डा. विजया पन्त, विभागीय प्रमुख, वनस्पति शास्त्र केन्द्रिय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
जापानमा विद्यावारिधि सकेर नेपाल फर्किंदा डा. विजया पन्तले १८ घण्टासम्मको लोडसेडिङ, सीमित प्रयोगशाला र स्रोत–साधनको अभाव सामना गर्नुपर्यो । तर प्रतिकूलतालाई अनुसन्धानलाई अवरोध होइन, नयाँ बाटो खोज्ने चुनौतीका रूपमा लिइन् । त्यही प्रयासले उनलाई नेपालमा टिस्यु कल्चर प्रविधिमार्फत लोपोन्मुख सुनाखरीको संरक्षण र प्रवद्र्धन गर्ने वैज्ञानिकका रूपमा स्थापित गरायो । प्रयोगशालामा मात्र सीमित नराखी ५० भन्दा बढी प्रजातिका सुनाखरी प्रयोगशालामा उत्पादन गरेर विभिन्न स्थानमा रोप्नेदेखि तिनमा रहेका औषधीय गुणको अनुसन्धान गर्ने गराउने काम उनले गरिरहेकी छन् । उनको बुझाइमा अनुसन्धानको सफलता शोधपत्र प्रकाशनमा मात्र होइन, त्यसले समाजलाई लाभ दिनु र आर्थिक सम्भावनाको ढोका खोल्न सक्नुमा मद्दत गर्नु हो । अहिले त्रिभुवन विश्वविद्यालयको वनस्पति शास्त्र केन्द्रिय विभागको नेतृत्व गरिरहेकी पन्त त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको कार्यकारी सदस्य पनि हुन् । साथै उनी ट्वासको फेलो र नास्टको प्राज्ञसमेत रहेकी छिन् । उनीसँग नारीले गरेको कुराकानी :
विज्ञान र विशेषगरी वनस्पतिशास्त्रतर्फ आकर्षित हुने तपाईंको पारिवारिक वा शैक्षिक पृष्ठभूमि के थियो ?
झापाको घैलाडुब्बास्थित आदर्श विद्या मन्दिरबाट विद्यालय तह सकेकी हुँ । २०३७ सालमा एसएलसी पास गरेपछि विज्ञान विषय पढ्न काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसमा भर्ना भएँ । अस्कलबाट आईएस्सी र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि मेरो यात्रा जापानको हिरोसिमा विश्वविद्यालयतर्फ सोझियो । त्यहाँबाट ‘बायोटेक्नोलोजी’ मा विद्यावारिधि (पीएचडी) हासिल गरेकी हुँ । सानैदेखि पढाइमा अब्बल विद्यार्थी थिएँ । शिक्षित वातावरणमा हुर्किएकी मेरा लागि बुवा हरिचरण सिटौला प्रेरणाको स्रोत हुनुहुन्थ्यो । हाम्रो विद्यालयमा विज्ञानको ठूलो प्रयोगशाला थियो । साथै घर वरिपरि थुप्रै बिरुवा भएकाले बिरुवाप्रति लगाव र अभिरुचि हुनु स्वभाविक थियो ।
जापानमा विद्यावारिधि गरेपछि त्यहीँ बसेर अनुसन्धान र करिअर अघि बढाउने अवसर पनि थियो । नेपाल फर्किएर यहीँ काम गर्ने निर्णय कसरी लिनुभयो ?
