Successfully Copied

रमेशको रहस्यमय जीवन

एकल आमाको संघर्षले उनलाई कडा मेहनत गर्न सिकायो । श्रीमतीको प्रेम र विश्वासले अडिग रहिरहन आड दियो ।

लक्ष्मी भण्डारी
‘छोरी, हरेक बिहान
तिमीलाई लमतन्न परेर सुतेको देख्दा
आँखाभरि हेर्छु र मनमनै भन्छु–
तिमी हुर्कनु भनेको
तिमी यसरी सुतेको दिन हेर्न पाउने दिन घट्नु पनि त हो
तिमी ‘नछुने’ हुने दिन चाँडै आउनु पनि त हो
तिम्रो विवाह हुने अनि हामीसँग टाढा हुने दिन छिट्टै आउनु पनि त हो
रजस्वलापछि तिमी मन्दिर र भान्सामा पस्न नपाउने दिन चाँडै आउनु पनि त हो...
तिमी हुर्कनु भनेको अनेक विभेदका दिन चाँडै आउनु पनि त हो...
आफ्नै शरीरको रगत बग्दा तिमीले के पाप गरेको हुन्छ ?
तिमी रजस्वला भएको दिन हामी मन्दिर जानुपर्छ है 
त्यसैले छोरी तिमी सबै कुरा छोइदेऊ, निर्धक्क छोइदेऊ...

पाँच वर्षअघि पत्रकार  तथा लेखक रमेश भुसालले महिनावारीका विषयलाई जोडेर तीन वर्षीया छोरी अनुराप्रति समर्पित गर्दै ‘छोरी तिमी सबै कुरा छोइदेऊ’ नामको कविता लेखेर वाचन गरे । सामाजिक सञ्जालमा धेरैले उनको प्रशंसा गरे । महिला मुद्दामा उनी कत्ति गम्भीर र संवेदनशील छन्, यो सानो उदाहरण हो ।
त्यसो त उनको जीवन नै मात्र महिलाको माया, ममता, संस्कार र अपनत्वले सिञ्चित छ । ‘आजसम्मको मेरो जीवन तिनै सशक्त नारी पात्रको प्रेम, हौसला, प्रेरणा र साथले सम्भव ठहरियो,’ रमेश भन्छन्, ‘मेरी आमा जसले म गर्भमै हुँदा बितेका बुवाको कहिल्यै कमी हुन दिनुभएन । मेरी श्रीमती मीनाक्षी जो मेरा हरेक परिस्थितिमा मेरो शक्ति बनेर सँगै उभिइन्, मेरी छोरी जो मेरो आँट र हिम्मत हुन्, उनैलाई हेरेर म सफलतातर्फ लम्किन हरदम मेहनत गर्छु । मेरी सासूले मभित्रको भावना जगाउन प्रेरक भूमिका निर्वाह गर्नुभयो ।’
संघर्षमय ती दिन
रमेश गर्भमै हुँदा वुबा बितेपछि उनकी आमा यमकुमारी १६ वर्षमै विधवा भइन् । पर्वतको होस्राङ्दी गाउँ उतिबेला पिछडिएकै थियो । आमालाई छोरो च्यापेर एक्लै बस्न गाह्रो भयो । रमेश भन्छन्, ‘आमाका दिदीभिनाजु काठमाडौं बस्नुहुन्थ्यो । गाउँमा आमाको दुःख थाहा पाएर उहाँहरूले यतै बोलाउनुभयो । राजधानी पसेपछि पनि सुख भएन ।’
सात वर्षको उमेरमा रमेश बिहानै झिसमिसेमा भात पकाई आमालाई राखिदिन्थे र आफू खाएर पढ्न जान्थे । आमा भने मध्यरातको २ बजे उठेर कालिमाटीमा तरकारी बेच्न जान्थिन् । नारीको संघर्षलाई नजिकबाट देखेका रमेश आफू र आफ्नो सोच फरक हुनुको मूल कारण यसैलाई मान्छन् । ‘तरकारीमा खासै राम्रो भएन, पछि हामीले टंकेश्वरको पुलमुनि चिया बेच्न थाल्यौं,’ ती कहरिला दिन उनको स्मरणमा आउँछन्, ‘त्यो पनि नभएपछि आमा कुवेत जानुभयो । लामो समयपछि उहाँ फर्केर आउँदा म आइएस्सी पढ्ने भइसकेको थिएँ । त्यतिबेलासम्म पनि हाम्रो एउटा मात्रै कोठा थियो । आमा र म सँगै सुत्थ्यौं । आमाको आँसु धेरै देखेकाले मेरो जीवनको एक मात्र उद्देश्य बन्यो, उहाँको मुहारमा हाँसो ल्याउने ।’

