Successfully Copied

नुनिलो दसैं

छोराबुहारीले किनिदिएका महँगा कपडाभन्दा साथ पो ठूलो हुन्छ । सुयोग नेपालमा छँदा घरमा दुःख थियो । तर मन खुसी थियो । अहिले सुख छ । तर मन दुःखी ।



लक्ष्मी थापा

हातभरि कपास लिएर शोभा तन्मयका साथ बत्ती कातिरहेकी छिन् । कपासको बत्तीसँगै विगतका सम्झनालाई पनि कातिरहेकी छिन् मनमा । उनको मन हातकै गतिमा कपासको धागो जसरी लम्बिँदै, बेरिँदैछ । उनलाई विगतका जीवन भोगाइ कठिन भए पनि अहिले सम्झिँदाकपासजस्तै नरम, सुकोमल लाग्छन् । बत्ती कात्ने कामले नौरथा लागेपछि अझ समय लिएको छ ।
शोभाले बत्ती कातेको देख्नु हुन्न । उनका श्रीमान् प्रकाश गनगन गर्न थालिहाल्छन् । ‘तिमीलाई कति भन्नु ? यसरी बत्ती नकात्नू भनेर । हात बाउँडिएपछि तिमीलाई पनि गाह्रो हुन्छ । अनि यो बूढो ज्यानलाई पनि सकस पर्छ । तिमीले गर्नुपर्ने काम गर्न परेपछि त...।’ शोभा मुहारभरि शारदी मौसम फिजाउँदै ‘अरू बेला नसके पनि यो नौरथाभरि आफैले कातेको बत्ती बाल्न पाए कति राम्रो हुन्थ्यो’ भन्छिन् ।
आफूसँगै राखेको मोबाइलको रिङ टोन बजेपछि शोभाका आँखा कसले फोन गरेछ भनेर हेर्न आतुर हुन्छन् । हिजोआजको आधुनिक समयले दिएको सबैभन्दा प्रिय साथी मोबाइल बनेको छ, शोभाका लागि । स्क्रिनमा छोरा कलिङ भन्नेदेखेपछि हतार हुन्छ उनलाई छोराको आवाज सुन्न । ‘ढोग गरें आमा । अनलाइन देखिनँ भन्दै थिइन्, हजुरकी बुहारीले । अनलाइन नै आउनुस् न । उतै कुरा गरौंला ।’
छोराको कुरा सुन्नेबित्तिकै हातको काम पन्छाएर अनलाइन हुन्छन् शोभा र उनका श्रीमान् प्रकाश । मेसेन्जरमा बुहारीले साडी, सर्ट पाइन्ट, जाडोका कपडा र अन्य सामानका अनेक फोटापठाएकी रहिछन् । बुहारी कृपाफुर्सद मिलेसम्म अझ विशेष गरी चाडबाडमासासू–ससुरालाई सम्झिरहेकी हुन्छिन् ।सन्चो बिसन्चोको कुरापछि ‘यसपालिको दसैंलाई भनेर कपडाको फोटा पठाएको र हेरेर मन परेको भन्नुहोला, अनलाइन सपिङ गरिदिन्छौं’ भन्दै भिडियो कलबाट छोराबुहारी बिदा हुन्छन् । शोभा र प्रकाशले राम्रोसँग आफ्नो कुरा राख्न पनि पाउँदैनन् । सधैंका वर्षझैं यसपालि पनि मनले नमान्दा नमान्दै छोराबुहारीको कुरालाई मान्नैपर्ने हुन्छ । खल्लो मन गर्दै प्रकाश ‘सबै कपडा राम्रा छन् । तिमीहरूलाई जुन मन लाग्छ किनिदिए हुन्छ’ भनेर मेसेन्जरमा टेक्स्ट गर्छन् ।
शोभाको मन एकतमासको हुन्छ । झ्यालबाट देखिने आकाशमा उडिरहेको चङ्गाले उनको मन तान्छ । छोरा सुयोगको याद त्यही आकाशको चङ्गाले उचाइ लिएजस्तै मनभरि उचाइ लिन पुग्छ ।
सुयोग बुझ्ने भएदेखि नै चङ्गा भनेपछि हुरुक्क हुन्थ्यो । दसैंको बिदामा उसले सकिनसकी चङ्गा उडाउन थालेपछि शोभालाई पनि बल्ल दसैं आएजस्तै लाग्थ्यो । सन्तानको नाममा त्यही एउटा मात्र छोरा थियो । त्यसैले पनि सबैको आँखाको नानी । दसैंमा छोरालाई भनेजस्तै गरिदिन पाउँदा उनको मन मालश्री धुनसँग अझ धेरै मग्न हुन्थ्यो । सन्तानको खुसी न हो आमाबुवालाई अधिक प्रिय लाग्ने ।
