Successfully Copied

फास्टो एप : १० मिनेटमै डेलिभरी

कम्पनीका सीईओ प्रशान्त घिमिरे भन्छन्–‘अर्डर आएपछि १० मिनेटमै पुग्न सकेनौं भने मार्केटिङको अर्थ रहँदैन ।’

समयसँगै उपभोक्ताको किनमेल गर्ने तरिका र व्यवहार पनि फरक हुँदै आएको छ । उपभोक्ताको परिवर्तित व्यवहारलाई लक्षित गर्दै ‘फास्टो एप’ बजारमा आएको छ । ‘भोलि ल्याउँछु’ वा ‘पसल गएर ल्याउँछु’ भन्ने सोचलाई विस्थापित गर्दै ‘अहिले चाहियो, ढोकामै चाहियो’ भन्ने माग तीव्र बन्दै गएको छ ।
यही बदलिँदो उपभोक्ता व्यवहारलाई केन्द्रमा राखेर सञ्चालनमा आएको क्विक–इकमर्स स्टार्टअप ‘फास्टो’ ले काठमाडौं उपत्यकामा १० मिनेटभित्र किराना तथा दैनिक उपभोग्य सामग्री डेलिभरी गर्ने दाबीका साथ बजार विस्तार गरिरहेको छ ।
अगस्ट २०२५ देखि औपचारिक रूपमा सेवा सुरु गरेको फास्टो ७ महिनाको अवधिमा ५० हजारभन्दा बढी प्रयोगकर्ताले ‘डाउनलोड’ गरिसकेका छन् । दैनिक २ सयदेखि ३ सय अर्डर डेलिभरी भइरहेको कम्पनीले जनाएको छ । हाल फास्टोको सेवा काठमाडौं रिङ रोडभित्र र रिङरोडबाहिर २–३ किलोमिटरसम्म फैलिएको छ । कम्पनीका अनुसार अर्डर भोल्युम क्रमश: बढ्दो क्रममा छ । फास्टोले उपभोक्ता डेटा प्रयोग गर्दा उमेर, लिङ्ग वा ठेगानालाई भन्दा पनि किनमेलको ढाँचालाई मुख्य सूचक मानेको छ ।
‘ग्राहकले कुन समयमा के अर्डर गर्छन्, कति समयको अन्तरालमा अर्डर गर्छन् कुन वस्तुसँग कुन वस्तु जोडेर किन्छन्–यही डेटाले हाम्रो निर्णय तय गर्छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रशान्त घिमिरेले भने । यही कारण फास्टोमा सबैभन्दा बढी बिक्री हुने वस्तुहरू चाउचाउ, चिप्स, स्न्याक्स, आइसक्रिम र मदिरा हुन् । यी वस्तुहरूको उपभोग आवश्यकता र आवेगसँग जोडिएकाले १९ देखि ३५–३६ वर्ष उमेर समूह स्वाभाविक रूपमा ठूलो उपभोक्ता समूह बनेको घिमिरेले बताए ।
तर फास्टो अब यही समूहमा सीमित रहन चाहँदैन । कम्पनीले अब पारिवारिक उपभोक्तालाई लक्षित गर्दै दाल, चामल, तेल एवं सरसफाइका सामग्रीको वस्तु विस्तार गरिरहेको छ । ‘हामीले पहिला सेवा स्थिर बनाउने निर्णय गर्‍यौं,’ घिमिरेले भने, ‘अर्डर आएपछि १० मिनेटमै पुग्न सकेनौं भने मार्केटिङको अर्थ रहँदैन ।’ फास्टोको मुख्य विस्तार हाल ‘वर्ड अफ माउथ’ बाटै भइरहेको छ । प्रयोगकर्ताले सेवा अनुभव गरेपछि आफैं अरूलाई सिफारिस गरिरहेका कारण प्रयोगकर्ता बढिरहेको घिमिरेले बताए ।
नेपालका अन्य इ–कमर्स प्लेटफर्मभन्दा फास्टो फरक रहेको उनको दाबी छ । अन्य इ–कमर्स एपमा अर्डर गर्दा सामान आउन २–३ दिनसम्म लाग्न सक्छ । डेलिभरी शुल्क पनि प्रोडक्ट संख्यानुसार छुट्टाछुट्टै हुन्छ । तर फास्टोमा ३ सय रुपैयाँभन्दा माथिको अर्डरमा डेलिभरी नि:शुल्क हुने कम्पनीले जनाएको छ । कुल ३ सय रुपैयाँभन्दा कमको सामान खरिद गर्दा १ सय रुपैयाँ मात्रै शुल्क लाग्ने उनको भनाइ छ । कम्पनीका अनुसार यो मोडलले उपभोक्तालाई ‘दुई वटा सामान अर्डर गर्दा दुई पटक डेलिभरी शुल्क’ भन्ने झन्झटबाट मुक्त गर्नेछ । फास्टोको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ‘डार्क स्टोर’ मोडल हो । फास्टो एपमा देखिने प्रत्येक वस्तु कम्पनीकै स्टोरमा भौतिक रूपमा उपलब्ध हुने उनको भनाइ छ ।
