पछिल्लो समय लसुन–अदुवाको पेस्टको माग बढ्दै गएको छ । अहिलेको व्यस्त जीवनशैलीमा फुर्सद कमै हुने भएकाले धेरैजसोको रोजाइ बनेको छ, पेस्ट ।
फेमिलियर कम्पनी स्थापना गरी यस्तै व्यवसायमा ८ वर्षदेखि लागिरहेका छन्, राधिका र सुमन दाहाल । कम्पनीको ब्रान्ड स्लोगन छ–‘अदुवा–लसुन किन्न नपर्ने, सिलौटामा पिस्न नपर्ने’ ।
व्यवसाय सुरु गर्दा यसरी माग बढ्ला भन्ने उनीहरूलाई लागेको थिएन । अहिले भनेमागअनुसार पुर्याउन धौधौ छ । अदुवाको माग स्वदेशी उत्पादनले धाने पनि लसुनभने भारतबाट ल्याउनुपर्ने राधिकाले बताइन् । सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, पाल्पालगायतका जिल्लाबाट पनि उनले लसुन झिकाउने गरेकी छन् ।
उनका अनुसार यो पेस्ट विशेषगरी विद्यार्थीका लागि उपयोगी छ । ‘धेरैजसो विद्यार्थीभाडामा बस्ने भएकाले उनीहरूसँग सिलौटो–मिक्चरजस्ता सामग्रीको अभाव हुन्छ,’ उनी भन्छिन्, ‘त्यसैले यस्तो पेस्ट प्रयोग गर्दासमयको बचत, किनेर खान पनि सजिलो ।’ यो पेस्ट विभिन्न प्याकेटमा पाइन्छ । ५०, १०० र ४ सय ग्रामका प्याकेटको मूल्य २५, ५० देखि १५० सम्म पर्ने उनले बताइन् ।
लसुन–अदुवाको पेस्टमा प्रिजभेटिभ राखेर ६ महिनासम्म प्रयोग गर्न सकिन्छ । प्रिजभेटिभको प्रयोगले यसमा ढुसी आउनबाट जोगाउँछ ।‘यो खोलेपछि फ्रिजमा राख्नुपर्ने हुन्छ, फ्रिज नभएकाहरूले सानो परिमाणमा किनेर प्रयोग गर्न सक्नेछन्,’ उनले भनिन् । राधिकाको व्यावसायिक यात्रा भने पत्रकारिताबाट जोडिन्छ । उनले लामो समय आर्थिक पत्रकारिता गरिन् । ‘व्यवसाय र व्यवसायीको रिपोर्टिङ गर्दा व्यवसायी नै बन्छु भन्ने रहर जागेको थियो,’ उनले सुनाइन् । पत्रकारिता छोडेर उनको यात्रा राजनीतिमा पनि जोडियो । काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकामा उपप्रमुखमा उम्मेदवार बनिन् तरपराजित बनिन्् ।
दुई बच्चालाई हुर्काउँदै दम्पतीले हाँकेको व्यवसाय फस्टाउँदो छ । उनको व्यवसाय लसुन–अदुवाको पेस्टमा मात्र सीमित छैन ।‘मौलिक भान्साघर रेस्टुरेन्ट’ पनि सञ्चालनमा छ । रेस्टुरेन्टको जिम्मेवारी लिएका छन्–सुमनले । रेस्टुरेन्टले मौलिक खानेकुराको स्वाद पस्किरहेको छ । जहाँ फापरको खीरदेखि मकैको च्याँख्ला एवं जौका परिकारउपलब्ध छन् । मानिसहरू अर्गानिक खानेकुराप्रति सचेत हुन थालेकाले अर्गानिक परिकारपस्कन थालेको राधिकाले बताइन् ।
यहाँ ब्युटी हर्बलका सामान पनि पाइन्छन् । ११ जनाले रोजगारी पाइरहेको कम्पनीको व्यवस्थापन र मार्केटिङ राधिकाले नै सम्हालिन्छन् । त्यसो त व्यवसायमा अनेक चुनौती पनि छन् । सुरुमा उनी महिला उद्यम कर्जा लिन बैंकपुगिन्, तर धितोको कारण देखाउँदै फर्किनुपर्यो । व्यसायीहरूलाई विभिन्न नाराले आकर्षण देखाएपनि व्यवहारमा सहज नभएको उनको भनाइ छ ।‘व्यवसाय गर्न सहज वातावरण बनिसकेको छैन, सरकारले विभिन्न कर्जा प्रदान गर्ने भने पनि व्यवहारमा त्यो छैन, यसले पनि व्यवसायीहतोत्साहित हुन पुगेका छन्,’ उनले भनिन् । व्यवसायमा अर्को चुनौती जनशक्तिअभाव हो । लामो समय टिक्न नसक्ने र विदेश पलायन हुने भएकाले जनशक्ति व्यवस्थापन जटिल बनेको उनको भोगाइ छ ।अब उनको लक्ष्य अनलाइन व्यापार हो । ‘सानो परिमाणमा सामान पुर्याउन गाह्रो हुनेरहेछ । त्यसकारण अनलाइन व्यापारका लागि विभिन्न सामान थपेर कम्बो सेटका रूपमा व्यापार गर्ने योजना छ,’ उनले भनिन् ।