म्यारिज पेपरमा हस्ताक्षर गर्न लाग्दा ऋचाका हात अनायासै थर्थराए । उनको हृदयमा नौ रेक्टर स्केलको भूकम्प गएको थियो ।
‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भनेझैं भएको थियो, उनको मनस्थिति । एकपटक धोका खाएको मन आशंकाको आँधीमा अल्मलिएको थियो । हतासिएको हृदय हड्बडाएको थियो । विगतमा ढलेको विश्वासको पर्खाल बारम्बार सादृश्य हुँदै थियो ।
समीपमै बसेको स्वप्निलले ऋचाको मनको अवस्था छामिसकेको थियो । ऋचाका कोमल हात आफ्नो हातमा लिएर चपक्क समाउँदै आफ्नो छातीमा पुर्यायो । भरोसा, विश्वास र हिम्मतको मौनता गुञ्जायमान थियो । आनन्दको ऊर्जा ऋचाको हृदयसम्म पुगेर सम्प्रेषित भयो । ऋचाको मुटुको चालबिना ब्रेकको गाडी भएको सायद मेलो पाएको थियो स्वप्निलले ।
ऋचाको हृदय शान्त पार्न ऋचालाई छातीमा टाँस्दै, उनको निधारमा विश्वास र भरोसाको ओठ चपक्क टाँसिदियो । स्वप्निलको आँखामा भविष्य मुस्कुराउँदै थियो भने ऋचाको आँखामा अतीत अमिलो भएर उम्लिएको थियो ... ।
‘हेर छोरी, तिमीले जे–जे भन्दै गयौ हामीले आँखा चिम्म गरेर मान्दै गयौं । अब तिम्रो पालो हामीले भनेको पनि तिमीले आँखा चिम्म गरेर मान्नैपर्छ । तिम्रा शुभचिन्तक हौं हामी ।’ ओठभरि मीठो मुस्कान छर्दै प्रश्नवाचक दृष्टिले बाआमालाई हेरेकी थिई ऋचाले ।
आमा, सानिमा र ठूलीआमाहरू समस्वरमा बोल्दै थिए ।
‘हेर नानी विवाह भन्ने कुरा समयमा गर्नुपर्छ । राजन जस्तो केटा कहाँ पाउनु । लाखौंमा एक छ । हीरा छ हीरा । के कमी छ र राजनमा । सम्पन्न परिवारको एक्लो छोरो । सुभानी, मिजासिलो छ । मान्छे पनि कति राम्रो । कति आकर्षक । तिमीहरूको जोडी ठ्याक्कै मिल्छ ...,’ कान्छी सानिमा ओठ नचाउँदै केटाको बखान गर्न थालिन् ।
ठूलीआमा अझ के कम केटाको परिवारको वैभवको बखान गाउन थालिन्, ‘कुनै कुराको कमी छैन तँ त रानी भएर राज गर्छेस् । भाग्य त निकै दह्रो लिएर आएकी रहिछस् नानी । त्यस्ता कुटुम्बले आफै मागेका छन् ।’
ऋचा अकमकाउँदै बोली, ‘धनी भएर शान्ति मिल्छ र मलाई किन पढाएको त यत्रो । म आफैं कमाउन सक्छु । मलाई छैन रहर सिपीको मोती भएर दरबारमा बन्दी जीवन बाँच्न ...। भन्देकी छु म अहिले विवाह गर्दिन । धेरै कर गर्नुभयो भने म भाग्छु घरबाट ... ’ क्रोधको आँखा उठाएर नाकका पोरा फुलाउँदै ऋचा उग्र भएकी थिई ।
