Successfully Copied

उज्यालो दिन

चार दिनदेखि लगातार एकोहोरो बर्सिएको साउने झरीपछि बल्ल आज धर्तीले घामको न्यानो स्पर्श पाएको छ । एकनासले दर्किएको झरीका अगाडि हार खाएर लुकेको घामले उज्यालो अनुहार देखाएसँगै काठमाडौं उपत्यकाको मुहार उज्यालिएको छ ।


बानेश्वरको व्यस्त क्याफेको छतमा हामी आमाछोरी कफीको चुस्कीसँगै त्यहाँबाट देखिने उपत्यकाको दक्षिण–पश्चिम भागको मनोरम दृश्यको आनन्द लिइरहेका छौं । यहाँबाट परपरका नीला वन, वनका पाखामा लुकामारी खेलिरहेका घाम–छाया अनि भुइँकुहिरो आफ्नो बस्ती बसाल्न पाखातिर कुँदिरहेको देखिन्छ । वनको शिरैमाथि आफ्नै तालमा सेता–काला बादल नाचिरहेका छन् । उपत्यकाको आनन्ददायक दृश्यपान गर्नका लागि व्यस्त छन् हाम्रा आँखा । वेटरले ल्याएको खाजापछि पेटमा भोकको मुसा दौडिरहेको थाहा भयो ।
मेरो दिनभरको अफिसको काम, छोरीको कलेजको पढाइ अनि घर जानेबेला दुवैको लगभग उस्तै समय भएकाले हामी बानेश्वर चोकमा भेट भएर घर फर्किन्छौं । कहिलेकाहीँ भोक लागेको समयमा फुर्सद भयो भने भोक र थकान मेट्छौं । छोरीलाई मन परेको डिस टेबलमा आएपछि ऊ दायाँबायाँ केही नहेरी ‘मैले त सुरु गरें, हजुर पनि खानुस्, मीठो छ’ भन्छे । सन्तानले मीठो मानी खाएको हेर्नुको खुसीमा कम आनन्द लाग्दैन आमाबाबुलाई । अझ उनीहरूले भनेअनुसारको खाना खुवाउन पाउँदा, उनीहरूको मुहारमा फुलेको खुसीले त आमाबाबुको मन अझ धन्य हुनेरहेछ ।
उपत्यकाको मनोरम दृश्य र छोरीको खुसीसँगै रमाएको मेरो मनलाई घरीघरी हामी बसेको अर्को साइडको भित्तातिरको टेबुलमा खाजासँगै रमाएका व्यक्तिहरूले तानिरहेका छन् । मन त्यता तानिनुको मुख्य कारण त्यहाँ रहेकी करिब तीन वर्षकी फूलजस्तै बालिका, जो हातभरि ब्ल्याक फरेस्ट केक आँखा चिम्म गर्दै, ‘मीठो छ, अर्को पनि खाने’ भन्दै छिन् । सायद उनकी आमा होलिन्, ‘धेरै खाइसक्यौ केक, अब त पेट दुख्छ सानुमायालाई, भोलि अझ धेरै खाने हस्’ भन्दै फकाउँदै छिन् । हामीतिर ढाड फर्काएर बसेकी हुनाले, साइड लुक मात्र देखिएकी ती बहिनीको अनुहार कताकता मसँग परिचित भएझैं लाग्छ । मेरा आँखा झन् दौडिन थाल्छन्, उनको पूर्ण मुहार हेर्न र आफ्नो खुल्दुली मेटाउन । नभन्दै हो रहेछ, उनी र मबीच यी आँखा र मनले आजभन्दा चार वर्षअगाडि नै दिदीबहिनीको साइनो गाँसेका थिए । मैले केही नसोची, अलमल नै नगरी बोलाउन ढिला गरिनँ ।
‘माया बहिनी, तपाईं यहाँ ? अनि तपाईंकी सानी छोरी हुन् है यिनी ?’