काठमाडौंमा १५ वटा मिनी डार्क स्टोर सञ्चालनमा छन् । प्रत्येक स्टोरले करिब १० मिनेटको दूरीभित्र सेवा दिने गरेका छन् । ‘१० मिनेट भन्नुको अर्थ ठ्याक्कै १० नै होइन, कहिलेकाहीँ तलमाथि हुन सक्छ,’ घिमिरेले भने, ‘तर हाम्रो लक्ष्य भनेको किराना पसल गएर सामान ल्याउन लाग्ने समय भित्र हामीले सामान पुर्‍याउने हो ।’
पश्चिमी मुलुकमा साप्ताहिक वा मासिक ग्रोसरी किन्ने प्रचलन भए पनि नेपाल र भारतमा उपभोक्ताहरूको आवश्यकतानुसार पटक–पटक सामान किन्ने प्रवृत्ति छ । ‘आज चाउचाउ खान मन लाग्यो भने अहिले नै किनेर ल्याउने हो,’ घिमिरेले भने, ‘उपभोक्ताको यही बानीलाई फास्टोले आफ्नो व्यवसाय मोडलको केन्द्रमा राखेको छ ।’ यदि हामीले पनि भोलि डेलिभरी गर्ने मोडल अपनायौं भने उपभोक्ताको बानी नै बदल्नुपर्ने अवस्था आउने कम्पनीको बुझाइ छ । त्यसकारण उपभोक्ताको व्यवहारसँग मेल खाने सेवा सञ्चालन गरिएको घिमिरेले बताए ।
फास्टो एप एकैपटक २०२५ मा सुरु भएको भने होइन । सन् २०२२ मै एप बनिसकेको थियो । त्यतिबेला नै सानो क्षेत्रमा परीक्षण गरे पनि उपभोक्ताको इच्छा खासै देखिएन । अर्कोतिर बैंकिङ प्रणालीमा तरलता संकुचन आएपछि लगानी जोखिमपूर्ण देखेर हामीले रोक्यौं । त्यसबेला फास्टोलाई थाती राखेर ‘पहाडी फुड’ मा लागेको घिमिरेले सम्झिए ।
भारतमा जेप्टो, ब्लिन्किट जस्ता क्विक–कमर्स कम्पनीहरू सफल हुँदै गइरहेका र राइड सेयरिङ तथा अन्य इ–कमर्स एपका कारण उपभोक्ता अनलाइन सेवामा अभ्यस्त बन्दै गएकाले फास्टोलाई पुनर्जीवित गरिएको हो । नेपालमा पनि ‘ड्रप इट’ नामक स्टार्टअप सञ्चालनमा आइसकेको रहेछ । सोही कम्पनीसँग मिलेर हामीले फास्टो एप सञ्चालनमा ल्याएका हौं । घिमिरेले भने, ‘यो ट्रायल प्रोजेक्ट होइन । सही एक्जिक्युसन भयो भने यो मोडल नेपालमा स्थायी रूपमा चल्छ भन्ने विश्वास सुरुमै थियो ।’ फास्टोको टिममा मसहित सञ्जय काफ्ले, कामना आचार्य, विनीत कोइराला र सुशान्त घिमिरे छन् । अहिलेसम्म ३ करोड रुपैयाँ खर्चिसकेको घिमिरेले बताए ।
फास्टो सुरु गर्दा नै स्टोर स्टाफ, राइडर, अपरेसन र व्यवस्थापन गरी करिब ३ सय जनालाई रोजगारी दिइएको छ । सबैभन्दा ठूलो चुनौती भने राइडर हायरिङ रहेको उनी सम्झन्छन् । ‘राइड–सेयरिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्दा लागत अपेक्षाभन्दा दोब्बर भयो,’ उनले भने, ‘तर सेवा निरन्तरताका लागि त्यो लागत स्वीकार गर्नुपर्‍यो ।’ फास्टोले शतप्रतिशत इन्भेन्टोरी मोडल अपनाएको छ । भेन्डरहरूले अनलाइन पोर्टलमार्फत आवेदन दिन्छन् । माग, बिक्री सम्भावना र मार्जिन विश्लेषणपछि मात्र प्रोडक्ट प्लेटफर्ममा राखिन्छ । सुरुमा सीमित स्टोरमा परीक्षण गरेर मात्र अन्य स्टोरमा विस्तार गरिन्छ ।
फास्टो हालसम्म पूर्णरूपमा स्व–लगानीमा सञ्चालन भइरहेको छ । अब स्टोर संख्या बढाउने, प्रोडक्ट रेन्ज विस्तार गर्ने र पूरै उपत्यका कभर गर्ने योजना छ । क्विक–कमर्समा सम्भावना धेरै भए पनि जोखिम उत्तिकै रहेको घिमिरेको भनाइ छ । उच्च अपरेसन लागत, राइडर व्यवस्थापन, इन्भेन्टोरी योजना र नगद प्रवाह मुख्य चुनौती हुन् । तर उपभोक्ता व्यवहारमा आएको परिवर्तन, स्मार्टफोन पहुँच र डिजिटल भुक्तानी विस्तार फास्टोका लागि अवसर बनेका छन् । फास्टोको लक्ष्य स्पष्ट छ–‘नेपालको क्विक–कमर्स क्षेत्रमा नम्बर वान प्लेटफर्म बन्ने ।’ 

 Image