Successfully Copied

नलुक्ने कुरा

‘घरव्यवहार नहेर्ने, बरालिएर हिँड्ने र स्वास्नीलाई माया नै नगर्ने लोग्ने घरमा नहुँदा के फरक पर्छ र साइँली दिदी ?’

आज पनि साइँलीको एउटा भेडा मरेछ । म मर्निङवाकबाट फर्किंदै गर्दा बाटोमा साइँलीसँग भेट भयो । ऊ एक हातमा साबेल बोकेर अर्को हातले चाहिँ मरेको भेडा घिसार्दै थिई । ऊ खोलाको बगरमा खाल्डो खनेर त्यही मरेको भेडा गाड्न जाँदै थिई । नगरपालिकाले खोलामा सिनो फाल्न मनाही गरेको छ ।
‘फेरि भेडा मर्‍यो साइँली दिदी’ ?’
उमेरले साइँली मभन्दा कान्छी होली । तर सबैले उसलाई साइँली दिदी भन्छन् । मैले पनि कहिलेकाहीँ दिदी भन्दाभन्दै पछि बानी नै पर्‍यो । उसले कहिल्यै आपत्ति जनाइन । पहिला–पहिला त मैले दिदी भन्दा कुन्नि के सोचेर हो, फिस्स हाँस्थी । अहिले त्यसो पनि गर्न छोडेकी छे । सायद उसलाई पनि मलाई जस्तै बानी परेको होला अथवा जे भने पनि ठीकै छ भन्ने सोचेकी होली । यो उसको व्यक्तिगत स्वतन्त्रताको कुरा हो । यस्तो स्वतन्त्रता संविधानले सबैलाई दिएको छ । संविधानप्रदत्त स्वतन्त्रताको उपभोग गर्नु नैसर्गिक अधिकार हो ।
साइँली सुख पाउने आशामा पहाडबाट सहर झरेकी थिई । भन्नैपर्दा ऊ घरबाट भागेकी थिई । ऊसँगै अरू केही जेठी, माइली, काइँली र कान्छीहरू पनि गाउँमा घाँस–दाउरा गर्दागर्दै, गोठालो जाँदाजाँदै र भकारो सोहोर्दासोहोर्दै अलि सुखको जीवन जिउने लालसाले सहर झरेका थिए । तर सहरमा पनि जिउनका लागि गर्नैपर्ने संघर्षले उनीहरूलाई कहिल्यै छोडेन । पढाइलेखाइ थिएन । हातमा कुनै बिकाउ सीप पनि थिएन । यस्ता मान्छेले गर्ने भनेकै ज्यालामजदुरी नै हो सहरमा ।
गाउँतिरकै चिनजानका दाइ र काकाहरूले उनीहरूलाई घर बनाउने ठेकेदारलाई भेटाइदिए । ठेकेदारले उनीहरूलाई भिन्नभिन्न ठाउँमा घर बनाउने काममा बालुवा चाल्ने, इँट्टा बोक्ने र सिमेन्ट घोल्ने काममा लगाइदिए । त्यही काम पनि उनीहरूले खुसीसाथ गरे । सुरुमा नजाने पनि गर्दै जाँदा त्यस्तो काम सिके । आखिर काम गर्नु नै थियो । खान, लाउन र कोठाभाडा तिर्न नकमाइ सुख थिएन सहरमा । काम नगरी एक छाक कसैले खुवाउँदैन सहरमा । भोकले सडकमै लडेको देखे पनि कसैले कठै पनि भन्दैनन् सहरमा । यति कुरा उनीहरूले सहर आएपछि नै थाहा पाए ।
काम गर्दै जाँदा ठेकेदारसँगै माया बस्यो साइँलीको । ठेकेदार पनि साइँलीको कलकलाउँदो जवानीसँग लोभियो । दुवै जना चुम्बकले तानिएजस्ता भए । टाढा हुँदा झल्को आउने र नजिक ह्ुँदा चुम्बकजस्तै टाँस्सिने बानी पर्‍यो दुवैलाई । छुट्टिनै नसक्ने भएपछि सुटुक्क सँगै बस्न थाले । सँगै बस्न थालेपछि लोग्नेस्वास्नी भइहाले । धन्न त्यो ठेकेदार विवाहित रहेनछ । यो कुरा साइँलीले उसकी स्वास्नी भइसकेपछि मात्रै सोची । सौता बेहोर्नु नपर्दा साइँली ढुक्क भई ।