छन त त्यस टेबलमा करिब नौ–दश वर्षकी अर्की छोरी पनि थिइन् । अनि एक पुरुष, उनकै श्रीमान्, त्यहाँ उनले गरेको व्यवहारले मलाई अन्दाज लगाउन समय लागेन ।
उनी खुसी भएर आत्मीयता प्रकट गर्दै भनिन्, ‘शिवांशी दिदी π आज कस्तो संयोगले तपाईंसँग भेट भयो । झिनो आशा त थियो, तपाईंसँग भेट हुन्छ कि भनेर ।’
हामी दुवैका आँखा खुसी, आश्चर्य, आत्मीय भावले बोलिरहेका छन् । हाम्रा शब्दका भावनाभन्दा पनि बेसी । हुन सक्छ, उनको भन्दा अझ मेरो मनमा धेरै प्रश्न छन्, उनका लागि । जान्नुपर्ने कुरा धेरै छन् । सुन्नुपर्ने कुरा पनि कतिकति । हुन त कति मेरा सवालका जवाफ पाइसकेकी छु । ती अघिदेखि मेरो मन र आँखालाई आकर्षित गरिरहेको कलिलो मुहारबाट ।
माया बहिनी विपश्यना साधना केन्द्र गएको चार दिनको दिनमा मबाट छुटेदेखि नै मैले सोधिराख्ने प्रश्नहरू थिए कि, ‘माया बहिनीले गरेको निर्णयको जित भयो त ? के उनको अधिकारको कदर भयो त ?’ हो, आज त्यही जित मैरै अगाडि हाँसिरहेको छ । उनको विजयको झन्डा फर्फराइरहेको छ । उनको जीवनमा । चार वर्षपछिको हाम्रो भेटको छोटो भलाकुसारीपछि हामी आ–आफ्नो घरतर्फ लाग्छौं । बिलमा चढेको पैसा काउन्टरमा बुझाएर ।
घर फर्किंदा बाटोमा बेलुकीपखको शीतल बतासको स्पर्शसँगै चार वर्षअगाडिका कुराहरूले यो मनलाई स्पर्श गरिरहन्छन् । यही साउन महिनामा माया बहिनीसँग पवित्र स्थान विपश्यना ध्यान केन्द्रमा भएको थियो । अहिले भेटको तरंगले यो मन भिजाइरहेको छ ।
०००
घरमा विशेष अवसर पारेर हुने आध्यात्मिक चिन्तनसँग सम्बन्धित कार्यक्रम, सत्संग, ध्यानका बारेमा मलाई सानैदेखि बुझ्ने वातावरण मिलेको थियो । हजुरबुवा, हजुरआमा, आमादेखि लिएर बुवासमेत सबैजना सत्संगतिर लाग्नुभएको थियो । विशेषतः मलाई उहाँहरूले ध्यानका बारेमा बताउनुभएको कुराप्रति अझ चासो हुन्थ्यो । ध्यानमा एकाग्र हुँदा प्राप्त हुने चित्त शान्तिका बारेमा बताउँदा ध्यानका लागि त्यस्तै विशेष निर्देशन प्राप्त भएर ध्यान गर्न पाएँ, ध्यानका बारेमा बुझ्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । तर, ध्यानको गहिराइमा पुगेर त्यसको मर्म बुझूँ भन्ने इच्छा उमेरसँगै छिप्पिँदै गएको थियो । पछिल्लो समय आध्यात्मिक चिन्तनमा लागेका साथीहरूको कुराले त झन् विपश्यना जाने, त्यो दिव्य समय कहिले जुर्ला जस्तो भएको थियो । ‘तँ आँट म पुर्‍याउँछु’ भनेझैं मेरो मनको इच्छाले पूर्णता पाएको थियो । सपना देखेको धेरै वर्षपछि । विपश्यनाका लागि दश दिनसम्म घर, व्यवहार, छोराछोरी र अफिसको तालमेल मिलाउनु मेरा लागि कम त गाह्रो थिएन । तर पनि अहोभाग्य हो, मैले चाहेको समयले मलाई साथ दिएको थियो ।
