Successfully Copied

‘महिलाले गाउने मात्र होइन, बाजा पनि बजाउनुपर्छ’

नयाँ गीत बनाउनु, परिमार्जन गर्नु एकदम राम्रो कुरा हो । तर संगीतको आधार, जरा के हो बुझेर गयो भने यसको जटिलता, सांगीतिक सिद्धान्त गहिरोबाट बुझ्दै गइन्छ ।

आना स्टर
एसोसिएट प्रोफेसर, हवाई विश्वविद्यालय, अमेरिका
अमेरिकाको टेक्सासमा हुर्किएकी आना स्टर नेपाली लोकसंगीतकी विदेशी अध्येता हुन् । पश्चिमी शास्त्रीय बाँसुरीबाट संगीत यात्रा सुरु गरेकी उनी नेपाल आएपछि लोकदोहोरी र लोकभाकाप्रति यस्तो मोह बस्यो कि यही विषयमा विद्यावारिधि नै गरिन् । पछिल्ला २७ वर्षदेखि नेपाली गाउँगाउँ पुगेर लोकसंगीतको अध्ययन, अभिलेखीकरण र अनुसन्धानमा सक्रिय उनी परम्परागत गीत–संगीतको पुस्तान्तरण, कलाकारको अधिकार र महिलाको सहभागिता सुदृढ बनाउनुपर्नेमा जोड दिन्छिन् । ४७ वर्षीया आनासँग गीत–संगीत, अनुसन्धान र नेपाली लोकसंस्कृतिबारे गरिएको कुराकानी :
नेपाली संगीतप्रति तपाईंको झुकाव कसरी भयो ?
सानैदेखिको रुचिका कारण बाँसुरी–पियानो बजाउँथें । पछि ब्याचलरअन्तर्गत अब्रोड स्टडी अध्ययनका क्रममा नेपाल आउँदा १ महिनासम्म नेपाली भाषाको कक्षामा सहभागी भएँ, अर्को एक महिना एक विषयमा अनुसन्धान गर्नुपर्ने थियो । मैले ‘शास्त्रीय संगीत’ रोजें । नेपालका गाउँहरू घुम्न थालेपछि मलाई शास्त्रीय होइन, लोकगीतका भाकाले आकर्षित गरे । त्यसपछि विद्यावारिधिको अध्ययन क्षेत्र नेपाली लोकदोहोरीलाई बनाएँ ।
लोक संगीतमै विद्यावारिधि पनि गर्नुभयो ?
हो । मैले एथ्नो म्युजिकोलोजीमा विद्यावारिधि गरेकी हुँ । यसमा संगीतका बारेमा मानव शास्त्रको मेथोडोलोजी प्रयोग गरिन्छ । ब्याचलरमा पर्फमेन्स पढ्दै थिएँ, बाँसुरी सिक्दै थिएँ । मानवशास्त्रको कक्षा लिँदै गर्दा भने अझ रुचि लाग्यो । यहाँको लोकसंगीतप्रति मेरो मोह छ, त्यसैले यसमा विद्यावारिधि गर्ने सोच आएको हो । विद्यावारिधिमा आधारित ‘सिंगिङ अक्रोस डिभाइड्स’ पुस्तक पनि प्रकाशित छ । विशेषगरी मान्छेको जीवनमा संगीतले के गर्छ भन्ने प्रश्न रुचिकर लाग्यो । संगीत मनोरञ्जनको साधन त हो, तर यसले मान्छेको जीवनमा धेरै कुरा गर्छ । यसबाहेक संगीतले अरु काम पनि गर्छ । जस्तो, हामीले बोल्दा हाम्रो टोनले फरक अर्थ दिन्छ । फरक टोनबाटै रिसाएको, खुसाएको बुझ्न सकिन्छ । संगीतले भावना अभिव्यक्त गर्छ, समाजमा अन्तक्र्रिया गर्छ । भावना व्यक्त गरेपछि त्यसको प्रभाव समाजमा पर्ने नै भयो । समाजका विविध संस्कृति हेर्दा उनीहरूले संगीत केका लागि प्रयोग गर्छन् भन्ने देखिन्छ ।
स्कुलमा बालबालिकालाई लाइनमा राखिन्छ, ड्रम बजाइन्छ । एउटा संकेत दिइन्छ, लाइन बस्नुपर्छ अब स्कुल सुरु हुन लाग्यो । यो एउटा संगीतको प्रयोग हो । संगीतले मनोविज्ञानमा प्रभाव पार्छ । माइन्ड फ्रेस गराउँछ, रिस उठाउन पनि सक्छ । 
नेपालमा तपाईंले संगीत पनि पढाउनुभयो । उता र यता कस्तो भिन्नता पाउनुभयो ?