बन्न चाहन्थे डाक्टर, भए लेखक
आमाले पढाइ र करिअरका लागि गरेको दुःखलाई शब्दमा मात्रै वर्णन गर्न नसकिने बताउँछन् उनी । ‘त्यही ठाउँमा आमा बितेर बुवा एकल बनेको भए त्यो परिस्थिति रहन सक्थ्यो/सक्दैनथ्यो म भन्न सक्दिनँ,’ नारीको संघर्ष र त्यागको सम्मानस्वरूप उनले यसरी शब्द खर्चिए, ‘मेरी आमा मात्रै होइन, संसारका हरेक आमा माटो हुन्, उनीहरूमा जन्म दिने मात्रै होइन, सिञ्चित गरेर हुर्काउन सक्ने आँट र तागत हुन्छ । मलाई डाक्टर बनाउने सपना बोकेरै उहाँ कुवेत जानुभएको थियो ।’ तर रमेशको लाइन क्लियर थियो–पूर्ण छात्रवृत्तिमा नाम निस्किए डाक्टर पढ्ने, पैसा तिरेर मरिगए नपढ्ने । स्कलरसीपमा नाम निस्किएन, पैसा तिरेर पढ्न सक्ने क्षमता थिएन । तसर्थ उनले आफ्नो चाखको विषय रोजे र रेडियोमा बोल्न पुगे ।
करिअरको छलाङ
बिएस्सी पढ्दाताका रमेश एफएम रेडियो सुन्थे । पढाइमा अब्बल थिए । एकदिन उनी नेपाल एफएममा बोल्न गए । साह्रै राम्रो बोलेकामा उनी प्रशंसित भए । ‘त्यहाँ केही महिना इन्टर्न गरेपछि उज्यालो नेटवर्कमा काम गर्न थालें । त्यहाँ मैले यो क्षेत्रमा निखार्ने मौका पाएँ । सन् २००९ देखि २०१२ सम्म दि हिमालयन टाइम्समा काम गरें अनि २०१२ देखि २०१५ सम्म बिबिसी नेपाली सेवामा साइन्स रिपोर्टरका रूपमा सक्रिय रहें,’ रफ्तारमा दौडिइरहेको करिअर कहानी उनले यसरी सुनाए, ‘त्यसपछि मैले अर्थ जर्नलिज्म नेटवर्कको दक्षिण एसिया संयोजकका रूपमा काम गरें, अनि अन्तर्राष्ट्रिय अनलाइन ‘द थर्ड पोल’ को नेपाल सम्पादक भएर काम गर्दा संसारलाई फरक ढंगले हेर्न सक्ने क्षमता वृद्धि भइरहेको महसुस गरें ।’
उनले अफ्रिकी मरुभूमिदेखि दक्षिण अमेरिकाका जंगल, एसिया प्यासिफिकका साथै दक्षिण एसियाका थुप्रै ठाउँमा रिपोर्टिङ गरेका छन् । चीनदेखि भारतसम्मको ४५ दिने पैदल यात्राले जन्माएको नदी र प्रकृतिको बयान गरिएको पुस्तक ‘छालबाटो ः कैलाशदेखि गंगासम्म’ भर्खरै प्रकाशित छ । ‘त्यही दिन हो, मैले मेरी आमामा आत्मिक खुसी महसुस गरेको । पुस्तक विमोचनका दिन उहाँ असाध्यै खुसी हुनुभएको थियो,’ उनले भावुक हुँदै भने ।

