Successfully Copied

उसको तीज

उनीहरू भोकै सुतेको हुनुपर्छ । निदाउनुअघि मलाई निकैबेर पर्खिए होलान् । कति रिसाई होली ऊ ? भोकले पोलेको पेटले मलाई सराप्यो होला । तीजको व्रत बसेको दिन फलफूलसमेत खान पाइन बिचरीले ।


दिन ढल्किसकेको थियो । सदाझैं हामी भट्टीमा थियौं । यो कुनै नौलो कुरो थिएन तर पनि आज हामी यसरी यहाँ हुनु हुँदैनथ्यो । भए पनि यो टेबलमा ठडिएका गिलासमा यो गन्ध अनि बोतल हुनु हुँदैनथ्यो । वास्तवमा यो हाम्रो कहिलेकाहीँको जमघट थियो, जसलाई हामीले आज फेरि दोहोर्‍यायौं ।
यो मौकालाई हामी कसैगरी गुमाउन चाहँदैनथ्यौं । हाम्रो उपस्थितिले यस्तै जनाउँथ्यो ।
गिलास उठाउनुअघि भरी थियो, जसलाई हामीले एकोहोरो निहारिरहेकै थियौं । यस्तो लाग्थ्यो–कुनै शिकारीले शिकारलाई घुरिरहेछ । गिलास हातमा लिँदै मुख मिठ्याउन थाल्यौं । सबैले एक–अर्काको गिलाससँग ठोक्कायौं र हतार–हतार आ–आफ्नो ओठमा पुर्‍यायौं । गन्धलाई बेवास्ता गर्दै सुर्क्यायौं झन्डै एकै घुट्कोमा । हामी सबै पिउनका लागि व्याकुल भएजस्तै लाग्यो । कहिल्यै पिउन नपाएझैं गर्‍यौं ।
आनन्द आएको थियो, जब गिलासको झोल घाँटी भिजाउँदै प्रवेश गर्‍यो ।
‘अघि नाच्ने त्यो आइमाईले व्रत लिएजस्तो लागेन । व्रत बसेकाले त्यसरी उफ्रीउफ्री नाच्न सक्दैन,’ गिलास ओठबाट छुटाउँदै भनें ।
‘हो, हो ।केटोझैं नाच्दै थिई । रातो सारीमा छड्के तिलहरी लर्काउँदै उफ्रिएकी थिई । त्यो पक्कै खाली पेटमा थिइन होला, यार,’ कपाल पालेकाले भन्यो । ऊ हाम्रो पिउने मामिलाको उस्ताद थियो । जसले हामीलाई पिउने पारखको जानकारी दिन्थ्यो । त्यसैले कहिलकाहीँ हामी उसलाई उस्ताद भन्थ्यौं ।
‘गायकको गीतसँगै मस्किँदै नाच्ने त्यसको फुर्ती नै बेग्लै थियो,’ कान्छा कुमारले गिलासको गन्ध मेट्न स्प्राइट मिसायो । वास्तवमा हामी कोदोको झोलमा स्प्राइट मिसाउँदै स्वादिलो बनाएर पिउँथ्यौं । भटमास र चिउरा चपाउँदै स्वाद लिएर पिउँथ्यौं । आज त्यही दोहोर्‍यायौं ।
टेबलमा चिउरा, भटमासको मिश्रित प्लेट छ । एकमाना झोल प्लास्टिकको बोतलमा राखिएको छ । तीन गिलास छन्, भरी । स्प्राइट हामीले नै मगाएका हौं । अचारको कमी पनि पूर्ति भइसकेको छ ।
हामी भट्टीको कुनाको टेबलमा थियौं ।