घर बनाउने कामसँगै उनीहरूको सपना सजाउने र मायामा रमाउने काम पनि चलिरह्यो । पापी कोरोनाले मान्छेलाई सोत्र्याम्म पार्न थालेपछि सबै काम ठप्प हुन थाल्यो । बन्दाबन्दीमै बित्यो केही महिना । बन्दाबन्दी त खुल्यो, तर पहिलेजस्तो काम कम भयो । उनीहरूको काम पनि घट्दै गयो । काम पाउन पनि प्रतिस्पर्धा गर्नुपर्ने भयो । एकदिन यस्तो दिन पनि आयो कि उनीहरू कामविहीन भए ।
स्वदेशमा काम पाउन छाडेपछि कति लोग्नेमान्छे घरखेत बन्धकी राखेर विदेश गए । कोही कतार गए । कोही मलेसिया गए । कोही दुबई गए । कोही युएई गए । पढ्नलेख्न जान्नेहरू कोरियन भाषा परीक्षा पास गरेर कोरिया पनि गए । विदेश गएका लोग्नेहरूले पैसा पठाउन थालेपछि स्वास्नीहरूको रहनसहन अर्कै भयो । बाँच्ने र बोल्ने तरिका नै अर्कै भयो । लाउने र खाने त अझ अर्कै भयो । साइँलीचाहिँ हेरेको हेर्‍यै भई ।
साइँलीको लोग्नेसँग बेच्न वा बन्धकी राख्न एक टुक्रा खेत अथवा बारी पनि थिएन । मात्रै एउटा घर थियो । त्यो पनि अरूको घर बनाउँदा–बनाउँदै बनाएको । घरै बेचेर अथवा बन्धकी राखेर विदेश जाने सोच साइँली र उसको लोग्नेको मनमा कहिल्यै आएन । घर बन्धकी राखेर अथवा बेचेर विदेशमा काम गर्न जाने आँट साइँलीको लोग्नेले कहिल्यै गर्न सकेन । यति आँट गर्न नसक्दा ऊ आफैले पनि हीनभाव र लघुताभासले ग्रस्त हुनुपर्‍यो । पदमा नरहेको नेता शक्तिहीन भएजस्तो, ऊ पनि पैसा नभएर शक्तिहीन हुँदै गयो । पैसा भए मात्रै सबै आफ्ना हुँदा रहेछन् । यस्तो अनुभव उनीहरूलाई पैसा नभएपछि भयो ।
साइँलीको घर त थियो । तर घरले मात्रै खानलाउन नदिने रहेछ । काम र पैसा दुवै नहुँदा मान्छे झनै बरालिने रहेछ । साइँलीको लोग्ने पनि बरालिन थाल्यो । अब के गर्ने होला भन्ने पिरलोमा रहेकी साइँलीले भेडा पाल्ने सोची । उसले जानेको अर्को काम त्यही थियो । पहाडमा भेडाबाख्रा स्याहारेको अनुभव थियो ऊसँग । उसले सहरमा पनि त्यही काम गर्ने भई । अन्ततः उसले सुरुमा दुईवटा भेडा किनेर पाल्न थाली । दुईवटाबाट क्रमशः चार, छ, आठ हुँदै एक बथानै भए । टोलमा उसको घरको अलग्गै परिचय बन्यो । मान्छेहरूले भेडा पाल्ने घर भनेर चिन्न थाले । कसैले आफ्नो घरको ठेगाना दिनुपर्दा ‘भेडा पाल्ने घरसँगै’ भन्न थाले ।
‘आ, मर्‍यो नि फेरि ।’
घरदेखि मरेको भेडा घिसार्दा साइँलीको हत्केलामा डोरीको डाम बसेछ । साबेल र डोरी भुइँमा बिसाएर ऊ हात सुमसम्याउन थाली ।
‘हातै दुखिसक्यो,’ साइँलीले मतिर हेरेर भनी । म फिस्स हाँसिदिएँ मात्रै ।
‘साइँली दि’ का भेडा धेरै भए । किन बेच्नुहुन्न ?’
‘किन्न हत्तपत्त कोही आउन्नन् । म आफू बेच्न कहाँ जाऊँ ?’
