Successfully Copied

अहल्या

महिला गर्जिरहिन्, ‘जुन लोग्नेले आफ्नी पत्नीलाई व्यभिचार भएको होस् वा बलात्कार भएको होस्, दुवै अवस्थामा एउटै सजाय दिन्छ त्यो लोग्ने अहल्यालाई किन चाहियो ?

सूत्रधारले मञ्चअगाडि उभिएको भई यथासंभव सुन्दर र सुसंस्कृत भाषामा भन्यो, ‘दर्शक नगरवासीहरू, राम र लक्ष्मण दुवै कुमार आउँदै छन् । यी कुमारहरू देवताजस्तै देखिन्छन् र यिनीहरूको चालढाल हात्ती वा सिंहको जस्तो देखिन्छ । यिनीहरूका ठूलाठूला आँखा विकसित कमलदल समान छन् र आफ्नो सुन्दर रूपद्वारा यिनीहरू अश्विनीकुमारलाई लज्जित तुल्याउँछन् । जसरी सूर्य–चन्द्रमा आकाशको शोभा बढाउँछन् त्यसरी नै यिनीहरूले यो देशलाई सुशोभित गरिरहेका छन् । श्रेष्ठ आयुध धारण गरेका यी दुई भाइलाई मिथिला नगरीको निकट यो सुनसान र सुन्दर जंगलमा रहेको एउटै कुटीतर्फ ऋषि विश्वामित्रले किन डोर्‍याउँदै हुनुहुन्छ, ध्यानपूर्वक हेर्नुहोस् र सुन्नुहोस् ।’
अगाडि ऋषि र पछाडि दुई भाइ सँगसँगै कुटी नजिक पुग्छन् र गुरु विश्वामित्र राम–लक्ष्मणतिर फर्किएको देखिन्छ ।
ऋषि विश्वामित्रले भने, ‘हे दाशरथी राम, यो कुटीमा बस्ने दु:खी तपस्विनीलाई भेट ।’
‘हे तपस्याका पर्याय ऋषिवर,’ रामले भने, ‘तपस्विनी र दु:खी शब्द आफैंमा विरोधाभाषपूर्ण लाग्छन्, या त तिनी तपस्विनी हैनन् या तिनी दु:खी होइनन्, तपस्वी दुखी हुँदैन भनी तपाईंले नै मलाई शिक्षा दिनुभएको कुरा मेरा स्मृतिमा विद्यमान छ ।’
‘दु:खी शब्द भूतकालका निम्ति प्रयोग भएको मान र तपस्विनी शब्द हालका निम्ति,’ विश्वामित्रले भने, ‘दु:खी भएकैले उनी तपस्विनी बनिन्, ।’
‘प्रिय गुरुवर, यस्तो निर्जन वनमा एउटी स्त्री एक्लै किन बस्छिन् र यिनी को हुन् ?’
‘म अहिले वर्तमानको एउटा पर्दा मात्र उघार्छु, राजसभामा महाराज जनकले हाम्रो आगमनका निम्ति पर्खिबसेकाले हामी यहाँ धेरैबेर भुलेर महर्षि जनकलाई धेरै बेर प्रतीक्षामा राख्नु राम्रो हुँदैन ।’
विश्वामित्रले सूत्रधारलाई ईशारा गरे ।
त्यसपछि एउटा पर्दा उघ्रियो ।
त्यहाँ एउटी महिला ध्यानस्थ देखिन्छिन् ।
‘हेर,’ विश्वामित्रले भने, ‘यी अभागिनी अहल्या आफ्नो तपस्याले देदीप्यमान छन्, यिनको स्वरूप दिव्य छ, विधाताले यिनका अङ्गहरूको निर्माण बडो प्रयत्न र सावधानीसाथ गरेको प्रतीत हुन्छ, यिनी मायाविनी र अलौकिक देखिन्छिन्, यिनलाई देख्ता यज्ञको धूवाँले घेरिएको अग्निशिखा जस्तो लाग्छ अथवा यिनी असिना र बादलले ढाकिएको चन्द्रमाको प्रभासमान छन् र घरिघरि पानीभित्र उद्भाषित हुने दुर्धर्ष प्रभाजस्ती पनि दृष्टिगोचर हुन्छिन् ।’
