यो मेरो प्रिय समय हो । किनभने आज म घरमा एक्लै छु, मात्र एक्लै ।उहाँ एक हप्ताका लागि बाहिर जानुभएको छ । छोराछोरीलाई स्कुल पठाइसकें । अब बेलुकी मात्र आइपुग्छन् । यो समय मेरो आफ्नै समय हो । नितान्त आफ्नो । केही घन्टा म मेरो लागि बाँच्न पाउनेछु । यत्तिमै मलाई संसार जितेजस्तो लाग्छ ।
अब मलाई मनपर्ने गीत ‘छाएछ वसन्त’ चर्को स्वरमा बजाउँछु । सादा हरियो सारीमाहरियैब्लाउज लगाउँछु । सारीको फेरोलाई कम्मरमा राख्छु अनि जानीनजानी क्लासिकल नृत्य गर्न थाल्छु । कसैले मलाई देखेको हुँदैन तर आफैले आफूलाई निकै स्पष्ट रूपमा देख्छु । आफैंमा हराउँछु, यतिबेला जोकोही आए पनि मलाई केही फरक पर्दैन । मलाई अकस्मात् असीमित शक्ति र साहस पलाएको महसुस हुन्छ ।
एक घन्टाजस्तो एउटै गीतमा त कहिलेकाहीँ आफूलाई मनपर्ने अरु दुई–तीनवटा गीत बजाउँछु अनि नाचिरहन्छु । आफैंलाई बुझ्छु, आफैलाई सोध्छु । अब भने मलाई थकान महसुस हुन्छ । त्यसैले म एकछिन उत्तानो परेर पल्टन्छु अनि आफ्नो लामो लामो श्वासप्रति ध्यान दिन्छु । छिटोछिटो गतिमान भइरहेको श्वास विस्तारै मन्थर हुँदै जान्छ ।
विस्तारै उठ्छु अनि डायरी र कलम लिएर छोरीहरूको पढ्ने टेबलमा गएर बस्छु ।
केहीबेर आफैसँगको संवाद चल्छ । आफैसँग बोल्दाबोल्दै केही लेख्ने बेला भएको छ ।कहिलेकाहीँ, जब म लेख्छु तब मेरो मन हल्का र शान्त हुन्छ तर म त्यो राखिराख्दिनँ, पछि पढ्न पनि सक्दिनँ म । त्यसैले कागजलाई टुक्राटुक्रा पारेर फोहोरको थुप्रोतिर मिल्काइदिन्छु ।
तर आज म तपाईंहरूलाई पनि देखाउँछु, पढ्नुहोस् है त मैले के लेखें भनेर।
‘कठै, मैले बिताएको जिन्दगी ।
एकतमासजस्तै एकोहोरिएर घोत्लिरहन्छु अचेल । आफैले बिताएको आफ्नो जिन्दगीप्रतिको विरोधाभास र कष्टपूर्वक समय देख्दा आफैलाई अजीव प्रश्न गर्छु ।जीवनको यो उत्तरार्द्धमा आइपुग्दा अहिले आफ्नो जीवनको समय अनायास आँखावरिपरि घुमिरहन्छ । लाग्दैछ कति निरस र स्वादहीन जीवन बाँचेछु, हीनताबोध हुन्छ । अहिले बल्ल आफ्ना बारेमा सोच्ने फुर्सद पाएकी छु । तर यी सोचाइलाई कसैसामु व्यक्त गर्न सक्दिनँ । कलमको सहारा पनि मैले उहाँ नभएको बेला, छोराछोरी सुतिसकेपछि लिन्छु ।
अचेल मेरो दिनचर्या फुर्सदिलो छ । छोराछोरीलाई स्कुल पठाएपछि दिनभर म आफैंलाई सोचिबस्न भ्याउँछु । कहिले आफ्नो सपनाको सम्झनाले आँखा बिझाउँछन्, कहिले आफ्नो जीवन सम्झेर आँखा रसाउँछन् । मेरा हजार सपना होइन, एउटै सपनाको माया लागेर आउँछ ।विरक्तता र तिक्तताले घेर्छ मलाई । विचरी म आफ्नै खुट्टामा उभिन सकिनँ । किन म प्रेममा यति अन्धो भएर सम्पूर्ण हिसाबले आफूलाई उहाँसामु सुम्पिन सकें?
