नेपाली खानाका स्वाद, इतिहास र पारिवारिक सम्झनालाई पुस्तकमार्फत विश्वसामु पुर्याउने कुक बुककी लेखक हुन्, रोहिणी राणा (डली) । बाल्यकालदेखि कलेज जीवनसम्म अधिकांश समय होस्टेलमा बिताएकी उनलाई विवाहअघि पकाउन खासै आउँदैनथ्यो । तर पाककलाप्रतिको गहिरो रुचिका कारण इन्गेजमेन्टदेखि विवाहबीचको आठ महिनामै उनले कन्टिनेन्टल र भारतीय परिकार बनाउन सिकिन् । त्यसयता जहाँ गए पनि त्यहाँका कुक बुक संकलन गर्ने, नयाँ–नयाँ परिकारको अध्ययन र अभ्यास गर्ने उनको बानी नै बन्यो । यही रुचिले उनलाई लेखनतर्फ डोर्यायो र अहिले उनका राणाज कुक बुक, नेपाल कुक बुक र मेमोरिज अन अ प्लाटर गरी तीन पुस्तक प्रकाशित छन् । भारतको पेनगुइन र्याण्म हाउसबाट प्रकाशित यी पुस्तक नेपाल, भारत र अमेजनमार्फत विश्वभर उपलब्ध छन् । पछिल्लो पुस्तक मेमोरिज अन अ प्लाटरका सन्दर्भमा राणासँग गरिएको कुराकानी :
मेमोरिज अन अ प्लाटर कस्तो पुस्तक हो ?
यो फ्युजन कुक बुक हो । बाल्यकालदेखि जन्मे, हुर्केको, वैवाहिक जीवनको सम्बन्ध, खानासम्बन्धी पाककलाको सोख थियो । कुनै औपचारिक शिक्षाविना घरमा हुँदा दिदी, भाउजू, आमाबाट पकाउन सिकें । विवाह भएर नेपाल आएपछि काकी सासू, जिजु सासू, श्रीमान्लाई हुर्काएकी दिदी, घरघरबाट पकाउन सिकें । श्रीमान् आर्मीमा हुँदा पोस्टिङका क्रममा नेपालका विभिन्न ठाउँ र विदेशमा पनि जान पाएँ । जहाँ गएँ, त्यहाँको खानाको स्वाद मनमा राखिराखें । यो पुस्तक मेरो जीवनकालका सम्झनाहरू संरक्षण गरेर फ्युजनको भावमा लेखेको हो । खासमा भन्नुपर्दा यो पुस्तक भारत र नेपालको खाना, राणा परिवारको परम्परागत परिकार व्यक्तिगत संस्मरणमा आधारित छ ।
जस्तो नेपाली परिकारमा अंग्रेजी इन्ग्रिडेन्ट्स पनि हालेकी छु । बँदेलमा धेरै मसला, साँधेर, तारेर, पोलेर नबनाई स्टेक फर्ममा ग्रिल गरेर अंग्रेजी ग्रेभीसँग भेजिटेबल कुरिलो, गाजर, केराउसँग मिसाएर फ्य्जन बनाएकी छु । मेरो दिमागबाट कल्पना गरेर बनाएका परिकार यसमा समावेश छन् ।
यो पुस्तकमा कतिवटा परिकार समावेश छन् ?
यसमा १ सय ३० वटा परिकार छन् । यसमा खानेकुराको अलिअलि मिश्रण गरेको बनाएको भारती, नेपाली, चाइनिज, थाई, अमेरिकन, ब्रिटिश, फ्रेन्च सबै कुरा अलिअलि मिसाएर बनाएकी छु । स्टाटरको कोर्सलाई भिन्दाभिन्दै नाम दिएकी छु । स्न्याक्सलाई ग्लोबल बाइट, मेन कोर्सलाई सेन्टर स्टेज, डेजर्टलाई स्विट टुथ नामाकरण गरेकी छु । यो पुस्तकमा पुराना सर्बत पनि समावेश छन् । जस्तो अक्षय तृतीयाका दिन खाने, काफल, बेल र कागतीको सर्बत समावेश छन् । यी सर्बतले गर्मीमा शीतलता प्रदान गर्छन् भने स्वास्थ्यवद्र्धक पनि छन् । नयाँ कक्टेल, मक्टेल तितौरा, लप्सीको सर्बत पनि समावेश छन् । यसैगरी विभिन्न फूल तथा भेराइटीका चिया जसलाई लिक्विड डिलाइट् नाम दिएकी छु । मेरो विभिन्न ठाउँको खानाको सम्झना एउटै प्लेटमा (थालीमा) प्रस्तुत गरेको भएर यो नाम राखेकी हुँ ।
कति वर्षको फरकमा पुस्तक लेख्ने गर्नुहुन्छ ?