ऋचाकी मम्मीले आँखाभरि आँसु लिएर सम्झाउँदै भनिन्, ‘हेर नानी पढाइ पनि अब त पूरा गरिस् । तैंले भनेको विषय, तैंले भनेकै ठाउँमा पढायौं । फेरि एक्लै बाहिर जाने जिद्दी पनि तेरो उस्तै छ । तर यो पटक तँभन्दा हामी जिद्दी भएका छौं । हाम्रो एउटै इच्छा छ, विवाह गरेर मात्र विदेश पठाउने । केटो अमेरिकामै बस्छ । विदेश जाने भएपछि विवाह गरेरै जा, हामीलाई ढुक्क हुन्छ । अनि कुमुद काकीले ल्याएको कुरा असाध्यै राम्रो छ । तँ बुझ्न सक्दिनस् । कुमुद काकीले तँलाई कति माया गर्छिन् । सपनामा पनि तेरो कुभलो चिताउँदिनन् । इन्जिनियर केटा त्यो पनि नेभर सेकेन्ड । काठमाडौंको मुटु महाराजगञ्जमा दरबार छ । प्रशस्त सम्पत्ति । इज्जत र प्रतिष्ठा राम्रोसँग कमाएको परिवार । उतिबेला राजाको नजिकका माछे । केटाका बुवा नै ठूला न्यायाधीश थिए, धेरै नाम चलेका ।
अत्यन्तै चलाख छ केटो । बडो भलाद्मी छन् परिवारका अरू सदस्यहरू पनि । एउटी दिदी ती पनि डाक्टर अमेरिकै बस्ने । के खोज्छेस् यहाँ भन्दा । तैंलेभन्दा बढी दुनियाँ हामीले देखेका छौं । कि जिन्दगीभर विवाह गर्दिन भन् होइन भने हामीले भनेको तैंले मान्नुपर्छ । केटाको ग्रीनकार्ड भइसकेको छ अरू के खोज्छेस् ल भन्त नानी ? सजिलै अमेरिका जान्छेस् ।’
दोस्रो विवाह स्वप्निलसँग गरेर आएकी ऋचाले बेडरूमको ढोकैनेर अतीतको दर्पण स्पष्ट देखी । करिडोरमा अर्धचेत अवस्थामा वर्तमान र अतीतका डरलाग्दा क्षणहरूलाई केलाउँदै थिई ऋचा ।
‘केटाको आनीबानी कस्तो छ ? केटाको स्वभाव कस्तो छ ? केही समय नजिक भएर उसलाई बुझ्न पाए पो त्यो मान्छेसँग जीवन सजिलै कटाउन सकिन्छ त । पुर्खाको धन र नामसँग म सती जानूँ ?’
ऋचाको निराश अनुहार देखेर सानिमाले फेरि सम्झाउन थालिन्, ‘पढाइमा त्यस्तो अब्बल भएको मान्छे कुनै हालतमा नराम्रो हुनै सक्दैन । दिदी त्यस्ती वैभवशाली छ । हेर न फोटो । हिँडेको, डुलेको, खाएको कस्तो छ परिवार । देखेसुनेको केटो पो हो त, देशविदेश चाहरेको । कुलघरानको केटो । अमेरिका बसेको केटोको सोच कति फराकिलो होला तँ आफै भन् । आँखामा हाले पनि नबिझाउने छ । म दिन्छु त्यसको ग्यारेन्टी । तँ हुन्छ मात्र भन् ।’
‘तर सोच नै मिलेन भने ? केटाको विचार कस्तो छ ? उसको र मेरो स्वभाव मिल्छ मिल्दैन । इन्जिनियर केटा र ग्रीनकार्ड बोकेकै भरमा सोझै हाम्फालौं त म ? के म अमेरिका जान सक्दिन र ? अनि मेरो आफ्नै ग्रीनकार्ड हुन सक्दैन र ? किन हजुरहरू केटाको पद, प्रतिष्ठा र ग्रीनकार्डको पछि लागेको । म त कुरै बुझ्दिनँ । तपाईंहरूकी छोरी पनि सक्षम छे क्या ।’
ऋचाले विरोध नगरेकी होइन । नेभर सेकेन्ड नभए पनि ऊ नेभर फेल चाहिँ अवश्य हो । ऋचाको पनि आफ्नो सपना छ, योजना छ, रहर छ । ऋचाले ग्रीनकार्डकै लागि आफ्नो सपनाको तिलाञ्जलि दिनुपर्ने ?
