कालो छिद्रमा सम्पूर्ण ग्रह पसेझैं अँध्यारोमा गुटुमुटिएको थियो औंसीको त्यो रात ।
अँध्यारोमा यदाकदा जुनकिरीको पुच्छर पिलपिलाउँदा आकाशको अस्तित्वले अझ ब्रम्हाण्ड छ भन्ने अनुभूतिले खुसी तुल्यायो ।
पर–परबाट आएको डरलाग्दो आवाजले मलाई त्रसित बनायो । स्याल, लोखर्के, कुकुर र लाटोकोसेरो आदि एकोहोरो कराउँदा शरीर चिसो भयो । सुदूरबाट आएको अनौठो मानव आवाजले सचेत बनाउँदै लग्यो ।
पल्टिसकेकी थिएँ, ओछ्यानमा तर कहाँ आँखा लाग्न दियो र, परबाट आएको आवाजले तानेपछि जुरुक्क उठेर बसें । श्वासको गति मन्द बनाएर त्यो आवाज सुन्दै गएँ । त्यो कुनै महिलाको आवाज थियो ।
त्यो हृदयविदारक आवाज दक्षिणतिरबाट आएकाले मेरो सम्पूर्ण ध्यान त्यतै खिचियो । बिस्तारै दक्षिणतिरको झ्याल खोल्न खोजें । झ्याल खोल्न खोज्दा घ्वा¥याक्क ग¥यो । बाहिर अँध्यारोबाहेक केही देखिएन।
माइजू बीचको कोठामा निदाउनुभएको थियो । घ्वारघ्वार घुरेको आवाज आयो । पुनः झ्याल खोल्न खोज्दा जोडले घ्वा¥याक्क ग¥यो । त्यही आवाजले माइजू बिउँझनु भएछ ।
‘भान्जी दक्षिणतिरको झ्याल नखोल्नू । त्यता चिहान छ । रातिराति चिहान रुन्छ । अझ आज त औंसीको कालो रात हो । झ्यालमुनि मूलबाटोपर्छ । घाट नजिकै छ । शव जलाउन यतैबाट जान्छन् मलामीहरू । राति बाह« बजेपछि घाटतिरबाट डरलाग्दो आवाज आउँछ ।’ पछि माइजू मस्त सुत्नुभयो । माइजूको कुराले म झसङ्ग भैसकेकी थिएँ ।
मुटु चिसो भयो । धेरैमा मामाघर आएकै दिन चिहान रुन्छ भन्दा डरले काम्न थालें । म सुत्ने कोठातिरबाट त्यो आवाज आउनुपर्ने ? मेरो कस्तो दुर्भाग्य बल्लबल्ल छुट्टीको आनन्द लुट्छु भन्ने सपनाको तुषारापात भयो ।
धेरै डर लाग्यो । खलखली पसिना आए । झ्याल खोलेर खोलाबाट आएको कलकल आवाजमा संगीतसँग नाच्न चाहन्थें । ग्रामीण परिवेशमा चुर्लुम्म डुब्न चाहन्थें । तर सोचेको कुरा कहाँ सबै पूरा हुन्छ र ?
घन्टौं लगाएर सानैमा मामाघर आउँदा, न त हजुर आमाले, न त आमाले नै चिहान रोएको कथा सुनाउनुभएको थियो । जब म बुझ्ने भएर यहाँ आएँ अनि किन यस्तो चिहान रोएको घटना सुन्नुप¥यो ? मनोवादमा रुमलिँदै कतिखेर निदाएँ थाहै भएन । त्यो रात सायद चिहान रोयो कि रोएन पत्तै पाइन तर मेरो मन रोइरह्यो ।
मामाघरको समाज र भूगोलबाट बिल्कुलै अञ्जान थिए । बिहान माइजूलाई सोधें, ‘माइजू कस्तो आवाज आउँछ चिहानबाट ?’
मलाई भूतप्रेतका कथा सुन्न रमाइलो लागे पनि निकै डर लाग्थ्यो । तर अहिले मलाई भूतदेखि डरलाग्न छाडेको छ । बरू भूतजस्ता जिउँदा मान्छेदेखि डर लाग्छ ।
तर पनि भूतप्रतिको उत्सुकता मरिसकेको थिएन ।
कराहीभरि अगेनामा भैंसीको दूध तातिरहेको थियो । म पनि अगेनामा आगो ताप्दै दूध तातेको दृश्य रमाइलो मानेर हेर्दै थिएँ । अचानक राति चिहान रुन्छ भनेको कुराले आकुलव्याकुल पा¥यो अनि माइजूलाई घच्चघच्याउँदै सोधें–
‘माइजू भन्नू न कस्तो आवाज आउँछ चिहानबाट ?’