आज पनि मालश्री धुन टिभीमा बजिरहेको छ । घटस्थापनाको बिहानी समयदेखि नै बज्ने यो धुनले विगतका वर्षहरूमा उनीभित्र उमङ्गका धुनसिर्जना हुन्थे । मन चङ्गाजस्तै हलुका हुन्थ्यो । दसैंको चटारोले जति चाङ लगाए पनि उनी हाँसीखुसी ती काम सहजै सिध्याउँथिन् । चाँडै उठेर घर लिपपोत गर्नु, पूजापाठ गर्नु, मन्दिर जानु, गाईगोठ हेर्नु, भातभान्सा उतार्नु उनलाई केही लाग्दैन थियो । त्यसमा अझ दसैंको किनमेल गर्न पाउँदा औधी खुसी हुन्थिन् । सप्तमीअगाडि नै घरको बाहिरी गारो रातोमाटोले टलक्क टल्किने गरी पोत्थिन् । घरभित्रका कोठामा कमेरो माटोले पोतेर सिंगार्थिन् । घर पोत्दाको माटोको सुगन्ध अति मीठो लाग्थ्यो शोभालाई । सप्तमीका दिनदेखि उनको घरमा दसैंको रौनकताले अझ गाढा रङ पोत्थ्यो । घरमा हुने विशेष पूजाका साथै शक्तिपीठहरूमा हुने पूजाआजामा रमाउँथिन् । मासुका विभिन्न परिकार पकाउन व्यस्त हुन्थिन् । घरका सदस्यले मीठो मानेर खाइदिँदा उनी आफूलाई माता अन्नपूर्ण नै मान्थिन् । हरेक वर्षको दसैंमा छोरा सुयोगको रुचिअनुसारका मासुका परिकारहरू पकाउन पाउँदा, दसैं उनलाई त्यसै मन पर्ने चाड लाग्थ्यो । छोरा अलि सानो हुँदा घरकै दलानमा पिङ हालिदिन्थिन् । चचहुई भन्दै छोराले पिङ खेल्दा पाएको खुसीमा उनको मन पनि पिङसँगै झुल्थ्यो । दसैंसँग जोडिएका हर कुराले उनलाई छुन्थ्यो । मसिना–मसिना कुरामा अपार सन्तुष्टि प्राप्त गर्थिन् । खुसीका मालाउन्थिन् र दसैंलाई उत्सवका रूपमा मनाउँथिन् ।
सबै कुरा बन्द घडीको सुई रोकिए जसरी कहाँ रोकिन्छ र । परिवर्तन प्रकृतिको शाश्वत नियम हो । शोभाको घरमा पनि यो परिवर्तनले छोयो । छोरा सुयोगको उमेरसँगै उनका खुसीमा पनि परिवर्तनका रेखाहरू कोरिन थाले । उच्च शिक्षा अध्ययनका लागिअमेरिका उडेपछि शोभालाई केही वर्ष छुट्टै खुसी, गर्व नलागेको त कहाँ हो र । ओहो ! छोरा अमेरिका पढ्न गएको छ भन्ने कुराले मात्र पनि त्यसै फुरुङ्ग हुन्थ्यो शोभाको मन । साथीभाइ एवं आफन्तसँग कुरामा कुरा पर्दा धाक र रवाफ पनि चुलिन्थ्यो ।
सुयोग अमेरिका गएपछि शोभा र सुयोगको जीवनका केही वर्ष यसरी नै बिते । अमेरिका गएको केही समयपछि सुयोगको भेट कृपासँग भएको थियो । कृपा पनि अध्ययनकै सिलसिलामा उतै पुगेकी थिइन् । उनीहरू बीचको चिनजानले मित्रताको आत्मीय साथ पायो । पछि मित्रताले गहिरो प्रेमको रूप लियो । अमेरिका जस्तो ठाउँमा एक्लै बसेर पढाइसँगै गाँसबासको जोहो गर्न गाह्रो हुने देखिएपछि दुवैले विवाह गर्ने सल्लाह गरे ।घर सल्लाहअनुसार दसैंको समय पारेर विवाह गर्न र दसैं मनाउन उनीहरू नेपाल फर्किए । घटस्थापनाको दिन शुभदिन पारेर सुयोग र कृपाको विवाह भयो ।
