प्रा डा सुमनराज ताम्राकार
कान्छी छोरी र म एअरपोर्टतिर लाग्दैछौं । छोरी अस्ट्रेलिया जाँदैछिन् । बिहानदेखि नै मुड अलि ठीक छैन अर्थात् मन ठाउँमा छैन भन्नु उपयुक्त होला । तर पनि यसको आभाष अनुहारमा, व्यवहारमा ल्याउन अनुमति छैन, किनकि आमा हो नि । एअरपोर्टसम्म मैले ड्राइभ गर्ने सोचेको थिएँ तर कान्छी छोरीले मान्दै मानिनन् । यस मानेमा म ड्राइभरसिटसँगैको अगाडिको सिटमा छु । तुलनात्मक रूपमा स्वतन्त्र भएपनि मनमा, दिमागमा अनेक कुराको उछलकुद छ ।
के रिक्ततामहसुस गर्ने अभिभारा महिलाको मात्र हो ? विदेशमा त सम्बन्ध विच्छेद हुन्छ रे, आफ्ना पुरुष पार्टनर नै गुमाएपनि फेरिफेरि विवाह गर्ने, अफेयरमा बस्ने परिपाटी छ रे । तर नेपालमा एक पटकको एकल महिला सधैंभरिका लागि एकल नै भएर बिताउनुमै समाज श्रेयस्कर ठान्छ । कान्छी छोरीले ड्राइभ गरिरहेकी छिन् । मैले अलि सतर्क भएर चलाउन भनें । आखिर नागढुंगाको उकालोमा चनाखो नै हुनुपर्छ, जुन छोरीलाई थाहा नहुनसक्छ । मलाई त पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयमै संचालनमा नआएकामा पनि झ्वाँक चल्यो, नेताहरूलाई तथानाम गाली गर्न मन लाग्यो ।संचालनमा आइदिएको भए उतै छोटो पर्थ्यो, यो नौबीसे नागढुंगाको उकालोको त्रास पनि खेप्नुपर्थेन । हेर, मन कता बहकिन थाल्छ । सबैभन्दा पिरलो त म एक्लै फर्किनुछ । सम्झिँदा पनि मन अहिले नै अमिलो भएर आउँछ ।
कान्छीलाई बिदाई गरेर आएको भोलिपल्ट बिहान अल्छी मान्दै अलि ढिलै उठें । शरीरमा कति पनि जाँगर बाँकी थिएन । मलाई आफ्नो घर पनि घरजस्तो लागेन, दुनियाँ नै अर्को लाग्न थाल्यो । जिउ पूरै थिलथिलो भयो, सास अड्किएजस्तो भयो । मेरा लागि के पुरानो दुनियाँ साँच्चै काम लागेन त ? मैले सुनेको रजोनिवृत्तिपछिको रित्तोपना वा रित्तो गुँड भनिने यही हो त ?
जीवनमा धेरै थोक भोगियो । सानैमा पढाइकै चिन्ता, त्यसपछि उच्च शिक्षाको । तपाईंहरूलाई अवगत नै छ, नेपालमा महिला भएर उच्च शिक्षा हासिल गर्न सानोतिनो लडाइँ नै छेड्नुपर्छ । तर मैले हार मानिनँ, यस मामिलामा मेरा अभिभावकलाई गलाएरै छाडें । त्यसपछि करिअर अनि विवाहलाई सन्तुलनमा राखेर जीवनको रथ अगाडि बढाउँदैमा ठिक्कभयो । पैसा, पैसा भनेर कुँद्ने बानी थिएन तर सहजपूर्ण जीवनयापनका लागि कार्यालयको कामबाहेक यताउता हिँडिराख्नुपर्ने कन्सल्टेन्सीका काम नगरी धरै पाइनँ । जीवनका धेरै दिन मेसिनका रूपमा बिताइयो भनौं । सोच्दा मात्र कहाली लाग्छ, कसरी मैले दुई जना बच्चा हुर्काउन र उचित शिक्षा दिलाउन सकें । यस्तैमा जीवनसाथीले छाडेर गएको पनि पाँच वर्ष टेक्न लाग्यो । त्यसलगत्तै स्वेच्छिक अवकाश पनि लिइयो, कामबाट । कान्छी छोरी घरमा थिइन् र त खासै खालीपना महसुस भएको थिएन । तर अहिले उनी पनि गइन् । पखेटा हाल्न दिएर, उडान भर्न सिकाएपछि म राम्रो गर्छु भनेकालाई रोक्न मिलेन । आफ्नो व्यक्तिगत स्वार्थ मात्र हेर्न पनि भएन । छोरा क्यानडामा छन्, परिवारसँगै । तिनीहरूसित के आश राख्नु ? निराश भएर भनेको नभई अहिलेको परिवेशमा वास्तविकता दर्शाएको मात्र हो ।
