सुशील खड्का
वर्षको सबैभन्दा तातो दिनमा, जब शरीरलाई पानीभन्दा ठूलो कुनै आवश्यकता हुँदैन, सनातन परम्पराले मानिसलाई भन्छ, ‘आज तिर्खासँगै बस ।’ सायद आत्मासम्म पुग्ने बाटो त्यहीबाट सुरु हुन्छ ।
जेठको घामसँग एउटा अनौठो स्वभाव हुन्छ । त्यो केवल आकाशमा बल्दैन, मानिसभित्र पनि बल्छ । जमिन तातो हुन्छ, हावा तातो हुन्छ, शरीरभित्रको रगतसम्म तातेजस्तो लाग्छ । खोला सुस्त बग्न थाल्छन् । पातहरू निस्सासिएझैं देखिन्छन् । यस्तो मौसममा पानी केवल आवश्यकता रहँदैन, जीवनकै अर्को नामजस्तो लाग्न थाल्छ ।
तर ठीक यही ऋतुमा सनातन परम्पराले एउटा विशेष साधनाको कल्पना गर्यो : ‘निर्जला एकादशी’ । एउटा यस्तो दिन, जहाँ मानिसले अन्न मात्र होइन, पानीसमेत त्याग्छ । सतहबाट हेर्दा यो कठोर व्रतजस्तो लाग्न सक्छ । तर गहिराइमा पुगेर हेर्ने हो भने यो शरीरलाई दु:ख दिने संस्कार होइन, आत्मालाई जगाउने प्रक्रिया हो ।
हामी जीवनभरि शरीरका माग पूरा गर्नमै व्यस्त रहन्छौं । भोक लाग्छ, खान्छौं । तिर्खा लाग्छ, पिउँछांै । मन खाली हुन लाग्यो भने तुरुन्त केही न केहीले त्यसलाई भरिदिन खोज्छौं । तर जीवनका गहिरा सत्यहरू अभावको क्षणमा मात्र खुल्छन् । जब शरीर कमजोर हुन्छ, तब आत्माभित्र लुकेका तिर्खाहरू सतहमा आउन थाल्छन् । निर्जला एकादशी वास्तवमा यही क्षणको साधना हो ।
‘निर्जला’ अर्थात् जलविहीन । पानीविना । जीवनको सबैभन्दा आधारभूत आवश्यकतालाई स्वेच्छाले त्याग गर्नु । आखिर किन ? ईश्वरलाई प्रश्न सोध्न ? पुण्य कमाउन ? कि त्यसभन्दा पनि गहिरो कुनै कारण छ ?
हिन्दू परम्परामा वर्षभरि आउने सबै एकादशीहरूमध्ये ज्येष्ठ शुक्ल पक्षको निर्जला एकादशीलाई विशेष मानिन्छ । शास्त्रहरूले यसलाई सबै एकादशीको सार भनेका छन् । पुराणमा यसलाई ‘भीमसेनी’ एकादशी पनि भनिएको छ । महाभारत कथा अनुसार, भीमसेनलाई भोक असाध्यै लाग्थ्यो । अरू पाण्डवहरू वर्षभरि व्रत बस्न सक्थे, तर उनी सक्दैनथे । अन्तत: व्यास ऋषिले उनलाई एउटा उपाय बताए : ‘यदि सबै एकादशी सम्भव छैन भने ज्येष्ठ शुक्ल एकादशीमा निर्जल व्रत बस, त्यसले सबै व्रतको फल दिन्छ ।’
यो कथा केवल धार्मिक आख्यान होइन । यसको भित्री अर्थ अत्यन्त सूक्ष्म छ । भीमसेन केवल पात्र होइनन्, उनी मानिसभित्रको त्यही भोगी पक्षका प्रतीक हुन्, जो शक्तिशाली त छ, तर इनीसँग गहिरो रूपमा बाँधिएको पनि छ । व्यास ऋषिको सन्देश वास्तवमा यही हो : संसार जित्नुभन्दा कठिन कुरा आफूलाई जित्नु हो ।
हामी आधुनिक मानिसहरू आफूलाई अत्यन्त स्वतन्त्र ठान्छौं । तर वास्तवमा हामी कति स्वतन्त्र छौं ? मोबाइल बज्यो भने हेर्नैपर्छ । मन खिन्न भयो भने केही न केही खानैपर्छ । एकछिन एक्लै बस्नुपर्यो भने तुरुन्त कुनै आवाज, कुनै स्क्रिन, कुनै व्यस्तता खोज्न थाल्छौं । हामी स्वतन्त्रभन्दा पनि आफ्नै बानी र व्यवहारका बन्दी भइसकेका छौं । निर्जला एकादशीले एक दिनका लागि ती सबै व्यवहारलाई रोकिदिन्छ । अनि चुपचाप एउटा प्रश्न सोध्छ : ‘यदि तिमी आफ्ना इच्छाहरूबाट केही समय टाढा बस्यौ भने तिमीभित्र के बाँकी रहन्छ ?’