उतिबेला पढेर घर फर्कने भन्ने योजना मात्र थियो । त्यसैले उता अवसर छ–छैन भन्ने ‘सेकेन्ड थट’ नै भएन । जापानको अध्ययन सकेर नेपाल फर्कदा अवस्था फरक थियो । त्यहाँ आउँदा दिनको १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । जापानको अत्याधुनिक ल्याबमा काम गरेर फर्केकी मलाई नेपालको सीमित स्रोत–साधनबीच काम गर्न सुरुवाती दिनमा निकै सकस भयो । सुरुका ६ महिना त कसरी काम गर्ने होला भनेर चिन्ता लाग्यो । तर हार नमानी प्रतिकूलतामा अनुकूलता खोज्न थालें । विभागमा भएको टिस्यु कल्चर प्रयोगशालालाई अपग्रेड गर्ने काम सुरु गरें । मैले जापानमा पढ्दा त्यहाँको रिसर्चरहरू कुनै कम्पनीको समस्या रिसर्चका रुपमा गर्थे । विद्यार्थी ल्याबमा मास्टर्स थेसिस नै पछि आवद्ध हुने कम्पनीको काम गर्थें ।
संसारमा प्राय: जसो विकसित देशहरूमा कम्पनीको रिसर्च विश्वविद्यालय र इण्डष्ट्री मिलेर नवपवर्तन गर्ने, व्यापारमा सहयोग गर्ने र उत्कृष्ट प्रोडक्ट बनाउने गर्थे । उदाहरणका लागि कोरियामा युनिभर्सिटीमा गरेको रिसर्च, व्यावसायिक कम्पनी अथवा पब्लिकलाई सपोर्ट गर्नका लागि सहकार्य गर्छन् र उत्पादनसँग जोडिएको हुनुपर्छ । त्यस्तो काम गर भनेर प्रोत्साहन गरिन्छ । युनिभर्सिटीमा गरेको रिसर्च कम्पनीहरूलाई, पब्लिकलाई सपोर्ट गर्ने हुनुपर्छ, बल्ल रिसर्चको अर्थ हुन्छ । त्यस्तो काम गर्नुस् भनेर प्रोत्साहन भएमा सबैले पीएचडी गर्नु पर्दैन, सबै जना पढाउन जानु पनि पर्दैन । संसारका धेरै इन्डस्ट्री साइन्स र इन्डस्ट्री जोडिएर अगाडि बढेको हो ।
नेपाल फर्केको ६ महिनापछि त्रिभुवन विश्वविद्यालयमा वनस्पति केन्द्रिय विभागमा पार्ट टाइम टिचरका रूपमा पढाउन थालें । त्यसपछि विभिन्न परीक्षा पास गर्दै लेक्चरर, रिडर हुँदै प्रोफेसर बनें । त्रिवि परिसरभित्रै सुनाखरीको अनुसन्धानलाई व्यवस्थित बनाउन ल्याब स्थापना गरें । तर ल्याबमा रहेका बिरुवालाई चौबीसै घण्टा निश्चित तापक्रम र प्रकाशको संयोजन मिलाएर राख्नुपथ्र्यो । त्यो समयमा लोडसेडिङ भएकाले बिरुवा जोगाउन बल्लतल्ल इन्भर्टर जोडेर सानो ठाउँबाट अनुसन्धान सुरु गर्यौं । विद्यार्थीहरूले तिनै बिरुवामाथि अनुसन्धान गर्न पाए । अनुसन्धान गरुन्जेल बिरुवाले पनि जसोतसो रेखदेख र स्याहार पाए । तर थेसिसको काम सकिएपछि बिरुवालाई स्याहार गर्न छाडियो निरन्तरता दिन नसकिएका अवस्थामा ल्याबमा बनेका बिरुवा बाहिर उत्पादित हुन सकेनन् । त्यसमाथि २०७२ सालको भूकम्पले ल्याब भएको भवन नै क्षतिग्रस्त भएपछि अनुसन्धान सीमित भएर सानो कोठामा अनुसन्धान गर्न बाध्य भयौ । तर भौतिक संरचना भत्किए पनि श्रीमान् डा. वसन्त पन्तले सञ्चालन गरेको अन्नपूर्ण न्यूरो अस्पतालभित्र संचालन भएको एक भवनमा अन्नपूर्ण अनुसन्धान केन्द्र स्थापना गरी सुनाखरीमाथि थप अनुसन्धानका लागि टिस्यु कल्चर ल्याब स्थापना गर्न योगदान गरें । त्यसपछि ल्याबमा बनेका बिरुवा ‘ल्याब टु ल्याण्ड’ को अवधारणा अगाडि बढेको र बढ्दैछ ।
सो अनुसन्धान केन्द्रमा मोलिकुलर, व्यावसायिक अन्य बिरुवाको टिस्यु कल्चर, क्यान्सर रिसर्च र बायो मेडिकल रिसर्च जस्ता अनुसन्धान गर्न सक्ने क्षमताको वृद्धि भएको छ । यो ल्याबमा मैले पढाइरहेका त्रिभुवन विश्वविद्यालयका विद्यार्थी लगायत अन्य अनुसन्धानकर्ताहरू कार्यरत छन् । हालसम्म अर्किड लगायत बायो टेक्नोलोजी, औषधीजन्य ९ जनालाई विद्यावारिधि र ८० भन्दा बढी विद्यार्थीलाई एमएस्सीको शोधकार्यमा मार्गदर्शन गरिसकेकी छु ।
टिस्यु कल्चर प्रविधिमा नेपालको कति सम्भावना नेपालमा कति ठूलो देख्नुहुन्छ ?