०००
ऋचाको विवाह धुमधामसँग भयो । जग्गेमा ऋचा धपक्कै बली । छ इन्च अग्लो ज्यान । दूध जस्तो स्निग्ध त्वचा । ठूलाठूला चम्किला आँखामा अन्त्यहीन सपना । भृकुटीमा टल्किएको सौम्यता । सुन्दरताको खानी । वाणीमा मधुरता । गालामा उदाउँदो सूर्यको लाली । खोट लगाउने कुनै अङ्ग छैन । हेरिरहूँ जस्ती शीतल, शान्त, सुभानी । जादूमयी मुस्कान । पूर्णिमाको जूनजस्तै, जति हेरे पनि आँखा नथाक्ने मुहारको दिव्यता । ऋचालाई एकपटक देखेको मान्छे फर्किएर नहेर्ने सायद कोही होलान् । पुरुष त के महिलाहरू पनि ऋचाको सौन्दर्यमा मोहित हुन्थे र फर्की–फर्की हेर्थे ।
केटा नै नहेरी फोटोको भरमा कुरा छिने । ऋचालाई परिवारले संवेगात्मक रूपमा सम्मोहित पार्यो । ऋचाका अगाडि केटा फिक्का देखियो । विवाहको हप्ता दिनअगाडि केटो नेपाल झर्यो । ऋचाको मन अमिलो भयो तर अब केही उपाए रहेन । भाग्य सम्झिई ऋचाले पनि । फेरि सोची रूप नै सबै थोक होइन । नेभर सेकेन्ड केटाको मस्तिष्क पक्कै सुन्दर होला । शरीरको के मोह ? यो त हाँगाबाट टिपिएको फूल न हो । विस्तारै ओइलाउँदै जान्छ ।
विवाहमा आउने सबैले जिब्रो टोके, ‘अहो, कस्तो अमिल्दो जोडी । किन हतार गरेका होलान् केटा नै नहेरी । अप्सरा जस्ती छोरी कस्तो केटाको हातमा परी । राम्री मान्छेको भाग्य अगतिलो हुन्छ भन्थे । हेरन यो केटाको त अनुहारमै घमण्डको पहाड छ । ओठ हेर्दै कति छुच्चो । भृकुटी नै अँध्यारो । कति घोप्टो परेका आँखिभौं छ्या: ...।’
घर्याक्क ढोका खुल्यो, ‘के हो बिहानदेखि करिडोरमा बसेर कसलाई सम्झिएकी । भन्दिएको छु है ऋचा अब तिमीले अरूको अस्पतालमा गएर काम गर्नुपर्दैन । जति गर्यौ, नेपालमै गर्यौ । म खप्न सक्दिनँ तिमीलाई अरूले क्वारक्वार्ती हेरेको । तिमीलाई केहीको कमी हुन दिन्न तर बाहिर गएर काम गर्ने सपना त्यागिदेऊ । मसँग मात्र तिमीले हिँड्नुपर्छ । बोल्नुपर्छ । हेर्नुपर्छ । अनि अमेरिकै भए पनि त्यो छोटो हाफ पाइन्ट नलगाऊ । तिमी त बोरामै लपेटिए पनि हेरिरहौं जस्ती देखिन्छ्यौ । म खप्न सक्दिनँ मेरी स्वास्नीलाई अरूका लोभी आँखाले छोएको ।
तिमी मेरी हौ मात्र मेरी । मेरी मुटुलाई म शोपिस बनाउन सक्दिनँ । तिमीलाई नहेर्ने कोही छैनन् यहाँ । मेरो भाग्यको डाहा गर्छन् मेरा साथीहरू पनि । सबैको ओठमा डरलाग्दो लोभ देख्छु । बाई गड, मलाई तिमी यति सुन्दर छौ भन्ने थाहा भएको भए, कसम म विवाह नै गर्दिन थिएँ । तिमी त आँखाको नानीमा सजाउने अमृत हौ... बाहिर लरीबरी गरेर हिँड्ने भुइँकुहिरो होइनौ ।’
‘... ऋचा के सोचिरा, आऊ चिया बनाएर ल्याएको छु उठ । तिम्रो बायोटाडा मलाई देऊ है । भोलि समीरलाई दिन्छु । ऊ राम्रो सर्जन हो । मेरो बेस्टी । मेरो अफिस नजिकै छ उसको हस्पिटल । मैले कुरा गरिसकेको थिएँ । सबै प्रकिया पूरा भएपछि तिमी पनि आफ्नो काममा रमाउँछ्यौ । प्राक्टिस हुन्छ तिम्रो पनि ...। घरमा बस्दा बस्दा मान्छेको मस्तिष्कमा खिया लाग्छ ।’
स्वप्निलको कुरा सुनेर ऋचाका आँखामा विश्वासको मौसम मुस्कुरायो । तर पनि अतीतको कालो बादल गर्जन छोडेन ।
राजनले जोडले ब्याग भुइँमा पछार्यो, ‘किन अलच्छिन लगाउँछौ तिमी । मलाई तिमीले पागल बनाउँदै छौ । किन फेरि मेकअप गरेर बसेको । योभन्दा कति राम्री हुनुपरेको तिमीलाई । कसलाई देखाउन तिमी झन् झन् राम्री भएर बस्न खोज्छ्यौ म बुझ्दिनँ । मेरो दिमाग उम्लेको छ । मैले के भनेको थिएँ ? कि तिमी पागल हौ, मैले भनेको बुझ्दिनौ ?