छोराको मनले खाएको, रूपमती, संस्कारी केटीलाई बुहारीका रूपमा भित्राउन पाउँदा शोभाले आफूलाई संसारकै भाग्यमानी ठानिन् । छोराबुहारी डेढ महिना नेपाल बसुन्जेल उनलाई हर समय उत्सवमय लागेको थियो । चाडबाडको समय भएकाले कृपाले परिवारलाई र परिवारले कृपालाई बुझ्ने राम्रो मौका पाएका थिए । त्यो वर्षको दसैं र तिहारमाचारै सदस्यले मिलेर घरभित्रर बाहिरको काम गरे । आपसमा खुसीबाँडे । छोराबुहारीको बिदा सकिएपछि उनीहरूले गह्रुङ्गो मनले बिदा गरे ।
त्यसपछिका दसैं शोभा र प्रकाशका लागि खल्लो हुँदै गए । जतिजति वर्षहरू थपिँदै गए, उतिउति उनीहरूलाई दसैं नरमाइलो लाग्दै गयो । अहिले त उनीहरूका नातिनातिना पनि भइसकेका छन् । पछिल्लो सन्तानका रूपमा नातिनी जन्मिदा शोभा र प्रकाश तीन महिनाका लागि अमेरिका पुगेका थिए । आफ्ना नातिनातिनालाई आँखा अगाडि देख्न पाउँदा जीवनकै स्वर्ण समय भयो उनीहरूका लागि ती तीन महिना । त्यसपछिका समय भने उही भिडियो कलमा देखेको र सुनेको भरमै चित्त बुझाउनुपर्‍यो । धन्न सामाजिक सञ्जालले आफूबाट टाढा पुगेका आफन्तलाई जोड्ने काम गरेको छ ।
शोभालाई यो वर्षको दसैं सँगै मनाउने ठूलो धोको थियो । इच्छा त अघिल्ला वर्षहरूमा पनि थिए । छोराबुहारीलाई ‘दसैंमा घर आओ न यो पालि’ त भन्थिन् । तर उनीहरूका आ–आफ्नै बाध्यता थिए । उनीहरू ‘यतै अमेरिकामा आउनुहोस्’ भन्थे । शोभा र प्रकाश भन्नेबित्तिकै गइहाल्न पनि सक्दैनथे । छोराबुहारीले यसपटक पनि विगतका दसैंमा जस्तै अनलाइनबाटै किनमेल गरिदिएका छन् । प्रकाश र शोभा ‘आफूलाई चाहिएका सामान आफै किन्न सक्छौं । किन तिमीहरूले त्यति टाढाबाट सपिङ गराइदिनुपर्छ र ?’ भन्थे । छोराबुहारी पनि ‘हाम्रो जिम्मेवारी पनि त छ नि । हामीले केही नगरे जस्तो हुन्छ’ भन्थे । आफ्ना सन्तान साथमा भए पो चाडपर्व रमाइला हुन्छन् । छोराबुहारीले किनिदिएका महँगा कपडाभन्दा साथ पो ठूलो हुन्छ । सुयोग नेपालमा छँदा घरमा दुःख थियो । तर मन खुसी थियो । अहिले सुख छ । तर मन दुःखी छ ।
यसपटकको दसैंका सबै दिनयसरी नै बित्छन् । दुई जना बूढाबूढी बिहानै देवीका शक्तिपीठहरू धाउँछन् । सन्तानका लागि मङ्गलको कामना गर्छन् । मन हलुका बनाउन खोज्छन् । अष्टमी, नवमीको दिनमा पहिले जसरी मिष्ठान्न भोजन पाकेनन् । मनले चाहे जसरी खान, पिउन अहिले त शरीरले पनि साथ दिँदैन । परिवारका सबै जनासँगै भएको भए कस्तो हुन्थ्यो भन्ने कुराले मात्र मनमा डेरा जमाउँछ ।
दशमीका दिन मन भारी गरेर शोभाले टीकाका लागि सामान जुटाउँछिन् । आँखा भने छोराबुहारी, नातिनातिनी कुन बेला अनलाइन आउँछन् भनेर मोबाइलतिरै सोझिएका छन्, साइतको टीका लगाउन । अनलाइन कुरिरहँदा आँखाभरि आँसुले पोखरी बनाइसकेको छ ।

 Image