अनिता प्रधान
गाईजात्रा नेवार समुदायको एक मौलिक पर्व हो । यो नेवार समुदायमा सत्रौं शताब्दीदेखि चलिआएको प्रथा हो । यसलाई हाँसो र ठट्टाको पर्वका रूपमा पनि चिनिन्छ । गाई वा गाईका रूपमा सिँगारेर मानिसलाई नगर परिक्रमा गरेर यो पर्व मनाइने भएकाले यो पर्वलाई ‘गाईजात्रा’ भनिएको हो ।
राजा प्रताप मल्लको पालादेखि गाईजात्रा चलिआएको प्रथा हो । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउने आज्ञा दिए । यसरी राजा प्रतापले आफ्नी रानीलाई छोराको मात्र मृत्यु भएको होइन, हरेक परिवारमा मानिसको मृत्यु हुन्छ भन्ने सत्य बुझाए । यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप उक्त प्रचलन चलेको जनविश्वास छ । त्यस दिनदेखि हरेक वर्ष त्यही तिथिमा मानिसहरूले गाईजात्रा मनाउन थाले । यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद भएर जानुपर्ने प्रथा अझै पनि जारी छ ।
नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ । ‘सा’ को अर्थ गाई र ‘पारू’ को अर्थ प्रतिपदा तिथि हो, जुन दिन यो चाड मनाइन्छ । पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउँछ । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ । जसमा पितृहरूको सम्झनामा गाई र जोगीका साथ सडकमा जुलुस निकालेर प्रदर्शन गरिन्छ । जोगी कुनै जवान केटालाई बनाउने चलन छ । गाईलाई हिन्दू धर्ममा धेरै पवित्र मानिन्छ र मृतकलाई स्वर्ग पठाउन गाईले सहयोग गर्छ भन्ने गरिएको छ ।
आफ्नो घरमा कुनै आफन्तको मृत्यु भएको एक वर्षको अवधिमा रङ्गीविरङ्गी र अनौठा पोशाक लगाएर जात्रा निकाल्ने गरिन्छ । साथै चोलो, जामा, पेरुङ्गे टोपी, मफलर, सेतो पटुका धारण गरेका मानिसहरू साथमा बाजागाजा घन्काउँदै टोल–सहर घुम्छन् । दिवङ्गत आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ ।
काठमाडौं उपत्यकाका तीनवटै भित्री सहर जस्तै काठमाडौं, भक्तपुर र ललितपुरलगायत नेवार समुदायको बाहुल्य रहेको जिल्लाका अन्य सहरहरू जस्तै बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा र पोखरामा पनि गाईजात्रा पर्व मनाइन्छ । यो पर्वमा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीत पनि गाउने चलन छ ।
गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यंग्य अङ्क प्रकाशन गर्ने गरिन्छ । गाईजात्राको उपलक्ष्यमा काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।