Successfully Copied

विदेशमा बस्ने नेपालीको तिहार

घरमा जस्तो देउसी–भैलोको धुन, सयपत्री र मखमली मालाको सौन्दर्य, दाजुभाइसँगको रमाइलो र टीकाको त्यो पल विदेशमा कल्पनामा मात्र सीमित हुन्छ ।



नेपालीहरूको दोस्रो ठूलो चाड तिहार । रङ, प्रकाश र आत्मीयताको पर्व । विशेषगरी दाजु–बहिनीको सम्बन्धलाई समर्पित भाइटीका तिहारको मुख्य आकर्षण हो । तर यही चाड विदेशमा बस्ने नेपालीहरूका लागि भने सम्झनाको भारी बोकेको दिन बन्छ । परदेशमा बस्दै आएका हजारौं नेपाली तिहार नजिकिँदै जाँदा बाल्यकाल, परिवार र आफ्ना प्रियजनहरूप्रति अझ भावुक हुन्छन् । उनीहरूका लागि तिहारको उल्लास त्यति सहज हु“दैन ।
जापान, कोरिया, अस्ट्रेलिया, अमेरिका, युकेजस्ता मुलुकहरूमा बसोबास गरिरहेका नेपालीहरूले वर्षैपिच्छे सामाजिक सञ्जालमार्फत तिहारको झल्को दिँदै घरप्रतिको माया व्यक्त गरिरहेका हुन्छन् । घरमा जस्तो देउसी–भैलोको धुन, सयपत्री र मखमली मालाको सौन्दर्य, दाजुभाइसँगको रमाइलो र टीकाको त्यो पल विदेशमा कल्पनामा मात्र सीमित हुन्छ ।
जापानमा बसोबास गरिरहेकी दीक्षा श्रेष्ठले विदेशमा चाडपर्व मनाउँदा खल्लोपन महसुस हुने बताउ“छिन् । उनी भन्छिन्, ‘म जापान आएदेखि अहिलेसम्म भाइटीका मनाउने मौका पाएकै छैन ।’ जापानमा तिहारका अधिकांश सामग्री उपलब्ध भए पनि सयपत्रीको माला भने सजिलै पाइँदैन । यद्यपि उनले हरेक वर्ष भाइटीकाको दिन भिडियो कलमार्फत दाजुभाइसँग टीका लगाउने परम्परा निभाउँदै आएकी छन् ।
विदेशमा तिहार आउँदा उनलाई झनै खल्लो लाग्ने गरेको छ । ‘तिहार आउनेबित्तिकै नरमाइलो महसुस हुन्छ, तर अर्को साल फर्केर धुमधामले मनाउँछु भनेर आफैलाई सम्झाउँछु,’ उनी भन्छिन् । उनले दाजुभाइसँग तास खेल्दै रमाइलो गरेको, दाजुभाइबाट दक्षिणा लिएको पलहरू सम्झँदै विदेशमा त्यो अभाव गहिरो अनुभूति हुने बताइन् ।
विदेशमा रहेका नेपालीहरू अब भिडियो कल र डिजिटल प्लेटफर्ममार्फत तिहार मनाउने गरेका छन् । दीक्षा भन्छिन्, ‘म जापान आएकै दिनदेखि अहिलेसम्म आफ्ना दाजुभाइसँग प्रत्यक्ष टीका लगाउन पाएकी छैन । भिडियो कलमार्फत भाइटीका गर्ने गरेकी छु । त्यो दिन काममै बिताउन मन लाग्छ किनभने काममा व्यस्त हुँदा सम्झना आउँदैन ।’
नेपालमा टीका लगाएर दक्षिणा दिने परम्परा विदेशमा गिफ्ट अनलाइनमार्फत पठाएर पूरा गरिन्छ । कतिपयले आफ््ना आफन्तलाई पैसा वा सामग्री पठाउँछन् भने कोही केवल सम्झनामा सीमित रहन्छन् ।
दीक्षाले भाइटीकाको दिन बिदा लिने सम्भावना पनि कम हुने बताइन् । ‘म त्यो दिन काममै बिताउँछु ताकि चाडको सम्झनाले मन भावुक नहोस्,’ उनले थपिन्, ‘जब नजिक हुन्छौं, त्यसको महत्व बुझिन्न टाढा पुगेपछि मात्र थाहा हुन्छ भनेझैं लाग्छ ।’
विदेशी जीवनशैली व्यस्त भएकाले नेपाली चाडपर्वका लागि विशेष समय निकाल्न मुस्किल हुने उनको भनाइ छ । जापानमा नेपालीहरूको बाक्लो उपस्थिति नहुने भएकाले देउसी–भैलो जस्ता सामूहिक कार्यक्रम पनि नहुने उनले सुनाइन् ।
तिहारमा उनले घरमै झिलिमिली बत्ती बालेर, मिठा परिकार पकाएर मनाउने प्रयास गरेकी छन् । ‘मलाई लाइटिङ एकदमै मनपर्छ, त्यसैले तिहारमा बत्ती बालेर त्यो माहोल बनाउन खोज्छु,’ उनले भनिन् ।