त्यो उमेर किन यति चञ्चल थियो ? विचार के हो, सपना र आत्मसम्मान के हो ? सम्बन्ध के हो ? जीवनको अस्तित्व भनेको कस्तो हुन्छ भन्ने कुराको भेउ केही नपाउँदै मैले प्रेमका निमित्त आँखा चिम्लें । प्रशंसाको लालित्यमा म आफैंलाई निकै सुन्दर र भाग्यमानी सम्झिन थालें । हुन त प्रशंसा सबैलाई प्रिय लाग्छ । तर पनि किन होला केटीमान्छेलाई प्रशंसाको यति धेरै लोभ र मोह ?कुनै पनि पुरुषबाट सुन्दरता, शरीरको बनोट र रङको खोक्रो आडम्बर सुन्न किन यत्रो विध्वंस होला । आखिर यी सब कुरा त हाम्रो नियन्त्रणमै छैनन् ।
ठूलो कुलघराना, नोकरचाकर, धनदौलत । ‘अहो तिमी त भाग्यमानी रहिछौ’–परिवार र आफन्तको यो शब्दले म फुरुङ्ग परेकी थिएँ । बाजागाजासहित मैले आफूभन्दा एघार वर्ष जेठो पुरुषको हातबाट सिउँदो रंगाएँ । म आफैंलाई सम्झिँदा मेरो दृष्टिकोण, विचार निकै कच्चा थियो भन्ने लाग्छ ।तर समयले मलाई एक असहज र कष्टकर जिन्दगीको खाडलमा होमेको रहेछ । विस्तारै आफ्नो जिन्दगीकोसहज आँकलन गर्न सक्ने भएँ । मसँग भन्ने कुरा धेरै थिए, सुन्ने मान्छे कोही थिएन । मेरा आँखामा असंख्य सपना र आकांक्षा थिए, घरबाट बाहिर निस्कने अनुमति थिएन । बोल्न खोज्थें तर आवाज घाँटीसम्म आएर निस्सासिन्थ्यो । विद्रोहको त म कल्पना पनि गर्न सक्दिनथें अनि विस्तारै म अभ्यस्त हुन थालें ।
यसरी मेरै माइतीका सबै परिवार पराई भए । मन लागेको बेला न बोल्न पाउँथें न भेट्न जान । मेरो नै खास अस्तित्व नभएको घर कसरी मेरो परिवारको हुन सक्ला ? परिवारले तेरो घर त्यही हो भनेर पठाएपछि म कुनै पनि घरकी हुन सकिनँ ।
त्यस घरमा जहाँ म निर्धक्क भएर बोल्न सक्थिनँ । बोल्न न त के मेलै मेरो भनाइ, विचारसमेत राख्न पाउँथिन। मलाई नाच्न र गाउन खुब सोख थियो । बाथरुममा गीत गाउने बानी थियो अनि खाना बनाउँदा र खाली हुँदा नाच्नुपर्ने । तर म न बाथरुम सिंगर बन्न पाएँ न मन लागेको गीत बजाएर नाच्न सक्थें । जहाँ म आफू भएर बाँच्न सक्दिनथें, त्यस ठाउँलाई घरको उपमा कसरी दिऊँ ? र पनि म दिन प्रतिदिन अभ्यस्त हुँदै गएँ ।
यति विशालसंसारमा मेरो कति सानो परिधि थियो । आफ्नो कोठा, बैठक र बगैंचा । म कसरी यत्तिमै अटाउन सकें ? आफैप्रतिको सहानुभूति हो वा कसैप्रतिको प्रेम ? म यसै भन्न सक्दिनँ । तर मलाई नपुग्दो केही थिएन । कामको नाममा ढलेको सिन्को उठाउन पर्दैनथ्यो। शृंगार र सजिसजावटमै समय खर्चिए हुने । त्यस घरका हामी तीन बुहारीको खास काम थिएन । ठूलाठूला पार्टी, ग्यादरिङमा जाने, खाने र रमाउने तर म अरुलाई देखाउन सक्दिनथें । सामाजिक सञ्जालको प्रयोग मेरा लागि सहज थिएन । किन थिएन, मलाई आजसम्म थाहा छैन ।