‘लोकल गायक एक्लै कति चिच्याउन सकेको होला । उसको नेपाली पपगीतमा पनि नेपाली महिला नाच्दै थिई । त्यो पनि तीजमा,’ हामी निक्कैबेर हाँस्यौं । हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक थियो । तर, हामी तीज महिमाको यो नौलो फेसन देखेर हाँसेका थियौं ।
दिउँसोको कुरा त हो । गोदाम चोकमा सांगीतिक कार्यक्रम थियो । जहाँ हामी तीनैजना पुगेका थियौं । ठूलठूला साउन्ड सिस्टम ठडिएका थिए । गीतको चर्को ध्वनि प्रसारित भइरहेको थियो । मान्छे आउने–जाने क्रम चलिरहेको थियो । त्यहाँ मैले देखें, केही महिला तीजका भाका हाली गाउँदै थिए । ती भाकाले नेपालीपन बोकेका थिए । लगत्तै उनीहरू बाहिरिँदै गरेको देखें । मान्छेहरू भने नयाँ संस्कृतिलाई स्वागत गर्दै थिए । मेरा नजरले ती तीजका भाका गाउँदै हिँड्नेहरूलाई पछ्याए । ती भाका मेरो कानमा गुञ्जिरहेका थिए । केहीबेरमै उनीहरू भीडबाट हराए । त्यसपछि हामी स्टेज भनिएको ठाउँतिर बढ्यौं, जहाँ कालो वर्णको एउटा मस्त जवान गाउँदै थियो । गीत गाउँदा ऊ चिच्याइरहेको थियो । श्रोताहरू सडकभरि थिए, जो उफ्रिन्थे उत्साहपूर्वक । हामी पनि केहीबेर उभिएर हेर्नमै व्यस्त रह्यौं ।
निकै भीड थियो । हामी त्यही भीडमा थियौं । ठेलमठेल भए पनि उभिएरै हेर्नेहरूको जमात ठूलो थियो । उभिएर हेर्न गाह्रै भयो । तैपनि हेरौंभन्ने हाम्रो मनसाय बनेको थियो । पपगीतसँगै नाच्दै थिए नेपाली महिलाहरू । रातो सारीमा त्यो पनि पपगीतमा उफ्रिएको देखेर हामी अचम्ममा पर्‍यौं । उनीहरू ब्रेकडान्स गरेझैं उफ्रिरहेका थिए । तीजको व्रत बस्नेहरूको पनि उफ्राइ र फुर्तिलोपनले चकित बनायो । हामी एक–अर्काको मुखामुख गर्न थाल्यौं ।
असभ्य संस्कृतिलाई हामीले धेरैबेरसम्म हेरिरहन सकेनौं । त्यसैले हामी त्यहाँबाट बाहिरियौं । बाटोमा हामीमध्येकै लामो कपाल पाल्नेले भन्यो, ‘आइमाईको तीजको व्रत फेसन हो ।’
‘त्यो त पक्का हो ।देख्नुभएन शृंगार, भद्दा नाच,’ कान्छा कुमार बोल्यो ।
‘त्यसको लोग्नेले त्यो नाचेको देखेको छ भने, भरे घरमा दुई हात स्वास्नीलाई लाउँछ,’ मेरो अनुमान थियो ।
‘हो । त्यो पक्कै हुन्छ,’ लामो कपाल पाल्ने र कान्छा कुमारले सहमति जनाए ।
त्यसपछि के भयो ? भनिरहन नपर्ने हो । हामी सधैझैं यही गल्लीको भट्टीमा छौं । जसलाई हामी साझाघर पनि भन्छौं । जाँड खानेहरूको सामूहिक भेला हुने ठाउँ ।
साहुनी घरिघरि आउँछिन् र सोधिरहन्छिन्, ‘के ल्याऊँ ?’
