पूर्व प्रधानमन्त्री सुशीला कार्की ले आफ्नो साहित्यिक यात्रा समाज, जीवन र व्यक्तिगत अनुभवसँग गहिरो रूपमा जोडिएको बताएकी छन् ।
चौथो काठमाडौं कलिङ साहित्य महोत्सवमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पूर्वप्रधानमन्त्री कार्कीले बोल्दै आफू कहिल्यै साहित्यबाट टाढा नरहेको उल्लेख गरिन् । उनले नेपाली कवि अशेष मल्ल का कविताहरू हिन्दी भाषामा अनुवाद गरेको स्मरण गर्दै साहित्यप्रतिको आफ्नो निरन्तर लगावबारे चर्चा गरिन् ।
उनले सन् १९९० को जनआन्दोलनपछि दुई महिना जेल जीवन बिताउनुपरेको अनुभव सुनाउँदै त्यही क्रममा ‘तारा’ उपन्यास लेखेको बताइन् । जेलमा रहेका करिब ४० जना महिलाको जीवन, संघर्ष र पीडाले आफूलाई गहिरो रूपमा प्रभावित पारेको उल्लेख गर्दै उनले ती महिलाका कथाबाट प्रेरित भएर उपन्यास सिर्जना गरेको जानकारी दिइन् ।
‘मानिसको जीवन नै साहित्य हो र साहित्य नै जीवन हो’ उनले भनिन्, ‘लेखकले आफ्ना सिर्जनाका विषय आफ्नै समाज र वरपरको जीवनबाट प्राप्त गर्छन् ।’
कार्कीले विश्वप्रसिद्ध उपन्यास ‘द गुड अर्थ’ र त्यसकी लेखिका पर्ल एस बकको उदाहरण दिँदै सूक्ष्म अवलोकन र जीवनका अनुभवले साहित्यलाई समृद्ध बनाउने बताइन् ।
उनका अनुसार जेलमै लेखिएको ‘तारा’ उपन्यास तत्काल प्रकाशित नभई प्रधानन्यायाधीश पदबाट अवकाश लिएपछि २७ वर्षपछि मात्र पाठकमाझ आएको हो ।
कार्यक्रममा उनले बालसाहित्य लेखनको प्रेरणा पनि पारिवारिक अनुभवबाट आएको सुनाइन् । दिल्लीमा रहेका आफ्ना नाति–नातिनीका लागि हरेक रात नयाँ–नयाँ कथा सुनाउनुपर्ने अवस्थाले आफूलाई बालकथा लेख्न प्रेरित गरेको उनको भनाइ थियो ।
‘सुत्ने बेलाका कथाहरू पर्याप्त नहुँदा मैले बाँदर, चराचुरुङ्गी र अन्य पात्रहरूका नयाँ कथाहरू कल्पना गरेर सुनाउनुपथ्र्यो’ उनले भनिन् ।
पछि ती कथाहरूलाई लेखनमा रूपान्तरण गर्दै उनले बालकथा संग्रह ‘मिटी एन्ड द वाइल्ड क्याट’ तयार पारेकी हुन् । उक्त पुस्तक नाति–नातिनीको अन्नप्राशन (पास्नी) को अवसरमा विमोचन गरिएको उनले जानकारी दिइन् ।
साहित्य केवल कल्पनाको उपज नभई समाज, अनुभव र मानवीय संवेदनाको अभिव्यक्ति भएको उल्लेख गर्दै कार्कीले यही विश्वासले आफ्नो लेखन यात्रालाई निरन्तरता दिएको बताइन् ।