‘हे सूत्रधार, ‘दर्शक दीर्घाबाट आवाज सुनियो, ‘महर्षि विश्वामित्रलाई यी तपस्विनी अहल्याको सम्पूर्ण परिचय दिन भन्नुहोस्, आधा परिचयको रूपक मञ्चन हामीहरूका लागि बोधगम्य हुँदैन ।’
विश्वामित्रले पनि यो आवाज सुने र सूत्रधारलाई अर्को भित्री पर्दा उघारिदिन ईशारा गरे ।
फेरि आइपुग्यो सूत्रधार र दोस्रो पत्र पर्दा उघारियो ।
ब्रह्मलोकको दृश्य उपस्थित हुन्छ । मान्छेहरू ठूलो बगैंचाका फूलहरूले घेरिएका छन् । प्रजापति पाँच वर्षकी कन्याको हात समाएर उभिएका छन् र उनको सामुन्ने तपस्वी परिधानमा गौतम ऋषि उभिएका छन् ।
‘हे ऋषि गौतम,’ प्रजापतिले भने, ‘मेरी यी पुत्री अहल्याको जन्म स्वयंमा विशिष्ट सौन्दर्यको उत्पत्ति थियो । जुन नारीमा कुनै पनि किसिमको ‘हल्य’ अर्थात् निन्दनीय चरित्र हुँदैन त्यसलाई ‘अहल्या’ नाम दिनु नै श्रेयस्कर हुन्छ भन्ने धारणाले यिनलाई ‘अहल्या’ भनिएको हो । यिनको सौन्दर्य र पवित्रतालाई देवताहरूका मन्मथ–दृष्टिबाट कसरी बचाउने भन्ने चिन्ता मलाई भएकाले तिमीलाई यहाँ विशेष जिम्मेवारीका निम्ति डाकिएको हो । देवराज इन्द्रले त अहल्याको शिशुकालमै यिनलाई आफ्नी पत्नी बनाउने कल्पना गरिसकेका थिए । देवताहरू मकहाँ विभिन्न परामर्शका निम्ति आइरहने हुनाले तिनका आँखाबाट बचाउन मैले आफ्नी पुत्रीको सुरक्षा र पालनपोषणको उत्तरदायित्व तिमी महान् तपस्वी गौतम ऋषिलाई दिएको छु ।’
विस्तारै आवाज मधुरो हुँदै जान्छ र पर्दा बन्द हुन्छ । केही दर्शकहरू साना–मसिना कानेखुसीतिर लाग्छन् ।
केहीबेरका निम्ति बन्द भएको पर्दाअगाडि उभिएर सूत्रधारले भन्यो, ‘यद्यपि बालिका अहल्याको गृहत्याग कारुणिक थियो, प्रजापतिलाई पनि बिदा गर्ने बेलामा पुत्रीवियोगको अनुभूतिले क्लान्त र गलित देख्न सकिन्थ्यो तर पनि प्रजापतिको आफ्नै दृष्टिमा यो पुत्रीवियोग अनिवार्य थियो । फलस्वरूप अहल्या अब गौतमकी धर्मपुत्री बन्न पुगिन् ।
अहल्या शुक्लपक्षको चन्द्रमा झैं दिन गनेर बढिरहेकी थिइन् ।
धेरै वर्षसम्म गौतमजीकोमा बसेर हुर्किसकेकी अहल्यालाई गौतमजीले आफूसँग रहेको नासो ठानी पछि पुन: प्रजापतिलाई नै फिर्ता सुम्पिदिनुभयो ।
तर फेरि पनि प्रजापतिको चिन्ता अझ बढ्यो–किशोर वयबाट यौवनको सङ्घारमा टेकिसकेकी पुत्रीको सुरक्षा कसरी गर्ने ? देवता र विशेषत: देवराजको आवागमन उस्तै थियो र तिनको गिद्धेदृष्टि अहल्यामाथि यथावत् थियो ।
अर्कातिर गौतमको इमानदारी र संयमबाट प्रजापति प्रभावित भएका थिए । फलत: प्रजापतिले अहल्याको विवाह गौतमसँग नै गरिदिए । यसबाट देवराज इन्द्रको क्रोधको सीमा रहेन ।
‘ऋषि जस्तो मानिसले आफ्नै धर्मपुत्रीसँग विवाह त यो कलियुगमा पनि गर्दैन,’ दर्शकमाझ रहेकी एउटी आधुनिक महिलाले भनिन् ।
