देवेन्द्र अर्याल आँसु
हिन्दूधर्मावलम्बीले प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशीलाई बालाचतुर्दशीका रूपमा मनाउँछन् । यसदिनलाई लोकजीवनले सद्बीउ छर्ने दिनका रूपमा स्वीकार गरेको पाइन्छ । आफ्ना मृतकजनप्रति चिरशान्ति र स्वर्गप्राप्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिन्छ र जाग्राम बसेर यो पर्व मनाइन्छ । खासगरी त्रयोदशीका दिनबाट नै यो पर्वको प्रारम्भ हुन्छ । आफन्त दिवंगत भएकाहरू पहिलो वर्ष त्रयोदशीका दिन जाग्राम बस्छन्, श्वेतमहादीप प्रज्ज्वल गर्छन् र भोलिपल्ट शिवालय वरपर शतबीज छर्छन् । उनीहरूको स्मृति वा सम्मानमा यस दिनमा पशुपतिनाथ वा अन्य शिवालयमा महादीपसमेत बालिन्छ, जुन दृश्य निकै मनमोहक र चित्ताकर्षक देखिन्छ । शिवालयमा त्यसबखत प्रज्ज्वलित गरिएका दीपहरूको सुन्दर र सुमधुर प्रकाशले वातावरणलाई सजीव तुल्याएको पाइन्छ । यो पर्व पितृको स्मृतिमा दीपोत्सव गरिने महान् पर्व हो ।
मृतक आफन्तका नाममा अधिल्लो रात प्रज्ज्वलित महादीपलाई भोलिपल्ट सबेरै जलाशयमा विसर्जन गरिन्छ । यो क्रम दोस्रो वर्ष पनि जारी रहन्छ । दोस्रो वर्ष मृतकका आफन्तले मृतकको सम्झनामा रातो महादीप प्रज्ज्वलन गर्छन् । त्यस अवसरमा हवन पनि गरिन्छ । भगवान् आराध्यदेव पशुपतिनाथको सान्निध्य मृगस्थली वा कैलाशमा यस दिन शतबीज छरिन्छ । यस अवसरमा छरिने शतबीजको आफ्नै धार्मिक वा पौराणिक महत्व रहेको पाइन्छ ।
यो पर्वको उत्पत्ति र नामकरणका सम्बन्धमा विविध मत पाइए पनि हिमवत्खण्डको बयालीसौं अध्यायमा यसबारे उल्लेख छ । जसअनुसार भगवान् शिव मृगरूप धारण गरी श्लेषमान्तक वनमा विहार गरी कैलाशमा नफर्केकाले पार्वतीलाई ठूलो चिन्ता पर्यो । त्यसैले बाग्मती नदीको किनारमा रहेको मृगस्थलीमा भगवान् शिव मृगरूप लिएर वनविहार गरेको कुरा पार्वतीले थाहा पाएपछि विभिन्न अन्न छर्नुभयो । बीउहरू उम्रन थाले र मृग त्यहाँ आएर चर्न थाले । त्यसपछि पार्वतीलाई शिवरूपी मृग चिन्न गाह्रो परेन ।
यसरी मृगरूपी महादेवलाई चिन्न पार्वतीद्वारागरिएको शतबीज छर्ने काम नै कालान्तरमा एउटा परम्परा बन्न पुग्यो । जुन शतबीजरोपणका नामले लोकमा प्रचलित र परम्परित हुँदै आयो । भगवान् शिवले मृगरूप धारण गरी जहाँ–जहाँ पुग्नुभयो,त्यो पुण्य क्षेत्र भएकाले त्यहाँ शतबीज छर्दा स्वर्ण वा सुन छरेको बराबर हुने, मृत्युपर्यन्त कैलाशमा बास हुने कुरा धर्मग्रन्थमाउल्लेख छ ।
हेमाद्रौः सुवर्णरतिकातुल्यं व्रीहिमेकं परिक्षिपेत् ।
मृगस्थली परिभ्रम्य पुनर्जन्म न विद्यते ।।
शतबीज अथवा सद्मीअन्तर्गत जौ, तिल, धान, गहुँ, मकै, लावा, मुला, चना, केराउ आदि अन्न र विभिन्न फलफूलसमेत पर्दछन् । यस अवसरमा छरिने सयौं फलफूल र बीउको मिश्रण नै शतबीज हो । शतबीजरोपणको पनि आफ्नै खालको जैविक तथा वातावरणीय महत्त्व छ । यस अवसरमा छरिने अन्नहरूबाट पनि कतिपय पशुपक्षीहरूलाई केही दिनसम्म आहारको समस्या टर्ने देखिन्छ भने ती अन्नबालीहरूको विस्तार एवं वृद्धिमा सबै वर्गको ध्यानसमेत केन्द्रित हुने भएकाले वा थुप्रै बोटबिरुवाको संरक्षणमा पनि प्रेरणा मिल्ने हुँदा यस पर्वलाई वातावरण संरक्षणका दृष्टिले उत्कृष्ट मान्न सकिन्छ । यस अवसरमा पशुपति क्षेत्रमा शतबीज छर्न विविध समुदायका मानिसको उपस्थिति पनि देखिन्छ । जसले हाम्रो सांस्कृतिक एकता घनिष्ठ रहेको झल्किन्छ । यो पर्वले आफ्ना पूजनीय, आदरणीय, सम्माननीय अनुकरणीय हुन्छन् भन्ने मूल–मान्यतालाई वरण गरेको छ । तिनै पूर्वजका सम्मानमा दीप प्रज्ज्वलित गरेर वा बगेर जाने पानीले तर्पण गर्दै सम्मान प्रकट गरिन्छ । यो पितृहरूप्रति उनीहरूका भावी सन्ततिले प्रकट गरेको आस्था हो ।
यस अवसरमा पशुपतिनाथलगायत देशका अन्य शिवालयमा उपस्थित भएर भक्तजनहरूले विभिन्न प्रकारका धार्मिक प्रवचन, भजन, गाथा र धमारीलाई भन्ने र सुन्ने प्रचलन छ । बालाचतुर्दशीमा शिवालयवरिपरि बत्ती बाल्ने, पूजा–अर्चनाका अतिरिक्त नाचगान गर्ने मानिसको कमी हुँदैन ।बालाचतुर्दशीलाई अग्रजप्रति सम्मान, श्रद्धा वा आस्था प्रकट गर्ने महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । पितृभक्ति प्रदर्शनको यो विशिष्ट पर्व हो भन्दा अत्युक्ति नहोला ।