हामी साहुनीलाई पहिले हेर्छौं । त्यति राम्री छैनन् । शरीरको कुरै नगरौं । कतैबाट हेर्न लायकको भए, यो होटल यति शून्य किन हुन्थ्यो ? हामी तीनैजनाका आँखा जुधे । टेबलमा के सिद्धिएछ भन्ने चासो रह्यो र त्यतै हेर्‍यौं । भटमास, चिउरा, अचार सकिएको रैछ, त्यही मगायौं ।
साहुनी गइन् । उनी गएतिर हामीले ध्यान दिएनौं । हामी गिलास रित्याउनतिरै लाग्यौं । गिलास भर्ने र रित्याउने क्रम चलिरह्यो ।
‘विष्णु पौडेलको छन्द कविता राम्रो, मीठो थियो,’ आफूलाई लागेको कुरा फ्याट्ट भनिहालें । कुनै प्रसंगबिना भनेकाले अप्ठ्यारो लाग्यो ।
‘हो । वास्तवमा मीठो लय हाल्ने,’ कान्छाले बल प्रयोग गरेर भन्यो । त्यतिबेला कपाल पालेकाले केही भन्न आँटेको थियो । ऊ बोलेको देखेर त्यो चुप लाग्यो । कान्छा कुमार बोल्न पाएकामा मक्ख थियो ।
‘सडक कविता चार दोबाटोमा दोस्रोपटक भएको रहेछ । पहिला पनि भएको थियो रे,’ हरिभक्तको फ्यान बोल्यो । ऊ कटवालझैं पिउनमा कुनै कमी राख्दैनथ्यो । सधै टिल्ल ।
दिउँसो चारदोबाटोमा शान्ति र संविधानका लागि सडक कविताको आयोजना भएको थियो । साँच्चै देश नयाँ लोकतान्त्रिक तथा गणतान्त्रिक पद्धतिमा अघि बढिरहेको बेला संविधान बन्न सकिरहेको छैन । न त देशमा शान्ति र चैन छ । त्यसैले यो सडक कविताको आयोजना भएको हुनुपर्छ । चारदोबाटोमा मान्छेको भीड थियो । सबै कविता सुन्न उभिएका थिए । भदौको चर्को घाममा पनि उभिएर कविता सुनिरहेको देखेर हामी त्यहीँ पुगेका थियौं ।
चर्को घामको तापले पोले पनि कविता सुन्यौं । भीड अचम्मको थियो । सय–डेढ सय जना घाममा उभिएरै सुनिरहेका थिए । केही दिक्क मानेर हिँड्थे । कोही आफ्नो कामको हतारोले आफ्नो बाटो लाग्थे । तर भीडमा मानिसको संख्या उस्तै हुन्थ्यो नयाँ थपिएर । त्यही भीडमा उभिएरै हामीले कविता सुन्यौं ।
त्यसपछि हामी तीजको तामझाम हेर्न पुगेका थियौं । अहिले साहुनीको हातको अचारसित गिलासको झोलले घाँटी भिजाउँदैछौं । पिउनु पनि कला हुँदो रहेछ । हामी पिउनुको सौखिन पक्कै होइनौं । तर पिउँछौं जमघटका लागि मात्र । मलाई यस्तै लाग्छ । यो झ्यापुल्ले र कान्छालाई के लाग्छ कुन्नि ?
‘सेक्स र रक्सी मान्छेलाई नभई नहुने वस्तु हो ।’ किनभने मलाई नै थाहा भएन । हाड नभएको जिब्रो लटपटिएको हुनुपर्छ । ब्रेकफेल भइहाल्यो ।
‘राजनीति जत्तिकै सेक्स महत्वपूर्ण छ,’ कान्छा कुमार जान्ने भयो । गिलास ओठसम्म पुर्‍याउँदै बोल्यो । उसको कोदोको झोलमा स्प्राइट धेरै मिसिएको हुन्छ, ऊ आफैं हाल्थ्यो । यतिबेला स्प्राइटको राग र रक्सीको गन्ध दुवै बेस्सरी आइदियो ।
कपाल पालेको हाँस्न थाल्यो । उसका माथिल्ला दाँत देखिए । यो मलाई राम्रो लागेको थिएन, तर चुप लागेर बसें । भन्नु पनि के ? तिम्रो हाँसो मलाई मन परेन भन्नु भएन । तर, ऊ निक्कै बेर हाँस्यो । उसको हाँसो भित्तामा ठोक्किएर गुञ्जिन पनि पुग्यो । ठीक त्यहीबेला कान्छा कुमारको र मेरो आँखा जुध्यो । हाम्रो आँखाबाटै केही सञ्चार आदान–प्रदान भए ।
झ्यापुल्ले पिउने मामिलाको उस्ताद हो । ऊ बेलाबेला हराउने गर्छ । उसको घरबेटीकी छोरीसित प्रेम बसेको छ । तर ऊ हामीलाई मातेको बेलामात्र ती कुरा बताउँछ । नत्र ऊ मुर्ति हो । उसले प्रेम कसरी गर्‍यो भन्ने शंका लाग्छ । किनभने ऊ केटी भनेपछि दश कोस पर भाग्छ । मलाई लाग्छ–केटीले उसलाई परास्त पारेको हुनुपर्छ । कान्छा कुमारको कुरा नै बेग्लै छ । ऊ कन्या राशिको हुनुपर्छ । केटीको पछि लाग्न त ऊसितै सिक्नुपर्छ । उनीहरूकै लागि कविता पनि लेख्छ । मेरो कुरा अलि गोप्य छ । कन्या नरुचाउने को नै हुन्छ र? मपनि रुचाउँछु । ध्यान नजाने कुरै भएन ।
