Successfully Copied

‘फिल्म बनाउने रहर छ’

देशमा पहिले तीनजना हिरो मिलेर फिल्म खेलिरहेका थिए । अहिले ती मान्छे फेरिएर नयाँ मान्छे छान्ने क्रम हुँदैछ । पहिलेको भन्दा राम्रो अवस्था होला भन्ने आशा छ ।


सीता न्यौपाने, कलाकार
सानैदेखि बोलक्कड सीता न्यौपाने कक्षामा शिक्षकसँग पनि बोलिरहन्थिन् । एकपटक शिक्षकले भनेछन्, ‘दुई रुपैयाँ दिन्छु नबोल ।’ स्कुले शिक्षा र ब्याचलरसम्मको अध्ययन चितवनबाट गरेकी उनले त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा मास्टर्स पूरा गरिन् । सानैदेखि बोल्ने रुचि भएकैले होला अहिले उनी कमेडियनका रूपमा स्थापित छिन् । स्टान्डअप कमेडीमा ‘के हेरेको बे’ को सफलतापछि उनलाई धेरै स्ट्यान्डअप कमेडी, गाईजात्रामा पर्फम गर्ने अवसर प्राप्त भयो । उनले वर एण्ड बधू, माग्ने राजा, हरिबहादुरको जुत्ता चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनै सीतासँग कमेडियन यात्रालगायतका विषयमा गरिएको कुराकानी:
माइक्रोबायोलोजी पढेको मान्छे कमेडी क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
कमेडी क्षेत्रमा हाम्रो खान्दानीमै कोही छैन । कहिलेकाहीँ भाग्यले पनि निर्धारण गर्दो रहेछ । प्यासनले एक्कासि यता तान्यो । खाली बसिरहेका बेला स्टान्डअप कमेडीमा भाग लिएँ, पहिलो प्रस्तुति धेरैले मन पराइदिनुभयो । अब्जरभेसन र सेल्फ स्टडीले यो क्षेत्रमा आएकी हुँ ।
यो क्षेत्रमा लागेको कति भयो ? कहाँ–कहाँ पर्फमेन्स गर्नुभयो ?
लगभग ५ वर्ष पुग्न लाग्यो, प्रायः नेपाल घुमें । धेरै ठाउँमा पर्फम गरिसकें । विदेशमा पर्फमेन्स गर्न पाएकी छैन । भारत पनि गएकी छैन । पालो आउला हतार पनि छैन ।
कमेडीमार्फत मान्छेलाई हँसाउन कत्तिको सहज छ ?
हँसाउन गाह्रो काम हो । दर्शकले आफ्नो पर्फमेन्स मनपराइदिनुप¥यो, हाँस्नुप¥यो । एक्सपेक्टेसनभन्दा उल्टो बनाएर प्रस्तुत ग¥यो, विषयवस्तु सम्बन्धित भयो भने हाँस्नुहुन्छ ।
केही समयअघि गाईजात्रामा ‘हिरासत’ पर्फमेन्स निकै हिट भयो नि, केही बताइदिनुहोस् न ।
गाईजात्रामा हिरासतको राम्रो प्रतिक्रिया आएको थियो । मैले उठाएका मुद्दा समाजका लागि प्रभावकारी भयो भन्ने लाग्यो । राम्रो प्रतिक्रिया आउँदा खुसी हुन्छु । हामीले कमेडीका माध्यमबाट समाजमा भएका, घटेका घटना नै देखाउने हो ।
फिल्ममा पनि अभिनय गरिसक्नुभयो ? पर्फमेन्स गरेर जीवनयापन गर्न सकिन्छ ?
फिल्म र स्टान्डअप गरिरहेकी छु । अहिले देशको अवस्थाले गर्दा खासै काम छैन । कतिपय काम रोकिएका छन् । अरु बेलामा यी काम गरेर जीवनयापन गर्न पुगेको छ ।
देशको अवस्थाप्रति केही भन्नु छ कि ?
देशमा पहिले तीनजना हिरो मिलेर फिल्म खेलिरहेका थिए । अहिले ती मान्छे फेरिएर नयाँ मान्छे छान्ने क्रम हुँदैछ । पहिलेको भन्दा राम्रो अवस्था होला भन्ने आशा छ ।
कतिपय अवस्थामा पर्फम गर्दा नकारात्मक प्रतिक्रिया आउने गर्छन् के भन्नुहुन्छ ?
पर्फमेन्स गर्दा, हँसाउँदा सोच्नुपर्छ । कसैको जात, धर्म, रङमा मजाक गर्नुहुँदैन । आमा र मानवतालाई मध्यनजर राख्नुपर्छ । विदेशमा कमेडीलाई हल्का रूपमा लिए पनि हाम्रो समाज अझैं खुलेको छैन । त्यसैले समाजअनुसार प्रिजेन्ट हुनुपर्छ । यसो भएमा प्रश्न उठ्दैन ।
महिला यो क्षेत्रमा किन कम भएका होलान् ? पारिश्रमिकमा विभेद छ कि छैन ?
छोरी मान्छेलाई समाज, घरबाट प्रोत्साहन नमिलेर पनि कम भएका होलान् । छोरीहरू आत्मविश्वासका साथ राम्रो काम गर्दै अघि बढ्नुपर्छ । पारिश्रमिकमा विभेद छैन ।
जीवनको लक्ष्य के छ ?
फिल्म बनाउने रहर छ । कमेडी पनि छोड्दिन । यो मेरो मन पर्ने कुरा हो । मर्ने बेलामा पनि माइक लिएर मर्न पाऊँ भन्ने रहर छ ।

 Image