विपश्यना साधना केन्द्र जाने टुंगो लागेपछिको मेरो खुल्दुली, बूढानीलकण्ठको ध्यान केन्द्रमा बस्दासम्म थियो । मुहारमा पनि त्यत्तिकै मात्रामा जिज्ञासाका चिन्हहरू देखिन्थे । बूढानीलकण्ठ जानका लागि सबैजना कान्तिपथको ज्योति भवनमा रहेको नेपाल विपश्यना केन्द्रमा भेला हुनुपर्ने थियो । मनमा अनेक प्रश्नहरू आरोह–अवरोह गरिरहेका थिए । आँखाहरू पुतलीका आँखाजस्तै भएका थिए, त्यहाँ आउने प्रत्येक व्यक्तिलाई हेर्दाहेर्दा । यही नजर यताउता दौडिरहेको बेलामा हो, माया बहिनीलाई पहिलो चोटि देख्दा नै मनले आफ्नो मानेको । उनीमाथि आँखा पर्नुको कारण पनि स्वयं उनी नै थिइन् । उनी मनिर बसेकी थिइन् । तत्कालको समयलाई लिएर ममा जस्तो उत्सुकताका रेखा उनका मुखाकृतिमा कोरिएका थिएनन् । हामी दुईबीचको सामान्य परिचयपछि उनलाई देखेर मनमा उठेका भावहरूलाई शान्त बनाउनु नै थियो मलाई । त्यसैले सोधिहालें ।
‘हामी सांसारिक संसारबाट दश दिनका लागि अर्कै आध्यात्मिक संसारमा जाँदैछौं । बिलकुल अर्कै संसारमा, अर्कै जीवन बुझ्न, भोग्न, आफ्नो जीवनलाई मनन गर्न, आत्मलाई बुझ्न... अझ यी मेरा सोचाइभन्दा अलग पनि त हुन सक्छ त्यहाँको यथार्थता । अनि तपाईंलाई के लागिरहेको छ ?’
उनी एकछिन शान्त रहिन् । उनका आँखा रसाएका थिए । लाग्यो बित्थामा सोधेंछु । तर, अर्को मनले भन्यो, ‘उनका मनमा चिन्ताको भारी छ, सायद बिसाउन जाँदैछिन् ।’ फेरि अर्को मनले भन्यो, ‘उनमा ममा जस्तो ध्यान, साधनालाई लिएर उत्सुकता होइन, गहिरो चिन्तन छ, उनी अहिले पनि सायद ध्यानमग्न पो छिन् कि ?’
उनले मलाई दोहोरो जवाफ नदिएसम्म मेरा आफ्नै सवालजवाफले मनभित्र दोहोरी खेलिरहे । निकै बेरपछि लामो सुस्केरा हालिन् र मुसुक्क हाँसिन् । यो मुस्कानले मेरा प्रश्नलाई बल्ल शान्त बनायो । उनीसँगै मुस्कुराएँ म पनि । मुस्कानको शक्ति मापन गर्न पाएँ, एकफेरि यहाँ पनि । निकै बेरको मौनतापछि बल्ल उनले मुख खोलिन् ।
‘तपार्इं जति एक्साइटेड हुनुभएको छ नि, तपाईंले सोचेजस्तो नहुन पनि सक्छ, तपाईंको दश दिनको बसाइ ।’
उनको कुराले म फिस्स हाँसें मात्र, आफूले सोचेजस्तो उत्तर नआएर । हाँसोका कति रूप छन् है ।