कान्छी छोरीले छाडेर गएपछिको शून्यता श्रीमान्को मृत्युपछिको रिक्तताभन्दा ठूलो लाग्यो । त्यसो त जागिरबाट स्वेच्छिक अवकाश लिएपछिका दिनमा फरकपना आउँदा नै पीडा बोध भइसकेको थियो । यसअघि जीवन मेसिनको गतिमा चल्थ्यो । बिहान उठेदेखिकै भ्याइनभ्याई, श्रीमान्, छोराछोरीलाई स्कुल नपठाएसम्मको महाभारत, हतारहतार मुखमा एक गाँस हालेर अफिस पुग्दा बेलाबखत हाकिमको टोकसो, अफिसबाट फर्केर पनि कहाँ आराम पाइने हो र ? टिभीमा समाचार समेत हेर्न मुश्किल, यस्तोमा टेलिसिरियलको त कुरै नगरौं । हप्तामा एकपटक आउने शनिबारको बिदा पनि लुगा धुने, घरको सरसफाई र अलि मीठोमसिनो पकाउँदैमा बित्छ । मनोरञ्जनको नाममा घुम्न जाने, सिनेमा हेर्न जाने भनेको छ बिरलै हुन् । यस्तो भागदौडको जिन्दगीबाट छोराको विदेश प्रस्थान, श्रीमान्को मृत्यु, स्वेच्छिक अवकाश अनि कान्छीको बिदाईपछिको रिक्तता निकै पीडादायी लाग्यो । दक्षिण एसियामा मात्र अधिकतर विकासोन्मुख एवं विकासशील देशका महिलालाई यस्तो अवस्थाको सामना कसरी गर्ने भनेर सिकाइएको हुँदैन, त्यसैले त झन् बढी पीडा खेप्न बाध्य हुन्छन् ।
सायद एकाध महिलालाई यस्तो किसिमको रिक्तता केही समयका लागि आनन्ददायी पनि होला, किनकि तिनीहरूलाई बिल्कुलै स्वतन्त्र महसुस गर्न सक्छन् । मनमा लागेको खाने, पिउने, राति अबेरसम्म टिभी हेर्ने, फेसबुक चलाउने, नेट सर्फ गर्ने, घुमफिर गर्ने, आउटिङ जाने जेमा पनि स्वतन्त्रता नै स्वतन्त्रता । घरमा कराउने कोही हुँदैन, आफूले पनि कराइराख्नुपर्ने बाध्यता हुँदैन, घरपनि सफा नै रहन्छ, लुगाफाटा ठाउँमै रहन्छन् । तर विस्तारै यी कुराफिका लाग्न थाल्छन्, दिक्क लाग्न थाल्छ, तनावपूर्ण नै किन नहोस् पहिलेकै जीवन ठीक छ भन्ने लाग्न थाल्छ । तर, गएको खोलो फर्किंदैन ।
बीसको दशकमा ममा कति घमण्ड थियो । ऊर्जा थियो, सपना देख्ने गरेकी थिएँ, भविष्यको । कति सुन्दर सपना, घर, परिवार, गाडी आदि विलासितालाई लिएर । अहिले रजोनिवृत्तिपछिका दिन यो एक्लोपनाको घडीमा सपनाविहीन भएँ । जिन्दगीमा केही गर्ने चाह नै रहेन । चारैतिरबाट निराशा, छटपटी, चिन्ता, अवसादले घेरिन लागेको मात्र पाएँ । धन्न यो पुस्तक हात लाग्यो र पो । म मात्र होइन रहेछ, रजोनिवृत्ति भएका असंख्य महिलाले मैलेजस्तै निराशाको जीवन निर्वाह गरिरहेको कुरा यसै पुस्तकबाट थाहा पाएँ । तिनीहरूले रजोनिवृत्तिपछिका दिन कसरी रचनात्मक बनाइरहेका रहेछन् भन्ने थाहा पाएदेखि मेरो जीवनमा फेरि वसन्त फक्रिन थालेको छ ।