टिस्यु कल्चर भनेको बिरुवाको सानो कोष वा तन्तुबाट हजारौंको संख्यामा स्वस्थ बिरुवा उत्पादन गर्ने प्रविधि हो । यो प्रविधि भनेको बिरुवाको कुनै पनि सानो भाग, पातबाट बिरुवालाई जे चाहिन्छ, त्यस्तो आवश्यक वातावरण र खाना उपलब्ध गराई प्रयोगशालामा उस्तै बिरुवा बनाउन सकिन्छ । बिरुवाको जरा, पात, मुना, फूल जे भए पनि पूर्ण बिरुवा बन्ने क्षमता हुन्छ । एउटाबाट हजारौं लाखौं बिरुवा बनाउन सकिन्छ ।
जस्तो विदेशमा कार्नेसन, लिली लगायत अन्य थुप्रै व्यवसायिक महत्वका बिरुवा यसै प्रविधिबाट बनाइन्छ । नेपालमा यसको जतिसक्दो उपयोग गरेर सुनगाभा जस्तो लाखौ औषधीजन्य र आर्थिक महत्वका बिरुवा बनाएर व्यवसायिकरण गर्न सक्छौ । यस्ता सुविधायुक्त रिसर्च सेन्टर नेपालमा जति धेरै स्थापना भए त्यति दक्ष युवा जनशक्तिले स्वदेशमै काम पाउँछन् । युवा विदेश पलायन कम हुन्छ ।
सुनाखरीको अनुसन्धानमा कसरी लाग्नुभयो ?
सुनाखरीको व्यावसायिक महत्व जापानमा हुँदा नै बुझेकी थिए । नेपाल आएपछि यसको अवैध वेचविखन र दोहन भएको थाहा पाए । अध्ययन गर्दा यसमा धेरै नै औषधीजन्य गुण रहेछन् । जस्तो कि च्यवनप्राशमा यसको मिसावट छ । त्यसपछि क्यान्सर विरोधी तत्वको अध्ययन अनुसन्धान सुरु भयो ।
सुनाखरी अथाह औषधीय गुण भएको बिरुवा हो । हाम्रो टिमले सुनाखरीमा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, ब्रेन ट्युमर र फोक्सोको क्यान्सरका कोषहरूलाई मार्ने तत्व रहेछन् भन्ने कुरा पत्ता लगाएको छ । विशेष कुरा त के छ भने, यी तत्वले सामान्य स्वस्थ कोषलाई असर नगरी केवल क्यान्सरका कोषलाई मात्र नष्ट गर्छन् । यस्ता तत्वहरू टिस्यु कल्चर प्रविधिबाट प्रयोगशालामै उत्पादन गर्न सकिन्छ भन्ने कुरा हाम्रो टिमले प्रमाणित गरिसकेका छौ । थप अनुसन्धान गर्न बाँकी नै छ ।
बोटनी विभागको प्रमुखको जिम्मेवारी सम्हालेपछि तपाईंको भूमिका अनुसन्धानकर्ताबाट प्रशासकीय नेतृत्वतर्फ पनि विस्तार भएको छ । अहिले विभागलाई कसरी रूपान्तरण गर्ने र आगामी वर्षमा कहाँ पुर्याउने लक्ष्य राख्नुभएको छ ?