धेरै वर्ष पहिले काठमाडौं युनिभर्सिटीको डिपार्टमेन्ट अफ म्युजिकमा वेस्टर्न १ सेमेस्टर म्युजिक पढाएँ । त्यतिबेला संगीतका सिद्धान्त र इतिहास पढाएकी थिएँ । बाँसुरी यसरी बजाउने भनेर सिकाएँ । उता व्यवस्थापन र अध्यापन गर्छु । उताभन्दा यताको सिस्टम खुलाजस्तो लाग्यो ।
पहिले र अहिलेका तीजगीत, लोकदोहोरी पनि परम्परागतभन्दा भिन्न छ भनिन्छ । किन यस्तो भएको होला ?
तीज गीत पहिले विशेषगरी महिलाले मात्र गाउँथें । आजकल पुरुषले पनि गाउन थाले, यो अलिक चित्त बुझेन । हुन त मैले पनि एउटा तीज गीत पुरुष साथीसँग निकालें, राम्रो थियो तर विशेषगरी तीज गीत निकाल्दा महिलाकेन्द्रित हुनुपर्छ । हाम्रो गीत महिला केन्द्रित थियो । महिलाले मात्र गाएमा अझ राम्रो हुन्छ । तीज गीतमा राजनीति मिसिएको धेरै अगाडिदेखि नै हो । ठीकै हो, किनभने गीत महिलाको दु:ख पोख्ने माध्यम हो । पुरुषहरूले तीज गीतलाई एउटा माध्यम बनाएका छन्, राजनीतिक सन्देश पठाउन पनि । तर त्यो महिला केन्द्रित भएन ।
तपाईंलाई कस्तो संगीत मन पर्छ ?
नेपाल र अमेरिकाको सबै गीत मन पर्छ, सुन्छु । अमेरिकी र नेपाली लोक संगीत मन पर्छ । उता र यता विधा–विधाका लोक संगीत संगीत हुन्छन् । शास्त्रीय जति पढे पनि मेरो मन लोकगीतमा छ । अमेरिकामा राष्ट्रसँग सम्बन्धित एउटा गीत छ, तर राष्ट्रिय गीत होइन, लोक गीतजस्तै । पप खालको त्यो पनि गाएकी छु ।
नेपाल र नेपालीको मन पर्ने पक्ष के हो ?
नेपालीहरूको मिलनसार र सहयोगी भावना मन पर्छ । यहाँको गीत–संगीत मन पर्छ । यहाँ धेरै संस्कृति र आ–आफ्ना परम्परा छन् । पारम्पारिक संस्कृतिले केही न केही गर्छन् । मारुनी, पाङदुरी नाचको बाजा, त्यसको ताल, भाकाका बारेमा दुईवटा पुस्तक निकाल्दै छुु । पञ्चे बाजा पनि समेटिएको छ, जुन धादिङ केन्द्रित छ ।
गीत–संगीतको जगेर्ना कसरी गर्न सकिन्छ ?