ज्योति भवनमै हामी लगभग तीन घण्टाजति बस्यौं । यही समयमा हामीले एक–अर्कालाई धेरथोर चिन्ने मौका पायौं । उनको कोखमा तीन महिनाकी छोरीले पूर्ण मानवाकृति बनाउँदै रहिछन् । पहिलो सन्तानको रूपमा छ वर्षकी छोरी रहिछन् । घरमा सासू, ससुरा र श्रीमान् रहेछन् । हिजो भर्खर भ्रूण जाँच गराएर आफ्नो कोखमा दोस्रो पटक पनि छोरी छ भन्ने कुरा थाहा पाएकी रहिछन् । उनी र श्रीमान्ले गर्भ जाँच नगराउने निर्णय गरेका रहेछन् । गर्भमा जे भए पनि एक सन्तानबाट दुई सन्तान हुन्छन्, छोरीको लागि साथी हुन्छ । छोरा भए झनै राम्रो, छोरी भए पनि आफ्नो सन्तान हो । नराम्रो कर्म नगर्ने संकल्प गरेका रहेछन् । तर, भ्रूण जाँच गराउन बढी जोड उनकै सासू आमाको रहेछ र सासू आमा नै साथमा गएकी रहिछन् । सासू आमाले गर्भमा छोरी छ भन्ने थाहा पाएपछि, घरमा उनले भनेको कुरा, ‘यदि छोरी छ भने उतै एबर्सन गराउने’ भन्ने कुरा दोहोराइछन् । यो कुराले माया बहिनी निकै मर्माहित भइछन् । मनमा एकै पटक आएको आँधीले उनको ज्यानलाई सधैका लागि उडाउला जस्तो भएछ । जसोतसो सम्हालिएर भोलिपल्ट त्यही पोलिक्लिनिक आउने कुरासहित सासूलाई लिएर घर फर्किछन् । घर आएपछि गर्भमा छोरी रहेको कुराले घरको माहोल नै अशान्त भएछ । धन्न श्रीमान् उनको पक्षमा भएकाले र उनी स्वयं आफ्नो मातृत्व अधिकारको पक्षमा दह्रो भएर उभिएकीले सासूको जस्तोसुकै उर्दी पनि सामना गर्न सक्छु भन्ने दृढनिश्चय रहेछ । उनकाश्रीमान् एउटा मात्र छोरा भएकाले र घरमा एउटी नातिनी भइसकेकीले यो गर्भकी नातिनी चाहिन्न । जसरी पनि वंश धान्ने नाति चाहिन्छ भन्न थालेछन् । त्यसैले गर्भ फ्याँक्ने कुरामा घरमा सासूबाट एकोहोरो दबाब बढेपछि अब घरमा बसें भने यही कुरा दोहोरिन्छ । आफू झन् तनावमा पुग्ने हुनाले अब मैले जसरी पनि आफ्नो गर्भलाई बचाउनुपर्छ भन्ने सोचेर उनी दश दिनका लागि श्रीमान्को सल्लाहमा पाँच वर्षकी छोरी जिम्मा लगाएर ध्यानमा आएकी रहिछन् । उनी विपश्यना आएको यो दोस्रोपल्ट रहेछ । हुन त विपश्यना आउन पनि त्यति सजिलो छैन । मैले पनि एक महिना अघिदेखि फर्म भरेर बल्ल सहभागी हुन पाएकी थिएँ । धन्न उनका चिनेका व्यक्ति रहेछन् र खबर बुझ्न पाइछन् । संयोगले अनलाइनबाट फर्म भरेका युरोपका नागरिकहरू नआउने खबरले कोटा खाली भएकाले मौका पाएकी रहिछन् । यहाँ सायद उनलाई भगवान्को आशीर्वाद मिलेको थियो, आफ्नी छोरीलाई बचाउने सुरक्षित तपोभूमि ।
उनले भोगेको तत्कालको अवस्था देखेर मन अमिलो भयो । उनलाई भएभरको आफ्नोपनको अँगालोले बेरेर, स्नेहले उनको काँध थुमथुमाउन र भन्न मन लागेको थियो, ‘बहिनी तिम्रो साहस र निर्णयलाई सलाम छ ।’ तर सकिनँ । सायद पहिलोचोटि भेटिएकाले होला । केही संकोच मभित्र थियो । बिस्तारै सोधें, ‘यहाँ आएर कसरी आफ्नो गर्भको रक्षा गर्न सक्नुहुन्छ ? सासू आमाले निकाल्नुभएको समस्याको समाधान हुन्छ त बहिनी ?’
