शोभा अधिकारी, लेखक तथा साहित्यकार
‘आमाको आँखा’ लघुकथा संग्रह र ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ शोभा अधिकारीका पुस्तक हुन् । हाल त्रिभुवन विश्वविद्यालयमा एमफिल/पिएचडी गरिरहेकी उनीसँग गरिएको कुराकानी :
लेखनमा रुचि कसरी भयो ?
सानैदेखि कविता र कथाहरू लेख्थें । कविता, कथा र निबन्ध प्रतियोगितामा भाग लिन्थें । समाजलाई नजिकबाट नियाल्दै जाने क्रममा दृश्य र अनुभूतिलाई शब्दमा उतार्न थालें । त्यसपछि लेखन मेरो जीवनको एक अविच्छिन्न र प्रिय यात्रा बन्न पुग्यो । त्यसैले कथा, निबन्ध, उपन्यास र प्रेरणात्मक पुस्तक लेख्न थालें । अहिले लेखन मेरा लागि थेरापी नै भएको छ ।
पहिलो कृति सार्वजनिक हुँदा कस्तो अनुभूति भयो ?
पहिलो कृति आमाको आँखा लघुकथा संग्रह हो । पहिलो सिर्जनालाई पुस्तकको आकारमा पाउँदाको क्षण लेखकका लागि शब्दको सीमाभन्दा बाहिरको अनुभूति हो । त्यो केवल एउटा पुस्तक मात्र नभएर वर्षाैंदेखि मेरो मनको कुनामा भएको सपना साकारको उत्सव थियो । त्यो क्षणलाई मैले गौरवको महसुस गरें ।
भर्खरै प्रकाशित ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ पुस्तकको विशेषता के हो ?
सफलताका २७ स्वर्णिम सूत्रहरू पुस्तक मेरो मन अनि हृदयका अनुभूति, अनुभवहरू, गहन अध्ययन, अनुसन्धान, साधना, चिन्तन, सफल व्यक्ति बनाउने जीवनदर्शन र व्यावहारिक सिकाइका सूत्रहरूको संगालो हो । साथै संसारका मानिसको आत्माको दस्तावेज हो । किनभने सफलता भनेको कुनै पनि संयोग वा भाग्यको खेल मात्र नभएर अनुशासन, सकारात्मक सोच, परिश्रम, समयको उचित व्यवस्थापन र दृढ आत्मविश्वासको प्रतिफल हो ।
यो पुस्तक हरेक उमेर, वर्ग, पेसा र समाजका मानिसहरूका लागि उपयोगी छ । जोकसैले आफ्नो जीवनको उद्देश्य र ऊर्जा फेला पार्न सकून् र सफल बनून भन्ने उद्देश्यले यसलाई सरल तर दार्शनिक शैलीमा तयार पारिएको छ । यो पुस्तक आजका लागि मात्र नभएर भोलिका लागि पनि उत्तिकै सान्दर्भिक छ ।
डिजिटल युगले साहित्य र पठन संस्कृतिमा कस्तो परिवर्तन ल्याएको छ ?
मानिसको जीवनमा चेतनाको दियो बाल्न सक्ने सबैभन्दा शक्तिशाली माध्यम ज्ञान, विचार र साहित्य हो । डिजिटल युगले सम्भावनाका अनगिन्ती ढोका त खोलेको छ, हाम्रा सिर्जनाहरू संसारभरका मानिसको पहुँचमा पुगेका छन् । तर, अर्कोतिर गहिरिएर पढ्ने धैर्य र एकाग्रता भने केही घटेजस्तो महसुस हुन्छ । स्क्रिनले हामीलाई सूचनाको बाढी त दिन सक्छ, तर एउटा भौतिक पुस्तकले दिने गहिरो दृष्टिकोण र शान्ति अझै पनि अद्वितीय छ । त्यसैले, प्रविधिलाई माध्यमका रूपमा प्रयोग गर्दै पुस्तक पढ्ने पुरानो र मौलिक संस्कृतिलाई अझ सुदृढ बनाउनु जरुरी छ ।
आजको नेपाली साहित्यको अवस्थालाई कसरी हेर्नुहुन्छ ?
वर्तमान नेपाली साहित्यप्रति अत्यन्तै आशावादी छु । नयाँ पुस्ताका लेखकले नयाँ विषय, नवीन शैली र फरक दृष्टिकोणका साथ साहित्यलाई आधुनिक रङ दिइरहनुभएको छ । अब हाम्रो लक्ष्य भनेको नेपाली साहित्यलाई नेपाली भूगोलभन्दा बाहिर लैजानु हो । यसका लागि स्तरीय अनुवाद, अन्तर्राष्ट्रिय संवाद र अनुसन्धानलाई अझ सशक्त बनाउनुपर्छ । नेपाली साहित्यमा विश्वका पाठकलाई प्रभावित पार्न सक्ने मौलिक सामथ्र्य छ । यसका लागि सरकारले पनि बौद्धिक वर्ग, साहित्यकार र साहित्यिक क्षेत्रको संरक्षण र सम्बद्र्धनमा ध्यान दिनु जरुरी छ ।
साहित्यले समाज परिवर्तनमा कस्तो भूमिका खेल्न सक्छ ?
साहित्य समाज परिवर्तनको बलियो संवाहक हो । एउटा उत्कृष्ट पुस्तकले मानिसको सोच्ने तरिका, उसको चेतना र हृदयमा परिवर्तन ल्याउन सक्छ । जब व्यक्तिको मन र मस्तिष्क परिवर्तन हुन्छ, तब मात्र एउटा सभ्य र सुसंस्कृत समाजको जग बस्छ । यो समृद्ध समाज निर्माण गर्ने आधारशिला हो ।
आगामी योजना के छन् ?
लेखन र अध्ययनकै सेरोफेरोमा केन्द्रित रहनेछु । आँखाको आँसु (निबन्ध), नेपालको नाता (कथा), मुटुको मसी (उपन्यास) र विश्व जित्ने २७ युवा मन्त्रहरू (प्रेरणात्मक) पुस्तक प्रकाशोन्मुख अवस्थामा छन् । यसलाई प्रकाशन गर्नेछु । अन्तर्राष्ट्रिय स्तरका पाठकलाई समेत ध्यानमा राखेर केही नयाँ सिर्जनामा काम गर्ने योजना छ । अध्ययन र समाजसेवामा निरन्तरता दिनेछु ।