आर्थिक मजबुरीले धेरै युवा गाउँ छोड्न बाध्य छन् । संगीत कुनै संस्थाले पढाउने कुरा भएन । सामाजिक संस्था नै हो गाउँमा । गुरुङले गाउने रोदी अनि अरुको विवाहमा गाइने रत्यौलीले सांस्कृतिक अर्थ राख्छन् । यस्तै समारोहमा आजकल आन्टी–आमाहरू गाइरहनुहुन्छ । तर सिक्ने कोही छैन । उहाँहरूको पुस्ता सकिएपछि पुस्तान्तरण गर्ने काम रोकियो । त्यसैले परम्परागत गीत पनि सकिने सम्भावना छ । हामीले क्यामेराले खिचेर, किताब छापेर जति गरे पनि पुस्तान्तरण भयो भने मात्रै अर्गानिक तरिकाले अघि बढ्छ । पुस्तान्तरण भएन भने परम्परागत गीत–संगीत हराउँछ । अभिलेखमै भए पनि मान्छेले खोज्नुपर्छ । त्यसबाट मान्छेले सिक्छन्, सिक्दैनन्, यो दु:खको कुरा हो । गीत–संगीत बाँच्ने सम्भावना नेपालको पूर्वाधार र आर्थिक विकाससँग जोडिएको छ ।
सरकारले पनि यसमा ध्यान दिनुपर्छ । युवालाई देशमै रोजगारीको बाटो तय गरिदिनुपर्छ । आर्थिक मजबुरीले मान्छे विदेश जान नपरोस् । आफ्नो घरमा, देशमै कमाएर बस्न चाहने वातावरण सम्भव होस् । त्यो भएपछि अर्गानिक रूपमै गीत–संगीत बाँच्छ, गाउँतिर । पुस्तान्तरण सम्भव हुन गाउँमा आर्थिक विकास हुनुपर्छ । जस्तो धादिङको पाङ्दुरे नाच धेरै कुरासँग जोडिएको छ । पाङ्दुर एक प्रकारको कोदो हो । पाकेर ल्याइसकेपछि नाचेर रमाइलो गरिन्छ । यो पुस–माघसम्म नाचिने नाच हो । यस्ता परम्परालाई लोप हुन दिनु हुँदैन ।
नेपाली गीत–संगीतमा सुधार गर्नुपर्ने कुरा केही छन् ?
म नेपाल आएको बेला गाउँतिर पनि जाने गरेकी छु । यो क्षेत्रमा सुधार्नुपर्ने गायक–गायिकाको श्रम, प्रतिलिपिको कुरा हो । विगत ३० वर्षमा राम्रो भएको छैन । कलाकारले गीत गायो, वर्क मेड फर हायर हो कि ? प्रतिलिपि अधिकार कोसँग छ, स्पष्ट छैन । त्यसैले धेरैले मुद्दा हाल्ने गर्छन् । त्यो मिलाउनुपर्छ । त्यसो त कतिपयले राम्रो काम गर्ने प्रयास गरिरहनुभएको छ । कम्पनीले सुरुदेखि नै कलाकारलाई अलिकति राम्रोसँग हेरेको भए, राम्रो हुने थियो । सायद पहिले कम्पनीले कानुन राम्रोसँग बुझेका थिएनन् होला । त्यतिबेला कुन–कुन कानुन मान्नुपर्छ, थाहै थिएन । राम्रोसँग नहेरी चल्दै गयो । अहिले कलाकारले बुझिसके, यो मिलाउनुपर्ने, सुधार गर्नुपर्ने कुरा नै हो । इन्डस्ट्रीमा जाने कलाकारको पनि जिम्मेवारी छ । उनीहरूले लोक आधारित गीत बनाउने हो भने आधार बुझ्नुपर्छ । नयाँ गीत बनाउनु, परिमार्जन गर्नु एकदम राम्रो कुरा हो । तर संगीतको आधार, जरा के हो बुझेर गयो भने यसको जटिलता, सांगीतिक सिद्धान्त गहिरोबाट बुझ्दै गइन्छ ।
गीत–संगीतमा लागेर बाँच्न सकिन्छ ?