संयोगले वा संयोग निर्माण गरी ती महिलाको छेउमै बस्न आइपुगेको उनको पूर्वपतिले भन्यो, ‘कलियुगमा ऋषि नै कहाँ पाउनु र, सबै युगमा विधानहरू एकातिर र मान्छेहरू अर्कोतिर हिँड्छन्, छाडापन सायद सबै युगमा थियो ।’
ऊ सायद आफ्नी पूर्वपत्नीलाई पनि यही वाक्यले कतै न कतै घोच्न चाहन्थ्यो ।
‘यी धर्मगुरुहरू, शासकहरू, घरका तथाकथित मालिकहरू पनि सायद शास्त्रहरू, मर्यादाहरू हाम्रा लागि मात्र लेख्छन्,’ महिलाले भनिन्, ‘आफूचाहिँ तानासाहझैं आफैंले बनाएको विधानमाथि घोडा चढ्छन् र त्यसलाई इच्छाइएको दिशातिर कुदाउँछन् ।’
‘यसरी हामी नै छलफलमा लरबरिएर त कसरी अहल्याको कथाभित्र केन्द्रित हुन सकिएला र,’ पुरुषले भन्यो, ‘मञ्चमा हेरौं, सूत्रधारका कुरा सुनौं ।’
‘देवराज इन्द्र विलासिताका पर्याय नै हुन्,‘ सूत्रधार भन्दै थियो, ‘तर अहल्याप्रतिको उनको कामेच्छा र त्यसको अतृप्तिले उनलाई विक्षिप्तताको अवस्थामा पुर्‍याइदिएको थियो । उनका पछाडिका उरन्ठेउला कृत्यहरूले पनि यही कुरा पुष्टि गर्छन्,’ उसले अर्को पर्दा पनि खोलिदियो ।
दृश्य रातको थियो ।
दृश्यमा लामा जुँगा–दाह्री भएका ठूलो शरीरका पहेंलो वस्त्र धारण गरेका हातमा कमण्डलु लिएका अहल्याका पति अर्थात् गौतम ऋषि स्नानका निम्ति निस्किरहेका देखिन्छन् । ढोका जोडेर उनी निस्केको एक घडी बितुन्जेलसम्म, निस्तब्धता व्याप्त भएको छ, मञ्चमा शून्य छ, सूत्रधार पर्दाको किनारमा मौन उभिएको छ, दर्शकहरू, चञ्चल देखिने आधुनिक स्त्री, उनको पूर्वपति र रूखका हाँगामा सुतेका पक्षीहरूसमेत सायद सुस्तरी श्वास लिइरहेका छन् । ठीक यसैबेला दुरुस्त गौतमकै जस्तो पहिरनमा देवराज इन्द्र मञ्चको दायाँ पाश्र्वमा रहेको अहल्याको कक्षभित्र प्रवेश गर्छन् ।
पर्दा बन्द गरेर सूत्रधार उपस्थित हुन्छ ।
‘महर्षि गौतमलाई बिहान भएको भ्रम भएकाले स्नान गर्न जानुभएको थियो, तर नदी किनारमा पुगी आकाश हेर्दा ताराग्रह आदिको स्थानले मात्र उहाँलाई थाहा भयो–रात धेरै बाँकी छ । तर पनि उहाँ नुहाएरै फर्किनुभयो ।’ आफ्नो कुटीको यही ढोकामा आइपुग्दा भित्रबाट फुत्त देवराज निस्के । उनले गौतमलाई सामुन्ने देखे र थर्र कामे । महामुनि गौतम हातमा समिधा लिएर आश्रममा प्रवेश गर्दै हुनुहुन्थ्यो । ऋषिको शरीर तीर्थको जलले भिजेको थियो तर मुहार प्रज्वलित अग्निसमान उद्दीप्त थियो ।
महर्षिलाई कुरा बुझ्न गाह्रो थिएन, उहाँले इन्द्रलाई सराप्नसम्म सराप्नुभयो ।
भित्र पसेर उहाँले अहल्यालाई पनि सराप्नुभयो, ‘हे दुराचारिणी, तँलाई पनि यहाँ, यही जङ्गलमा धेरै वर्षसम्म केवल हावा, पानी र वनस्पतीका जरा खाएर, मान्छेको मुख देख्न पनि नपाई ढुङ्गो जस्तै जडवत् भएर बाँच्नुपरोस् ।’
