साहित्यको रिटर्न छिट्टै हुँदैन
तल्लो वर्ग, जो सीमान्तकृत छन्, उनीहरूको आवाजलाई साहित्यले बोल्नुपर्छ भन्ने लाग्छ । तिनीहरूको संवेदना पढ्दा, सुन्दा वा देख्दा मलाई लेख्न मन लाग्छ ।

‘ऐना हेरेर’, ‘पाइन खबर’ जस्ता चर्चित लोकगीतकी गायिका हुन्, हरिदेवी कोइराला । २०१५ सालमा पोखरा लेकसाइडको वैदाममा जन्मिएकी उनको बाल्यकाल फेवातालको सेरोफेरोमै बित्यो । उनका दाजुभाइ र दिदीबहिनी १० जना छन् । तालवाराही माविबाट एसएलसी पूरा गरेकी उनले पोखरास्थित पृथ्वीनारायण क्याम्पसबाट बीए पूरा गरिन् । जीवनका साढे दुई दशक शिक्षण पेसामा र पाँच वर्ष बैंकमा काम गरेकी उनी अहिले रिटायर्ड छिन् । साहित्यिक, सांगीतिक र सामाजिक सङ्गसंस्थाबाट दुई सय ५० भन्दा बढी पुरस्कार प्राप्त गरिसकेकी उनी नेपाल संगीत नाट्य प्रतिष्ठानकी पूर्वसदस्य हुन् । एक हजारभन्दा बढी गीत रचना गरिसकेकी उनले २०४५ सालदेखि तीज गीत गाउँदै आएकी छन् । तीजको सेरोफेरोमा उनीसँग गरिएको कुराकानी ः
शिक्षण, बैंकमा भएको मान्छे गीत–संगीतमा रुचि कसरी भयो ?
मलाई गीत–संगीतमा स्कुले जीवनदेखि नै रुचि थियो । स्कुले जीवनमा देवकोटा, लेखनाथ जयन्तीमा ८–९ कक्षा पढ्दा गीत गाएर, कविता भनेर पुरस्कार पाउँथें । त्यसैबाट थप प्रोत्साहन मिल्यो । अहिले पनि संगीतप्रतिको साधना निरन्तर छ । गीतको पाटोले अझ जितेको छ । यद्यपि साहित्यिक पाटो उत्तिकै छ ।
अहिलेसम्म कतिवटा कृति प्रकाशित भए र गीत रचना कति भए ?
मेरा साहित्यिक कृति (बाल गीत, मुक्तक, कविता, गीत संग्रह) १३ वटा प्रकाशित भइसकेका छन् । बाल गीत थुप्रै रेकर्ड भएका छन् । हजारौंको संख्यामा तीज तथा लोकगीत रचना भएका छन् । मेरो रचनामा आधुनिक गीत, गजल, पप गीत, स्वदेश गान अन्य स्रस्टाले गाउनुभएको छ ।
पहिले र अहिलेको तीज गीतमा के–कस्ता भिन्नता पाउनुभएको छ ?
पहिलेका तीज गीतमा चेतनामूलक, चेलीबेटीका पीडा, बेचबिखन, दाइजो, भ्रष्टाचार, विसंगतिका कुरा समेटिएका हुन्थे । हरेक विषयवस्तुका तीज गीत छन् । सबैभन्दा पहिले त तीज के हो ? भन्ने बुझ्नुपर्यो । यो पर्व हो । पर्वमा गाइने गीत पर्व गीत र काम गर्दा गाइने गीत श्रम गीत । १२ महिना गाउन मिल्ने बाह्रमासे गीत हुन्छन् । तीज, विशेष दिन, परिधिमा मात्र गाइन्छ । जस्तो कि देउसुरी तिहारमा, मालश्री नवदुर्गामा गाइन्छ । अहिलेका पुस्ताले तीज कस्तो पर्व हो र कस्तो गीत गाउने भन्ने बुझ्नु जरुरी छ ।
तीजको पारिवारिक, सांस्कृतिक, धार्मिक महत्व छ । अहिलेका केही तीज गीतमा लाइक्स र भ्युजका लागि विकृति मिश्रण गरिएको छ, जसबाट हाम्रा भावी पुस्ताले के सिक्छन् र तीजलाई कसरी हेर्छन् र यो सोचनीय पक्ष हो । धेरै पहिलेदेखि नै चलिआएको आफ्नो संस्कृति सके सिंगारौं, नसके नबिगारौं । जे होस् गीतमा शिष्टता, स्वस्थ मनोरञ्जन, शिक्षामूलक हुनु जरुरी छ । कलाकार समाजको ऐना भएकाले कलाकारिता क्षेत्रमा लागेकाले शिष्टतापूर्वक संस्कृति जगेर्ना गर्नुपर्छ ।
पहिलेका तीज गीतमा रोनाधोना, चिन्ता–व्यथा मात्र समेटिन्थे भन्ने आरोप छ, किन होला ?