उनले ओठमा खुसीको फूल फुलाउँदै भनिन्, ‘म यहाँ दश दिनसम्म बस्न सकें भने मेरो एबर्सन टाइम क्रस हुन्छ । अनि डाक्टरले पनि गर्न मान्दैनन् । यतिबेला म यहाँ आएको कारणले घरमा मेरो श्रीमान्को धेरै कुरा सुन्नुपर्नेछ । आमाछोराबीच चकाचर्की पनि पर्ला । तर, म नै घरमा नभएपछि, बुहारी उसको मूल्य–मान्यता, मातृत्व संरक्षणका लागि गएकी हो भन्ने कुरा अवश्य बुझ्नुहुनेछ । यतिबेला म उहाँका सामु नहुनु नै उचित लागेर हो म यहाँ आएकी । मैले जसरी भए पनि मेरी अर्की छोरीलाई यो संसारमा लेराउनु छ । यहाँ आउनलाई पनि त मैले आफ्नो अफिसको जिम्मेवारी साथीलाई सुम्पिएर आएकी छु । यति सहज त कहाँ छ र मलाई आफ्नो जिम्मेवारी एकै पटक मिलाएर हिँड्न । तर, मेरो र मेरी छोरीको भाग्य भन्नुपर्छ कि ऊ गर्भदेखि नै आध्यात्मिक साधनामा अभ्यस्त हुनेछिन् । राग, द्वेष र मोहबाट विकृत चित्तलाई निर्मल बनाउने विपश्यना साधनामा जो कोही मानिस कहाँ आउन सक्छ र ?को आँट गर्न सक्छ र ? हुन त म बाध्यताले यहाँ आएकीे हुँ अहिले । मेरो गर्भमा छोरा भएको भए, अहिले म घर, अफिस गर्थें हुँला । सबैको मन र अनुहारमा खुसी छाउँथ्यो । माहोल अर्कै बन्थ्यो । सन्तानका रूपमा छोरा र छोरी दुवै भएको कसलाई राम्रो लाग्दैन र ? कसलाई पूर्ण लाग्दैन र आफ्नो जीवन । तर, यसो हुन सकेन । सत्य जे हो त्यो स्वीकार गर्नुपर्छ । मेरो भागमा जे छ, त्यही मैले पाउने हो अनि किन म यहाँ दुःखी हुनु व्यर्थमा । स्वस्थ छोरीलाई जन्म दिन सक्नु महत्वपूर्ण कुरा हो । यही कुरा घरमा सबैले नबुझेर, घरको वातारण खल्लो भएको छ । यो उहाँहरूले खराब मान्नुभएको समय र पन्छाउन खोज्नु भएको मेरी छोरीको जीवन रक्षाको लागि यो अपूर्व ठाउँ हो । यो अहोभाग्य हो कि मेरी छोरीले गर्भमै मबाट यो कुरा सिक्दै छिन् । यो महत्वपूर्ण कुरा हो ।’
उनको कुराले म जिल्ल परिरहेँ । कामना गरेँ कि, ‘उनले सोचेजस्तै होओस् उनको जीवन ।’
ज्योति भवनमा रहेको विपश्यना केन्द्रमा हामीलाई साधना र अनुशासन संहिताका बारेमा जानकारी गराएपछि, त्यहीँबाट उपलब्ध गराइएको बसमा चढेर हामी बूढानीलकण्ठतिर लाग्यौँ । माया बहिनी र म बसको बीचतिरको एउटै सिटमा बस्यौं । बस्दा अलि जतन गरेर, विचार पुर्‍याएर उनी बसिन् । भर्खर आफूले शिविरमा साधकले कठिन नियममा रहेर साधना गनुपर्ने बताएका थिए । ‘दश दिनसम्म नियम पालन गर्न नसक्ने जस्तो लाग्छ भने तपाईं अहिले आफ्नो घर फर्कन सक्नुहुन्छ’ भनेकाले यी बहिनीले कसरी गर्लिन् साधना ? भन्ने लागेर सोधी पनि हालेँ, ‘यस्तो अवस्थामा विपश्यना साधनाको आचारसंहिता पालन गरी तपाईं साधना गर्न सक्नुहुन्छ त ? यति बेला त मनलाई खुसी र शान्ति बनाएर, पौष्टिक आहार खाएर, सकेको काम गरेर, आराम गर्नुपर्छ । शरीरलाई यति बेला आरामको खाँचो छ । बरु माइती जानुभएको भए हुन्थ्यो, केही दिनका लागि ।’
उनको अनुहार, विचार र बोलीमा विश्वासको आभा फैलिँदै गएको थियो । ढुक्कले भनिन्, ‘दिदी यहाँ आएर आत्ममंगल, सर्वमंगलको भावनालाई विकास गराएर स्वस्थ, सुखी जीवन निर्माण गर्नका लागि सबैभन्दा उत्तम तपोभूमि पाउनु त ठूलो कुरा हो । मेरा लागि अरूले देखेको समस्या र तनावग्रस्त चित्तलाई मुक्त गर्न पुण्यभूमिको शरणमा आएकी छु । किन अनेक कुरा सोच्नू ?’