दर्शकहरू कथामा रुचि लिइरहेका थिए र कथा छिटो छिटो अघि बढिरहोस् भन्ने मनोविज्ञानमा देखिन्थे । अत: सूत्रधारले कथा अघि बढाउनका निम्ति पुन: वर्तमानको पर्दा उघारिदियो ।
मञ्चमा रामलक्ष्मण, विश्वामित्र र अहल्या देखिए ।
‘हे तपस्विनी अहल्या,’ विश्वामित्र बोलिरहेका थिए, ‘तपाईंले लामो समयसम्म मनलाई एउटै बिन्दुमा टिकाई श्वास, मन्त्र, ईश्वर, चक्र वा कुनै विचारमा केन्द्रित रही कठोरसाध्य एकाग्रताको निरन्तरताले धारणा एवम् ध्यानको चक्र पूरा गर्नुभयो र दीर्घकालसम्मका निम्ति समाधिमा जानुभयो । समाधिमा रहँदा ध्यानकर्ता, ध्यानको विषय र ध्यान गर्ने क्रिया तीनवटै वस्तुलाई एक बनाई गहिरो शान्ति, आनन्द र अद्वैत अवस्थाको पनि अवश्य अनुभव गर्नुभयो । तर हामी गृहस्थ पनि हौं र गृहस्थी र समाज अभिन्न हुन्छन् । समाजप्रति हामी निरन्तर उत्तरदायी हुन्छौं । तपाईंको तपस्या पूरा भएको छ । अब उठ्नुहोस् र हाम्रा अर्थात् समाजमा उठेका प्रश्नहरूको उत्तर दिनुहोस् । हामी तपाईं र महर्षि गौतमको पुनर्मिलन र असल दाम्पत्यको कामना गर्दछौं ।’
‘जो आज्ञा ऋषिवर,’ अहल्याले भनिन्, ‘के प्रश्न सोध्न चाहनुभएको हो, सोध्नुहोस् ।’
‘वास्तवमा त्यस रातको घटना के थियो, यथार्थ थाहा हुनु तपाईं तपस्विनी अहल्याका निम्ति, तपाईंका पति महर्षि गौतमका निम्ति र लोक जिज्ञासाका निम्ति पनि कल्याणदायी हुनेछ ।’
‘कुन रात ?’ अहल्याले भनिन्, ‘मेरा निम्ति अब रात र दिन, सुख वा दु:ख, जित वा हार, नगर वा जंगल र यहाँसम्म कि जीवन वा मृत्यु सबै समान छन्, म समभावमा स्थिर भएकी छु ।’
विश्वामित्रले रामको मुखमा हेरे र ‘तिमी बोल’ भन्ने ईशारा गरे ।
‘देवी गौतमी,’ रामले भने, “तपाईंको कठोर तपस्याका बारेमा सुनेर, देवराजको कुकृत्यका बारे सुनेर अनि तपाईंको महर्षि गौतमसँगको विप्रलम्भ अवस्थाका बारे सुनेर केही सुलह निकाल्न सकिएला भन्ने सदिच्छाले हामी यहाँ उपस्थित भएका हौं ।’
‘तर पनि,’ विश्वामित्रले भने, ‘यथार्थको बोधबिना समस्या हल गर्न खोज्नु कुहिरोमा वाण हान्नु जस्तै हुन्छ ।’
‘मेरो कसैसँग कुनै गुनासो छैन र सुलहका निम्ति आवश्यक कुनै समस्या पनि छैन,’ अहल्याले कुनै भावनात्मक उत्तेजना नभएको, संयमित र शान्त स्वरमा भनिन् ।
‘ऋषि गौतमका निम्ति पनि यथार्थ जानकारी आवश्यक र उपयोगी हुन्छ ।’ विश्वामित्रले भने ।
‘कस्तो यथार्थ ऋषिवर ?’ अहल्याले भनिन् ।
‘जस्तो कि त्यस रात जब गौतम ऋषि स्नानका निम्ति जानुभयो,’ विश्वामित्रले भने, ‘त्यसैवेला गौतमकै जस्तो भेष बनाएर तपाईंसँग सहवास गर्ने कुविचारले तपाईंको कक्षमा प्रवेश गरेका देवराज इन्द्रलाई तपाईंले देवराज इन्द्र भन्ने चिनेरै सहवास गर्नुभएको थियो वा गौतम ऋषि नै ठानेर सहवास गर्नुभएको थियो ?’