अहिले रोल सिफ्ट हुुनुका साथै जिम्मेवारी बढेको छ । पहिले पूर्णरूपमा अध्ययन, अनुसन्धान लगायत अन्य दायित्वमा पनि थिए । जस्तो डिन अफिसको अनुसन्धान कमिटीमा मन्त्रालयको विज्ञानसम्बन्धी पोलिसी बनाउने काममा, नास्टको एकेडेमिक काममा संलग्न थिएँ । अहिले विभागको पूर्ण प्रशासकीय रोल भएको छ । विभागमा सामूहिक रुपमा राम्रोसँग नतिजामुखी काम कसरी गर्न सकिन्छ भन्ने कुरामै केन्द्रित छु । नियमित मैले गर्नुपर्ने काम, विभागीय, प्रशासकीय यसका अलावा मैले नियमित गर्नुपर्ने साथै विद्यार्थीलाई अनुसन्धान गराउने काम पनि जारी नै राख्नेछु ।
विभागलाई प्राज्ञिक र संरचनागत रूपमा उत्कृष्ट रुपमा बनाउन लागिपर्नेछु । हाम्रो शिक्षा अन्तर्राष्ट्रिय स्तरकै भएको कारणले हाम्रा विद्यार्थी संसारका विभिन्न देशमा पुगेर उत्कष्ृट प्रमाणित गरेका छन् । विद्यार्थीले पढेको शिक्षा र आर्जन गरेको ज्ञानलाई परिणाममुखी गर्न लागिरहेका छौं । समाज र देशलाई अनुसन्धानले दिन सक्ने सहयोगमुखी अनुसन्धान गर्न हाम्रो विभाग लागि परेको छ । वनस्पति विधाको महत्वपूर्ण इतिहास बोकेको यो विभागको पुनर्निाण गर्नु राज्यको दायित्व पनि हो । महत्वपूर्ण बिरुवा र संकटापन्न अवस्थामा पुगेका सुनाखरीको लागि कन्जरभेटरी बनाइदिने लक्ष्य छ । साथै नेपाल औषधीजन्य बिरुवाको ‘हर्बल नलेज पार्क’ बनाइदिन सक्यो भने औषधीजन्य बिरुवाजन्य ज्ञान पनि अनुसन्धानकर्तालाई यहीबाट प्रदान गर्न सक्नेछौ ।
यो विभागलाई स्टुडेन्ट फ्रेन्डली बनाउनका लागि आउटडोर लर्निङ आवश्यक पर्ने भएकाले यसलाई प्रभावकारी बनाउन लागिपरेकी छु । हाम्रो विभागको ६० प्रतिशत काम हुने भवन भूकम्पले भत्केका थिए । यो पुनर्निर्माण नभएको बखत स्पेसलाई उपयोग गर्न यहाँ रहेका स्थान, गार्डेनलाई ब्युटिफाई र उपयोग गरौं भनेर काम भइरहेको छ ।
मास्टर्सका करिकुलम पनि समयानुसार परिमार्जन गर्ने योजनामा छौं । किनभने शिक्षा समयसापेक्ष पनि हुनुपर्छ । यसैगरी पीएचडी गर्ने विद्यार्थी बस्ने ठाउँको अभाव छ, त्यो बनाइदिने र पीएचडी शोधार्थीको लामो समयदेखि स्पेसका कारण नियमित प्रिजेन्टेसन रोकिएको थियो, त्यो सुरु भयो । एकैपटक भन्दा पनि व्यवस्थित हुने किसिमले गरेकी छु । टिम वर्कको सहयोगमा सकेसम्म राम्रो गर्ने प्रयास गर्नेछु । पदको जिम्मेवारी लिएपछि शत प्रतिशत राम्रो गर्ने प्रयास गर्नुपर्छ ।
अहिले विद्यार्थीका लागि वनस्पतिशास्त्र कत्तिको आकर्षक विषय बनेको छ ? वनस्पति विज्ञानलाई परम्परागत विषयका रूपमा नभई भविष्यको विज्ञान, रोजगारी र आर्थिक सम्भावनासँग जोडेर हेर्नुपर्ने आधार के हुन् ?