मैले दिउँस सुरुमा देखिएकी माया र अहिलेसम्म देखिएकी मायामा धेरै फरक पाइसकेकी थिएँ । सायद विपश्यना शिविरमा उनी पहिल्यै आएको असरका कारणले होला । जतिजति शिविर नजिक पुग्थ्यौं, उतिउति उनको मुहार तेजिलो देखिन्थ्यो । ममा भने उनलाई दिउँस देखेको, उनको कुरा सुनेको भन्दा मन निकै हलुका भइसकेको थियो । उही उत्सुकता फेरि मनभरि पलाएको थियो ।
ध्यान केन्द्रमा पुगेपछि आ–आफ्नो मोबाइल, पर्स काउन्टरमा जिम्मा लगाएपछि हामी त्यहाँ दिएको आफ्नो नाम र नम्बरअनुसारको कोठाको खोजीमा लाग्यौं । । संयोगले माया बहिनी र मेरो कोठा वल्लो र पल्लो परेछ । साँझको समयपछि नै हामी सबै त्यहाँको नियम र समय तालिकाभित्र बाँधियौं । समय तालिका तथा नियमका बारेमा विपश्यना आउनका लागि फाराम भर्दा नै थाहा थियो । भौतिक जीवनबाट टाढा रहेर, आफ्नाहरूसँग सम्पर्कविहीन भएर, आध्यात्मिक जीवनयापन गर्न सक्छु त ? भन्ने कुराले पटक–पटक सवाल त उठाउँथ्यो मनमा । तर, विश्वास थियो आफूप्रति कि म सक्छु र मेरो साधना सफल हुनेछ भन्नेमा ।
ध्यान केन्द्रमा बिहान चार बजे उठ्नुपर्थ्यो । साढे चार बजेदेखि राति साढे नौ बजेसम्म हलमा सामूहिक साधनामा अभ्यासरत हुनुपर्थ्यो । आचार्यको निर्देशानुसार साधना सामूहिक रूपमा हलमा तथा आफू बस्ने त्यहाँको निवासस्थानमा हुन्थ्यो । दिनको धेरैजसो समय भने सामूहिक साधनामा नै बित्थ्यो । आचार्यद्वारा साधकहरूलाई अभ्यासको मार्गदर्शनका लागि प्रवचन, जलपान, भोजन तथा विश्राम सबै कार्य समय तालिकाअनुसार चल्थ्यो । त्यहाँ पूर्णरूपमा अनुशासन संहिता पालन गरेर कठोर साधनाबाट मात्र सफलता पाइन्थ्यो ।
म गएको भोलिपल्टदेखि उठ्न गाह्रो त लागेन । पहिलो दिन रहरको दिन । धेरै प्रश्नले घेरेको दिन । आचार्यबाट पाएको निर्देशनका आधारमा अस्थिर मनलाई जतिसक्दो स्थिर बनाउन खोज्थें । तर, मनले मानेकै थिएन । मन कति चञ्चल हुन्छ भन्ने कुरा पहिलो पटक अनुभव गर्दै थिएँ । आफ्नो लागि तोकिएको स्थानमा एकै ठाउँमा रहेर ध्यान गर्नु जतिको गाह्रो काम अरू केही लागेन मलाई । मानसिक तथा शारीरिक पीडाले एकै दिनमा सगरमाथा आरोहण गरेजस्तो भयो । मलाई जतिजति पीडा हुन्थ्यो, उतिउति म माया बहिनीलाई सम्झिन्थेँ । उनी कसरी गर्दै छिन्, यो कठिन साधना । उनी पहिला पनि आएकी त हुन् । घरमा पनि सायद