साइँलीका भेडा जन्मने र मर्ने क्रम उस्तै छ । कुनै दिन जन्मिएको हुन्छ । कुनै दिन मरेको हुन्छ । फरक यक्ति हो, कहिले जन्मने त्रमले जित्छ । कहिले मर्ने क्रमले । साइँलीका घरगोठमा अहिले पनि तीस–पैंतीस वटा भेडा छन् । कहिलेकाहीँ किन्ने ग्राहक आउँछन् । अनि त्यही दिन भेडा बेचेको पैसा राख्ने निहुँमा साइँली र उसको लोग्नेको बीचमा झगडा पर्छ । साइँली भन्छे, ‘भेडा मैले पालेकी हुँ । भेडा बेचेको पैसा पनि मै राख्छु ।’ उसको लोग्ने भन्छ, ‘घरव्यवहार म हेर्छु । तँलाई किन चाहियो पैसा ?’ महिलाको हक–अधिकार कहाँ सुरक्षित छ र ? महिलाको अधिकारमाथि जहाँ र जहिलेसुकै हस्तक्षेप भएकै छ ।
अन्त्यमा आधा–आधा बाँड्ने सर्तमा सहमति हुन्छ । साइँलीको चाहिँ मन कुँडिन्छ, दुःख गरेर भेडा पाल्ने ऊ, लोग्नेले सित्तैमा आधा पैसा लियो भनेर । लोग्नेले त्यो आधा पैसा भट्टीमा जाँड खाएर सकाउँछ । घरव्यवहारचाहिँ साइँलीले त्यही आधा पैसाले नै चलाउनुपर्छ । लोग्नेले घरव्यवहार चलाउँछु भन्ने त मुखले मात्रै हो । देशको सत्ता पुरुषको हातमा छ । यहाँ घरको सत्ता महिलाको हातमा छ । देशको सत्ता चलाउनेको हातमा शक्ति पनि छ । तर घरको सत्ता चलाउने साइँलीको हातमा शक्ति भने छैन । त्यो त उसको लोग्नेकै हातमा छ । त्यसैले त्यही शक्तिको प्रभाव र दबाबमा परेर बेला–बेला ऊ शोषित भइरहन्छे ।
बेलुकी सधैँ जाँड खाएर आउँछ साइँलीको लोग्ने । स्वास्नीसित झगडा गर्न उसलाई कुनै निहुँ चाहिँदैन । एकदिन साइँलीको लोग्ने ठूल्ठूलो स्वरमा कराउँदै थियो, ‘तँलाई अबदेखि भेडा नपाल् भनेको होइन । घरै गनाएर बस्न नहुने भइसक्यो । भनेको बुझ्ने होइन । भेडा चराउँदा–चराउँदै तँ पनि भेडाजस्तै भइसकिस् र तेरो बुद्धि पनि भेडाको जस्तै भइसक्यो, एकोहोरो ।’
‘सफासुग्घर गर्नुपर्‍यो नि । अनि गनाउँदैन,’ साइँली पहिला–पहिला यसो भन्थी । अचेल भन्दिनँ । त्यसो भन्यो भने उसको लोग्नेले झगडा गर्न निहुँ खोज्थ्यो ‘मेरो काम तेरो भेडाको फोहोर सोहोर्ने हो’ भनेर । यही कुरामा कतिचोटि लोग्नेको कुटाइ पनि भेटिसकी साइँलीले । त्यसैले अचेल केही भन्दिनँ ।
साइँलीले भेडा पालेको छरछिमेकीलाई पनि मन परेको छैन । पहिलो कुरो, साइँलीको भेडीगोठको फोहोरको गन्ध छरछिमेकसम्म फैलिन्छ । दोस्रो कुरो, साइँलीले भेडा चराउन लाँदा र ल्याउँदा भेडाहरूले बाटोमा फोहोर गर्छन् । भेडालाई स्याहार्दा–स्याहार्दै साइँली आफै पनि भेडाजस्तै फोहोरी देखिन्छे । भेडाको फोहोर लतपतिएका उसका लुगाबाट आउने गन्धले मान्छेहरू उसको अगाडि पर्न चाहँदैनन् । घिन मान्छन् । भ्रष्टाचारीलाई सम्मान र सुकुलगुन्डालाई इज्जत गर्ने समाजले साइँलीजस्ती स्वाभिमानीलाई कहाँ इज्जत गर्छ र ? त्यो श्रमको सौन्दर्यलाई कसले चिन्छ र ?