यो मानिसको पृष्ठभूमिमा भर पर्छ । आजकल एउटा ब्यान्डको म्यानेजमेन्ट मात्रै गर्ने मान्छेले पनि जीवन यापन गरिरहेको छ । किनभने उसको पृष्ठभूभि पहिले नै मजबुत थियो । यस्तो पृष्ठभूमि मजबुत नभएको मान्छे म्युजिकबाट मात्र बाँच्न सक्दैन, न नेपालमा न विदेशमा ।

कुनै अविस्मरणीय घटना छन् ?
धेरै छन् । २७ वर्ष भयो नेपाल आउजाउ गर्न थालेको । दसैंमा गाउँतिर आमा समूहको पार्टीमा पहिलोपटक दोहोरो गाउन सिकेको र गाउन सकेको क्षण सधैं सम्झिरहन्छु । दोहोरीमा किन रिसर्च गर्न मन लाग्यो भने संगीत र भाषाको सम्बन्ध रोचक लाग्यो । त्यस विषयमा पिएचडी गर्ने कि भन्ने सोचले नेपाल आएँ । एकजना बाँसुरी बजाउने भाइले रानीपोखरीमा एउटा मेला छ भन्यो, सुन्न गएँ । दोहोरी साँझमा पनि गएँ । यो राष्ट्रियता, जातीयता, लैंगिकतासँग, मानिसहरूको कवितात्मक मनसँग पनि जोडिएको छ । यो राम्रो विषय हुन्छ भनेर मैले दोहोरी अध्ययन गरेकी हुँ । सुरुमा दोहोरी गाउँछु जस्तो लागेको थिएन । अरु साथीहरूले दोहोरी गाउन सिकिएन भने पिएचडी गरिँदैन भने ।
तपाईंलाई मन पर्ने गायक–गायिका ?
मलाई नेपालका सबैजसो गायक–गायिका मन पर्छन् । यहाँ मेरा धेरै नजिकका साथी छन्, धेरैले सहयोग पनि गरेका छन् । माया गुरुङ, कोमल वली, शिला आले दिदी, रीता थापा मगर लगायतले धेरै सहयोग गर्नुभएको छ । सबैलाई धेरैधेरै माया छ । जीवन शर्माको प्रगतिशील गीत राम्रो लाग्छ । देवी घर्तीको स्वर मन पर्छ । उहाँको बाग्लुङे शैली छ, म त्यसरी गाउन सक्दिनँ । शर्मिला गुरुङको पनि स्याङ्जाली शैलीको स्वर मन पर्छ । त्यसरी पनि गाउन सक्दिनँ । म दाङ र काठमाडौं वरपरको शैलीमा गाउन सक्छु ।
लोकदोहोरी कसरी गाउन सिक्नुभयो ?
कोमल वली दिदीले आफ्नो स्कुटर चलाउन दिनुभयो । स्कुटर चलाउँदा मनमनै दोहोरी गुनगुनाएर गाउन थालें । दोहोरी साँझ, दोहोरी प्रतियोगितामा जान्थें । त्यसपछि २–३ महिनापछि सिर्जना गुरुङ दिदीले गाउँमा दसैं मनाउन बोलाउनुभयो । त्यहाँ आमा समूहको पार्टीमा नाचगान थियो । प्राय: आमाहरू मज्जाले दोहोरी गाउँदै हुनुहुन्थ्यो । मिर्मिरेको घाम लर्के जोवन तिम्रै हो... गाउँदै थिएँ, अनिताले लिडिङ गर्दै थिइन्, उनले तपाईंको पालो भनिन्, कहाँबाट कसरी निस्कियो, मेरो मुखबाट ‘आको छु म यो गाउँमा खुरुक्क, सबै बुझ्न दु:ख र सुख मिर्मिरेको घाम गाउँदै गएँ । कहिल्यै नगाएको कसरी गाएँ, अरु त छक्क परे । गुनगुनाउँदै सिकिँदो रहेछ भनेर आत्मविश्वास बढ्यो । त्यसपछि एकजना बूढाबाले पनि गीत फर्काउन सिकाइदिनुभयो । अहिले त आफैं फर्काउन सक्छु । 

पछिसम्म गीत–संगीतलाई निरन्तरता दिनुहुन्छ ?
