Successfully Copied

खुर्सानीको धूलो

‘तपाईं मेरो दाइ होइन ? दाइले बहिनीमाथि यस्तो व्यवहार गर्छन् ?’ सानी बेस्सरी रिसाई । ‘दाइ भएर के भो त ? कसैलाई थाहा हुँदैन ।’ ऊ रोकिनेवाला थिएन ।

‘सानी भात र तिहुन अगेनामा छ । दाइ र तँ खानू है ।’ मंसिर मासको मीठो निद्रामा सुतेकी छोरीको कानैमा आएर आमा बोलिन् । हुन त यो सिलसिला नौलो होइन । हरेक बिहान ६ बजे आमा यसै भन्थिन् अनि चुरोटको धूवाँ पुत्ताउँदै बाको पछिपछि ज्यामी काममा लाग्थिन् । आफूलाई र बालाई आमाले हरेक दिन खाना हटकेसमा राखेर लान्थिन् । बाँकी खाना चुलोमा छोपछाप पार्थिन् ।
सानीले आँखा खोली । चुलो रापिलो थियो । चुलोमा आगोका फिलिङ्गाहरू अझै पनि भर्भराइरहेका थिए । त्यसको तातोले कोठा न्यानो बनेको थियो । काम गरेका ठाउँबाट कहिलेकाहीँ काठका दाउरा लिएर आमा आउँथिन् । त्यही दाउरा उनीहरूको महँगो ग्यासको विकल्प थियो ।
बाआमा काममा । एउटै मात्र कोठा । ठूलो कम्पाउन्डमा साहूको घर । यतिबेला साहूको घर रित्तै थियो । विदेश गएका थिए सबै । त्यही घरको रक्षार्थ उनीहरू टहरोजस्तो कोठामा मिनाहामा बस्न पाएका । कोठाको दक्षिणपट्टि कुनामा भान्सा, काठको सानो र्‍याकमा भाँडाकुँडा । पानीले भरिएका ग्यालिन र बाल्टिन । उत्तरपट्टिका भित्ताका छेउमा लहरै ओछ्यान । त्यही ओछयानको पश्चिमपट्टि हिजो गाउँबाट आएको अपरिचित दाइ सुतेको । पूर्वपट्टि सानी । बीचमा बाआमाको ओछ्यानको बार । बाआमा हिँडेपछि सानीको मन ढक्क फुल्यो । अपरिचित दाइसँग ऊ आत्तिई । कसरी निर्धक्क बाआमाले ऊसँग छोड्न सकेका ? एक मन त उसलाई बाआमासँग रिस पनि उठ्यो ।
पन्ध्र वर्षकी ऊ कक्षा आठमा पढ्छे । सरकारी स्कुलमा उसलाई पढाउने दाता पाएकी छे । हिजो गृहकार्य गर्दागर्दै झ्याप्प बत्ती गएको थियो । अब पढ्नुपर्‍यो भन्ठानी । छेउमै झोला थियो । आगोको ध्वाँसो लाग्छ भनेर स्कुल पोसाक पनि बडो जतनसाथ त्यसमै राखेकी थिई ।
दाइ जुरुक्क उठ्यो । सानीले झ्याप्प ओड्नेले मुख छोपी । ओड्नेको सानो प्वालबाट चियाएर हेरी । दाइले उसलाई घुरेर हेरिरहेको थियो । अघि बा–आमा जाँदा चुइँक्क नबोलेको मान्छे अहिले किन उठ्यो ? सानी भित्रभित्रै थरर्र काँपी । दाइ बाहिर निस्क्यो । सायद पिसाब गर्नलाई । गाउँमा बस्ने काकाको छोरा रे ऊ । विदेश जान आएको । जोगीका घरमा संन्यासी पाहुना भनेर स्कुलमा मिसले पढाएको उखानको याद आयो उसलाई । यहीँ किन बस्नुपरेको होला ? ऊ एक्लै भुतभुताई । दाइले फर्केर ढोकामा चुकुल लगायो । उसका पाइला सानीका ओछ्यानतिर सोझिए ।
‘मेरो ओछ्यानतिर किन आउँछ हँ ?’ सानी लल्याकलुलुक परे पनि सावधान बनी ।
‘कस्तो जाडो ? म पनि तिमीसँगै घुस्रन्छु है ?’