सायद यही कारणले संसारका लगभग सबै आध्यात्मिक परम्परामा उपवास भेटिन्छ । बुद्धले मौनता रोजे । योगीहरूले तपस्या रोजे । सूफीहरूले संयम रोजे । किनकि शरीर अलिकति खाली हुँदा चेतना केही खुल्न थाल्छ । पेट खाली हुँदा मनले अर्कै प्रकारको आवाज सुन्न थाल्छ ।
एक वृद्ध साध्वीले एक पटक भनेकी थिइन्, ‘निर्जला एकादशीमा सबैभन्दा ठूलो तिर्खा पानीको हुँदैन, मनको हुन्छ ।’ त्यो वाक्य सुन्दा साधारण लाग्न सक्छ, तर जीवनको ठूलो सत्य त्यसैभित्र लुकेको छ । मानिसलाई वास्तवमा केवल पानीको तिर्खा हुँदैन । उसलाई प्रेम चाहिन्छ । स्वीकृति चाहिन्छ । महत्व चाहिन्छ । कसैले आफूलाई बुझोस् भन्ने चाहना हुन्छ । निर्जला व्रतमा शरीर कमजोर हुँदै जाँदा ती सबै अदृश्य तिर्खाहरू स्पष्ट देखिन थाल्छन् ।
सनातन दर्शनमा जललाई केवल पदार्थ होइन, चेतनाको प्रतीक मानिन्छ । त्यसैले निर्जला व्रत शरीरलाई दु:ख दिने अभ्यास होइन, जीवनको सीमितताबारे चेतना जगाउने साधना हो । आज मानिससाँ सुविधा धेरै छन्, तर प्रतीक्षा गर्ने धैर्य घट्दै गएको छ । निर्जला एकादशी शायद यही हराउँदै गएको मौनता र संयमको स्मरण हो ।
नेपालका गाउँहरूमा केही दशकअघिसम्म निर्जला एकादशीको दृश्य बेग्लै हुन्थ्यो । बिहानै महिलाहरू धारा वा पँधेराबाट फर्किन्थे । तुलसीको मठमा दियो बल्थ्यो । धूपको गन्ध घरभरि फैलिन्थ्यो । वृद्ध आमाहरू माला जप्दै विष्णु सहस्रनाम उच्चारण गर्थे । साँझपख मन्दिरका घण्टहरू हावामा मिसिन्थे । त्यो केवल धार्मिक अनुष्ठान थिएन, गाउँको सामूहिक आत्मा शान्त हुने दिन थियो ।
आज सहरका अपार्टमेन्टहरूमा त्यो मौनता हराउँदै गएको छ । अहिले व्रत पनि कहिलेकाहीँ प्रदर्शनजस्तो बन्न थालेको छ । कसैले सामाजिक सञ्जालमा तस्बिर राख्छ, कसैले ‘डिटक्स’ को नाम दिन्छ । तर निर्जला एकादशीको वास्तविक अर्थ बाहिरी प्रदर्शनमा होइन, भित्री रूपान्तरणमा छ । यो आफूभित्रको एउटा अँध्यारो कोठामा दियो बाल्ने दिन हो ।
महिलाहरूका लागि यो व्रतको अर्थ अझ गहिरो हुन सक्छ । नेपाली समाजमा महिलाले जीवनभरि अरूका लागि त्याग गरिरहेका हुन्छन् । कहिलेकाहीँ आफ्नै थकान लुकाएर, आफ्नै चाहना दबाएर, परिवारका लागि मात्र बाँचिरहेका हुन्छन् । तर निर्जला एकादशीको आध्यात्मिक अर्थ केवल त्याग होइन, ‘आत्मस्मरण’ पनि हो । यदि कुनै महिलाले यो व्रतलाई केवल परिवारको कल्याणका लागि होइन, आफ्नै आत्मासँगको भेटका रूपमा अनुभव गर्न सकिन् भने यसको अर्थ धेरै गहिरो बन्छ ।
माला जप्दै गर्दा र मौन बस्दा मानिस कहिलेकाहीँ आफ्नै थकित मनको आवाज सुन्न थाल्छ । किनकि जीवनको सबैभन्दा ठूलो दूरी मानिस र संसारबीच होइन, मानिस र आफ्नै आत्माबीच हुन्छ । आध्यात्मिक साधनामा अहंकारलाई सबैभन्दा ठूलो बाधा मानिन्छ । निर्जला व्रतमा केही घण्टा पानी नपाउँदा नै मानिसलाई जीवनको नाजुकता महसुस हुन थाल्छ । यही बोधबाट विनम्रता जन्मिन्छ । शास्त्रले निर्जला एकादशीले पाप नष्ट गर्छ भन्छन् । यदि पापलाई मानसिक विषका रूपमा बुझ्ने हो भने यो विचार अझ गहिरो देखिन्छ । लोभ, क्रोध, ईष्र्या र अतृप्तिले भरिएको मनलाई उपवास र ध्यानले केही समय शान्त बनाइदिन सक्छ ।