‘राजनीति जत्तिकै सेक्स आवश्यक हो,’ कान्छाले फेरि भन्यो ।
उसले हातको गिलास उचाली–उचाली बोलेको थियो । यसरी गिलास उचालिँदा रक्सी पोखिएको पनि थियो । रक्सी टेबलमा पोखिँदा पो थाहा भयो, त्यो उसको गिलासबाट पोखिएको हो भन्ने ।
‘राजनीति/साजनीति, सेक्स/फेक्स छाड्नुस् । त्यो भन्दा अनिवार्य हो रक्सी । अर्थात्, नशा । राजनीति, सेक्स पनि एकप्रकारको नशा हो,’ ओहो, झ्यापुल्ले कराउन थाल्यो । उसलाई रक्सी भएपछि पुग्यो ।
‘त्यो पनि ठीक,’ माहोल शान्त गराउन मसिनो स्वरमा बोलें । मेरो बोली लरबरिएको थियो ।
कुनै जङ्गलको एकान्त गुफामा तीन वटा स्यालबाझिरहेझैं देखिन्थ्यो । यहाँ तर्कको आवश्यक/अनावश्यक वाक्युद्ध चलिरहेको थियो । यस कुरामा भट्टी साहू–साहुनीलाई कुनै मतलब थिएन । हुनु पनि पर्दैनथ्यो । उनीहरू हाम्रानिम्ति सेकुवा, भुटन तार्दै थिए । त्यहाँ जिन्दगी तारिँदै थियो । यो पनि आवश्यक थियो कि उनीहरूले हाम्रा लागि यी सब गर्नुपर्थ्यो । कर किन थियो त? ज्यान पाल्नका निम्ति । रुपियाँ कमाउन गरिँदै थियो ।हामी भने खर्च गर्न तयार देखियौं । भएर खर्च गर्न लागेको भने होइन । बाध्यताझैं थियो । नपिए त बाँच्नै गाह्रो होला जस्तो हुन्थ्यो । त्यो पिउनेहरूलाई मात्र थाहा हुने कुरा हो ।
लसुन र अदुवासित साँधेको भटमास आइपुग्यो ।
‘साहुनी झोल अझ ल्याउनुस्,’ हामीमध्येकै कपाल पालेकाले भन्यो । अलि अनुरोध नै गरेजस्तो गरी भनेको थियो तर बोली लटपटिएको थियो ।
साहुनी मुसुक्क हाँसिन् ।
छ्या कस्तो नराम्रो हाँसो । हामी त्यो पीडा सहन नसकी गिलास उठाउँदै घुट्क्याउँछौं ।
साहुनीले एक बोतल टक्र्याइदिइन् ।
कान्छा कुमार फोनमा व्यस्त थियो । झ्यापुल्ले र मबीच आँखा चार भए ।पक्कै कुनै कन्याको फोन हुनुपर्छ भन्ने हामी दुईलाई लागिरहेको थियो । कान्छा विनयभावमा बोलिरहेको थियो । त्यसैले पनि हामीले अनुमान लगाएका थियौं । ऊ निक्कैबेर फोनमा व्यस्त भयो ।
‘अब घरतिर लाग्नुपर्छ । अबेर भयो,’ लागेको कुरा भनें ।
‘होइन । एक–एक गिलास खाएर जाऔं,’ झ्यापुल्लेले भन्यो ।
कान्छा कुमारले सही थपेपछि मेरो के लाग्थ्यो र? बहुमतकै कदर गर्न कर लाग्यो । एक–एक गिलास रक्सी थप आइपुग्यो । अन्तिम पेगरित्याउन सबैले ढिला गरे । सबै मौन । सायद छुट्टिनुपर्ने योजना सबैको मथिंगलमा थियो । कोही बोलेको भए मरी जानु । गिलास विस्तारै रित्याउन थाल्यौं ।
सबै काउन्टर अघिल्तिर ठिङ्ग उभियौं । कोही तिर्न तम्सिएनन् । एउटा मोबाइल चलाउन थाल्यो । अर्को सानो प्लेटमा राखिएको सोफ टिपेर हातमा माड्न थाल्यो । बेस्सरी माडेर धूलो उडायो । टाउको मास्तिर उचालेर मुख बायो र भर्खरै माडेको सोफ मुखमा हाल्यो ।
आठ सय ३० रुपियाँ भएको रैछ । तिरिदिएँ । लौ आजलाई मेरै तर्फबाट भइदियो ।
ठीक त्यही बेला खल्तीबाट अर्को पाँच सयको नोट निस्कियो । ओहो ? यो त स्याउ किन्न श्रीमतीले दिएकी, एक मनले आफैलाई सम्झायो । मेरा आँखा भने यसबेला विस्फारित भएका थिए । मनमा भुइँचालो गएजस्तो भयो । आँखा भने तिरमिराउन थाले ।साथीहरूले पैसा देखेर आँखा तन्काए । एउटाले प्याच्च भनिदियो, ‘अझ थप्ने हो कि दाइ ?’
