Successfully Copied

औंसीमै किन बुवाआमाको मुख हेर्ने ?

पितृस्मरण गर्ने दिनलाई आधार मानेर जीवित आमाबुवाको सम्मान गर्ने चलन बस्यो । अहिले देशभरि सबैजसो जाति वा समुदायले यो पर्व मनाउँछन् ।


रामप्रसाद धिताल


भाद्रकृष्ण औंसीमा बुवाको मुख हेर्ने पर्व (पितृसम्मान दिवस) मनाइन्छ । यो वर्ष बुवाको मुख हेर्ने दिन भदौ ७ गते परेको छ । वैशाखको औंसीमा आमा र भदौको औंसीमा बुवालाई मन पर्ने खानेकुरा, कपडा वा अन्य वस्तु उपहार दिएर मुख हेर्ने र उहाँहरूसँग आशीर्वाद थाप्ने चलन छ ।
यी दुई छुट्टाछुट्टै पर्वमा उहाँहरूको सम्मान गर्ने चलन सनातन नेपालीको मात्र हो । आमाबुवाको सम्मानमा विश्वभर ‘फादर्स डे’ र ‘मदर्स डे’ मनाइन्छ, तर छुट्टाछुट्टै मितिमा । सनातन संस्कृतिमा जीवित देवीदेवताका रूपमा मानिन्छन्, माता र पिता । सन्तानलाई जन्म दिएर हुर्काउन–बढाउन अनेक दुःख खेपेका आमाबुवाको सम्मान त सधैं गर्नुपर्छ, उनीहरूलाई देवतासरह व्यवहार गर्नुपर्छ भन्ने प्रमाण त ‘मातृदेवो भव’, ‘पितृदेवो भव’ जस्ता बचनले दिइरहेकै छ । आमाबुवा पर्वविशेषमा मात्र नभएर वर्षभरि नै पुजिन्छन् । त्यसैले सनातन धर्मशास्त्रमा यही दिन आमाबुवाको मुख हेर्ने भन्ने उल्लेख छैन ।
त्यसो भए नेपालमा यी दुई औंसीमै आमाबुवाको मुख हेर्ने वा उहाँहरूको सम्मान गर्ने चलन कसरी चल्यो त ?
पहिले–पहिले काठमाडौं उपत्यकामा मात्र विशेषगरी नेवार समुदायमा यी दुई औंसीमा बुवाआमाको मुख हेर्ने चलन रहेको बुझिन्छ । काठमाडौंबाट अलि टाढाटाढाका पहाड वा नेपालको तराई मधेश क्षेत्रमा आमाबुवाको मुख हेर्ने चलन थिएन । विवाह गएर टाढा पुगेका छोरीचेलीले आफ्ना आमाबुवासँग भेट गर्ने उनीहरूलाई गच्छेअनुसार मीठोमसिनो खुवाउने, लुगाफाटो दिने एक दिनको आवश्यकता भयो । काठ र उपत्यकाका आसपासका क्षेत्रका छोरीचेलीले यी दिनलाई आमाबुवा भेट्ने दिनका रूपमा लिन थाले ।
यी काठमाडौं (तत्कालीन नेपाल खाल्डो) का मौलिक पर्व हुन् भन्ने कसरी पनि खुल्छ भने आमा नहुनेहरू वैशाखकृष्ण औंसीका दिन मातातीर्थ जान्छन् । त्यहाँस्थित कुण्डमा स्नान गरी त्यहाँको आमाको प्रतिमाको दर्शन गर्छन् । आमाका नाममा तर्पण वा श्राद्ध गर्छन् । बुवा नहुनेहरू भाद्र औंसीका दिन गोकर्ण पुगेर तर्पण वा श्राद्ध गर्छन् । नेपाल र भारतका अन्य तीर्थस्थलमा यही दिन (वैशाख औंसी) आमाको र यही दिन (भाद्र औंसी) बुवाको सम्झना गर्ने विशेष चलन छैन ।
बसाइ सराइ वा सञ्चारमाध्यमको विकाससँगै यो संस्कृति फैलियो । पितृस्मरण गर्ने दिनलाई आधार मानेर जीवित आमाबुवाको सम्मान गर्ने चलन बस्यो । अहिले देशभरि सबैजसो जाति वा समुदायले यी पर्व मनाउँछन् ।
यी दुई पर्वको महत्त्वबारे संस्कृतिविद् स्व.सत्यमोहन जोशी लेख्छन्, ‘आफूलाई जन्म दिने, पालनपोषण गरी हुर्काउने र शिक्षादीक्षा दिने मातापिताको दिवंगत आत्माप्रति सम्झना, श्रद्धा र कृतज्ञता प्रकट गर्नु तथैव जीवितावस्थामा रहनुभएका मातापिताको आज्ञापालना गर्नु, सेवा गर्नु र उहाँहरूलाई माया गर्नु जत्तिको गौरवमय कुरो अरु के हुन सक्छ र ? यसैले हाम्रो समाजमा मातृऔंसी र पितृऔंसीले विशिष्ट स्थान ओगटेका छन् ।’ (नेपाली चाडपर्व–२०६७, साझा प्रकाशन, पृ. ७९)