गीत–संगीतलाई निरन्तरता दिनेछु । बाँसुरीमा ध्यान दिन पाएकी छैन, बाँसुरी राम्रो बनाउन चाहन्छु । खास मेरो काम किताब लेख्ने, रिसर्च गर्ने हो । सुबी शाहको म्युजिक र नाचको रिसर्चसम्बन्धी अनुवाद पुस्तक दुईवटा भोल्युम निस्कन लागेका छन् । अरु ट्रान्सलेट पनि गर्नेछु, समय मिलेसम्म ।
‘हुरी चल्दैछ, आँधी आउँदैछ’, सामना परिवार (माओवादीको केन्द्रिय कलाकार टोली, जून १९९३ मा एउटा, १९९५ मा अर्को एल्बम म्युजिक नेपालबाट) को पहिलो एल्बमको बारेमा छोटो किताब लेख्दै छु । सबैको अन्तर्वार्ता सिध्याइसकें । गीतहरूको भावका बारेमा अंग्रेजीमा निकाल्दै छु ।
संगीत क्षेत्रमा धेरै महिला कसरी आउने ?
अहिलेसम्म नेपालमा एउटा सोच छ–महिलाले नबजाउने, गाउने मात्र भन्ने । महिलाले पनि बाजा बजाउन सक्छन् । शास्त्रीय मात्र होइन, हामीले मादल बजाउन सक्छौं, सहनाई बजाउन सक्छौं । यो सुरु भएको छ तर अझै हुनुपर्छ । जति महिला यो क्षेत्रमा आउँछन्, देखिन्छन्, त्यति सामान्यीकरण हुँदै जान्छ । विवाहको बेला पनि धेरै महिलाले पञ्चे बाजा बजाउन थालेका छन्, उनीहरूलाई टिकाउनका लागि धार्मिक र सांस्कृतिक कुरा धेरै छन् । कुन बेलामा के बजाउनुपर्छ, भन्ने सिकाउनुपर्छ । कुन राग, कुन अवस्थामा बजाउनुपर्छ भन्ने जान्नुपर्छ । पञ्चे बाजाको सबै जानकारी महिलालाई दिनुपर्छ । संगीत क्षेत्र बाहिरकालाई झट्ट सुन्दा राम्रो लाग्छ, तर संगीत बुझेका मान्छेले यो कुरा थाहा पाउँछन् । हामी महिला भएकाले यस्तो ज्ञानबाट वञ्चित छौं भन्ने सोच हटाउनुपर्छ । लोकदोहोरीलाई झ्याउरे गीत भनेर होच्याउँथे, अहिले हाम्रो नेपाली संगीत हो भनेर गर्व गर्छन् । गीत गाउनेलाई राम्रो नमान्ने समाज पहिले थियो । नेपाली समाजमा दोहोरी गाउने, महिला राति काम गर्ने भनिन्छ, नर्सले पनि त राति काम गरिरहेका हुन्छन् । संचारकर्मीहरू पनि अबेरसम्म काम गरिरहेका हुन्छन् । त्यसैले सोचमा परिवर्तन हुनुपर्छ ।
जीवनको लक्ष्य के होला ?
अरूका लागि राम्रो गर्नेछु । संगीत क्षेत्रबाट, संसारमा अन्याय, अत्याचारको असमानता कसरी हटाउने त्यतातिर काम गर्ने, त्यो उद्देश्यमा लाग्नेछु ।
नारीका पाठकलाई सन्देश ?
गीत–संगीत एवं नृत्य एउटा फराकिलो क्षेत्र हो, यसमा धेरै कुरा गर्न सकिन्छ । यसको माध्यमबाट समाजमा केही फरक प्रभाव पार्न सकिन्छ । संगीतलाई मनोरञ्जनको माध्यम मात्र नठानी यसमा लाग्नेलाई हल्का नठान्नुस् । कलारकारले संगीतको माध्यमबाट समाजमा ठूलो योगदान पुर्‍याएका हुन्छन् । 

 Image