‘देवी अहल्या,’ रामचन्द्रले भने, ‘यसबारेमा अहिले दुईवटा लोकधारणा छन् ।’
‘एउटा धारणाअनुसार,’ विश्वामित्रले भने, ‘यद्यपि देवराज तपाईंलाई झुक्याएर आफ्नो वासना पूरा गर्ने हेतुले गौतम मुनिको भेषमा आएका थिए तर तपाईं देवराजलाई चिनेरै पनि बुद्धि भ्रष्ट हुन गई समागममा सरिक हुनुभयो–‘मुनिवेषं सहस्राक्षं विज्ञाय... मतिं चकार दुर्मेधा देवराजकुतूहलात् ।’ अझ के भनिन्छ भने समागमपछि तपाईंले देवराज इन्द्रसँग सन्तुष्टश्चित्त भएर भन्नुभयो रे, हेसुरश्रेष्ठ π म तपाईंसँगको समागमले कृतार्थ भएँ, प्रभो π अब तपाईं यहाँबाट जानुहोस् र महर्षि गौतमको कोपबाट तपाईं आफ्नो र मेरो पनि रक्षा गर्नुहोस् ।’
अर्को धारणाअनुसार रातको समयमा ऋषिको जस्तो भेष बनाएका देवराजलाई तपाईंले गौतम नै ठान्नुभयो र झुक्किनुभयो, यी धारणाहरूमध्ये कुन सत्य हो ?’
दर्शक दीर्घामा पनि अलि असहज स्थिति अनुभव हुँदै थियो । आधुनिक स्त्रीले अलि आवेशमा भनिन्, ‘अहिले आएर कलियुगका वकिलहरूले जस्तो प्रश्न गर्नुको उद्देश्य के हो ?’
‘हरे, धैर्य गरेर हेर्नु–सुन्नु नि’ पूर्वपतिले भन्यो ।
‘हे ऋषिवर, मलाई कसैसँग केही लिनु छैन, कसैलाई केही दिनु छैन भने यी प्रश्नहरू अब किन ?’ अहल्याले शान्त मुद्रामै भनिन् ।
‘समाजले उत्तर त खोज्छ,’ रामचन्द्रले भने ।
आधुनिक महिला दर्शक दीर्घाबाट जुरुक्क उठिन् र मान्छेहरू फड्किँदै चार पाइलामा मञ्चमा उक्लिन् । सूत्रधार ट्वाल्ल पर्दै डराएको देखियो । महिलाले उसको हातबाट माइक खोसिन् र भनिन्, ‘हे पुरातन दास सूत्रधार, पर्दा बन्द गर ।’
सूत्रधारले थरथर कामेर पर्दा बन्द गर्‍यो ।
महिला अब दर्शकहरूतिर फर्किन् ।
‘जुन समाजले यथार्थको जानकारी समेत नभई अहल्यालाई सारा जीवन यस जंगलमा कीरा–फट्यांग्रा र जनावरहरूको बीचमा फालिदियो त्यो समाज अहल्यालाई किन चाहियो ?’
उसको पूर्वपतिले ती आधुनिक महिलालाई नयाँ मानिसलाई झैं विस्फारित आँखाले हेर्‍यो–मानौं उसले अघि बीस वर्षसँगै बस्दा उनलाई चिनेकै थिएन, ती अहिले नितान्त अर्कै थिइन् ।
महिला गर्जिरहिन्, ‘जुन लोग्नेले आफ्नी पत्नीलाई व्यभिचार भएको होस् वा बलात्कार भएको होस् दुवै अवस्थामा एउटै सजाय दिन्छ त्यो लोग्ने अहल्यालाई किन चाहियो ? सजाय काटिसकेपछिको अनुसन्धान अहल्यालाई वा हामीलाई किन चाहियो ? प्रश्नहरूले नै महिलालाई नंग्याउने तिम्रो न्यायप्रणाली हामीलाई किन चाहियो ? बलात्कार गर्दा पनि र व्यभिचार गर्दा पनि दुवै अवस्थामा दोषमुक्त भएर फेरि पनि त्यही पुरुष राजा हुने, मालिक हुने नाटकीय अनुसन्धान हामीलाई किन चाहियो ?
दर्शकहरू ताली बजाउँदै गए र आधुनिक महिला बोल्दै गइन्, ‘जुन प्रश्नको उत्तर अहल्या दिन चाहन्नन् त्यो प्रश्न दोहोर्‍याएर सोध्ने अधिकार कसैलाई छैन । जुन अनुसन्धानले दोष देवराजको देखिए पनि दण्ड अहल्यालाई दिन्छ त्यो अनुसन्धान हामी बहिष्कार गर्छौं । जुन नाटक हामीलाई फेरि अर्को युगमा पनि शोषण गर्ने हेतुले रचिन्छ त्यो नाटक हामी निरन्तर अस्वीकार गर्दछौं । सबै घरघर जाऔं, सूत्रधार, तिम्रो युगका बोरियाबिस्तरा उठाऊ ।’
दर्शकहरू ताली बजाउँछन्, सिठी बजाउँछन् र घरतिर फर्किन्छन् ।
समय बाँकी छँदै नाटक भङ्ग भएको थियो ।

 Image