ऊ हाँसिरहेको थियो । हामी सबै एकपल्ट गलल्ल हाँस्यौं ।
‘यो त बिहान बूढीले घरबाट निस्किँदा फलफूल किन्न दिएकी’ यो भन्दा बढी केही भन्न सकिनँ । बोली भासिएझैं भयो । बाहिर हाँसे पनि मनभित्र भने पीडा र छटपटी बढेको थियो । एक त आफूले नै पैसा तिरेको, त्यसमाथि साथीहरू पाँच सयको नोट देख्नासाथ थप्ने कुरा गर्छन् । आफू ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो भनेको यही हो ।
बिहान घरबाट निस्किँदाश्रीमतीले भनेकी थिई, ‘भरे छिट्टै आउनू । म व्रत बसेकी छु नि? बिर्सिनुहोला । बरु आउँदा फलफूल लिएर आउनुस् ।’
‘ल, ल ।म छिट्टै आउँछु । पैसा छैन, देऊ न त ।’ बोल्नासाथ उसले सारीमा बाँधेर राखेको पाँच सयको नोट झिकेर दिएकी थिई । मलाई तलदेखि माथिसम्म नियालेर भनेकी थिई, ‘नबिर्सी ल्याउनुहोला । सरक्क घर फर्किनू । फेरि टिल्ल मातेर आउने होइन । भन्द्याछु,’ धम्कीपूर्ण आदेश दिई । अनुहार हेर्न लायकको थियो । कुनै टेलिचलचित्रकी घमण्डी पात्रले बोलेकोझैं भान भयो । उसले पहिलो पटक यसरी जो बोलेकी थिई ।
‘हुन्छ, हुन्छ ।नकराऊ,’ म वास्तै नगरी बाहिरिएँ । चोकसम्म पुग्न अलि हतारो नै थियो । छोरोले त्यही बेला पछ्यायो । म छेउ आइसकेको रहेछ । हात पो समायो । उसले हात समाएपछि थाहा पाएँ ।
‘बाबा मासु खाने,’ ऊ बोल्यो । भर्खरै बोली फुटेको आवाजजस्तै । बिल्कुल तोते बोली । मलाई उसको बोलीले नै तान्यो । उसको आँखामा त्यतिबेला हेरें । अब पर्‍यो फसाद । के भनौं? ऊ मलाई याचनापूर्ण ढङ्गले हेरिरहेथ्यो । एक हातले मेरो हात समाउँदै अर्को हातले मेरो पाइन्ट समाएको थियो ।
‘बाबु आज होइन । भोलि मासु खाने है? आज स्याउ खाने । भरे बाबु स्याउ, केरा खाने ल?’ लाडप्यार देखाउन खोजें । उसको गाला सुमसुम्याएँ । एकदम मुलायमगालामा स्पर्श दिँदा ऊ मुसुक्क हाँस्यो । उसको निश्चल मुस्कानले अझ तान्यो ।
लता हामी दुईलाई हेरिरहेकी थिई ।
उसले छोरोलाई बोलाई । उसको बोली सुन्नासाथ ऊ आमातिरै कुँद्यो । पुग्नासाथ मतिर फर्कियो । बाईबाईको संकेतमा हात हल्लायो । मैले पनि त्यही गरें ।
पिठ्युँ फर्काउँदै म बाहिरिएँ ।
०००
यतिबेला रातको आठ बजिसकेको थियो । साहुनीको टाउको माथि भित्तामा झुन्डिएको घडीले त्यही जनायो । घडीको सुई हेर्दै म आत्तिएँ । समय निक्कै बितिसकेको थियो । पाँच सयको नोट मेरो हातमै थियो । नोटले मलाई घुरिरहेको थियो । त्यहाँ नोट होइन लताले मलाई घुरिरहेजस्तो लाग्यो । तुरुन्तै त्यो नोट खल्तीमा घुसारें । बिहान लताले भनेको कुरा मेरो कानैमा गुञ्जिन थाल्यो । अब त्यहाँ उभिरहन झर्को लाग्यो । म बाहिरिन चाहन्थें । बाहिरिएँ ।
