एभरेस्ट कलेजबाट व्यवस्थापनमा ब्याचलरसम्मको अध्ययन पूरा गरेकी काठमाडौंकी एञ्जिला श्रेष्ठको सिस्टरहुड फेसन प्रा.लि. पारिवारिक व्यवसाय थियो । अहिले सिस्टरहुड क्लोदिङ प्रा.लि. का रूपमा विस्तार भएर महिला उद्यमशीलताको अभियान बनेको छ । सिस्टरहुडकी सीईओ एञ्जिलासँगको कुराकानी :
सिस्टरहुडको अवधारणा कसरी आयो ?
एक–दुई जना मात्रै मिलेर गर्दा त यति राम्रो भइरहेको छ भने सय जना मिल्दा सयौं गुना राम्रो हुन्छ भन्ने लाग्यो । नेपालभरका विभिन्न क्षेत्र र पेसाका महिलालाई सहभागी गराएर नयाँ अभियान सुरु गरियो सिस्टरहुड क्लोदिङ प्रा.लि.।
सिस्टरहुडको उद्देश्य के हो ?
महिलालाई आर्थिक रूपमा सबल बनाउने, निर्णायक तहमा महिलाको वकातल गर्ने, रोजगारी सिर्जना गर्नुका साथै मेड इन नेपाल प्रडक्टलाई जोड दिनु नै सिस्टरहुडको मूल लक्ष्य हो ।
हाल सिस्टरहुडमा कति महिला संलग्न छन् ?
गृहिणी, विद्यार्थी, चिकित्सक, फेसन डिजाइनर, बैंकर्स, मेकअप आर्टिस्ट तथा ब्युटिसियनलगायत नेपालभरबाट ठ्याक्कै सय जना महिला यसमा जोडिएका छौं ।
यसभित्र के–कस्ता व्यवसाय सञ्चालनमा छन् ?
अहिले मेड इन नेपालमा आधुनिक पहिरन मात्रै छ । विस्तारै हामी कस्मेटिक्स, इनरवेयर, जुत्ता, ब्यागलगायत महिलाका लागि आवश्यक सम्पूर्ण सामग्री उत्पादन गर्ने योजनामा छौं । मुख्यतया हामी सुलभ मूल्यमा प्लस साइज आधुनिक पहिरन समेत उपलब्ध गराइरहेका छौं ।
महिला उद्यमशीलता र आर्थिक सशक्तीकरणलाई यसमार्फत कसरी जोड्ने प्रयास गर्नुभएको छ ?
सानो लगानीबाट ठूलो प्रतिफल नै यसको मुख्य उद्देश्य हो । यो एउटा बलियो प्लेटफर्म भएका कारण यहीमार्फत धेरै जनासँग चिनाजानी हुने, नेटवर्किङ बढ्ने हुँदा यो आर्थिक सशक्तीकरणको उपयु्क्त माध्यम बन्न सक्छ भन्ने हाम्रो धारणा हो ।
बढीभन्दा बढी नेपाली महिलालाई उद्यमशीलतासँग जोड्ने अन्य विकल्प के हुन सक्छन् ?
नेपालको परिप्रेक्ष्यमा हेर्दा कपडाको मात्रै नभएर धेरै वस्तुको व्यवसाय गर्न सकिन्छ । टिफिन बट्टा, हेन्डिक्राफ्ट, ह्यान्डमेड एयररिङ ब्याग, घरैको कोठामा खेलौना राखेर बच्चालाई खेलाउने सेवा पनि मैले देखें । जसमा प्रतिघण्टा २ सय ५० रुपैंया लिनुहुँदो रहेछ र आम्दानी पनि राम्रो रहेछ । इच्छा हुनुपर्छ, बाटाहरू थुप्रै छन् । आइडिया जेनेरेट गर्यो भने सानो लगानीमा पनि राम्रो आम्दानी गर्न सकिने ठाउँहरू छन् जसलाई अहिलेको समयमा सोसल मिडियाले पनि प्रशस्त सघाएको छ ।
सिस्टरहुडका आगामी योजना के–कस्ता छन् ?
नेपालका मुख्य सहरमा शाखा विस्तार गर्ने हो । यसका लागि पोखरामा रिसर्च सकिइसकेको छ, चाँडै त्यहाँ खुल्दैछ । अर्को कुरा नेपालमा सिस्टरहुड ब्रान्डलाई उचाइमा पुर्याउने हो, जुन महिलाहरूको सामूहिक प्रयास भनेर चिनियोस् ।
महिलालाई आर्थिक रूपमा सबल बनाउने सूत्र के हो ?
शिक्षा, सीप र नेटवर्किङको क्षमता ।
पाठकका लागि केही सन्देश छ कि ?
सयजना महिलालाई एकजुट गराएर मेड इन नेपाल सिस्टरहुड क्लोदिङ प्रा.लि.लाई अघि बढाउने प्रयास गरेका छौं । यसमा सबैको साथ र सहयोग आवश्यक छ । महिलाले महिलालाई नै सहयोग गर्दा महिला अगाडि बढ्न अझै सहज हुन्छ भन्ने मेरो विश्वास छ ।