Successfully Copied

आर्थिक सुरक्षाका लागि इन्सुरेन्स

सफल हुनका लागि निष्ठाका साथ विश्वास जित्दै काम गर्नुपर्छ । नयाँ कुरा रुचिका साथ सिक्दै अघि बढ्नुपर्छ । काम गर्ने क्रममा आइपरेका अप्ठ्याराहरुको सामना गर्दै महत्वाकांक्षा नराखी अघि बढ्नुपर्छ ।

अञ्जु श्रेष्ठको व्यावसायिक यात्रा एउटा जागिरबाट सुरु भएर बिमा क्षेत्रको नेतृत्वसम्म पुगेको छ । ३० वर्षअघि असिस्टेन्ट अफिसरका रूपमा हिमालयन इन्सुरेन्समा प्रवेश गरेकी उनी आज हिमालयन एभरेस्ट इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छिन् । बैंकिङ क्षेत्रमा जाने अवसर हुँदाहुँदै बिमालाई रोजेकी श्रेष्ठले धैर्य, निरन्तर मेहनत र संस्थाप्रतिको प्रतिबद्धताकै बलमा नेतृत्वको शिखर चुमेकी हुन् । असन–इन्द्रचोकमा बितेको बाल्यकाल र मुम्बईको अध्ययन, स्वयंसेवक शिक्षणदेखि बिमा क्षेत्रको नेतृत्वसम्मको संघर्ष, अनुभव र सफलताको यात्राकथा उनकै शब्दमा :
जन्म, बाल्यकाल र शिक्षा
२०३१ फागुनमा मेरो जन्म भएको हो । असन–इन्द्रचोकमा बाल्यकाल बित्यो । आमा सञ्चय कोष र बुवा बैंकमा जागिरे हुनुहुन्थ्यो । दुईजना दाइकी म एक्ली बहिनी हुँ । ३ कक्षासम्म लगनस्थित एक स्कुलमा पढें । केही समयपछि हामी बालाजुमा बसाइ सर्‍यौं । पछि सिद्धार्थ वनस्थलीमा १० कक्षासम्म पढें । मुम्बईबाट कमर्समा प्लस टु गरें । पछि नेपाल आएर पिपुल्स क्याम्पसबाट बिकम र शंकरदेव क्याम्पसबाट मास्टर्स पूरा गरें । 
जागिरे जीवनको सुरुवात
पिपुल्स क्याम्पस पढ्दापढ्दै दुई वर्षसम्म असनको महाबौद्धमा श्री महाकाल माविमा स्वयंसेवकका रूपमा विज्ञान र गणित पढाएकी थिएँ । त्यसपछि हिमालयन बैंकमा फाराम भरें, जागिर खान जाँदा इन्सुरेन्समा पनि खाली छ भन्ने कुरा आयो । मुम्बईमा प्लस टु पढ्दा बिमा पनि पढेकी थिएँ । बुवा पनि बैंकमा भएकाले बैंकभन्दा इन्सुरेन्समा काम गर्न ठीक लाग्यो र इन्सुरेन्स ज्वाइन गरें । हिमालयन इन्सुरेन्समा पहिले ब्रिटिस जिएम हुनुहुन्थ्यो । त्यतिबेला अफिस दरबारमार्गमा थियो । ३० वर्षअघि असिस्टेन्ट अफिसरबाट जागिरे जीवनको सुरुवात गरेकी थिएँ ।
असिस्टेन्ट अफिसर हुँदै सिइओ
बैंकमा जागिर खाए पनि इन्सुरेन्समा भ्याकेन्सी भएको थाहा पाएपछि यता मोडिएकी हुँ । बिमा कस्तो हुँदो रहेछ भन्ने रहरैरहरमा यता लागें । यो त बैंकभन्दा पनि महासागर हुँदो रहेछ । असिस्टेन्ट अफिसरबाट ७/८ वटा चरण पार गर्दै सिइओ बनेकी हुँ । कुनै पनि संस्थामा काम गरेपछि केही बन्छु भन्ने हुनुपर्छ । धैर्य हुनुपर्छ, लचिालोपन हुनुपर्छ । चित्त नबुझेमा छोडिहाल्नुहुँदैन ।
बैंक र इन्सुरेन्स