एकदिन म अफिसबाट फर्किंदा साइँली दैलामा बसेर रुँदै थिई ।
‘के भो साइँली दिदी’ ?’
‘चार दिन भइसक्यो । बूढा घर आएका छैनन् ।’
‘आउलान् नि । किन चिन्ता गर्नुहुन्छ ?’
‘पहिला–पहिला त राति नआए पनि बिहान सबेरै टुप्लुक्क घर आउँथे । यसपालि त चार दिन भइसक्यो...?’
नारी धरती हुन् । छातीमा कुल्चेको पनि सहन्छिन् । जँड्याहा र स्वास्नी कुटुवा लोग्नेप्रति साइँलीको माया देखेर म प्रभावित भएँ ।
चार दिन लोग्ने घर नआउँदा स्वास्नी लोग्नेको चिन्तामा रोएर बस्छे । उसैगरी चार दिन स्वास्नी घर नआउँदा लोग्नेले के गर्थ्यो होला ? इज्जत फाली, लोग्नेको इज्जत माटोमा मिलाई, घरको इज्जत लिलाम गरी भनेर अनेक आरोप र लाञ्छना लगाएर स्वास्नीसँग सम्बन्धविच्छेद गर्नेबारे सोच्थ्यो होला । अर्कै स्वास्नी ल्याउनेबारे पनि सोच्थ्यो होला । तर साइँलीले त्यस्तो सोचिन ।
‘जाँड खाएर सधैं झगडा गर्ने, आफूलाई बिनाकारण कुटपिट गर्ने र घरव्यवहार नहेर्ने लोग्ने चार दिन घर नआउँदा यति धेरै चिन्ता मान्नुपर्छ र साइँली दिदी’ ? अर्कै स्वास्नी राखेर बसेको पो छ कि ?’
साइँलीको संवेदनालाई बुझ्दाबुझ्दै पनि मैले अलिकति ठट्टा गर्दै भनें । तर साइँली गम्भीर बनी । उसका आँखाबाट आँसु बग्न थाले । मलाई आफ्नै बोलीप्रति पछुतो भयो, जुन बोली अब फिर्ता हुन्न ।
‘जँड्याहा नै भए पनि आफ्नो लोग्ने त आफ्नै हो... ।’
साइँलीले अरू पनि केही भन्न खोज्दै थिई । तर उसले भन्न सकिन अर्थात् उसले भन्नै जानिन । नपढेकी साइँलीलाई पढेका स्वास्नीमान्छेले जस्तो लोग्नेस्वास्नीको सम्बन्धका बारेमा व्याख्या गर्न आएन । स्वास्नीमान्छेको स्वतन्त्रता र अधिकारका बारेमा पनि बोल्न आएन । तर उसको मौनता र उसको अज्ञानताले नै धेरै कुरा भनिरहेझैं लाग्यो मलाई ।
‘मलाई कुटोस् कि मारोस् । ऊ मैसँग बसोस् ।’
साइँलीले थोरै बोली । थोरै बोलेर पनि साइँलीले धेरै भनी । त्यो धेरैभित्र स्वास्नीमान्छेका स्वतन्त्रता र हक–अधिकारका कुरा परे परेनन्, मलाई वास्ता भएन । तर साइँलीका दुई वाक्यले स्वास्नीमान्छेको उदारता र महानताका सगरमाथा र अन्नपूर्ण नै खडा गरेझैं लाग्यो ।
आखिर साइँली किन लोग्ने आफूसँगै बसोस् भन्ने चाहन्छे ? आफू सक्षम छु र लोग्नेलाई पाल्न सक्छु भन्ने अहम्ले कि आफू कमजोर छु र लोग्नेले पाल्छ भन्ने निरीहताले ? शिक्षित स्वास्नीमान्छेहरू पितृसत्तालाई चुनौती दिँदै मातृसत्ताको वकालत गरिरहेका छन् । अनपढ साइँली कुन कुराले अभिप्रेरित भएर अथवा कुन कुराको उक्साहटले बरालिएको लोग्ने आफूसँगै बसोस् भन्ने चाहिरहेकी छे ?