वनस्पति शास्त्र सबैको सधै नै आकर्षक विषय हो । यस अन्तर्गत पनि विभिन्न विधा प्लान्ट साइन्स, एग्रिकल्चर, फरेस्ट्री, वातावरण, जैविक प्रविधि जस्ता धेरै विधा पर्छन् । सानोभन्दा सानो लेउदेखि ठूला ठूला (जायन्ट) रुखसम्म सबै वनस्पति हुन् । पानीमा, जमिनमा, उम्रने झ्याउ, ढुसी लेउदेखि लिएर रुखमै उम्रने सबै प्रकारका वनस्पति हुन्छन् । यसका धेरै ठूला डाइमेन्सन हुन्छन् ।
मेजर एन्टिबायोटिक औषधि पनि यसैबाट बन्छन् । त्यो सबै उपयोगिता गास, बास र कपास सबै वनस्पति नै हो । यी विना जीवन सम्भव छैन । यसमा अनुसन्धान गर्नुपर्ने, बुझ्नुपर्ने धेरै कुरा छन् । हाम्रो देशमा यति धेरै औषधिजन्य बिरुवा भएको कारणले यसको प्रयोग गर्न सक्छांै, यसबाटै ठूला–ठूला इन्डस्ट्री निर्माण गर्न सक्छौं । फूलको पनि अथाह सम्भावना छ । सौन्दर्य प्रसाधनको उद्योग वनस्पतिमै निर्भर रहन्छ । साथै परम्परागत, कल्चर, धार्मिक कार्यक्रम वनस्पतिविना सम्भव छैन । संस्कृतिका रूपमा तुलसी पूजा गर्ने, भाइ पूजामा सयपत्री, मखमली फूल आवश्यक पर्छ । प्रत्येक फूलका आ–आफ्नै विशेषता र महत्व छन् ।
विद्यार्थीलाई प्रयोगात्मक र अनुसन्धानमुखी शिक्षा दिन विभागले कस्ता अभ्यास गरिरहेको छ ? नेपालमा वनस्पति विज्ञानको उच्चस्तरीय अनुसन्धानको अवस्था र मुख्य चुनौतीलाई तपाईं कसरी
मूल्यांकन गर्नुहुन्छ ?
बेसिक लेवलको अनुसन्धान धेरै गरिहेका छांै । कोर्समा भएका प्रयोगात्मक कक्षा अनुसन्धान गर्न तथा गराउन सधै तत्पर छौं । हाइलेवलको अनुसन्धान गर्न भने भौतिक संरचनाले गर्दा अप्ठ्यारोमा छौं । यस्तो अवस्थामा पनि यहाँ नसक्ने काम अरुसँग सहकार्य गरेर आउट सोर्सिङ गरेर पनि गरिरहेका छांै । रिसर्चमा ठूलो रकम छुट्याउनुपर्छ । परिणाम दिन सक्ने रकम सरकारबाटै छुट्याउनुपर्छ । फ्याकल्टीले आ–आफ्नो पहलमा यस्तो रिसर्च ग्रान्ट ल्याएर शोधार्थीलाई थेसिस गराउन सहयोग गरिरहेका छन् । हाई अल्टिच्युडदेखि लो ल्यान्डसम्म सबैथरि बिरुवाको अनुसन्धान गराउन सकिन्छ । यो वर्षको प्राथमिकता के हो ? भन्ने बुझेर पब्लिक प्राइभेट पार्टनरसीप हुनुपर्छ । सहकार्य गरेर अघि बढेमा परिणाममुखी नतिजा आउँछ ।
क्यान्सर रिसर्च यहाँ गर्न सकिँदैन । त्यही भएर हाम्रै पीएचडी विद्यार्थीले अन्नपूर्ण रिसर्च सेन्टरमा अनुसन्धान गरेर अर्किडमा पनि क्यान्सर मार्ने तत्व हँुदो रहेछ भन्ने पत्ता लगाए । यसको गहिराइमा जान बाँकी छ । हाम्रो बेसिक संरचना कक्षा लिन सक्ने मात्र लिमिटेड छ ।
अनुसन्धान खोल्ने मात्र भन्दा पनि भएको ठाउँलाई स्तरोन्नति गर्नुपर्ने हो । यहाँ मास्टर्स र पीएचडी गर्न आउँछन्, उनीहरूले नतिजामुखी अनुसन्धान गर्ने हो । राष्ट्रिय स्तरको रिसर्च गर्ने ठाउँ विश्वविद्यालयलाई बनाउनुपर्छ । इन्भेस्ट गर्नुपर्छ । त्यो रिसर्चलाई इन्डस्ट्री र समाजसँग कसरी जोड्नुपर्छ । त्यति गर्न सकिएको छैन । गर्न सक्ने क्यापाबिलिटी भए पनि संरचना र रिसोर्सेजले अड्किएको छ ।
पब्लिक, प्राइभेटसँग सहकार्यमा गएर रिसर्च परिणाममुखी हुन्छ । मैले अन्नपूर्णसँग सहकार्य गरिरहेकी छु । यस्ता ठाउँ अरु पनि जेनेरेट हुनुपर्यो । जागिर यहीँ सिर्जना हुन्छ । ‘फर्क वैज्ञानिक भनिन्छ’ तर यहाँ भएकालाई अकोमेडेट गर्ने ठाँउ खोइ ? एप्लिेकेसन हुनुपर्यो, समाजले फाइदा पाउनुपर्यो । अनुसन्धान केवल कागजमा मात्र सीमित हुनुहुँदैन । अनुसन्धानलाई अर्थोपार्जन र समाजसँग जोड्न नसकेसम्म त्यसको औचित्य हुँदैन ।
लोपोन्मुख वनस्पतिको संरक्षणदेखि औषधीय तथा आर्थिक महत्व भएका वनस्पतिको प्रवद्र्धनसम्म विश्वविद्यालयले कस्तो भूमिका खेल्नुपर्छ ? नेपालले वनस्पतिमा आधारित ठूलो उद्योग विकास गर्ने सम्भावना कति देख्नुहुन्छ ?