मानिसहरूले बैंकलाई बढी महत्व दिन्छन्, तर इन्सुरेन्स रिस्क लिएर बस्ने ठाउँ हो । बैंकमा लोन गइरहेको हुन्छ, बिमा नभई त्यो सम्भव छैन । मान्छेहरूले इन्सुरेन्स कम्पनी बैंकले गर्दा सर्भाइभ भएको भन्छन्, म यो मान्दिनँ । अर्बाैंको लोन गइरहेको हुन्छ, बिमा नभई सम्भव छैन । इन्सुरेन्समा त्यति धेरै पुँजी हुँदैन । बिमा गर्नुहुन्छ, एउटा संस्थामा रिइन्सुरेन्स गरिन्छ । इन्सुरेन्स भनेको रिस्कलाई डाइभर्सिफाइ गर्ने हो । इन्सुरेन्स कम्पनीले ग्लोबल्ली विभिन्न रि इन्सुरेन्स गरेका हुन्छन् । आफ्नो क्यापासिटीअनुसार क्लेम तिर्दा पनि त्यही पोपर्सनमा पैसा दिन्छ । क्लेम भएन भने कमाइ, रिइन्सुरेन्स कमिसन आउँछ, संस्थालाई । इन्भेस्टमेन्टबाट पनि रिटर्न हुन्छ । रिस्क मेडिकेट भएको प्रोजेक्ट, कम रिस्क भएको प्रोजेक्ट हो ।
इन्सुरेन्स किन गर्ने ?
आर्थिक सुरक्षाका लागि इन्सुरेन्स गर्नुपर्छ । मानिसले बल्लतल्ल जागिर खाएर जोडजाम गरी घर बनाएका हुन्छन्, केही भवितव्य वा भुइँचालोले क्षति पुग्न सक्छ । स्वास्थ्य, गाडीलगायत सबैको इन्सुरेन्स गर्दा मानिसलाई फाइदा हुन्छ । आर्थिक स्थिरताका लागि इन्सुरेन्स गर्नु लाभदायक हुन्छ । यहाँ लाइफबाहेक सबै हाइड्रोपावर, घरको सबै इन्सुरेन्स हुन्छ । बिमा विश्वासमा चल्ने हो ।
बिमा क्षेत्रको वर्तमान अवस्था
म सुरुमा यो क्षेत्रमा आउँदा एकदम राम्रो थियो, मान्छेको विश्वास थियो, जथाभावी गर्दैन भन्ने थियो । अहिले प्रतिस्पर्धी मार्केट छ । साँच्चै बिमा राम्रोसँग चलायो भने नाफामुखी व्यापार हो । तर हामी नाफाभन्दा पनि मान्छेलाई आपत् पर्दा अगाडि आउने कम्पनी इन्डस्ट्री हो । पहिले जस्तो निष्ठा, नैतिकता अलि कम भएको जस्तो लाग्छ ।
नेपालमा धेरै इन्सुरेन्स कम्पनी आएपछि मार्केट प्रतिस्पर्धी बढ्यो । प्राधिकरणले क्यापिटल बढाएको छ । त्यहीअनुसारको रिटर्न दिन सक्नुपर्‍यो शेयर होल्डरलाई । आपत् आइपरेमा कम्पनीलाई गाह्रो छ । कम्पनी पनि सर्भाइभ हुनुपर्‍यो । इन्सुरेन्स कम्पनीलाई राम्रोसँग लग्यो भने, तरिकाले गयो भने राम्रो हो । कतिपय क्लाइन्टले क्लेम गर्दा अलि बढी लिऊ न भन्ने पनि छन् । त्यसैले अलर्ट हुनुपर्छ । सरकारले थर्ड पार्टी इन्सुरेन्स अनिवार्य गरेको छ ।
कम्पनीले हासिल गरेका उपलब्धि
नेतृत्व गरिसकेपछि भिजन, मिसन लिएर हिँड्नुपर्छ । कुनै पनि संस्थामा काम गरेपछि यहीँ केही गर्छु भन्ने भिजन हुनुपर्छ । पहिले रिइन्सुरेन्स धेरै हेर्थें । पछि बोर्डले विश्वास गरेर म सिइओमा नियुक्त भएँ ।