ध्यान गर्थिन् होला । त्यसैले पो सहज भएको हो कि ? नत्र त गर्भावस्थामा यो साधना गर्नु चानचुने कार्य थिएन । जब साधनाको बीचमा केही समय भोजन तथा विश्रामका लागि छुट्याइएको हुन्थ्यो तब मेरा आँखा उनलाई खोज्थे । शिविरमा आर्य मौनको पालना गर्नुपर्ने भएकाले म उनलाई उनको अवस्थाको बारेमा सोध्न सक्ने थिइनँ । मात्र महसुस गर्थें । उनको अनुहार, हिँडाइको चाल बुझ्थें र ठीक रहेछ उनलाई भनेर चित्त बुझाउँथें । मलाई भने तिन दिनसम्म खानपानको अभ्यास गरी आफ्नो स्वाभाविक श्वासको निरीक्षण गर्दै आत्माशुद्धितर्फ उन्मुख हुन कठिन भएको थियो ।
साधनाको चौथो दिन चार बजे उठेर साढे चार बजेको साधनाका लागि तयार भएँ । पश्चिमी आकाशमा बिहानीपखको चन्द्रमाले उस्तै मनमोहक बनाएको थियो ध्यान केन्द्र । एकछिन चन्द्रमासँग मौन संवाद गरेँ । आँखा र मनलाई शान्त बनाएँ । हलमा जानुअघि मेरा आँखाले माया बहिनीको कोठाको हालचाल बुझे । उनी हल गइसकिन् कि जान बाँकी छ भनेर उनको कोठाको बत्तीले बताउँथ्यो । त्यस बिहान उनको कोठामा बत्ती नबलेकाले सोचेँ, उनी आज हलतर्फ गइसकिछन् । हलभित्र छिर्नेबित्तिकै उनको आसनतिर नजर पुर्‍याएँ । तर, उनी थिइनन् । बाहिर निस्किएँ । आँखा यताउता डुलाएँ । तर, उनी भेटिइनन् । साधनाको समय भएकाले म आफ्नो आसनमा पुगेर एकाग्रचित्त हुन खोजेँ । तर, मनमा मायाको उपस्थितिले राज गर्‍यो । साधकहरू र स्वयंसेवकहरूका आँखा छलेर पछाडि भित्तामा रहेको उनको आसनतिर फर्कें । तर, उनको आसन खाली थियो । मन झन् छटपटिन थाल्यो । कुनबेला जलपानको समय होला भनेर कुरिरहें । कतै उनलाई गाह्रो भएर चमेनागृहतिर पो लागिन् कि लाग्यो । साढे छमा जलपानको समयका लागि घण्टी बज्नेबित्तिकै चमेनागृहतर्फ लागें । भोजनका लागि छुट्याइएको उनको कुर्सीमा उनी थिइनन् । म हतार–हतार चिया–नास्ता गरेर उनको कोठातिर लागें । तर, उनको कोठामा उनको कुनै पनि सामान थिएन । यति पक्का भयो कि उनी अब ध्यान केन्द्रमा छैनन् । उनलाई गाह्रो भएर घर गइन् होला । जहाँबाट उनी आफ्नो सहजताका लागि आएकी थिइन्, फेरि त्यहीँ पुगिन् । मात्र कामना गरें, उनलाई र उनको गर्भलाई केही नहोस् भनेर । निराश भएर म आफ्नो कोठामा गएँ । आफ्नो बेड मिलाउन लाग्दा सिरानीनिर मेडिकल कटनको कभरमा केही लेखेको देखें मेरो नाममा ।