एकदमै ठूलो सम्भावना छ । नेपालको ठूलो इन्डस्ट्री नै ओषधीजन्य र फ्लोरिकल्चर भ्यालु भएको बिरुवाको एकदम ठूलो सम्भावना छ । सबैभन्दा ठूलो कुरा पोलिसीमा काम गर्नैपर्छ । यसले फाइनान्स जेनेरेट, इन्डस्ट्री सिर्जना गर्छ भन्ने कुरामा पहिले नै विश्वस्त भई प्राथमिकतामा आधारित अनुसन्धान युनिभर्सिटी, सरकार प्राइभेट सेक्टर मिलेर गरेमा ठूलो सम्भावना बोकेको क्षेत्र हो । हाम्रो अनुसन्धान खोजी भएको छैन, गर्नेहरूले गरिरहेका छन् । कुनलाई प्राथमिकतामा राखेर काम गर्ने भनेर पोलिसी बनाएर काम गरेमा आर्थिक उपार्जन गर्न सकिन्छ ।
ठूलाठूला सेन्टर, इन्क्युबेसन सेन्टर बनाउनुपर्छ, जहाँ इन्डस्ट्रियल प्रोडक्सन गर्न सकियोस्, रिसर्च इनोभेसनलाई प्रोडक्ट बनाउने ठाउँसँग कनेक्सन गर्न सकियोस् । ग्राजुयटले त्यस्तो ठाउँमा काम गर्न पाऊन् । हामीसँग सिड कति छन्, हामीसँग बैंकिङ नै छैन, डेटा नै छैन, रियलमा कुन–कुन हो भन्ने नै छैन । औषधीजन्य बिरुवा छन् भनेर मात्र भएन, त्यसको महत्व हुनुपर्यो ।
कोरियामा जिनसेङ भन्नेले मात्रै सामसुङको जत्तिकै इकोनोमी परिवर्तन गरेको छ । यसको ब्युटी प्रोडक्ट, पेय पदार्थ सबै छ ।
हामीकहाँ यस्ता धेरै छन्, तर पनि महत्व छैन । क्यान्सर तथा अन्य रोगका लागि उपयोगी वनस्पति छन्, तर अन्दाजका भरमा भएन, रिसर्चले प्रमाणित गरेर त्यसको साइन्टिफिक पब्लिकेसन्स भएर त्यसको भ्यालिडिटी टेस्ट गर्नुपर्छ । पेटेन्ट लिन त गाह्रो छ, यहाँ । रिसर्चरले मैले गरेको इनोभेसन हो भनेर देखाउने ठाउँ छैन । त्यस्तो चीजलाई सहजीकरण गरिदिनुपर्छ । अर्किडमा क्यान्सरविरोधी तत्व छ भनेर हिँडिरहेका छांै । पोलिसी मेकर, सरकारले नै चासो दिएर गर्नुपर्छ ।
वनस्पति अनुसन्धानलाई सरकारी नीति, उद्योग र राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने हो भने राज्यको प्राथमिकता के हुनुपर्छ ? नेपालले तत्काल कुन क्षेत्रमा लगानी बढाउन आवश्यक छ ?