एउटा संस्था चलाउनका लागि स्पष्ट लङ र सर्ट टर्म भिजन राखेर अघि बढ्नुपर्छ । संस्थाको मूल्य–मान्यता के हो भन्ने कुरा सबै कर्मचारीलाई सिकाउनुपर्छ । एउटा ठाउँमा कम्पनी, माथि पुर्‍याउने, प्रोमोटर, कर्मचारी, शेयर होल्डरलाई चित्त बुझाउनुपर्छ । कर्मचारीलाई प्रेसर दिएर भन्दा पनि खुसी भएर काम गराउनुपर्छ ।
अहिले यो संस्थामा नेपालभरका ८४ शाखामा ५ सय ४० कर्मचारी कार्यरत छन् । गत वर्ष पूर्वदेखि पश्चिम, हरेक शाखामा गएर कर्मचारीलाई मोटिभेट गरें । नेतृत्वमा भएपछि कर्मचारीको मानसिक इमोसन पनि बुझिदिनुपर्छ । क्यापाबिलटी बिल्डिङ, तालिम पठाउने हो कि, प्रोसेस ड्रिभन कम्पनी बनाउने, सिस्टम बसाल्ने काम गरें । बैंकिङ र अन्य क्षेत्रका कर्मचारी लिएँ । म आइसेकपछि यहाँ महिला कर्मचारी धेरै छन् ।

बिमाप्रति पर्याप्त सचेतना नहुनुका कारण
नागरिकलाई सचेत गराउने काम हाम्रो र प्राधिकरणको हो । नेपाल बिमा प्राधिकरणले बिमाप्रति साक्षरता बढाइदिनुपर्‍यो । हामीले कर्पोरेट हाउस, गाउँपालिका, नगरपालिकामा गएर बिमासम्बन्धी सम्पूर्ण जानकारी दिने गरेका छौं । जेनजी मुभमेन्टमा क्षति पुर्‍याइएका सबै भवन र गाडीको इन्सुरेन्स थियो । त्यसैले बैंक र कर्पोरेट हाउसमा पनि बिमासम्बन्धी जानकारी दिन सुरु गरेका छौं । अझै पनि कतिपय मानिस म इन्सुरेन्स गर्छु भनेर आउँदैनन्, लोन छ भने मात्र गर्छन् । सरकारले अनिवार्य गरेको मात्र गर्ने भए । म बिमामा काम गर्ने भएकीले घरको बिमा गर्ने भएँ, तर सबैले घरको बिमा किन गर्ने भनेर गर्न खोज्दैनन् । बिमा गरेपछि ढुक्क भइन्छ । गाडीको एक्सिडेन्ट धेरै बढेको छ, दिनहुँ मर्नेको संख्या बढेको छ । यसैले बिमा गर्नु जरुरी छ ।
सबै नागरिकको पहुँचमा पुर्‍याउन
यो सबै जिम्मा बिमा कम्पनीले लिने हो । एक लेवलमा बिमा गर्नुपर्छ भन्ने छ । क्याम्पस, बैंकमा पनि हामीले इन्सुरेन्सका बारेमा जनचेतना दिने गरेका छौं । यसका लागि हाम्रो टिम नै छ, यसका बारेमा जनचेतना फैलाउने गर्छन् । यसैगरी प्रदेशमा समूह भएर बिमाको जनचेततना फैलाएका छौं । बिमा कम्पनीको नियामक हुनुपर्‍यो । तिमीहरू इनोभेनसको काम गर हामी सघाउछौं भन्ने हुनुपर्‍यो, सरकारी स्तरबाट ।
प्रविधिले ल्याएको परिवर्तन
हाम्रो पुस्ता त्यति प्रविधिमैत्री छैन । बैंकको अकाउन्ट र ल्यापटप चलाउन मात्र जानेका छन् । अबको जेनेरेसन त्यस्तो छैन । हामीमा डिजिटलसम्बन्धी ज्ञान सीमित मात्र छ, हामी तयार भएर बस्नुपर्छ । हाम्रो वेभसाइटमा पोलिसी किन्न सक्ने, रिन्यु गर्न सक्ने, क्लेम दर्ता गर्न सक्ने, आफ्नो क्लेम कहाँ पुग्यो भन्ने कुरा ट्रयाक गर्न मिल्छ । सबै कुरामा नभए पनि ट्राभल पोलिसी, एक्सिडेन्ट, घरको, मोटरको थर्ड पार्टी गर्न सकिन्छ । नागरिक एपसँग इन्टिग्रिटी इन्डस्ट्रीमा हिमालयन एभरेस्ट डिजिटल्ली अगाडि छ । विस्तारै काम गर्दै जाने र कसरी त्यो कुरा मासमा पुर्‍याउने भन्ने छ । हुन त प्राधिकरणले पनि क्लेमको तीन महिनाभित्र डिजिटल गर भनेर आएको छ, जुन हामीले पहिले नै गरिसकेका थियौं ।