अमिका क्षेत्री बेलायतमा बसेको धेरै वर्ष भइसकेको छ । उनका लागि तिहार अब ‘उत्सवभन्दा बढी सम्झनाको दिन’ बनेको छ ।
‘विदेशमा तिहार मनाउँछु तर मन भने सधैं नेपालमै हुन्छ,’ उनी भन्छिन्, ‘काममा छुट्टी मिल्दैन, दाइ नेपालमै हुनुहुन्छ । त्यसैले तिहारको उमंग नेपालजस्तो हु“दैन ।’
तर त्यो अर्थमा उनको लागि तिहार हराएको छैन । उनी आफैं सेलरोटी बनाउ“छिन्, माला किन्छिन्, साँझ लक्ष्मी पूजा गर्छिन् । दिनभर ब्रत बसेर साँझ दियो बाल्छिन् । उनलाई यो उज्यालोले नेपालका सयपत्री र मखमली फूल, आ“गनमा बसेर सिउँदै गरेको माला र गाउँघरमा गुन्जिएको देउसी–भैलो सम्झाइदिन्छ । दाइ नेपालमा नै भएकाले उनी भाइटीका मनाउँदिनन् । भिडियो कलमै आशीर्वाद लिन्छिन् ।
अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने मुनमुन पाण्डेले पनि तिहारमा आफ्नो घर झिलिमिली बनाउँछिन् । दियो, पाइला, माला । सबै उनले आफैं तयारी गर्छिन् । ‘नेपालमा हुँदा पाइला बनाउने, घरभरि दियो बाल्ने गर्थें । अहिले पनि त्यो चलन छोडेकी छैन,’ उनी भन्छिन् ।
नेपाली समुदाय धेरै बढेकाले विदेशमा सामूहिक रूपमा चाडपर्व मनाउने परम्परा बनेको उनको भनाइ छ । सन् २००६ देखि उनी सिड्नीमा बस्दै आएकी छन् । भाइ अस्ट्रेलियामै बस्ने भएकोले भाइटीका उनीहरूले मिलेरै मनाउ“छन् । ‘नेपालबाट टीका, माला मगाउ“छौं । सबै सामग्री यहा“ पनि पाइन्छ । भाइलाई टीका लगाउँदा लाग्छ, म नेपालकै माहोलमा छु,’ उनी भन्छिन् ।
मुनमुनका लागि तिहार केवल परम्परा होइन, भावनाको मिश्रण हो । ‘सप्तरंगी टीका, माला, आशीर्वाद र एकताको भावना । त्यो एक क्षणमा सबै माया एकै ठाउ“मा आउँछ,’ तर उनलाई एउटा अधूरोपन महसुस हुन्छ, ‘मेरी दिदी नेपालमै हुनुहुन्छ । उहा“ पनि स“गै भएको भए अझ रमाइलो हुन्थ्यो ।’ नेपालमा जस्तो देउसी–भैलो, सयपत्री र मखमली फूल, घरघरको झिलिमिली उता छैन । तर परदेशमा बस्ने नेपालीहरूका लागि तिहार केवल पर्व होइन, आफ्नोपन र सम्झनाको पुनर्जागरण बनेको छ ।
परदेशमा तिहार आउँदा सबैको मन खुसी हुन्छ, तर उदासी पनि स“गै आउ“छ । किनभने घरका सबै टाढा छन् । काममा बिदा पनि मिल्दैन । त्यसैले नेपालमा जस्तो रमाइलो वातावरण यहा“ नपाइने उनीहरू बताउँछन् ।
नेपालमा तिहार आउँदा देशभर उत्सवको माहोल हुन्छ । घर–आ“गन सजाइन्छ, सडकहरू झिलिमिली बत्तीले चम्किन्छन् तर विदेशमा बस्ने नेपालीका लागि त्यो समय केही फरक हुन्छ ।
दीपा कार्की नेपालबाट दुई वर्षअघि अस्ट्रेलिया आएकी हुन् । विगत दुई वर्षदेखि आफ्ना दाजुलाई भाइटीका लगाउने मौका पाएकी छन् । उनी भन्छिन्, ‘मैले अस्ट्रेलिया आइसकेपछि दुई पटक भाइटीका मनाइसकेकी छु । पहिलो वर्ष दाजुकहाँ गएर टीका लगाए“ । तर यसपटक भने समय र कामका कारण मिलाउन गाह्रो भएकाले बर्सेनि पालैपालो जाने र आउने सहमति गरेका छौं ।’ उनका दाजु पनि अस्ट्रेलियामै भए तापनि उनी फरक स्टेटमा बस्ने भएकाले फ्लाइटमै झन्डै दुई घण्टा लाग्ने बताउँछिन् ।
नेपालमा हुँदा दाजुलाई धेरै मिस गर्ने दीपा अहिले भने आफूलाई ‘ब्लेस्ड’ महसुस गर्ने बताउँछिन् । किनभने विदेशमै भए पनि दाजुसँग भेट भएर टीका लगाउन पाउने अवसर मिलेको छ ।