नेपालको परिप्रेक्ष्यमा सरकारलाई रेभिन्यु दिन सक्ने र एकदम सम्भावना भएको क्षेत्र वनस्पति पनि हो । भारतमै एउटा पतञ्जलीले आर्थिक अवस्था कमजोर भएकालाई पनि साबुनले नुहाउन सक्ने बनाएको भिजिट गर्दा देखें । यस्तो सम्भावना सबैले खोजिरहेका छन् । अहिले सबैले हर्बल, मेडिसिन हर्बल चिया भनेर सबै वेस्ट नै इस्टतिर फर्केका छन् । यी हरेक चीजलाई इन्डस्ट्रीसँग जोड्ने सम्भावना छ । हाम्रो चिया वनस्पति नै हो । दार्जीलिङ टी भनेर इलामकै चिया बेचिन्छ । हामीले यो हाम्रो हो भनेर कतै दर्ता गर्न सकेका छैनौं । हाम्रै पोटेन्सेला प्राइमुला भन्ने अर्नामेन्टल जंगली फूललाई जापानले पहिले नै लगेर राम्रो गार्डेन फ्लावर भनेर प्रमोट गरेको छ । राष्ट्रिय फूल लालीगुराँसकै पनि राम्रो मार्केटिङ च्यानल भएन । अथेन्टिक प्रोडक्ट हो भनेर हामीले गर्न सकेका छैनौं । अथाह छ भनेर मात्र पनि एक्ज्याक्टली के हो भनेर फाइनल प्रोडक्ट निकाल्न चुकेका छौं ।
देशमा सम्भावना हुँदाहुँदै पनि ठूलो संख्यामा विद्यार्थी विदेश जाने क्रम बढिरहेको छ । वनस्पति विज्ञानजस्तो अनुसन्धानमुखी विषयमा विद्यार्थीलाई नेपालमै आकर्षित गर्न र करिअरको वातावरण बनाउन के गर्नुपर्छ ?
गर्न सक्यो भने यो ठूलो स्कोप भएको राम्रो विषय, स्वस्थ साइन्स हो । वातावरण, प्रकृति सबै यसअन्तर्गत पर्छन् । जहाँसम्म विद्यार्थी विदेश जाने ट्ेरन्ड छ, संसार खुल्ला छ, मान्छेले आफ्नो च्वाइस गर्न पाउँछ । विदेश गएकै भोलिपल्ट के–के न हुन्छ स्वदेशमा केही छैन भनेर सोच्नु भने बेकार हो । मैले जापानमा सबै सम्भावना हुँदाहँुदै पनि नेपाल आएर १८ घण्टा लोडसेडिङ हुँदा पनि यहीँ केही गर्ने सकिन्छ भनेर लागिपरें । हुनत यो व्यक्तिमा भर पर्छ । आफ्नो माटो भन्दा प्यारो केही हुन सक्दैन । यहाँ केही छैन भन्ने गलत धारणा भने राख्न भएन ।
तपाईंले अघि सार्नुभएको ‘ल्याब टु ल्यान्ड’ अवधारणाले प्रयोगशालामा उत्पादन भएका बिरुवालाई प्राकृतिक वातावरण र समुदायसम्म पुर्याउने लक्ष्य राख्छ । यो अवधारणा व्यवहारमा कसरी कार्यान्वयन भइरहेको छ ?
ल्याब टु ल्यान्डको महत्व बुझेर मैले ल्याबको कोठाभित्र राखिएका बन्द बट्टाभित्र ४० भन्दा बढी लोपोन्मुख प्रजातिका सुनाखरी उत्पादन गरेर संरक्षण गरेकी छु । ल्याबमा बिरुवा उमार्ने मात्र होइन, ‘ल्याब टु ल्यान्ड’ अभियानअन्तर्गत प्रयोगशालामा टिस्यु कल्चर प्रविधिबाट उमारिएका हजारौं सुनाखरीका बिरुवा अहिले ललितपुर, गोरखा, लुम्बिनी र इलाम आदि ठाउँमा रोपिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सहकार्य गरेर जावलाखेलस्थित चिडियाखानामा पनि रोपिएको छ ।
वातानुकूलित बन्द कोठा भित्र उमारिएका बिरुवालाई बूढानीलकण्ठस्थित नर्सरीमा केही दिन परीक्षणका लागि राख्ने र प्राकृतिक वातावरणमा हुर्किन सक्छ भन्ने यकिन भएपछि विभिन्न जिल्लामा पठाउने गरिएको छ ।
नेपालमा अनुसन्धान नै नभएको होइन, त्यसलाई डेलिभर गर्ने, कार्यान्वयन गर्ने सिस्टममा कमी छ । यो सिस्टमेटिक गर्नुपर्छ । यद्यपि वनस्पति पढेकाहरू पढाउने, रिसर्चलगायतका काममा आबद्ध छन् ।