Successfully Copied

हामी ‘नछुने’ भएका होइनौं

महिनावारी हुनु पाप होइन यो त महिला शरीर परिपक्वताको पहिचान हो । त्यसैले यो नगरेको पाप पखालिने नाममा आजका कलिला छोरीहरूलाई ऋषिपञ्चमीको व्रत गराउन आवश्यक छैन ।

शोभा शरभ


हामीले यसपटकको तीजमा जन्मघरमा आमा र भाउजूसँग नाचेर सुखदुःख साट्ने रहर पूरा गर्‍यौं । यो २०७८ सालको तीज थियो । बुवाको मुख हेर्ने दिन बुवाको दर्शन गरी आमाले बनाएको दर खाएर तीज मनाउन हामी दिदीबहिनी, भक्तपुरबाट इनरुवाका लागि माइक्रोबस चढ्यौं ।
स–साना छोराछोरी कार्यालयमा व्यस्त श्रीमान् र एकल परिवारको जिम्मेवारी बोकेर हिँडेका हाम्रो रहरको बाटो यतिका वर्षसम्म कर्तव्य र जिम्मेवारीले छेकिरहेको थियो । यसपटक भने परिवारको साथ र सहयोगले केही दिनलाई समय जुटाएर हामी उड्यौं बुवाआमाको काखमा र जन्मभूमिको आँगनको फूल र तुलसीको सुवासनामा हराउन । तर चाहना र रहरको बाटो चाँजो मिलाएर हिँड्दा पनि कहिलेकाहीँ प्रकृतिले बाटो छेकिदिन्छिन् भन्ने कुरा यसपटकको यात्रामा अनुभव गरियो तर फेरि यिनै प्रकृतिले हाम्रासामु विकल्प पनि उसैगरी देखाउने रहिछन् ।
रातभरि परेको अविरल वर्षाका कारण बनेपाको बाटो डुबानमा परेर गाडी पार हुन नसक्ने कुरा अगाडि पंक्तिबद्ध गाडीको लस्करले बताइरहेका थिए ।
उत्साहको बेलुनमा कसैले च्वास्स सियो घोचेझैं हाम्रो खुसी ओइलाउन खोज्दै थियो । केहीबेर मोबाइल फोनमा कुरा गरेपछि उति नै खेर चलाख चालक भाइले गाडी सरक्क मोडेर गति लिए । कतै हामीलाई घरतर्फ त फर्काउँदै छैनन् भन्ने शंकाको बादल हटाउँदै ताथली नालाको बाटो भएर डुबान क्षेत्र छलेर धुलिखेल पुर्‍याउने जानकारी पाएपछि हामीले खुसीको बेलुन फुलाइरह्यौं ।
साँझ पाँच बजे जन्मघर पुग्दा नाच्न मन लाग्यो, ‘भदौरे झरीले सकेन रोक्न, जन्मेको माटोमा चेलीलाई टेक्न ।’
मायाको अङ्कमाल र खुसीको झरीले केहीबेर परेली रुझाएर हामी अबेर रातसम्म गफियौं । ८५ वर्षे बुवाको शारीरिक अस्वस्थाका बाबजुद देखिएको उत्साहले मलाई सधै ऊर्जावान् हुने प्रेरणा दिन्छ । बुवाको मुख हेर्ने, दर खाने अनि तीजको व्रत समापन गर्दा चारदिन कति छिटो बित्यो मानौं चौबीस घन्टाको दिन चौबीस मिनेटमा खुम्चिएको छ ।
अघिल्लो दिनको निराहारका बाबजुद आमाको ऊर्जा देखेर म आफैलाई मनमनै प्रश्न गर्दै थिएँ कि अबको २१ वर्षपछि म आमाजति नै ऊर्जावान् रहन सकुँला र ? तीन बीस र केही वर्ष उमेरकी अनुभवी हाम्री आमा ४० वर्षमाथिका दुई छोरी र एकमात्र बुहारीका लागि बिहानै खाना तयार गर्दै हुनुहुन्छ । यो बीचको समयमा आमाले बारम्बार बहिनीकी सानी छोरी र मेरी छोरीलाई सम्झिरहनुभएको थियो र केही दिनको पढाइ छुटाएर पनि सँगै ल्याउनुपर्थ्यो भनिरहनुभएको थियो । साना कान्छी नातिनीहरू तीजका बेला आमा नहुँदा न्यास्रिए होलान् भनेर हजुरआमाको मन चुकचुकाएजस्तो लाग्यो ।
प्रचलित चौथीको दिन खाना खाएर एकछिन विश्रामपछि आमा कतै निस्किनुभयो र केही समयपछि खलखली पसिनाले नुहाएर अङ्गालोभरि अपामार्ग भनिने वनस्पति लिएर बरन्डामा हामी सबै बसेको ठाउँमा आएर लु दतिवन गनौं भन्नुभयो । आमाले मेरी छोरी पहिलोपटक रजस्वला भएको थाहा पाएपछि त्यो तीजमा नानीलाई लिएर आउनू भनेर निकै जोड गर्नुभएको थियो । बुझ्दैछु, आमाले मलाई जस्तै मेरी छोरीलाई पनि पहिलो रजस्वला भएको वर्षको ऋषिपञ्चमीको व्रत गराउन चाहनुहुन्थ्यो ।