ओहो? अँध्यारोले दिनलाई खर्लप्पै निलिसकेको रहेछ । के हामी यसबेलासम्म धोकिरहेका थियौं? मनमा प्रश्न उब्जियो । भट्टी पछि परिसकेको थियो । म फलफूल बजारतिर लुरुलुरु हिँड्न थालें । उनीहरू मेरा पछिपछि थिए, झ्यापुल्ले र कान्छा ।बजार रित्तो थियो ।ठेलामा बेच्नेहरू पनि देखिएनन् । फलफूल पसल त के कुनै पसल खुल्ला थिएन । यसबेला खुल्ने भनेको भट्टीपसल मात्र हो ।
म चिन्तित हुन पुगें । अब घर पुगेर के भन्ने ? बिचरी भोकै पो हुने भई । चिन्ताको अरिङ्गालले चिल्न थाल्यो । बिहान छोरालाई ‘भरे बाबु स्याउ, केरा खाने है?’ भनेको कानैमा गुञ्जियो । आफू उभिएको धरातल भासिएलाझैं भयो । आफैदेखि रिस उठ्यो । रिसाएर पनि के नै हुनेथ्यो र? म भने छटपटिन थालें ।
‘ए दाइ, चिन्ता नगर,’ झ्यापुल्ले बोल्यो । ऊ मलाई शान्त बनाउन चाहन्थ्यो । तर त्यसो भएन । म छुट्टिन हतारिएँ । उनीहरूबाट टाढिन चाहें र भनें, ‘ल अब आ–आफ्नो बाटो लागौं ।’
मैले हात हल्लाइसकेको थिएँ, बिदाईको हात । उनीहरू हात मिलाउन चाहन्थे । त्यसै गर्‍यौं । त्यसपछि छुट्टियौं र आ–आफ्नो बाटो लाग्यौं । एक्लो पो भएँछु । बाटो एक्लो काट्नु भनेको मनमा कुरा खेलाउँदै हिँड्नु हो । त्यही भइदियो ।
अलिकति पर मात्र के पुगेको थिएँ, पछाडिबाट कसैले बोलायो । मेरै कानले सुनें । फर्किएर हेर्न करै लाग्यो । उसले मेरो नाम जो बोलाएको थियो । ऋषिराम मेरो सामुन्ने देखापरे । ए यी रहेछन्, मनले आफैलाई भन्यो । मैले उसलाई शिरदेखि पाउसम्म हेरेँ । दाह्री पाल्न भ्याएछ । अलिअलि मात्र । बढी झुस्स होइन ।
‘दाइ कताबाट हो ? धेरै दिनमा भेट भइयो,’ ऊ प्रश्नसँगै यतिका दिनपछि भेटिएको संकेत गर्न थाल्यो । हो त चार महिना भएछ हाम्रो भेट नभएको । हात मिलाउँदै भनें, ‘आ, यतै बजारबाट आएको । तिमी पनि त हरायौ नि? खै कहिल्यै सम्झिने होइन ।’ मैले पो उसलाई कहिले सम्झिएको थिएँ र? तैपनि भनिदिएँ । पछुतो नलागेको होइन । भनेको कुरा फिर्ता हुने होइन ।
‘जाऊँ दाइ एक छिन बसौं,’ होटलतिर संकेत गर्‍यो । होटल छेउमै रैछ । हामी होटलकै सामुन्ने उभिएका थियौं । म उसको पछि लागें । धङधङीमा जिब्रोले अझै माग्दै थियो । हुन्न भन्नै सकिनँ । टेबल छेउमै रहेको कुर्सीमा थचक्क बसें । ऊसाहूलाई केही भन्दै थियो । उनीहरू बोलेको मैले प्रस्ट सुनिनँ ।
