गाउन अवसर पनि मिल्ने भनेर सम्झाउनु भएको थियो ।’
त्यसपछि आँट गरेर सपनाका चाङ लिएर उनी काठमाडौं आएकी थिइन् । उनको सपनालाई साकार पार्न आमा पनि साथै आएको उनले सुनाइन् ।
काठमाडौं आएको केही समय उनले सोचेजस्तो अवसर पाइनन् । तर विस्तारै लाइभ देउडा गाउने अवसर पाइन् । तीन वर्षसम्म प्रत्यक्ष देउडा, दोहोरी गाएकी संगीतालाई उनको स्वर देखेर विस्तारै गीतको अफर आउन थाल्यो । ‘गलबन्दीका ताला’ उनको पहिलो गीत रेकर्डिङ थियो । देश–विदेशमा भएका दर्शकबाट माया पाइन् । त्यसपछि उनले अवसर पाउँदै गइन् । साली भेना, नबोले पीर लाउँछ, हातमा सिरानी, लैजा रुमाल, कान्छी सालीजस्ता गीतहरू उनले गाइन् । जुन निकै चर्चित छन् ।
रेकर्डिङतर्फ उनले हालसम्म करिब ५० भन्दा बढी गीतमा आफ्नो स्वर दिएकी छिन् । त्यसरी नै लाइभ देउडा ५ सयभन्दा बढी गाएकी छिन् । ‘लाइभ देउडाकै कारण मैले धेरै अवसर पाएकी छु । त्यसैले देउडा गीत मेरो पहिचान हो,’ भारतका विभिन्न ठाउँमा देउडा गाउन पुगेकी उनी भन्छिन््, ‘धेरैले नेपालबाहिर पनि देउडा, गीत–संगीतलाई माया गरेको देखेर खुसी लाग्छ ।’
दैलेख आठबीस नगरपालिका–३ घर भएकी उनी अहिले पनि आफ्नी आमासँगै काठमाडौं बसेर संगीतिक क्षेत्रमा संघर्ष गरिरहेकी छिन् । संगीता अहिले पनि लाइभ देउडा गाउँछिन् । आफ्नो भाषा जोगाउने, संस्कृतिको रक्षा गर्ने आफ्नो सोच रहेको उनले सुनाइन् । जसरी देउडालाई गीतमार्फत देशभर चिनाइरहेकी छिन्, त्यसरी नै उनी आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउने अभियानमा पनि उत्तिकै प्रतिबद्ध देखिन्छिन् । ‘देउडा हाम्रो मौलिकता हो, यसलाई जोगाउनु हाम्रो दायित्व हो,’ उनी भन्छिन् ।
उनले करिब ७ वर्षदेखि निरन्तर रूपमा प्रत्यक्ष देउडा प्रस्तुत गर्दै आएकी छिन् । मेला–महोत्सव, सांस्कृतिक कार्यक्रम तथा विभिन्न सार्वजनिक समारोहमा उनी देशका विभिन्न ठाउँमा पुगेर प्रस्तुति दिँदै आइरहेकी छिन् । विशेष गरी सुदूरपश्चिम र कर्णाली क्षेत्रबाट उनलाई कार्यक्रमको निम्ता आउने गरेको छ । ‘देशका अरू ठाउँबाट पनि आउँछन् । तर देउडाले गर्दा सबैभन्दा धेरै त्यही क्षेत्रबाट बोलाउनु हुन्छ,’ उनले भनिन् ।
संघर्ष, निरन्तरता र संस्कृतिप्रतिको प्रेम गर्ने संगीता देउडामा आफ्नो छुट्टै पहिचान बनाउँदै अघि बढिरहेकी छिन् । आगामी दिनमा पनि आफ्नो गाउँठाउँको संगीतलाई विश्व सामु पुर्याउन लागिपर्नेे उनले बताइन् ।