२८ वर्षीया श्रेया प्रधानले दुई वर्षअघि एक अनलाइन डेटिङ एपमार्फत आफ्नो जीवनसाथी भेटिन् । श्रेयाको कथा अब असामान्य छैन । मोबाइलको स्क्रिनभित्र अब प्रेम, विवाह र भविष्यका निर्णयहरू पनि समेटिन थालेका छन् ।
उनी बिनाहिचकिचाहट भन्छिन्, ‘पहिले आमाबुवा हेरेर विवाह गर्थे, अहिले गुगल र एप हेरेर गर्छन् ।’
पछिल्लो समय नेपाली समाजमा अनलाइन डेटिङ र डिजिटल माध्यमबाट सम्बन्ध सुरु गर्ने चलन तीव्र रूपमा बढेको छ । यससँगै नयाँ प्रश्नहरू पनि उठेका छन् । के डिजिटल ‘कम्प्याक्टिबिलिटी’ साँचो जीवनमा पनि मेल खान्छ ? के एपमा भेटिएको प्रेम विवाहसम्म पुग्छ ?
श्रेया प्रधान र आदित्य राई बम्बलमार्फत भेटिए । पहिलो भेट कफी पसलमा भयो, जहाँ उनीहरूबीच संगीत र यात्राप्रतिको समान रुचिबाट सम्बन्ध बढ्यो । श्रेया भन्छिन्, ‘पहिले डर लाग्थ्यो अनलाइनमा भेटेको मान्छे कस्तो होला भनेर । तर वितारै बुझ्दै गएपछि त्यो सम्बन्ध विश्वासमा बदलियो ।’
दुई वर्षपछि उनीहरूले परिवारको स्वीकृतिसहित विवाह गरे ।
अनलाइन डेटिङ
काठमाडौंका कलेजहरूदेखि देशबाहिर रहेका नेपालीका लागि टिन्डर, बम्बल, ओकेकुपिड, कफी मेट्स बगेलजस्ता एपहरू सामान्य बनेका छन् । अब धेरै युवाले ‘चिना’ मिलाउनेभन्दा पनि ‘मानसिक मिलन’ खोज्ने गरेका छन् । यही कारणले अनलाइन प्लेटफर्महरूमा ‘कम्प्याटिबिलिटी टेस्ट’ रुचि, जीवनशैली, मूल्य र व्यवहार मिलाउने ‘एल्गोरिदम’ लोकप्रिय हुँदै गएका छन् ।
नेपालमा अनलाइन डेटिङ गर्ने युवाको संख्या हरेक वर्ष केहि प्रतिशतले बढ्दै गएको बताउँछन्, डिजिटल मिडिया विशेषज्ञ र अनुसन्धानकर्ता प्रवेश सुवेदी । उनका अनुसार, महामारीपछि अनलाइन कुराकानीको संस्कृतिले ‘भर्चुअल अन्तरङ्गता’लाई सामान्य बनायो । तर अनलाइन डेटिङ विवाह गर्ने संस्कार पश्चिमा समाज र हाम्रो छिमेकी देश भारतमा पनि पूर्णरूपमा स्वीकार भइसकेको छ । नेपालमा यसको सुरुवात धेरै अघिदेखि भए पनि सफल भएको छैन । अनलाइन डेटिङमा अन्य देशहरू जस्तो नेपाल अभ्यस्त भइसकेको छैन । उनी थप्छन्, ‘हाम्रो संस्कृतिमा विविधता भएकाले अझै पनि विवाह गर्दा चिनेजानेको आफन्तकै माध्ययमबाट विवाह गर्ने चलन पूर्णरूपमा हटिसकेको छैन ।’ यस्ता एपहरूको प्रयोग गरे पनि विवाह डिसिजन मेकिङसम्म नपुग्ने उनी बताउँछन् ।
कम्प्याक्टिबिलिटी टेस्ट : विज्ञान कि भ्रम ?