५ वर्षमा ३ वटा पुस्तक प्रकाशन गरेकी छु । अहिले केही समय आराम गरेकी छु । के विषयमा लेख्ने महत्वपूर्ण विषय हो । केही न केही लेख्ने सोच छ । पहिले यसको प्रमोसन गरौं भन्ने छ ।
पाककलासम्बन्धी पुस्तक नै किन लेख्न मन लाग्यो ?
मेरो मुख्य रुचि नै पाककला हो । रुचि भन्दा पनि प्यासन नै भइसक्यो । थाहा नभएको कुरा सोधेर, युट्युबबाट हेरेर पनि नयाँ–नयाँ परिकार बनाउँछु ।
पाककला र पुस्तक लेखनबाहेक अन्य रुचिको क्षेत्र ?
पढ्न र गार्डेनिङमा रुचि छ । एउटा बिरुवा माटोमा हालेर हुर्कदा आनन्द आउँछ । दिनदिनै गार्डेनमा घुम्यो, बिरुवामा पानी हाल्यो, गोड्यो आनन्द लाग्छ ।
कस्तो पुस्तक पढ्न मन लाग्छ ?
जस्तो पुस्तक अगाडि भयो म पढिहाल्छु । बाल्यकालमा दाइहरूले पढ्ने गरेको काउ ब्वाइको पुस्तक पनि पढ्थें, रोमान्टिक कथाका पुस्तक पनि पढ्थें । पछि श्रीमान्को ठाउँठाउँमा पोस्टिङ हँुदा त्यहाँ भएका आर्मीका पुस्तक पनि पढ्थें ।
खाना स्वादिष्ट हुनु आवश्यक छ कि स्वास्थ्यवद्र्धक ?
खाना धेरै हेल्दी हुनुपर्छ । नेपाली जस्तो, स्वस्थ, सन्तुलित र पोषणयुक्त खाना कुनै छैन जस्तो लाग्छ । सागपात, दाल, भात, तरकारी सन्तुलित खाना छ । युवावस्थामा हेभी खाना खाए पनि उमेर पुगिसकेकाले रातको खाना हल्का खानु राम्रो हुन्छ ।
खाना स्वादिष्ट बनाउने सूत्र के हो ?
आफ्नो हातको कला हो । कसैले छोएमात्र पनि मीठो हुन्छ, जे पकाए पनि मीठो हुन्छ । आइडिया पनि हुनुपर्छ । मनले, राम्रो विचारले पकाएमा मीठो हुन्छ । सामग्री मात्र हालेर पनि मीठो हुने होइन ।
अहिले धेरैको जीवनशैली व्यस्त भएकाले फास्टफुडले सजिलो त बनाएको छ तर सकिन्जेल एक छाक घरको खाना खानु स्वस्थकर हुन्छ । खाँदा प्लास्टिक, आल्मुनियमका भाँडा प्रयोग नगरी स्टिल, काँस, सिसाका भाँडा प्रयोग गर्नुपर्छ । मेरो पुस्तकमा ‘फार्म टु टेबल’ शीर्षक पनि समावेश छ । यसमा बारीबाट टेबलमा ल्याउने र खाने । सकेसम्म प्राकृतिक परिकार खानुपर्छ । यसले मानसिक र शारीरिक रूपमा स्वस्थ भइन्छ ।