‘अहँ हुँदैन ।’ सानी जुरुक्क उठी ।
‘के हुन्छ त, बाहिर अँध्यारै छ । आऊ आऊ ।’ उसले सानीको हात समाउँदै ओछ्यानमा तान्यो । उसको नियत खराब छ । अब बुद्धिले काम लिनुपर्छ नत्र जे पनि हुन सक्छ, सानीले सोची ।
सानीको स्कुलमा केही समयअघि एउटा विशेष कार्यक्रम भएको थियो ।
‘हाम्रा छोरीहरू दिनप्रतिदिन असुरक्षित भइरहेका छन् । आफन्तहरूबाटै बलात्कृत हुन्छन् । यसबाट जोगिन छोरीहरू सचेत हुनुपर्छ । ब्याड टच र गुड टचका बारे जान्नुपर्छ भन्दै एउटा गुडियाको गोप्य भागहरू देखाएर अतिथिहरूले सचेत गराएका थिए । एकान्त पारेर कसैले आफ्नो शरीर छुन खोज्छ भने त्यो ब्याड टच हो । त्यसको प्रतिकार गर्नुुपर्छ । नो भन्न सक्नुपर्छ ।’ सानीका कानमा ती आवाजहरू गुन्जिरहे ।
‘बस न एकछिन कुरा गरांै । तिमी कति राम्री रहिछौ । मैले त पहिलोपटक देखेको, तिमी गाउँ गएकी छैनौ है ?’
‘छैन ।’ सानीले टाउको हल्लाई ।
‘तिमी गाउँ आऊ म घुमाइदिन्छु । अलि नजिकै बस न । जाडोमा दुई जना बस्दा न्यानो हुन्छ । उसले सानीको हात जोडले समात्यो र म्वाइ खायो । सानीले हेर्दिन भन्दा पनि बिहानीपखको रिमरिमे उज्यालोमा उसको अनुहारतिर हेरी । गुरुआमाले सुनाएको कथाको भोको ब्वाँसो जस्तै लाग्यो ऊ ।
सुतिरहेको दाइ जुरुक्क उठ्यो । भित्ताको किलामा झुन्डाइरहेको उसको पाइन्टबाट हरियो नोट निकाल्यो ।
‘लौ यो पैसा ?’ यही बहानामा सानीलाई अँगालो मार्‍यो । सानीले पैसा लिन मानिन । घृणाको दृष्टि ऊतिर फ्याँकी । उसको चालामाला सानीलाई पटक्कै चित्त बुझेन । सम्भावित दुर्घटनाको कालो बादल छाइरहेको महसुस गरी ।
‘तिमी कति कक्षामा पढ्ने रे ?’ मीठा कुरा गरेर फकाउन खोज्यो ।
छेउको आफ्नो स्कुल झोलामा सानीका आँखा परे ।
‘म ट्वाइलेट गएर आउँछु ।’ सानीले नरम भएर भनी ।
‘हुन्छ जाऊ ।’ दाइ मक्ख परेजस्तो देखियो ।
ऊ एक निमेषमा झोला लिएर निस्किई र बाटातिर कुलेलम ठोकी ।
राम्रैसँग उज्यालो भए पनि मुटु काँप्ने जाडो थियो बाहिर । चिसोको बेला खुट्टामा मोजा लगाउन नपाउँदा उसलाई ठिहिर्‍यायो । तैपनि दुष्टको पञ्जाबाट उम्किन पाएँ भन्ठानी ।
यति छिटो कहाँ जाने होला ? आफ्नै कोठामा असुरक्षित बन्नुपर्दाको पीडाले ऊ रन्थनिई । हामी छोरीहरू कति असुरक्षित है लोग्नेमानिसबाट ? कस्तो पापी हर्कत देखाउन लागेको दाइ भनाउँदाले । ऊ एक्लै मुर्मरिई । ‘छोरीहरू धेरैजसो आफन्तबाटै बलात्कृत हुन्छन् ।’ कार्यक्रममा भनेको आवाज उसको मस्तिष्कमा गुन्जिरह्यो ।
कमलाको घर बाटोको नजिकै छ । कमलाकी आमा सडकमा चिया बेच्न बसी होलिन् । ऊ कोठामा एक्लै छे । त्यहीँ जान्छु । उसका गोडा कमलाका घरतिर सोझिए । फुङ्ग उडेको अनुहार लिएर बिहानै सानीलाई देख्दा कमलाकी आमा झसङ्ग भइन् ।