के हो औंसी ?
चन्द्रमानको पात्रोअनुसार कृष्ण पक्षको अन्तिम दिन हो, औंसी । वैदिक मान्यतानुसार पितृको पर्व औंसी । यसलाई संस्कृत भाषामा अमावस्या भनिन्छ, छोटोमा अमा । अमावस्याकै नेपाली रूप हो, औंसी । प्रत्येक कृष्णपक्षमा श्रद्धापूर्वक श्राद्ध गर्ने विधान छ । व्यावहारिक रूपमा कला घट्दै गएर चन्द्रमा नदेखिने (अन्धकारमय) अवस्थाको दिन हो । यद्यपि प्रातःकाल सूर्योदयभन्दा पहिले चन्द्रमा रेखास्वरूपमा देखिए ‘सिनीवाली’ भनिन्छ । चन्द्रमाको अवशेष नै नदेखिने औंसी ‘कुहू’ हो ।
चलनचल्तीको पात्रो (पञ्चाङ्ग) मा औंसीलाई ३० ले संकेत गरिएको हुन्छ । ज्योतिषीय गणनामा सूर्य र चन्द्रमा एउटै राशिमा पर्ने दिन । उदाहरणका लागि भदौ महिनामा सूर्य सिंह राशिमा रहन्छन् । पात्रो पल्टाउँदा भाद्र औंसीको चन्द्रमा पनि सिंह राशिमै रहेको पाउनु हुनेछ । पूर्णिमा तिथि देवार्चन (देवताको पूजा–अर्चना) का लागि महत्त्वपूर्ण मानिन्छ, औंसी पितृस्मरणका लागि । त्यसो त शुक्ल पक्ष पूरै देवताको र कृष्णपक्ष पूरै पितृको पक्ष भनिन्छ ।
कृष्णपक्षको प्रतिपदामा सुरु भएर पूर्णिमामा महिना सकिने गणनालाई पूर्णिमान्त भनिन्छ । शुक्लपक्षको प्रतिपदामा सुरु भएर औंसीका दिन सकिने गणनालाई अमान्त भनिन्छ । हाम्रो चलनचल्तीमा रहेको पात्रो पूर्णिमान्त हो, कृष्ण प्रतिपदामा महिना सुरु भएर पूर्णिमामा पूरा हुने ।
संस्कृत भाषाका विद्वान् शिवराज आचार्यर् कौण्डिन्न्यायनका अनुसार वैदिक धर्मावलम्बीले प्रत्येक औंसीमा श्राद्ध गर्ने विधान छ । त्यसलाई पार्वण श्राद्ध भनिन्छ । ‘पार्वण श्राद्ध भन्नाले पर्व औंसीमा गरिने वा प्रत्येक अपर पक्ष (कृष्ण पक्ष) मा गरिने त्रिपुरुषीश्राद्ध (बुवा–हजुरबुवा–जिजुबुवा) लाई उद्देश्य गरी गरिने श्राद्ध हो ।’ (पार्वणश्राद्ध पद्धति–२०६४, रत्न पुस्तक भण्डार, पृ.१३९–१४०) ।
प्रत्येक महिना पार्वण श्राद्ध गर्न नसके त्यसको अनुकल्पमा तीन ऋतुमा तीन पटक र त्यो पनि नसके वर्षको एकपटक श्राद्ध गर्नुपर्ने स्मृतिमा उल्लेख छ । त्यसैलाई आधार मानेर अहिले प्रत्येक औंसीमा श्राद्ध गर्न नसके पनि आश्विन कृष्ण पक्षमा गर्ने चलन छ । पुराणमा पनि गृहस्थीले भदौ वा आश्विनमा श्राद्ध गर्नुपर्ने उल्लेख छ । औंसीमै गरिने श्राद्धको प्रतीक भएकाले यसलाई पार्वण भनिएको हो । यो श्राद्धमा पितातर्फका तीन पुस्ता र मातातर्फका तीन पुस्ताको स्मरण गर्ने (पिण्ड दिने) विधि छ ।