महिला र मुद्दामा निकट
रमेश महिलाका पीडा, भाव र ममत्वलाई अनुभूति गर्न सक्ने बताउँछन् । आमाको संघर्षले उनलाई कडा मेहनत गर्न सिकायो । श्रीमतीको प्रेम र विश्वासले अडिग रहिरहन आड दियो ।
‘विवाहको वर्ष दिन भएको थियो सायद, १० वर्षअघिको कुरा हो । ससुराली गएका बेला पलङमा पल्टिएकी सासूको सिरानीमा छोरी (मेरी श्रीमती) को कपडा भेटाएँ । उहाँलाई सोध्दा हरेक रात छोरीको कपडाको सुगन्ध लिएर रात कटाउने गरेको थाहा पाएँ,’ गम्भीर हुँदै उनले भने, ‘त्यही दिन निर्णय गरें, एकल जीवन बिताइरहेकी सासूलाई आफ्नै घरमा ल्याएर सँगै राख्ने । श्रीमतीसँगको सल्लाहमा उनले बरु अनकनाइन्, तर म मेरो निर्णयमा अडिग रहें, मेरो जति जिम्मेवारी मेरी आमाप्रति छ, तिम्रो पनि उत्ति नै जिम्मेवारी आफ्नी आमाप्रति हुनुपर्छ भनेर सम्झाएँ । अहिले हाम्रो ५ जनाको सुखी परिवार छ–मेरी आमा, सासू आमा, श्रीमती, छोरी र म ।’
आफ्नो कलममार्फत महिला मुद्दामा वकालत गरेका रमेशको पुस्तकमा पनि ‘बघिनीको पँधेरो’ शीर्षकको लेख छ, जुन स्त्री जातिप्रति समर्पित छ । शारीरिक कामवासना पूरा गरेपछि बाटो लाग्ने बाघको सन्तान हुर्काउनेदेखि हरेक व्यवस्थापन बघिनी एक्लैले गर्नुपर्छ । बाघ फेरि सन्तानको बीउ रोप्न अर्की बघिनी खोज्दै हिँड्छ, तर कुनै जिम्मेवारी लिँदैन । यसमा शतप्रतिशत जिम्मेवारी बघिनीको मात्रै हुने यथार्थलाई सुन्दर ढंगले विस्तार गरिएको छ ।
रमेशको ज्ञान र सोचको दायरा क्षितिजभन्दा पर पुगिसकेको छ । आफूले आफैलाई बनाएका उनले आज घर, गाडी, नाम, इज्जत कमाएर आमालाई मात्रै होइन सबैलाई खुसी दिन सफल भएका छन् । ‘महिला अरुभन्दा कम मानव होइनन्, बराबरका हुन्,’ उनी भन्छन्, ‘यहाँ त महिलालाई छोरी, बुहारी, श्रीमती, आमा, देउरानी–जेठानी मात्रै बनाइएको छ अर्थात् सोही भूमिकामा सेवा दिनुपर्ने सेवाप्रदायक । सेवाग्राहीलाई खुसी पार्नुपर्ने ठेक्का उनको मात्रै जस्तो ।’
रमेश र मीनाक्षी विवाह गरेर एक–अर्काको घरमा गएनन्, परिश्रमको पसिनाले आफ्नै संसार खडा गरे । त्यो संसारमा रमेशले आफ्नी आमालाई र मीनाक्षीले आफ्नी जन्मदातालाई समाहित गरे । आज छोरी अनुराले उनीहरू सबैको जीवनलाई थप रंगीन, सुन्दर र खुसियालीपूर्ण बनाइदिएकी छिन् । रमेशलाई अर्को सन्तानको कुनै रहर छैन ।

 Image