‘घरव्यवहार नहेर्ने, बरालिएर हिँड्ने र स्वास्नीलाई माया पनि नगर्ने लोग्ने घरमा नहुँदा के फरक पर्छ र साइँली दिदी’ ?’
‘फरक पर्छ नि । आफ्नो लोग्ने नहुँदा अरू धेरै लोग्नेमान्छेका गिद्दे दृष्टि पर्छन् । सपनामा पनि गिजोल्न आइरहन्छन् । त्यसमाथि शंकाले जल्ने र कुरा काट्नेहरूले काम पाउँछन् । लोग्नेको बानी परिसकेपछि लोग्ने नहुँदा आफैंलाई पनि खप्न गार्‍हो हुन्छ नि ?’
साइँलीको पिरलोमा मेरो मनमा चाहिँ अर्थशास्त्रीय र समाजशास्त्रीय विचारहरू आउँदै–जाँदै गर्न थाले ।
अरू धेरै पढेका स्वास्नीमान्छेहरू मन मिल्दासम्म लोग्नेसँग गाला जोडेका फोटाहरू सामाजिक सञ्जालका पाटोमा पोस्ट्याउँछन् र मन नमिल्दा लोग्नेसँग बस्न नचाहेर सम्बन्धविच्छेदको बाटो रोज्छन् । साइँली चाहिँ मन मिले पनि नमिले पनि लोग्नेसँगै बस्न चाहिरहेकी छे र लोग्ने आफूसँगै बसोस् भन्ने चाहिरहेकी छे । आखिर किन ?
साइँलीलाई कुन आवश्यकताले बाँधेको छ ? आर्थिक आवश्यकता र जैविक आवश्यकतामध्ये कुनको डरले साइँली भित्रभित्रै तर्सिरहेकी छे र त्यही बरालिएको जँड्याहा लोग्नेसँग बसिरहेकी छे ?
पाँचौं दिन । म मर्निङवाकमा निस्केको बेला बिहान सबेरै साइँलीको लोग्ने लुसुक्क घरभित्र पसेको देखें । जति बरालिए पनि आखिर घर सम्झेर आउनुपर्दो रहेछ लोग्नेमान्छेलाई । घरको जिम्मेवारीले । यस्तो सोच्दै हिँड्दा झ्यालमा साइँलीलाई देखें । उसको अनुहार उज्यालो थियो । ऊ सबै चिन्ता बिर्सेजस्तै निश्चिन्त देखिन्थी । लोग्ने घर फर्किंदा उसका सबै सुखहरू फर्केजस्तै ऊ खुसी देखिन्थी ।
आज मलाई देखेर साइँली मुसुक्क हाँसी । ऊ किन हाँसी ? हिजोका आफ्नै कुरा सम्झेर हाँसी कि औपचारिकतावश हाँसी ? त्यो मैले ठम्याउन सकिनँ ।
म मर्निङवाकबाट फर्केर आउँदा साइँली भेडा चराउन निस्किँदै थिई ।
‘लोग्ने घर फर्क्यो । अब त खुसी हुनुहुन्छ नि साइँली दिदी’ ?’
‘खुसी त हुनैपर्‍यो नि । स्वास्नीमान्छेलाई बाँचुन्जेल एउटा लोग्नेमान्छे नभई नहुने रहेछ । गरिबी, अभाव, दुःख, पीडा जेजस्तो अवस्थामा बाँच्नुपरे पनि स्वास्नीमान्छेलाई लोग्नेमान्छेको माया चाहिँदो रहेछ । भित्रको मनले मात्रै होइन, बाहिरको तनले पनि लोग्नेमान्छेको साथ र स्पर्श खोज्दो रहेछ । लोग्नेको आवश्यकता पूरा गर्न अन्यत्र सम्बन्ध गाँस्नेहरूभन्दा त आफ्नै लोग्नेको छातीमा लुटपुटिनु राम्रो हो नि ।’
साइँलीले यसअघि भन्न नसकेको कुरा आज खुलस्त भनी । भनेर उसले आफ्नो मनलाई हलुका पारी । आखिर यो लुकाएर पनि नलुक्ने शाश्वत कुरा हो ।
म हिँडिरहें । साइँलीले भनेको कुरा मेरो कानमा गुञ्जिरह्यो । 

 Image