शिवांशी दिदी π
मलाई रातिदेखि गाह्रो भएकाले शिविर छोडेर घर जाँदैछु । राति गाह्रो भएपछि स्वयंसेवकको मद्दतले आचार्यको कोठामा गएर आराम गरे पनि कम नभएकाले श्रीमान्लाई खबर गरेकी छु । उहाँ लिन आउँदै हुनुहुन्छ । मेरो चिन्ता नगर्नुहोला । तपाईं एकचित्त भई मन लगाएर गम्भीरतापूर्वक तप गर्नुहोला । समयले साथ दिए फेरि भेट होला ।
माया
ध्यान केन्द्रमा साधकले कुनै पनि विषयका पुस्तक, पत्र–पत्रिका, लेखन सामग्री आफ्नो साथमा राख्न पाउँदैनन् । त्यसैले उनले मेडिकल कटनको कभरलाई आफ्नो कागज बनाइछन् । कलम चाहिँ कसरी उपलब्ध गराइन् कुन्नि ? मेरा लागि त्यतिबेला आत्मीयताको मसीले उनको बारेमा लेखिएको खबर अति महत्वपूर्ण थियो । उनको खबर पाएपछि मन एकतमासको भयो । उनले तीन दिनअगाडि भनेको कुरा याद भयो, ‘तपाईंले सोचेको जस्तो नहुन पनि सक्छ ।’ हो यस्तै यस्तै भयो बहिनी π त्यतिबेला तिम्रो र तिम्री छोरीको मंगलको कामना मात्र गर्न सकें । तिमीले भनेजस्तै भेट हुने समयको आशा चाहिँ राखें ।
त्यसपछिका दिनमा अन्तर्मनको गहिराइसम्म पुगेर चित्तलाई ग्रन्थिविमुक्त पार्ने साधनामा म सक्रिय रूपमा लागें । शील, प्रज्ञा, समाधि हुँदै साधनामा लागिरहें । भोक्ताभावलाई साक्षीभावमा रूपान्तरण गर्दै समताभावलाई आत्मसात् गर्दै गएँ । शरीरमाथि नियन्त्रण राख्दै ध्यानमा निखार ल्याउन गरिएका साधना चुनौतीपूर्ण थिए । आफ्नो मनको डाक्टर स्वयं आफैं भएर मनको चिरफार गर्न तल्लीन भएँ ।
ध्यान केन्द्रबाट फर्किएपछि माया बहिनीका बारेमा बुझ्नका लागि आफूले सकेको प्रयास गरें । तर, उनका बारेमा कहीँ–कतै जानकारी पाउन सकिएन । उनको सफल, सुखद्, शान्त जीवनका लागि मंगलको कामना मात्र गरिरहें । उनको शान्त मुहारलाई भने यो मनले सधैं गाढा बनाएर राख्यो । त्यसैले त आज उनको त्यो दिव्य मुहार चिन्न सफल भएकी छु ।
बडो गज्जब छ समय । निरन्तरको झरीपछि हाँसेको आजको दिन जस्तै, आज चार वर्षपछि उनको साथमा छोरीलाई देख्न पाउँदा उनको मातृत्वले उत्सव मनाइरहेको पाएँ । भेट हुँदा माया बहिनीलाई सोध्न त मन थियो, उनकी सासू आमाले कसरी मान्नुभयो ? तर, साथमा छोरी देखेपछि उत्तर पाएँ, मातृत्वप्रेमको जित, छोरीको जित भएको यथार्थता । मेरो प्रश्नवाचक मनले पनि आज आएर पूर्णविराम लिएको छ ।



लक्ष्मी थापा

 Image