‘भान्जीलाई रातभरि निद्रा परेन कि के हो ? मैले पनि भनिहालें । भान्जी डराइन् । केही होइन भान्जी मैले उसै भनेको ।’
माइजूले कुरा लुकाउन खोज्नुभयो ।
मेरो जिद्दी रोकिएन, ‘भन्नुहोस् माइजू मलाई पीडा हुन्छ हजुरले भन्नुभएन भने।
न म खान सक्छु, न हाँस्न सक्छु । दिमागमा खाली त्यही कुरा मात्र आउँछ ।’
मेरो जिद्दी टार्न सक्नु भएन अनि भन्नुभयो, ‘भान्जी धेरै वर्षमा आउनुभएको छ । घाटतिर नजानू । घाटतिर छोरी मान्छे जानु हुँदैन । घाटको मसान लाग्यो भने ठूलो कष्ट हुन्छ । मध्यरातमा त्यहाँबाट सानी केटी रोएको आवाज आउँछ । कहिले ठूली आईमाई ।
कहिले बैंस चढेका युवतीहरू हाँसेको आवाज आउँछ त कहिले आईमाईले सरापेजस्तो । कहिले बचाऊ–बचाऊ भन्दै रोएको आवाज आउँछ भान्जी त्यहाँ पोहोर पहिरोले बगाएर ल्याएको आमाछोरीको शव भेटिएको थियो । तिनै आमाछोरीको आत्मा रून्छ ।
म छक्क परें । हे प्रभु भूत पनि आईमाईले नै बन्नुपर्ने ? कम्तीमा आईमाईले भूत बनेपछि त अरूलाई तर्साउनू नि ? के आफै रोएको होला ?
जिउँदा नारी कम भड्किएका छन् । ह्दयको चिहानमा ? कसले सुन्न सक्छ नारीको ह्दयमा गाडिएका चिहानहरूको कथा र व्यथा ?
मरेर पनि आईमाईले नै भड्किनुपर्ने थुक्क जुनी ।
के पुरुषको आत्मा मरेर पनि सोझै स्वर्गमै जानुपर्ने ? पुरुष भूत हुँदैनन् ? आगो ताप्दै आफ्नै मनको ठेकीमा मदानी घुमाउन थालें । बेलाबेला अगुल्टो झोस्दा रिस पोख्दो रहेछु अनि ओदान हल्लिएर दूध पनि छच्ल्किने रहेछ । अगेनाबाट केही नबोली उठें र घरपछाडि गोठतिर गएर खस्रेटोको रुखलाई टकटकी बाँधेर हेर्दै थिएा ।
केही गाउँ र अलिअलि सहरजस्तो मेरो मामाघर शान्त र सुन्दर ठाउँमा थियो । कलकल गर्ने सङ्लो पानी मानिसको प्यास मेटाउन करुवा खोला कँुदिरहेको थियो । बाँसका झ्याङहरूले सुरक्षा सीमाको काम गरिरहेका थिए । जताततै बाँसघारी नै बाँसघारी । त्यो बाँसको घेराभित्र सम्पूर्ण गाउँ सुरक्षित थियो ।
कमेरे गाउँभन्दा पनि हरियाली गाउँभन्दा फरक नपर्ने हरियाली थियो कमेरे गाउँमा । हिजोआजका घरमा कहाँ पाउनु कमेरो पोतेको । त्यतिबेला यो गाउँका घरहरू सेतो कमेरोले पोतिएकाले गाउँको नाम नै कमेरे गाउँ रहन गयो । हिजोआज त सबैका घरमा सिमेन्ट लगाइएको छ तर पनि ‘सिमेन्टी गाउँ’ कसैले भन्दैनन् ।
मत बाँसघारी नेर पुगेंछु । बाँसको झ्याङबाट कोइलीले बोलाएझैं लाग्यो ।
थरीथरीका चराहरूको बस्ने ठाउँ बाँसको झ्याङ हुँदोरहेछ । भँगेरा, ढुकुर र रातो, हरियो लामो पुच्छर भएका सुगाहरू पनि थिए । बाँसको झ्याङभन्दा निकै पर एउटा एकतले सानो घर (पाटी) देखें । पाटीको छेउमा मान्छे पोल्ने घाट थियो । मैले त्यही दृश्यलाई बाँसको झ्याङबाट देखें । असरल्ल मान्छे पोलेका मूढाहरू । कान्लामा मरेका मान्छेका लुगाफाटा छरिएका । तर मेरो कल्पनाको आँगनमा पाटीभित्रका दृश्यहरू बिलुप्त थिए ।
