निर्जला कक्षपति,अध्यक्ष,शिक्षा पत्रकार समूह
शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरूको साझा संगठन हो, ‘शिक्षा पत्रकार समूह’ । यतिबेला यसको नेतृत्व निर्जला कक्षपतिले हाँकेकी छन् । संस्थाको २५ वर्षे इतिहासमा उनी दोस्रो महिला अध्यक्ष हुन् । सदस्य, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको कार्यभार सम्हाल्न पुगेकी उनीसँग गरिएको कुराकानी ः
शिक्षा पत्रकार समूहले कस्ता गतिविधि गर्दै आइरहेको छ ?
यो संस्थाले विशेषगरी शिक्षाका विविध मुद्दा उठान गर्दै आएको छ । मुद्दा उठान गरेर नेतृत्व तहलाई दबाब दिनेदेखि घचघच्याउँछ । शिक्षामा सुधारको विषय उठान गर्नु नै संस्थाको उद्देश्य हो ।
शिक्षाका प्रमुख समस्या के छन् ?
शिक्षा क्षेत्रमा धेरै प्रकारका समस्या छन् । विषयगत शिक्षकको अभाव छ । एउटै शिक्षकले धेरै विषय पढाउने गरेको पाइन्छ । शिक्षामा बजेटदेखि लगानीको अभाव छ । लगानीमा प्राथमिकता दिन सकिएको छैन । बालशिक्षा अध्यापन गराउने शिक्षकको सेवा–सुविधा न्यून छ, उनीहरूले मनोबल गिराएर पढाउनुपर्ने बाध्यता छ । अर्को स्वदेशमुखी, सीपमूलकदेखि गरिखाने शिक्षा छैन । जसले गर्दा रोजगारका लागि धेरै जनसंख्या बिदेसिने ट्रेन्ड छ ।
तपाईंहरूका मुद्दा मिडियादेखि सरकारले कत्तिको प्राथमिकता दिन्छ ?
प्राथमिकता मिडियाले दिएको छ । हामीले यो संस्था स्थापनाकालदेखि नै फोरम धेरै थिएनन् । पत्रकारहरूलाई खोजमूलक समाचार संकलन गर्नेदेखि अन्तरक्रियात्मक कार्यक्रममा प्राथमिकता दिँदै आएका छौं । फेलोसिपमार्फत पत्रकारहरूलाई लेख्नलाई प्रेरित गरेका छौं । उठान गरेका मुद्दा सरकारी तहबाट लागू हुने कम छ । अस्थायी सरकारको संस्कारले पनि समयमा नै लागू हुन सकेको छ्रैन ।
अध्यक्षको जिम्मेवारीले कस्तो महसुस गर्नुभएको छ ?
नेतृत्वमा महिलाहरू आउन सक्दैनन् कि भन्ने सोचाइ अझै पनि छ । महिलाहरू क्षमतावान् हुँदाहुँदै पनि सक्षमता प्रश्नहरू भने आइरहन्छन् । अध्यक्षको जिम्मेवारी धेरै चुनौतीपूर्ण हुँदो रहेछ । उपाध्यक्ष हुँदा अध्यक्षलाई सघाउँदा हुन्थ्यो भने यहाँ सबै कुराको जिम्मेवारी उठाउनुपर्ने हुन्छ । नीतिगत रूपमा दबाब दिँदा के–कस्ता मुद्दाउठाउने, संस्था चलाउनका लागि दातृसंस्थाको सहयोग कसरी जुटाउनेदेखि संस्था हाँक्नेसम्मका जिम्मेवारी रहेका छन् ।
संस्था टिकाउनका लागि चुनौती के छ ?
संस्थामा आर्थिक पारदर्शिता हुनुपर्छ । आर्थिक अनियमिता नहुने हो भने संस्थालाई लामो समयसम्म टिकाउन सहज हुन्छ ।