निर्जला एकादशीको दानको अर्थ पनि गहिरो छ । आफैले तिर्खा अनुभव गरेपछि अर्को तिर्खाएको प्राणी सम्झन सक्नु नै करुणा हो । काठमाडौंबाट केही टाढाको एउटा गाउँमा एक वृद्धा हरेक वर्ष निर्जला एकादशी बस्छिन् । उनका छोरा विदेशमा छन् । श्रीमान् बितिसके । घरमा उनी एक्लै छन् । साँझपख उनी तुलसीको मठअगाडि एउटा सानो दियो बालेर बस्छिन् । घरभरि शान्ति हुन्छ । भित्ताको घडीको टिकटकसम्म सुनिन्छ । कसैले सोध्यो, ‘यति गाह्रो व्रत किन बस्नुहुन्छ ?’ उनले मुस्कुराउँदै भनिन्, ‘अरू दिन मन धेरै ठाउँ दौडिन्छ । यो दिन भने भगवान् नजिक हुनुहुन्छ जस्तो लाग्छ । अनि म पनि आफैसँग अलि नजिक पुग्छु ।’
आध्यात्मिक अनुभवहरू सधैं तर्कले व्याख्या गर्न सकिँदैन । कहिलेकाहीँ ती केवल अनुभूत हुन्छन् । निर्जला एकादशी पनि त्यस्तै अनुभव हो । कसैका लागि यो शारीरिक कठिनाइ हुन सक्छ । कसैका लागि अनुशासन । कसैका लागि मौनता । कसैका लागि ईश्वरसँगको संवाद ।
२०८३ सालको निर्जला एकादशी असार ११ गते बिहीबार परेको छ । व्रत पारण असार ११ गते बिहान ५ बजेर १० मिनेटदेखि ७ बजेर ५७ मिनेटभित्र गरिनेछ । परम्पराअनुसार दशमीका दिन सात्विक भोजन गरेर मनलाई शान्त राख्ने, एकादशीका दिन बिहान स्नान गरी ‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्र जप गर्ने र सकेसम्म मौन तथा ध्यानमा दिन बिताउने चलन छ ।
तर यहाँ एउटा कुरा सम्झिनु आवश्यक छ । सनातन धर्मको मूल भाव करुणा हो, हिंसा होइन । सबै मानिसका लागि कठोर निर्जल व्रत सम्भव हुँदैन । वृद्ध, गर्भवती महिला, बिरामी वा औषधि सेवन गरिरहेका व्यक्तिले आफ्नो स्वास्थ्यलाई ध्यान दिनुपर्छ । व्रतको वास्तविक अर्थ शरीरलाई नष्ट गर्नु होइन, चेतनालाई शुद्ध गर्नु हो ।
अन्तत: निर्जला एकादशी पानी नपिउनुको कथा मात्र होइन । यो मनुष्यले आफ्नै सीमालाई चिन्न खोजेको दिन हो । आफूभित्रको कोलाहलबाट केही समय टाढा बसेर आत्माको आवाज सुन्न खोजेको दिन हो ।
सायद त्यसैले निर्जला एकादशीको साँझ आकाश पनि अलि फरक देखिन्छ । घाम विस्तारै पश्चिमतिर ढलिरहेको हुन्छ । थाकेको शरीरले पानी खोजिरहेको हुन्छ । तर त्यही क्षण कताकता मन हलुका पनि लागिरहेको हुन्छ । मानौं भित्रको कुनै अनावश्यक भीड पखालिएको होस् । मानौं आत्माले एक दिनका लागि शरीरको हल्लाभन्दा पर आफ्नो आवाज सुन्न पाएको होस् ।
निर्जला एकादशी शायद त्यसैको निम्तो हो : एउटा दिन, जब शरीर सुक्छ र आत्मा बोल्न थाल्छ ।
(खड्का इन्जिनियर तथा तन्त्र साधक हुन् । )