त्यो घाट र पाटीले मलाई बोलाइरहेको थियो । अनि मामाघरतिर फर्किएर मामाको छोरोलाई फकाउँदै भनें, ‘भाइ आज तँ र म घाटतिर घुम्न जाऊँ ।’
भाइ तीनहात माथि उफ्रिँदै करायो, ‘आबुइ त्यहाँ त दिउँसै भूत बस्छ म त जान्न । त्यो भूत जिउमा चड्यो भने मान्छे रगत छादेर मर्छ । भूत नचढे पनि त्यहाँ गएको बाले थाहा पाए मार्छन् दिदी बरू, अर्को बाटो खोलातिर जाऊँ ।’
म रहस्यमय घाटको वास्तविकता जान्ने इच्छाले खोलातिर गएँ । खोलामा गाउँका अरू स्वास्नीमान्छेहरू पनि नुहाउन आएका रहेछन् । सबैजना त्यो रहस्यमय घाट अनि त्यो नारी चित्कारको कुरा गर्दै थिए । मलाई चिसो पानीमा चोपलिँदा पनि शान्ति महसुस भएको थिएन ।
‘हिजो राति घाटमा आईमाई कराएको जस्तो त लागेन । के हो त्यो घाट छोडेर त्यो पिसाच अन्तै अलप त भइन ? ‘घुँडासम्म गोडाहरू पानीमा डुबाएर माछाका भुराहरूको स्पर्श महसुस गर्दै थिए । पछाडिको कुरा सुन्न आतुर भएर म पनि पाखामा निक्लिँदै सानो ढुंगाले कुर्कुच्चाको मयल रगड्दै कान उनीहरूको पछाडि छोडिदिएँ ।
‘त्यो घाटमा धेरै कुकुर जान्छन् तर एउटै कुकुर पनि मर्दैनन् । लोग्नेमान्छे चाहिँ त्यहाँ जानैपर्ने । गएर पनि उनीहरूले रगत छाद्नु नपर्ने । आईमाईको शव पनि त्यही लैजाँदा खरानी हुने अनि त्यो घाटको छेउछाउ जिउँदै आईमाई जान नहुने ?
के हो कुकुरलाई पनि नमार्ने लोग्नेमान्छेलाई पनि केही नगर्ने । केटाकेटी र आईमाईलाई मात्र खेदो गर्ने कस्तो भूत बस्छ त्यहाँ ? लक्ष्मी माइजू चर्किनुभयो ।
खोलाबाटसरासर आफ्नो कोठामा गएँ । झ्याल खोलेर दक्षिणतिर हेरिरहें । भोलि सबै शिखरतिर जानुपर्छ भन्दै हुनुहुन्थ्यो माइजू । तर मलाई शिखर जाने जाँगर थिएन । मैले नछुने भएको बहाना बनाएर घाट हेर्न जाने योजना बनाएँ ।
झिसमिसेमा सबै उकालो लागे । तर म बाँसघारीबाट तल झरें । घाटनजिक देखिने रहेछ । झन्डै एक घन्टा लाग्यो । पाटीभित्र केही चलमलाएको आवाज आयो । मुटु चिसो भयो । मनमनै हनुमान चालिसा पढ्न थालें । त्यहाँ ठूलो कुलो रहेछ । कलकल पानी बगिरहेको थियो । जोडले हाँसेको आवाज आयो । म आत्तिएँ । बोराभित्र एउटा आकृति चलमलाउँदै थियो । मधानबारीमा लुकें । त्यो आकृतिले पानी पियो । छाला र मासु नभएको अस्थिपञ्जर मात्र बाँकी भएको मानव कंकाल हिँडेको देखी मैले आँखा चिम्लेर प्रार्थना गर्न थालें । पारिबाट तन्नेरीहरू आउँदै थिए । मेरो सातो गयो । म धानमा लम्पसार परें ।
तन्नेरीहरू त्यही कंकालमाथि गएर हड्डीमाथि खलाँती लाउन थाले । कंकाल चिच्याइरह्यो–‘असती, मुर्दार, कीरा पर्न नसकेको तँलाई पख तातो तेलमा चोपल्छन् ।’ ह्वाँह्वाँ गर्दै त्यो कंकाल रोयो । नशाले उन्मत्त साँढेहरू साँघुरो आलीको बाटो साँघुरो चित्त लिएर हिँड्दै गए । उन्मुक्त हाँसो हाँस्दै गाउँतिर लागे । पहाड थर्कने गरी त्यो कंकाल रोयो, कंकालसँग चिहान रोयो, म रोएँ, पाटी रोयो, सम्पूर्ण पाखाहरू रोए, यावत् मानवता रोयो ।