औंसी बार्ने
अहिलेको पुस्तालाई थाहा नहुन सक्छ, हाम्रो परम्परामा औंसी बार्ने चलन छ । बार्ने भनेको निषेध अर्थात् गर्न नहुने कुरा । वैदिक तिथिपत्रम् (वैदिक पात्रो–२०८२, स्वाद्ध्यायशाला कुटुम्ब) पल्टाउँदा हरेक औंसीको विवरणमा देखिन्छ, वैदिकानां पिण्डपितृयज्ञः स्मार्तानां वैदिकानां दर्शश्राद्धम् अर्थात् वैदिक वा स्मार्तहरूले पितृयज्ञ वा श्राद्ध गर्ने दिन । आफ्ना पितृलाई पिण्ड दिने दिन । यससँगै विवरणमा उल्लेख हुन्छ, हल–कुण्डनी–यन्त्रक–मन्थनीकर्म–सायम्भोजनपरिहारदिनम् अर्थात् हलो–ढिकी–जाँतो–ठेकी बार्ने (नचलाउने) र साँझ भोजन गर्न नहुने दिन । चलनचल्तीको पात्रोमा पनि निशि बार्ने उल्लेख गरिएको हुन्छ । निशि बार्ने अर्थात् बेलुकी भोजन नगर्ने (भात नखाने), सम्भोग नगर्ने आदि । वैदिक परम्परामा गुरुसँग विधिवत् वेद पढ्न नहुने (अनध्याय) दिनमध्ये औंसी पनि एक हो ।
पितृ कोलाहल मन पराउँदैनन्, शान्त वातावरण रुचाउँछन् भन्ने मान्यता छ । त्यसैले त्यो दिन अरु उत्सव गरिँदैन । कुनै मुहूर्त्त वा साइत निस्किँदैन । नियमित पूजा पनि शंख–घण्ट नबजाई गरिन्छ । नेपाली समाजमा औंसीका दिन अन्न–गेडागुडी सुकाउँदा ‘कीरा लाग्दैन’ भन्ने विश्वास छ ।
महत्त्वपूर्ण औंसी
भदौको औंसी घरघरमा कुश भित्र्याउने दिनका रूपमा पनि परिचित छ । यसरी भित्र्याइएको कुश वर्षभर देव तथा पितृकार्यमा प्रयोग गरिन्छ । असोज महिनाको (आश्विन) औंसीलाई पितृकार्यका लागि विशेष मानिएको छ । बडादसैंअघि पर्ने पक्षभर नै पितृको सम्झना गर्ने परम्परा छ । यसलाई बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । यस्तै पुस महिनाको औंसीलाई पनि विशेष महत्त्व दिइन्छ । यसलाई पौसे औंसी भनिन्छ । यो दिन काठमाडौंको गोकर्ण, गण्डकी–कोशी र नुवाकोटको वेत्रावतीलगायत पवित्र स्थलमा श्राद्ध गर्ने परम्परा छ ।
माघ महिनाको औंसीमा पशुपति क्षेत्रस्थित आर्यघाटमा माधवनारायण मेला लाग्छ । यो दिन साँखुमा माधवनारायणको एक महिने व्रत बसेका श्रद्धालुले पशुपतिनाथको दर्शन गर्छन् ।
वर्षमा यस्तो पनि एउटा औंसी छ–जहाँ देवताको आराधना गरिन्छ, त्यो पनि उत्सवसहित । त्यो हो, कार्तिक कृष्ण औंसी । यो दिन साँझ लक्ष्मीको पूजा गर्ने परम्परा छ । प्रत्येक घर सफासुग्घर गरी फूल र बत्तीले झिलीमिली पारिन्छ । पूजाकोठामा लक्ष्मीपूजा भइरहँदा आँगनमा भैलो गीत गाएर उत्सव गरिन्छ ।
सोमवती औंसी
सोमबार औंसी परेको दिनलाई सनातन संस्कृतिमा विशेष महत्त्व दिइएको छ । सोमबारयुक्त औंसीलाई सोमवती औंसी भनिन्छ । यो दिन बिहान सबेरै उठेर नबोली नुहाउनुपर्ने मान्यता छ । त्यसपछि भगवान् शिव वा विष्णुको आराधना र दान आदि कर्म गरिन्छ । यो दिन तुलसी वा पिपलको पूजा गरी प्रदक्षिणा गर्ने विधान पनि छ ।

 Image