मेरा लगातार बर्सेनि छोरीहरू जन्मिए । अब बल्ल म भुल्न थालें ।काम पाएँ । बढ्दै गरेको मेरो मानसिक समस्या चट्टै निको भयो । म बढो प्रेम गर्थें तर उनी दोस्रो पटक जन्मिएकी नानीलाई बाबु हुनुपर्ने बारबार भनिरहन्थे । उसले बाबुको माया कम पाएको देखेर म झनै माया गर्थें । उनलाई छोरो चाहिएको थियो, म राम्रोसँग बुझ्थें तर कुन्नि किन हो भनिहाल्न सक्दैनथें। भन्न नसकेकामा मलाई अचम्म लाग्थ्यो ।
मलाई त के नै थियो र?मेरो खास काम भन्नु पनि त केही थिएन । सन्तान उत्पादन र उनैको स्याहारसम्भार बाहेक ।अचम्म त आफैंलाई के लाग्थ्यो भने दुई–दुईवटा वर्षौटे छोरीको आमा भएर पनि मेरो सुन्दरता अलिकति पनि घटेको थिएन। बरु सन्तुष्टिको आभासले अझ खुलेको थियो । कुनै योजना र पूर्वतयारीबिना नै मेरो तेस्रो गर्भ बस्यो। उहाँ चाहिनेभन्दा खुसी भएको मलाई मन परिरहेको थिएन । तर हाम्रो संवाद नै यति पातलिसकेको थियो कि म व्यक्त गर्न सक्दिनथें । उहाँलाई कामबाट फुर्सद नै कहाँ थियो र मेरा कुरा सुन्ने, मसँग प्रेमिल गफ गर्ने, मेरा इच्छा–आकांक्षाका बारेमा सुर्ता गर्ने । न त चाहना हुन्थ्यो न त समय नै ।
तर उहाँको पुकारा भगवान्ले सुनेछन् । छोरा नै जन्मियो हाम्रो ।
त्यसपछि उहाँले मप्रति बढो प्रेम र आदरभाव देखाउन थाल्नुभयो । छोरी एक्लै हुर्काएकी थिएँ । छोरा हुर्काउँदा साथ पाएँ, सहजै भयो । दिन बिते, समय बित्यो, वर्षहरू बित्दै गए । छोराछोरी बढ्दै गए ।
हो, यो समय म विचार गरिरहेछु कि मैलेआफैले काम गरेर खर्च गर्दाको आनन्द कस्तो हुँदो हो भनेर अनुभव लिन मन छ । मात्र सय रुपैयाँ किन नहोस् तर आफ्नो मेहनतको खान पाए कमसेकम आफ्नै कमाइ भनेर अपनत्वको आभास त हुन्थ्यो होला ।
म फेरि फुर्सदिली हुँदै गएँ । गतवर्षको दसैंमा वर्षौंपछि माइत गएँ । पल्लाघरे काकीकी छोरीले बार्दलीमा बसेर चिया पिउँदै किताब पढेको देखें । त्यो देखेर मलाई पनि रहर जाग्यो । किनकिन उसले पढेको किताब पढ्न मन लाग्यो । किताब किन्न मलाई सहज थिएन, त्यसैले मैले मागेरै पढ्ने मनमनै जमर्को कसें । उसले पनि सहजै आफूले सक्नै लागेको र सकेपछि दिन्छु भन्ने प्रतिज्ञा गरी र मेरो हात पनि पर्यो ।
दसैंलगत्तै मैले लुकीलुकी उक्त किताब पढ्न सुरु गरें, जतिजति पढ्दै गएँ, उतिउति आफ्नै कथा पढेजस्तो लाग्यो ।माधवी भन्दा केही राहत महसुस गरें, किनभने मैले आफ्नो सन्तान स्पर्श गर्न पाएकी छु । उनीहरूलाई भरपुर माया गर्न पाएकी छु । आफ्नो मातृत्वको असीम प्यारसहित । तर खोइ पतिप्रेम, आफ्नो अस्तित्व, आत्मसम्मान ?हरेकपल म आफू हुनुको बोध गर्न खोज्छु, आफू बाँच्नुको औचित्य निकाल्न खोज्छु तर उत्तर भेट्न असमर्थ छु । मयहीजमानावासमयकोकुरा गर्दैछु, जहाँ माधवीले जस्तो प्रश्न गर्न पनि सक्दिनँ । जहाँ प्रश्न छैन, त्यहाँ उत्तरको के अपेक्षा ? आखिर प्रतिकार पनि त गर्न सक्दिनँ ।खोक्रो, कस्तो निरस र अस्वाभाविकदेखेर आफैप्रति हीनताबोध हुन्छ । रित्तोरित्तो छु तर भरिएकोजस्तै देखिन्छु । म त्यही दिनको प्रतीक्षामा छु, जहाँ म सम्पूर्ण हिसाबले स्वतन्त्र आभास गर्नेछु ।
गितु गैरे