अपामार्गको दतिवन गर्दा दाँतको पीडामा फाइदा मिल्ने जानकारी आयुर्वेदमा पाइन्छ, त्यसैले यसको दतिवन गर्ने कुरालाई अन्यथा नलिन भदैनीहरूलाई सम्झाएकी थिएँ । कुराकानीका क्रममा मैले आमाको पहिलो रजस्वलाको अनुभव सुनाउन अनुरोध गरें । भदैहरूले प्रोत्साहन गरे अनि थोरै असहज मान्दै आमाले सुनाएको घटनापछि हाम्रा पाँच नारी हृदय पीडामा एकैपटक छचल्किएर पोखिए ।
रजस्वला नहुँदै नातिनीको विवाह गरेर धर्म कमाइने आमाकी हजुरआमाको विश्वासले १३ वर्षको उमेरमा विवाह गरेको छ महिनापछि आमाको रजस्वला सुरु भएको रहेछ । आफ्नो शरीरको वृद्धि र विकासको शून्य जानकारीबिना नै १५ वर्षको उमेरमा पहिलोपटक आमा बन्नुभयो । जम्मा २७ वर्षकी हुँदा आमाले हामी पाँच नयाँ जीवनलाई यो धर्ती टेकाइसक्नुभएको थियो । किशोरावस्थामा छोराकी आमा बनेपछि ३/३ वर्षको अन्तरालमा सुत्केरी भैरहे पनि उचित खानपिन, स्याहारसुसार र काम र आरामको सन्तुलन मिलेर होला आमा स्वस्थ नै हुनुहुन्छ । तर अन्तिम सन्तानलाई जन्माएको केही वर्षपछि गुमाउनुपरेको पीडा अहिले पनि कहिलेकाहीँ आमाको आँखाको बाटो बग्छ ।
महिनावारी भनेको ‘नछुने’ होइन यो त एउटी किशोरी पूर्ण महिला बन्ने सुरुवातको अवस्था हो । त्यसैले यो बेला छाइछुई हुन्छ भनेर विभेद गर्नुहुँदैन । बरु शारीरिक पीडा मानसिक तनाब हुन सक्ने भएकाले अझ धेरै माया दिनुपर्छ । महिनावारीको मुख्यभूमिका सन्तान जन्माउने कुरासँग जोडिएको छ । यसलाई पाप भन्न मिल्दैन ।
कतिपय जड बनेर बसेका विश्वासका अदृश्य पर्खालमा हाम्रो कुराहरूको प्रभाव परिरहेको थिएन । उहाँको हुर्काइ, समय र परिवेशले दिएको अन्धविश्वासको जरालाई, चित्त दुखाएर हटाउने प्रयास हामीले गरेनौं । तर महिनावारी हुनु पाप होइन यो त महिला शरीर परिपक्वताको पहिचान हो । त्यसैले यो नगरेको पाप पखालिने नाममा कलिला छोरीहरूलाई ऋषिपञ्चमीको व्रत गराउन आवश्यक छैन । बरु यो कुसंस्कारलाई हाम्रो समाजबाट निर्मूल गर्न हजुरआमा पुस्ताको ठूलो भूमिका हुनसक्छ ।
‘अब आउने छोरीचेलीको दिमागमा यो अन्धविश्वासको लेप कसैले नलगाइदिनू । यो भ्रम चिर्ने काममा तिमीहरू लागिरहनू’ भन्दै आमा भावुक हुनुभयो । आमाको आँखामा आँसु भरिएको देखेपछि हामी छोरीहरूका पनि परेली भिजे, वातावरण गम्भीर हुँदै गएको थाहा पाएर आमाकी कान्छी नातिनीले ठटेउलो पारामा भनी, ‘प्यारी आमा, हामी हजुरको आस्थाको सम्मानमा यति कुरा त विचार गर्छौं तर मेरो पनि एउटा सर्त हजुरले मान्नुपर्छ ।’ अघि हजुरले नछुने भएको बेला भन्नुभयो नि अबदेखि त्यसो नभन्नू है । हामी नछुने भएको होइन । हाम्रो महिनावारी भएको हो ।’
यसपटकको तीजले नेपाली समाजलाई छपक्क छोपिसकेको छ । यतिबेला राजधानीमा बसेर पूर्वको जन्मघर र बुवाआमाको काखलाई सम्झिरहेकी छु । चाडपर्वले सम्झनालाई अझै गाढा बनाउँछन् । चाहेर पनि जुट्न नसकेको साथलाई कहिलेकाहीँ सम्झनाको मधुरसमा घोलेर पिउँदा आमाको हातको दरजस्तै मीठो अनुभूति भइरहेको छ ।

 Image