Successfully Copied

महान् चाड दसैंका महत्वपूर्ण दिन

खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी महापर्व हुन्, त्यसमा पनि विजयादशमी मुख्य दिन हो ।



अच्युत मान सिंह प्रधान ‘उत्सुक’
नेपालीहरूको महान् चाड दसैंलाई ‘नवरात्र’ पनि भनिन्छ । हिन्दू धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म शक्तिको आराधना गरी दसौं दिन बिहान दशमीका दिन आफू भन्दा ठूला मान्यजनको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमासम्म मनाउने विशेष पर्व हो ।
यो आश्विन शुक्ल सप्तमीदेखि दशमीसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । त्यसमा पनि विजयादशमी मुख्य दिन हो । दसैंमा मालश्री वा मालश्री धुन बजाएर र गीत गाई रमाइलो गरिन्छ । देश–विदेशमा भएका आफ्ना साथीभाइ, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । आफ्ना नाता कुटुम्ब, ठूला बडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद लिने, नयाँ कपडा लगाउने, क्षमतानुसार मीठो खाना खाने–ख्वाउने, घर आँगन सफा राख्ने आदि जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । यसो गरेमा वर्षभरि सुख प्राप्त हुने, दैविक शक्ति प्राप्त भै कार्य सफलता मिल्ने शास्त्रमा उल्लेख गरिएको पाइन्छ । दसैंमा दक्षिणा, टीका, जमरा, चङ्गा उडाउने र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्वका रूपमा लिइन्छ ।
दसैंमा दुर्गाका नौ वटा रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्रीको विशेष पूजा तथा आराधना गरिन्छ । नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिपदाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक–एक दिन गरी नौ दिनसम्म पूजा गरिन्छ । दसौं दिन विजयादशमीमा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको खुसीमो टीका र जमरा लगाइन्छ । टाढाटाढादेखि आउने पाउनाहरूलाई पूर्णिमासम्म पनि टीका लगाएर आशीर्वाद दिइन्छ ।
दसैं प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म पन्ध्र दिनको हुने भए पनि पहिलो नौ दिनलाई नवरात्रि र दसौं दिनलाई दसैं भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा वा घटस्थापना, सप्तमी वा फूलपाती, महाअष्टमी वा कालरात्री, महानवमी, विजयादशमी र पूर्णिमा वा कोजाग्रत दसैंका प्रमुख तिथि हुन् ।
दसैंका महत्वपूर्ण दिन
घटस्थापना
दसैंको प्रथम दिन प्रतिपदालाई घटस्थापना भनिन्छ । यसै दिनदेखि दसैंको नवरात्र आरम्भ हुन्छ । यस दिन घरघरमा शुभ साइतमा घटस्थापना गरी जमरा राखिन्छ । यस दिन घट (कलश) को स्थापना गरी देवीदेवतालाई आह्वान गरिन्छ । घटस्थापनाका दिन जमरा राखिन्छ । नवरात्रभरि पूजा गरेर दशमीका दिन टीकासँगै जमरा लगाएर आशीर्वाद दिने–लिने चलन छ । जमरा मकै, गहुँ तथा जौका दाना उमारेर तयार गरिन्छ ।

महासप्तमी (फूलपाती)
नवरात्रिको सातौं दिन फूलपाती हो । यस दिन प्रत्येक दसैं घर वा शक्तिपीठमा फूलपाती भित्र्याउने चलन छ । नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घरघरमा भित्र्याइन्छ । फूलपातीमा नौ प्रकारका बिरुवाका पत्र वा पालुवा हुने हुनाले नवपत्रिका भनिन्छ । वर्षा ऋतु सकिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवा घरमा भित्र्याउँदा विभिन्न प्रकारका नकारात्मक कीटाणु घरमा रहँदैनन् भन्ने धार्मिक मान्यता छ ।
यस दिन सदर टुँडिखेलमा फूलपाती बढाईं भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यी नौ फातमा क्रमशः ब्रह्मायणी, रत्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक–एक गरी आह्वान गरेर सोह्र सामग्रीले पूजिन्छ । यसै दिन गोरखा दरबारको दसैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई परेड र बढाइका साथ हनुमानढोका दरवारमा भित्र्याइन्छ ।
महाष्टमी–नवरात्रिको आठौं दिनमा महाकाली (भद्रकाली) को विशेष पूजा–आजा गरिन्छ । पूजापछि देवीलाई बोका, कुखुरा, हाँस, राँगा आदि बलि दिइन्छ । शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौंला आदि फल अर्पण गर्दछन् ।


काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन वर्षको एक दिन मात्र सर्वसाधारणको लागि खुल्ला रहन्छ । यसै दिन दसैंघर (हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यति नै बोकाको बलि दिइन्छ । त्यस्तै देशका विभिन्न दुर्गा मन्दिरहरूमा राँगा एवं बोकाको बलि पनि दिइन्छ ।
महानवमी–नवरात्रिको नवौं दिन विशेष गरी सिद्धिदात्री देवीको पूजा–आजा गरिन्छ । यसै दिन बिहान हातहतियार तथा सवारीका साधनहरूलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाका अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका कन्याहरूको पनि पूजा गरिन्छ । सोही दिन देशका विभिन्न दुर्गा मन्दिरहरूमा बोका तथा राँगाको बलि दिने प्रचलन छ ।
विजयादशमी–नवरात्रिको दसौं दिनलाई विजयादशमी भनिन्छ । यस दिन आफूभन्दा ठूलाका हातबाट टीका तथा प्रसाद ग्रहण गरिन्छ । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ । आफ्नो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ । अन्त्यमा यो टीका लगाउने काम पूर्णिमासम्म जारी रहन्छ । यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ ।
मान्यजनहरूका हातबाट टीका लगाएपछि मीठा–मीठा परिकार खाएर पिङ खेल्ने चलन पनि छ । दसैं लागेपछि नेपालमा लिङ्गे पिङ बनाएर गाउँघरमा दसैं लागेको संकेत पनि दिन्छ । यो चलन नेपालमा पहिलेदेखि चलिआएको छ । आजकल त सहर–बजारमा पनि पिङ खेलिन्छ । यसबाट पनि हाम्रो मौलिक संस्कृति जीवन्त राख्न सहयोग पुगेको छ ।
कोजाग्रत पूर्णिमा–दसैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भनिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन समापन हुन्छ । यो दिनमा महालक्ष्मीले रात्रिमा जाग्राम बस्ने मानिसलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास छ ।

 Image