बिमितले गर्ने गुनासो
क्लेम नै हो । बिमा कम्पनीको व्यापार भनेकै क्लेम दिने हो । जेनुइन क्लेम छ भने बढी कसरी दिन सकिन्छ हेर भन्छु, कर्मचारीलाई । अहिले हिमालयनमा एउटा क्लेम पनि रहन्न, आउनासाथ क्लियर हुन्छ । पोलिसीमा उल्लेख भएअनुसारको क्लेम दिँदै आएका छौं । किनभने मासमा हामीले विश्वास बेच्ने हो, तिमीले म कहाँ बिमा गर्‍यौ भने तिमीले क्लेम पाउँछौ, परेको खण्डमा भन्ने हो । जस्तो हिमालयनले जेनजीमा क्षति भएका र क्लेम परेका मुद्दाबाहेकका सबै क्लेम असारसम्ममा सिद्धाइसक्यो । बुझ्यो भने बिमा जस्तो राम्रो व्यापार कुनै छैन । आपत्विपत् पर्दा काम लाग्ने बिमा नै हो ।
दाबी भुक्तानीमा कम्पनीको प्रक्रिया
डिजिटल पनि एउटा उपाय हो । हिमालयन इन्सुरेन्समा ५० हजारसम्मको ७ दिनमा सिध्याउने, १ लाखसम्मको १५ दिनमा र ५ लाखसम्म १ महिनाभित्र सिध्याउने रणनीति छ । जति छिटो डकुमेन्ट बुझायो त्यति छिटो हुन्छ । पब्लिक संस्था भएकाले जथाभावी गरेमा प्रश्न उठ्छ । शेयर होल्डरको कम्पनी हो । हामीले दावी भुक्तानी गरेका एक दुईवटाले गर्दा बिमा कम्पनीको छवि नराम्रो बनेको छ । नागरिकको विश्वास जित्ने क्लेम दिएरै हो । त्यसैले कसरी हुन्छ, राम्रो गर्ने र रेकर्ड राम्रो गर्छौं ।
बिमा गर्दा प्राकृतिक प्रकोपको लिनैपर्छ । भूकम्पको समयमा हाम्रो बजेट यसका लागि ३० करोड मात्र थियो, अहिले ३ अर्ब लिएर राखेका छौं ।
महिलाका लागि विशेष योजना
पाठेघरको मुख र स्तन क्यान्सरका बिरामीलाई ५ लाखसम्मको उपचार खर्च दिने गरी बिमा योजना ल्याउने विचारमा छु । क्यान्सर देखिहालेमा उपचारका लागि केही राहत होला भनेर यो सुरु गर्न लागेको हो ।
महिला कसरी सफल हुने ?
निष्ठाका साथ विश्वास जित्दै काम गर्नुपर्छ । नयाँ कुरा रुचिका साथ सिक्दै अघि बढ्नुपर्छ । काम गर्ने क्रममा आइपरेका अप्ठ्याराहरुको सामना गर्दै महत्वाकांक्षा नराखी अघि बढ्नुपर्छ । यो क्षेत्रमा धेरै महिला आऊन् भन्ने लाग्छ । हरेक एचओडी महिला हुनुपर्छ । किनभने महिला इमान्दार हुन्छन् । यसो भन्दैमा पुरुषलाई नराम्रो भन्ने खोजेको होइन । महिला स्थिरता खोज्छन् ।
जीवनको लक्ष्य
सकेसम्म सक्रिय जीवन बिताउनेछु । संस्थालाई उचाइमा पुर्‍याएर सिस्टभ ड्रिभन कम्पनी बनाउने लक्ष्य छ । गाउँपालिका, वडा, नगरपालिका, कर्पोरेट हाउसमा बिमासम्बन्धी जनचेतना भरसक छिटो पुर्‍याउने छु । 

 Image