नेपाली महिलाको आयु लम्बिँदै गएसँगै रजोनिवृत्तिपछिका दिन आइपर्ने रिक्तता, एक्लोपनालाई कसरी व्यवस्थित पार्ने भन्ने विषयको वकालत गर्न ढिलो भइसक्यो । मध्य उमेरमा परिवर्तन (पीडा) महसुस गरिसकेका महिलाले रजोनिवृत्तिपछिका रिक्तताका पीडादायी अनुभव बताउन सक्छन् । यी रिक्तताको आभाष समय–समयमा आउने–जाने क्रमसँगै विस्तारै हराउँदै जाने हुन्छन् । पीडाको स्तर पनि क्रमशः घट्दै जाने रहेछ । यो रिक्तताको भुक्तभोगी महिलाका अनुसार यो सत्यतालाई पन्छाउनु वा नकार्नुभन्दा यसलाई आत्मसात् गरेर अगाडि बढ्नुमै बुद्धिमत्ता हुने रहेछ । यसलाई प्रसव पीडासँगै तुलना गर्न सकिने रहेछ । तपाईंले चाहेर नचाहेर शरीरको हर्मोन, मनमस्तिष्कले गर्भ आएको कुरा स्विकारिसकेको घडीमा प्रसवपीडाबाट भाग्न कदापि मिल्दैन । अबको नयाँ यात्रालाई सहज बनाउन नयाँ–नयाँ सम्बन्ध कायम गर्दै आफूलाई व्यस्त तुल्याउनमै राम्रो हुन्छ । अनुभवी अर्थात् रिक्तताको तिक्ततामाथि विजय पाइसकेका महिलाका अनुसार यस्तो बेला योग, नियमित व्यायाम, गीत, संगीत, नाचगान, भजनमा मन डुलाउने गर्नुपर्छ । विगतमा समयले नभ्याएर धकेलेर राखेका काम अगाडि बढाउने तथा पहिले सम्पन्न गर्न नसकेको वा गर्न नपाएका काम सक्ने वा पूर्णता दिने गर्नुपर्छ ।
नेपालमै पनि कति महिला रजोनिवृत्तिपछिको जीवनमा संस्कृत सिक्न थालेको, कुकिङ, गार्डेनिङ सिक्न थालेको, आत्मवृत्तान्त कोर्न थालेको, डायरी मेन्टेन गर्न थालेको पाइएको छ । विगतका कुरा झट्टै सम्झनामा आउँदैन भने सोच्नुस् १२ वर्षको छँदा के गर्दै हुनुहुन्थ्यो । यति मात्रले पनि पुराना कुरा स्मृतिमा सहजै आउँछ । अर्थात्, कुनै एउटा घटना सम्झिनुस्, माओवादी द्वन्द्वकालमा कति सास्ती खेप्नुपरेको थियो, त्यो हेरिकन त अहिले कति धेरै शान्ति छ । थोरै पीडादायी नै भएपनि विगतलाई बिर्सनमै फाइदा छ, विगत फर्केर आउँदैन ।केवल चिन्ता मात्र थपिन्छ अर्थात्, तनाव मात्र बढ्छ विगत सम्झेर । हामीसामु कोभिड महामारीको लकडाउनकै बेला भर्चुअल तवरमा डान्स, कुकिङ, इम्ब्रोइडरी कतिले सिकेको राम्रो उदाहरण छ । यस्तै अवसरलाई मूर्तता दिन सकिन्छ रजोनिवृत्तिपछिको जीवनमा ।
तपाईं के गर्दै हुनुहुन्छ महत्वपूर्ण होइन कि तपाईंको अझै के चाहना छ भन्ने कुरा खोतलखातल गर्ने बानी गर्नुस् । मानिलिनुस् कि तपाईं कसैका कर्मचारी, श्रीमती वा आमा भएर होइन, आफूलाई नयाँ महिलाका रूपमा विचार गर्न थाल्नुस् । आफैंलाई माया गर्न सिक्नुस् । यसो गरेको खण्डमा तपाईंका आफन्तजनले पनि माया गर्न थाल्नेछन् । तपाईं निराश हुनुभयो, एकै ठाउँमा कुँजिनुभयो, गनगन गुनासो मात्र गर्नुभयो भने बोझका रूपमा लिनसक्छन् । तर माथि उल्लेख गरेझैं आफूलाई नयाँ महिलाका रूपमा प्रस्तुत गर्नुभयो भने तपाईं प्रेरणाकी स्रोत पनि बन्न सक्नुहुन्छ ।
सबैभन्दा मुख्य कुरा गिलास आधा खाली भयो भनेर निराश हुने कि अझै आधा बाँकी छ भन्ने सकारात्मक सोच राखेर अगाडि बढ्ने? निर्णय तपाईंकै हातमा छ ।
(रजोनिवृत्ति विषयमा चेतनामूलक सन्देशका लागि साहित्यिक प्रस्तुति।)