‘सानी कति बिहानै आएकी ? के भयो ? कमला उठेकै छैन होली ।’
‘ऊसँग सल्लाह गर्दै होमवर्क गर्नु थियो आन्टी, बेलुका बत्ती गयो । त्यसैले बिहानै उठेर यता आएकी ।’
‘चिया खाऊ अनि कमलालाई उठाऊ ।’
‘म कमलालाई उठाउँछु अनि सँगै चिया खान आउँछौं ।’ ऊ पिसाबले ढाडिएकी थिई । मुख पनि धोएकी थिइन । फटाफट कमलालाई ओछ्यानमै भेट्न दौडिई ।
त्यो दिन सानी कमलाकहाँ नै बसी । सानीका बाले सस्तो मोबाइल बोकेका थिए । त्यही मोबाइलमा कमलाकी आमाको मोबाइलबाट फोन गरेर केही दिन कमलाकहाँ बस्ने कुरा गरी ।
दुई दिनपछि कमलालाई नै सुत्ने गरेर आफ्नो कोठामा लिएर फर्की ।
दाइ भनाउँदो अझै त्यहीँ रहेछ । उसका बारेमा आमासँग केही कुरा गर्ने सानीलाई मन थियो । अब कसरी गर्नु ? मनको उकुसमुकुस बिसाउनै पाइन ।
‘तिमी हरायौ नि सानी ?’ उसले कति न सोझो बन्दै बाआमाका अगाडि चेपारो घस्यो ।
बेलुका उसले आमासँग कुरा गर्‍यो, ‘दुई–चार दिनमा भिसा आउने छ । त्यसपछि तपाईंहरूलाई दु:ख
दिन पर्दैन ।’
अझै फर्किने नामै लिँदैन । यसलाई कसरी झेल्नु ? सानी विरक्तिको झरीले रुझी । धन्न सानीले
कमलासँग सबै कुरा भनेकी थिई । अब फेरि दुई–चार दिन उसकैमा बस्ने कुरो मिलाई ।
बाआमासँग अनुमति लिई ।
ऊ कतिन्जेल आफ्नो कोठाबाट भाग्ने र कतिन्जेल कमलालाई दु:ख दिने ? आफ्नो घरमा आफै पराइ हुनुको पीडाले उसलाई हुनसम्म पिरोल्यो । अब के गर्ने होला ?
‘लौ न कमला यसलाई कसरी खेदाउने होला ? मेरा बाआमा सोझा छन् । उहाँहरूका अगाडि यो साधु बन्छ । मप्रतिको कुदृष्टि उहाँहरूलाई अनुमानै छैन ।’
‘सानी म एउटा उपाय गर्छु । साँप पनि मर्ने र लौरो पनि नभाँचिने ।’ कमलाले भनी ।
‘के उपाय हो छिटो भन ?’
‘तँ भोलिदेखि आफ्नै घरमा बस... ।’ उसले कान फुस्फुसाई । सानीले सहमतिमा टाउको हल्लाई ।
भोलिपल्ट पनि बाआमा काममा गए । सानीले लुकेर दाइको ओछ्यानतिर हेरी । ऊ चलमलायो । बाहिर गयो । फर्कदा ढोकामा चुकुल लगायो र सानीको नजिकै आयो ।
‘सानी के छ खबर ? कता हराएकी ? तिमीसँग कति कुरा गर्न मन छ मलाई ।’ ऊ सानीलाई फकाउन थाल्यो । मनको धोको पूरा गर्न उसले गुलियो बोल्यो ।
‘मेरो परीक्षा आउन लागेको थियो । साथीकहाँ पढ्न गएकी ।’ दाइको नियत केही थाहा नपाएझैं गरी सानीले भनी ।
‘अब सिद्धियो ?’ सानीलाई अँगालो हाल्दै उसले भन्यो ।
‘उम्म ।’ सानीले उसको अँगालोको कुनै प्रतिवाद गरिन ।
‘तपाईंको भिसा आयो ?’
‘अझै एक हप्ता भन्छ साहू । धेरै लम्बियो ।’ सानीको हातमा चप्प म्वाइ खाँदै अझ टाँसियो ।
जाने सुरसारै रहेनछ अझै अनिश्चित पो । सानीले भित्रभित्रै रिसले दाँत किटी ।
‘म ट्वाइलेट जान्छु है ?’
‘अस्ति नै ट्वाइलेट जान्छु भनेर आउँदै आइनौ ?’