भोड्का टेबलमा आइपुग्यो । साहूले भोड्कासँगै दुईटा गिलास पनि राखिदिए । गिलास ऋषिरामले नै भर्‍यो । दुवैले गिलास उठायौं । एक–अर्काको गिलासठोक्कायौं र पिउन थाल्यौं । उसले चाहिँ दुई गिलास स्वाट्टै पार्‍यो । म हेरेको हेर्‍यै भएँ ।
उसले मेरोबारेमा सोध्यो । केही बताएँ । अनि उसलाई उसकै बारेमा सोधें । उही त हो नि हिजोआज के गरिँदै छ ? कहाँ बेपत्ता भएको ? भेटिरहनुपर्छ भन्ने कुरा ।
राम्रै पियक्कड रहेछ । तीन गिलास सिध्याइसकेछ । मेरो गिलास बाँकी नै थियो ।ऊ हिँड्न हतारियो । ऊ हतारिएको देखेरै मैले बाँकी रहेको रक्सी स्वाट्ट पारें । त्यसपछि ऊ कुर्सीबाट जुरुक्क उठ्यो । उभिँदा ऊ हल्लिरहेको थियो । उसलाई लागिसकेछ । साहू नजिकै पुगेर खल्ती छाम्यो । राम्रैसँग छाम्यो । केही भेट्टाएन । खल्ती टकटकायो । पर्‍यो फसाद?ऊसित पैसा रहेनछ भन्ने प्रस्ट भयो । मसँग पनि बाँकी त्यही पाँच सयको नोट थियो । खल्तीबाट जतन गरी झिकें । मन कटक्क खाए पनि पैसा तिरें । ऊ प्रसन्न मुद्रामा पहेंला दाँत देखाउन थाल्यो । छ्या दाँतको कालो सबै देखियो ।
‘धन्यवाद’ भन्दै हात मिलायो ।
‘मुला, पैसा नहुनेले के खान कर गरेको त ?’ भन्न मन लागेको थियो, तर भनिनँ । प्रत्युत्तरमा म फिस्स हाँसें । मेरा पनि पहेंला दाँत देखिए होलान् ।
छुट्टिने बेला भनें, ‘कहिलेकाहीँ भेट्दै गर है ।’
‘भेटिरहन्छु दाइ,’ लरबरिएको आवाजमा भन्दै थियो । उसले मेरो हात समातिरहेको थियो । उसको शरीर भने हल्लिरहेको थियो ।
‘ल, ल,’ म हतारिएँ । हात उठाउँदै बिदा लिएँ । ऊसँग छुटिसकेछु । आफ्नै तालमा बाटोमा हिँड्न थालें । गोदाम चोक छिचोलें । बाटामा कुकुरहरू भुकिरहेका थिए । एकोहोरो भुकाइले घरिघरि म तर्सिन्थें । डर पनि लागिरह्यो । आँट बटुलेरै भए पनि अँध्यारोमै अघि लम्किएँ ।
घर पुग्दा थाकेछु । गलेको गोडाले भर्‍याङ चढ्न सकिनँ । म बिस्तारै उक्लिएँ । ज्यान अझै धङधङीमै थियो । आफ्नो कोठा चाहिँ फेला पारेँ । कोठा अँध्यारो थियो । आँखाले राम्रो ठम्याएको भए मरिजाऊँ ।बेहोसीमै भए पनि अनुमान लगाएर ठाउँमै पुगें ।
छोरो निदाइसकेको थियो । लता पनि भित्तातिर फर्किएर निदाइरहेकी थिई । बिचरा उनीहरू भोकै सुतेको हुनुपर्छ । निदाउनुअघि मलाई निकैबेर पर्खिए होलान् । कति रिसाई होली ? भोकले पोलेको पेटले मलाई पो सराप्यो होला । तीजको व्रत बसेको दिन फलफूल समेत खान पाइन बिचरीले ।
लता र छोरो त निदाइसकेका थिए । म खाटमा त्यसै डङ्गरङ्ग लडें । उनीहरू भोकै सुतेका थिए । म भने अब ह्वालह्वाल्ती छाद्न थालें ।

 Image