काठमाडौं– द हिडन ट्रेजरले ‘मिस नेपाल २०२६’ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ । बुधवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाले नेपाल तथा विदेशमा बसोबास गर्ने इच्छुक युवतीहरूलाई प्रतियोगितामा सहभागी हुन आव्हान गरेको थियो । आवेदन दिने अन्तिम मिति २०८३ जेठ २५ गते सम्म तोकिएको छ ।
ग्राण्ड फिनाले आगामी साउन १६ गते शनिबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुने बताइएको छ । कार्यक्रममा सौन्दर्य, प्रतिभा र व्यक्तित्वको उत्कृष्ट प्रस्तुति रहने आयोजकको भनाइ छ । कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने छ ।
प्रतियोगितामा सहभागी हुन चाहने युवतीहरूको न्यूनतम उचाइ ५ फिट ३ इञ्च तथा उमेर १८ देखि २७ वर्ष हुनु पर्नेछ । आवेदन नेपाली नागरिकता भएका नेपाली युवतीहरूले दिन सक्ने छन् । विदेशमा बसोबास गर्ने नेपालीहरूले गृह मन्त्रालयद्वारा जारी एनआरएन कार्डका साथ आवेदन दिन सक्नेछन् । दर्ता नि:शुल्क छ । इच्छुकले आयोजकको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने विजेताहरूले विश्वमञ्चमा सराहनीय प्रदर्शन गर्दै स्वदेश फर्किएका छन् ।
यस वर्षको प्रतियोगिताबाट तीन जना विजेताहरू घोषणा गरिनेछन् मिस नेपाल वल्र्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल । द हिडन ट्रेजरले कजारिया रमेश टाइल्स लिमिटेड कम्पनीलाई मुख्य शीर्ष प्रायोजक तथा श्री नटराज ज्वेलर्सलाई सह–प्रायोजकका रूपमा पाउँदा सम्मानित भएको जनाएको छ ।
अर्को मिस नेपालको खोज देशका विभिन्न सहरहरू बिर्तामोड, इटहरी, बुटवल, पोखरा, नेपालगन्ज र जनकपुरमा सञ्चालन गरिने छ । साथै, यस अवधिमा काठमाडौंका १० कलेजहरूमा मिस नेपाल एक्टिभेसन अभियान सञ्चालन गरिने छ । अन्तिम अडिसन जेठ २६ गते मंगलबार (२०२६ जुन ९) का दिन काठमाडौंमा आयोजना हुनेछ । छनोट भएका प्रतिस्पर्धीहरूले ग्रान्ड फिनालेका लागि आवश्यक प्रशिक्षण तथा ग्रुमिङ प्राप्त गर्नेछन् ।
तस्बिरहरु : महेशमान प्रधान