अनलाइन डेटिङ एपहरूले अब केवल फोटो हेरेर ‘लाइक’ गर्ने होइन, व्यक्तित्वको मिलन गर्ने सुविधा पनि दिएका छन् । उदाहरणका लागि ओकेकुपिडले प्रयोगकर्ताको व्यक्तित्व बुझ्न ५० भन्दा बढी प्रश्न सोध्छ ।
‘तपाईं विवाद हुँदा तुरुन्त कुरा मिलाउन चाहनुहुन्छ कि समय लिनुहुन्छ’, ‘धार्मिक विश्वास तपाईंका लागि कति महत्वपूर्ण छ ?’, ‘सन्तान चाहनुहुन्छ कि छैन ?’ यी प्रश्नहरूको उत्तरका आधारमा एपले ‘म्याच पर्सेन्टेज’ निकाल्छ ।
तर, प्रवेश सुवेदी भन्छन्, ‘यी टेस्टहरूले आधार त दिन्छन्, तर मानिस भावनात्मक प्राणी हुन् । एल्गोरिदमले भावनाको गहिराइ नाप्न सक्दैन ।’
उनका अनुसार, कम्प्याक्टिबिलिटी टेस्टले सम्बन्ध सुरु गर्न सजिलो बनाउँछ, तर दिगो सम्बन्धका लागि ‘मानवीय अनुभव’ र ‘वास्तविक सहअस्तित्व’ अझै पनि मुख्य हुन् ।
सामाजिक दृष्टिकोण र शंका
नेपाली समाजमा अझै पनि ‘अनलाइनमा भेटेको सम्बन्ध’ प्रति केही संशय रहँदै आएको छ । सुवेदी भन्छन्, ‘हाम्रो समाजमा विवाह अझै पनि पारिवारिक र सामूहिक निर्णयको विषय हो । अनलाइन डेटिङले त्यो ढाँचालाई चुनौती दिएको छ ।’
तर नयाँ पुस्ता यसलाई स्वतन्त्रताको रूपमा लिन्छ । ‘हामी आफैंले आफ्नो जीवनको निर्णय गर्न चाहन्छौं । अनलाइन प्लेटफर्मले नयाँ विकल्प दिएको छ’ भन्छिन् काठमाडौंकी २४ वर्षीया रचना कार्की ।
उनका अनुसार, अहिले युवतीहरूले पनि पहिलेको जस्तो ‘कसैले छानेर दिने’ संस्कारमा सीमित रहन चाहँदैनन् । डिजिटल प्लेटफर्महरूले छान्ने ‘स्वतन्त्रता’ दिएका छन् ।
जोखिम र सावधानी
अनलाइन डेटिङसँग अवसर मात्र होइन, जोखिम पनि जोडिएको छ । अपराध अनुसन्धान महाशाखाका अनुसार, पछिल्लो तीन वर्षमा ‘अनलाइन सम्बन्ध’ सँग सम्बन्धित ठगी, ब्ल्याकमेल र व्यक्तिगत डेटा दुरुपयोगका उजुरी बढेका छन् ।
२६ वर्षकी पायल अधिकारी भन्छिन्, ‘एपमा धेरैजसो मान्छे साँचो सम्बन्ध होइन, क्षणिक मनोरञ्जन खोज्दै आउँछन् । सुरुवात राम्रो लाग्छ, तर बिवतारै संवाद हराउँछ ।’
पायलले आफूलाई धोका दिने अनुभव पनि सुनाइन्, ‘फोटो अरूको थियो, व्यक्ति अर्कै निक्लियो ।’
अनलाइन डेटिङको संसार राम्रो छ, तर त्यहाँ सबै मानिस साँचो उद्देश्यका साथ नआउने उनी बताउँछिन् ।
विवाहमा डिजिटल प्रभाव
अब विवाहको योजना, तयारी र सम्बन्ध निर्माण सबैमा डिजिटल उपकरणहरू प्रयोग हुँदैछन् । कम्प्याक्टिबिलिटी टेस्ट मात्र होइन, विवाह योजना गर्ने ‘एप्स’, बजेट क्याल्कुलेटरदेखि परिवारसँग भिडियो मिडिया मिटिङसम्म, सबैले परम्परागत विवाह प्रक्रियामा नयाँ परिभाषा ल्याएका छन् ।
तर प्रवेश थप्छन्, ‘डिजिटल उपकरणले विवाहको निर्णयलाई सजिलो बनाएको छ, तर सम्बन्ध टिकाउन अझै पनि ‘भावनात्मक लगानी’ चाहिन्छ ।’
नयाँ पुस्ताको दृष्टि : प्रेम र टेक्नोलोजीको सहयात्रा
युवापुस्ताले टेक्नोलोजीलाई जीवनको हिस्सा मानेको छ । २५ वर्षका सौरभ पौडेल भन्छन्, ‘पहिलेको पुस्ताले डायरीमा प्रेम लेख्थे, हामीले स्क्रिनमा लेख्छौं । तर भावनाको गहिराइ उस्तै छ ।’
उनका अनुसार, अनलाइन डेटिङले ‘आफूलाई बुझ्ने मानिस’ खोज्ने सम्भावना बढाएको छ, तर साँचो सम्बन्धको आधार अझै पनि ‘विश्वास र समय’ नै हो ।
डिजिटल युगले प्रेम र विवाहलाई नयाँ बाटो देखाएको छ । अनलाइन डेटिङ, कम्प्याक्टिबिलिटी टेस्ट र डिजिटल प्लेटफर्महरूले सम्बन्ध सुरु गर्न सजिलो बनाए पनि, सम्बन्ध टिकाउने शक्ति अझै पनि पुरानै सूत्रमा छ । विश्वास, संवाद र सच्चा भावना ।