‘आउँछु । अस्ति साथीकोमा गएँ भन्न बिर्सेंछु ।’
सानी विस्तारै उठी । मानौं केही हतार नभएझंै गरी । शौचालय गई । नाडीको चिमचिमे घडीमा पौने सात बजेको थियो ।
हातमा, निधारमा चुम्दा पनि उसले प्रतिवाद गरिन । पंक्षी जालमा परेजस्तो छ । दाइ भित्रैदेखि मुस्कुरायो ।
सानीले ढोका ढप्काई मात्र । दाइले मेसै पाएन । झ्यालको पर्दाको एक छेउ खोली र हाँस्दै ओछ्यानमा बसी । दाइ कल्पनाको आकाशमा उड्दै थियो क्यारे सानीले गरेका केही कुराको पनि भेउ पाएन ।
‘सानी एउटा कुरा भन्छु मान्छ्यौ ?’ उसले फकाउन थाल्यो ।
थाहा नपाएझैं गरी सानीले सोधी ।
‘के कुरा ?’
‘तिमी यो पैसा लेऊ है ? मन लागेको कुरा किन्न हुन्छ ।’ उसको हातमा पाँच सयको नोट थियो । ऊ पैसा दिएर फकाउँदै थियो । सानीले त्यो पैसा लिइन । विद्यार्थीलाई कति खाँचो हुन्छ पैसाको, लेऊ न लेऊ भन्दै सानीको झोलामा हालिदियो ।
‘अलि नजिक आऊ न’ उसले बेपर्वाहसँग सानीलाई दुई हातले आफूतिर च्याप्यो र विस्तारै उसको छातीमा हात पुर्‍यायो । उसको उच्छृङ्खल अवतार सानीले रोक्नै नसक्ने थियो । कति दिनदेखिको प्रतीक्षा बल्ल हात लाग्यो । ऊ यही सोच्दै थियो होला ।
‘तिमी र म है .... ?’ उसले सानीको आँखासँग संवाद गर्‍यो । दाइले के गर्न खोज्दै छ भन्ने अनुमान सानीले राम्रैसँग लगाई ।
‘तपाईं मेरो दाइ होइन ? दाइले बहिनीमाथि यस्तो व्यवहार गर्छन् ?’ सानी बेस्सरी रिसाई ।
‘दाइ भएर के भो त ? कसैलाई थाहा हुँदैन ।’ ऊ रोकिनेवाला थिएन । ऊभित्रको राक्षसीपन झन्–झन् जब्बर भइरहेको थियो । सानीले आलटाल गरेको थाहा पाएपछि जबर्जस्ती सानीलाई तान्यो । सानी चिच्चाई । ‘के गरेको तैंले ? म एक्ली देखेर मौका छोपेको ?’
उसले हत्तपत्त डसनामुनि राखेको खुर्सानीको धूलो निकालेर उसको आँखामा छरी । सानीले के गर्न खोज्दै छे भनेर दाइ भनाउँदो एकछिन अलमल्ल पर्‍यो र तुरुन्तै खुर्सानीको धूलोबाट जोगिन मुन्टो बटार्‍यो र छेलियो । सानीले फेरि आँखामै पर्ने गरेर धूलो छरिदिई । ऊ रिसले पुत्ताउँदै मुख धुन गयो । मुख धोएर आएपछि भने झन् आक्रामक देखियो । फकाएर भएन है तँलाई भन्दै उसले सानीका हात आफ्ना गोडाले बेस्सरी अठ्यायो ।
यही बेला झ्यालबाट क्लिक–क्लिक क्यामेराको फ्ल्यास कोठामा फैलियो ।
‘खबरदार, के हुँदै छ त्यहाँ ?’ कमला दुई जना प्रहरी लिएर भित्र छिरी । दाइ भनाउँदो अक्क न बक्क भयो । सानी र कमलाका सामुु उसको शिर निहुरियो । निधारबाट पसिना छुट्न लागेको कमलाले देखीे । भाग्न खोज्दै थियो, प्रहरीले उसको कठालो समाए । उसको व्यभिचारको कर्तुत क्यामेरामा सुरक्षित भइसकेको थियो । ऊ लुत्रुक्क पर्दै प्रहरीका पछिपछि लाग्यो । सानी र कमला एक–अर्कामा अँगालिएर लामो सास तानिरहे ।

 Image