दीपाका अनुसार अस्ट्रेलियामा रहेर पनि नेपाली संस्कृतिको रङ ओइलिएको छैन । उनले भाइटीकाको दिन अन्य नेपाली भाइहरूलाई पनि टीका लगाइदिने गर्छिन्, जसका दिदीबहिनी अस्ट्रेलियामा छैनन् । यहाँ पहिलेभन्दा धेरै सामग्री सजिलै पाइन्छ । उनी भन्छिन्, ‘पूजाका लागि चाहिने अधिकांश सामान मिल्छ, तर बिमिरा चाहिँ अहिलेसम्म देखिनँ ।’
नेपालबाट सामग्री ल्याउन सम्भव भए पनि ढुवानी महँगो पर्न जाने र समयमै नआउने जोखिमका कारण दीपाले अस्ट्रेलिया आउ“दा नै पूजा सामग्रीको सेट लिएर आएकी थिइन् । चाडपर्वको समयमा यहाँ विभिन्न कार्यक्रम आयोजना गरिने भए पनि नेपालजस्तो सुन्दर वातावरण आउन नसक्ने बताउँछिन् ।
‘यहाँ सबैको समय मिल्दैन, त्यसैले नेपालजस्तो भाइभ आउँदैन । भैली खेल्न जान्छन्, साथीभाइसँग रमाइलो गर्छन्, तर घरको परिवारजस्तो अनुभूति हुँदैन,’ उनी भन्छिन् ।
नेपालमा रहेका भाइ र मामाको छोरालाई सधैं टीका लगाइदिएकी दीपाले अहिले तिनीहरूलाई टीका लगाउन नपाउँदा नरमाइलो महसुस हुने बताउँछिन् । ‘भर्चुअल टीका मलाई खासै मन पर्दैन, किनभने साथमा बसेर मनाइने त्यो अनुभूति अलग्गै हुन्छ । तर भिडियो कलमार्फत कुरा गर्ने गर्छु’ दीपाले भनिन् ।
लक्ष्मीपूजाको रमाइलो, साथीहरूसँगको देउसी–भैलो, नाचगान, रंगोली बनाउने, सपिङ र परिवारसँग मिलेर खानेकुरा बनाउने क्षणहरू दीपालाई अझै पनि निकै मिस हुन्छ । उनका अनुसार विदेशमा पनि नेपाली चाडपर्व मनाइन्छ तर नेपालजस्तो रमाइलो र पारिवारिक अनुभूति भने सधैं अभावकै रूपमा रहने बताउ“छिन् ।

परिवारबाट टाढा, संस्कृतिस“ग नजिक
विदेशमा बस्ने नेपालीहरूका लागि तिहार केवल चाड होइन । आफ्नो पहिचानसँग जोडिएको आत्मिक सम्बन्ध हो । कामको सिलसिलामा क्रोएसिया पुगेका नितेश सुनुवार भन्छन्, ‘यहाँ कामको व्यस्तता हुन्छ, बिदा पाउँदैनौं । तर पनि हामी साँझमा सबै नेपालीहरू जम्मा भएर लक्ष्मी पूजा गर्छौं । त्यो हाम्रो माटो र संस्कृतिस“गको सम्बन्ध जोगाउने प्रयास हो ।’
उनका अनुसार तिहार आउँदा घरको सम्झना त आउँछ नै तर यहाँ पनि नेपालीहरूको भीडले त्यो खालीपन केही हदसम्म पूरा गर्छ । उनी भन्छन्, ‘नेपालमा तिहार आउँदा गाउँभर देउसी–भैलोको स्वर गुञ्जिन्छ, यहाँ भने मोबाइलमा गीत बजाएर रमाउ“छौं तर भावना उस्तै हुन्छ ।’
होस्टेलको कोठामा गुञ्जिने नेपाली गीत र साथीहरूको हाँसोले केही क्षणका लागि घरको सम्झना फिक्का हुन्छ । ‘कोही दिदी बन्छ, कोही भाइ । नेपालजस्तो सप्तरंगी टीका र मखमली फूल यहाँ पाइन्न । हामी आफैं टीका बनाउँछौं, खानेकुरा बनाउँछौं । हाँसोठट्टा गर्दै मन हल्का पार्छौं,’ उनी भन्छन् ।



संस्कृति बचाइराख्ने प्रयास
तिहारलाई नछुटाउन विदेशी भूमिमा नेपालीहरूले आफ्नै किसिमले चाड मनाउने प्रयास गर्छन् । कसैले घर झिलिमिली बत्तीले सजाउँछन्, कसैले मःम पकाएर साथीहरूसँग मिलेर पकाउँछन् । । कतिपय भने सामाजिक मञ्चहरूमा तिहार विशेष कार्यक्रम आयोजना गरेर साझा उत्सव बनाउने प्रयास गर्छन् । यसरी तिहार केवल चाड मात्र नभई संस्कृति जोगाउने माध्यम बन्न पुगेको छ ।

 Image