समाजमा रोनाधोना, आँसु, हाँसो, मनोरञ्जन, सबै प्रकारका क्षण आउँछन् । यी सबै मानवीय परिधिभित्र पर्छन् । तीजका गीतमा बढ्दै गएको विकृतिलाई अन्त्य गरी हरेक वर्ष मौलिक भाकामा तीज गीत सिर्जना गर्दै आएकी छु । छाडापन र विकृति विकास हो र ? ठूलो संगीतको फड्को हो र ? यो कुरा हामी सबैले मनन गर्न सक्नुपर्छ । यस्ता विकृतिले समाजलाई बिगार्ने, भावी पुस्तालाई नकारात्मक सन्देश दिने काम गरेको छ । त्यो समाज, संस्कारका लागि ठूलो दुर्घटना, विडम्बना हो । सबै कोणबाट गीत आउनुपर्छ । नग्न छाडा, भाइरल हुने वा कमाउ, बिकाउ मात्र हुन भएन । यो क्षणिक मात्र हुन्छ ।
आफ्नो कुन गीत मन पर्छ ? तपाईंको सबैभन्दा चर्चित गीत कुन हो ?
आफ्ना सबै रचना उत्तिकै मन पर्छन् । यद्यपि ‘पाइन खबर घर सम्झी आउनू है मेरो हजुर, आमाको चिठी, फूलको वासना, झिलझिल सितारा, ऐना हेरेर’ मेरा चर्चित लोक गीत हुन् ।
गीत लेखनका लागि समय व्यवस्थापन कसरी गर्नुहुन्छ ? कस्ता विषयवस्तुबाट प्रभावित हुनुहुन्छ ?
एसएलसी दिनेबित्तिकै विवाह भयो । छोराछोरी हुर्काउँदै घरपरिवार, जागिर, खेतीपाती सबै गरेर पोखरामै अर्थात् आफ्नै आँगनमा बसेर केही गर्नुपर्छ भनी अघि बढिरहेकी छु । गायनलाई पेसा भन्दा पनि सम्वर्द्धन र संरक्षण गर्नुपर्छ भन्ने मायाले अडिग भएर लागिपरेकी छु । परम्परागत, घटनाप्रधान, भ्रष्टाचार, नारी चेतनाका कुरा आफ्नो सिर्जनामा समेट्ने गर्छु । मनोरञ्जनलाई पनि उत्तिकै महत्व दिन्छु ।
गीत–संगीतमा लागेर बाँच्न सक्ने स्थिति छ ?
अपवादलाई छोडेर गीत–संगीतमा लागेर बाँच्न सक्ने स्थिति अझै पनि छैन । समग्रमा यसभित्र लागेर गुजाराको बाटो चल्ने स्थिति पनि छैन । कलाकार, संस्कृति, साहित्यलाई हेर्ने नीति पनि बलियो नभएको हुनाले राम्रा प्रतिभा अगाडि आउन सकेका छैनन् । यसो हुँदा असली स्रष्टा पलायन हुने स्थिति पनि छ । म त नाफा घाटा नसोची संस्कृतिको मायाले लागिपरेकी छु ।
तीज कसरी मनाउनुपर्छ ? अहिले एक महिना अघिदेखि तीज मनाउने गरिन्छ, कस्तो लाग्छ ?
कतिपय दिदीबहिनी निराहार व्रत बस्नुहुन्छ, त्यो आफ्नो इच्छा र स्वतन्त्रताको कुरा हो । अटल आस्थाले गरेको कुरा राम्रो छ । धर्म भन्दैमा समय, स्वास्थ्य पनि विचार गर्नुपर्छ । कुनै पनि पर्वको सकारात्मक कुरा पछ्याउनुपर्छ । भोकै बस्दैमा धेरै धर्म हुने पनि होइन । आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर सामाजिक परिवेशलाई पछ्याउँदै, आफू खुसी र चाहनाका रूपमा धर्मकर्म गर्नुपर्छ ।
समय परिवर्तनशील हुन्छ । धेरै महिलाले कामकाजको सिलसिलामा जिल्ला छोडेका हुन्छन् । त्यसैले समय मिलाएर दर तीज सेलिब्रेसन गर्छन् । लामो समयभन्दा पनि सीमित समय गरेर ८–१० दिनअघिदेखि मनाउँदा राम्रो हुन्छ । खास तीजको द्वितीयाको दिन खाने मात्र दर हो । अरु दिनमा खानेलाई तीजको भेटघाटको रूपमा खाजा खाने भन्दा पनि हुन्छ । छोटो समयमा सबै मिलेर खानु राम्रो । तीज तीज जस्तै हुनुपर्छ । व्यावसायिक रूपले होडबाजीभन्दा सबै दिदीबहिनी देखिने खालको प्रतीकात्मक रूपको तीज बनाउनुपर्छ ।
तीजका मन पर्ने र नपर्ने पक्ष के हो ?
दाजुभाइ, दिदीबहिनी एवं आफू जन्मिएको माटो सम्झिएर जन्मभूमिमा जाँदा सबै भेटघाट हुने प्रगाढ सम्बन्ध हुन्छ । वेशभूषा, विज्ञानका कुरा जोडिएका, सामाजिक कुरा राम्रा छन् । यसले सद्भाव पनि बाँडेको छ । यद्यपि तीजको गीत–संगीतको पाटो राम्रो छ । तीजले दिने सन्देश, दर्शन असाध्यै राम्रो छ । विवाह गरेर बूढी भएका आमा, हजुरआमा र मातृभूमिप्रतिको गाढा मायाका कारण माइती जान्छन् । दाजुभाइले दक्षिणा दिने, मन खोलेर हाँस्ने सुन्दर पक्ष हुन् । सम्बन्ध जोड्ने सेतु हो, तीज पर्व ।
पञ्चमीमा भगवान् शिवको आराधना गरिन्छ । यो महिला अधिकारसँग जोडिएको छ । पार्वतीले मनले चाहेको व्यक्ति पाउन निराहार व्रत बस्छिन् । यसलाई विद्रोहका रूपमा हेर्छु । चाडपर्वका सकारात्मक र वैज्ञानिक पक्ष पछ्याउने र समेट्नुपर्छ, त्यसभित्रका विकृति छोड्नुपर्छ ।
निराहार व्रत बसेमा श्रीमान्को आयु बढ्ने, खाएमा ठूलो पाप लाग्ने जस्ता अन्धविश्वासका कुरा भने मलाई मन पर्दैन । भइनभई ऋण गरेर भए पनि गहना देखाउने, तँछाडमछाडका विकृतिजन्य कुरा नराम्रा पक्ष हुन् ।
वास्तवमा तीज कस्तो पर्व हो ?
यो महिला मात्रको पर्व हो । तीजले धेरै किसिमको सन्देश दिन्छ । महिलाको सिर्जना, प्रतिभा मापन गर्ने कडी पनि हो । अघिपछि भन्न, बोल्न नसकेका कुरा गीतमार्फत् आफ्नो भावना प्रस्फुटन हुन्छ । पहिले–पहिले तीजका दिन महिला नाच्थे, गाउँथे, पुरुषहरूले चाख दिएर सुन्थे । कति त गीत सुनेर रुन्थे । शिष्टताको गीत–संगीतले भरिएको पर्व हो । यस्तो पर्वलाई अहिलेको पुस्तालाई बुझाउने र उनीहरूले पनि बुझ्ने प्रयास गरून् । यसैगरी तीज तडकभडकरहित, आर्थिक भार नपर्ने किसिमले मनाऔं ।
तीज गीतलाई पछिसम्म निरन्तरता दिनुहुन्छ ?
स्वास्थ्यले साथ दिएसम्म गीत–संगीतलाई निरन्तरता दिन्छु । तीज गीत तयार पार्दा गाउँगाउँमा गएर पहिलेका मानिससँग घटना परिघटना, सोध खोज, अध्ययन गर्छु । समाजमा सबै किसिमका मानिस बस्ने भएकाले मेरो भिजुअलमा बूढाबूढीदेखि बच्चासम्म अटाउँछन् । यसैगरी परम्परागत घर मेरा तीज गीतको भिडियोमा देख्न सकिन्छ । मौलिकतामा सौन्दर्य लुकेको हुन्छ । केन्द्रमा भए धेरै अवसर पाउँथे, त्यो भन्दा पनि आफ्नो ठाउँमा बसेर केही गर्नुपर्छ भन्ने सोच पनि हो । यही रमाएको छु । ठूलो अवसर र सपनाको पछि लागेको छैन । जे छ त्यसैमा रमाएकी छु, खुशी छु ।
महिला दिदीबहिनीलाई के सन्देश दिनुहुन्छ ?
सामाजिक संरचनाले पछाडि भए पनि हामी आफ्नो जीवनको मालिक आफैं हो । सशक्तीकरणका माध्यमबाट केही गर्न सक्छौं भन्ने धारणा बोकेर अघि बढ्नुपर्छ । हाम्रो, उपस्थिति र सहभागिताविना राष्ट्र बन्दैन । त्यही रूपमा अघि बढ्नुपर्छ । आफ्नो ठाउँबाट जे सक्छौं, गर्नुपर्छ । सिर्जनात्मक भई हिम्मत र आँटका साथ अघि बढ्नुपर्छ ।
तस्बिरहरुः प्रदीप नापित