एक्लै बाहिर नजाऊ मात्र त भनेको छु नि । तिम्रो रूपमा अरूले आँखा लगाएको म सहन सक्दिनँ । थाहा छ अँस्ती तिम्रै दाइ पर्नेले तिमी र मलाई देखेर ओठ लेप्य्राएको थियो । त्यो चाहन्छ, तिमीले मलाई छोडेर हिँडोस् । तिम्रो र मेरो डिभोर्स हेर्न चाहन्छ । मेरै जिग्रीले पनि तिमीलाई देखेर मुख मिठ्याउँदै थियो । देख्ने जति सबैले तिमीलाई लालचले हेर्छन् । जहिले पनि सो हट, सो सेक्सी भनिरहन्छन् । मलाई ऐंठन पर्छ । मेरो मस्तिष्क फुट्ला जस्तो हुन्छ । प्लिज, मैले भनेको मान तिमीलाई केहीको कमी हुन दिन्न । तिमीले जे–जे भन्छ्यौ म सबै गर्छु तर घर बाहिर जाने जिद्दी नगर ऋचा...।’
अतीतको असिनाले ऋचालाई नराम्रोसँग चुट्छ । स्वप्निल निकट आएर भन्छ ऋचा, ‘म काममा जान्छु तिमी घरमा यसरी एक्लै नबस । साथीहरूसँग सम्पर्क गर । साथीहरू जम्मा भएर कतै बाहिर घुम्न जाऊ । हेर संसार कति सुन्दर छ । बुझ मान्छेको समाज, संस्कार, संस्कृति, रहनसहन । मान्छेको मन, मस्तिष्क र नियतलाई पनि नजिकबाट छाम्ने प्रयास गर । घुम । हेर । कतै जान नसके पनि उ त्यो पार्कतिर जाऊ । त्यहाँ बसेर हेर प्रकृतिलाई । विकासलाई । बिर्सने प्रयास गर सम्पूर्ण अतीतका अमिला पलहरू । पछि काम गर्न थालेपछि तिमीलाई समय पुग्दैन ।’ ऋचाको मस्तक चुमेर स्वप्निल काममा गयो ।
‘प्लिज राजन मलाई यसरी घरभित्र कैद नगर । मेरा बुवाआमाले मलाई आत्मनिर्भर बन्न सिकाएको म कसरी भुलौं । आफ्नो पौरखमा आफैं बाँच्ने कला म कसरी त्यागौं । स्वावलम्बी भएर म आफ्नो खुट्टामा बाँच्छु । ममाथि विश्वास राख्नू । अरूले हेर्छन् भनेर के म आजीवन घरभित्रै बन्दी भएर बाँचौं ? मलाई यो कुरा स्वीकार छैन । तिमीसँग मैले विवाह गरेकी हुँ । तिम्रो सहयात्री हुँ । तिम्रो घरपालुवा जनावर बन्न आएकी होइन । विवाह गर्ने बेलामा नेभर सेकेन्ड मान्छेले किन यो कुरा नसोचेको ? मेरो रूपकै डर भए किन मलाई विवाह गरेर यहाँ ल्याएको । आजको समयमा नेभर सेकेन्ड मान्छेको यो सोच धिक्कार छ, म कदापि तिमीसँग जीवन बिताउन सक्दिनँ ।
थाहा छ, विश्वासको फूल बाहिर फुल्दैन । विश्वासको मलिलो जमिन हृदयमा हुन्छ । शङ्काको खाल्टो कहिले पुरिँदैन । जति खन्यो यो शङ्काको खाडल फैलिँदै जान्छ । कि त तिमी बिरामी छौ कि त तिमीभित्र पुरुष हुनुको अहम् छ । म झेल्न सक्दिनँ तिमीलाई । तिम्रो विचारलाई । म नेभर सेकेन्ड नभए पनि मलाई कुनै खेद छैन । मान्छे हुने कला सिकेकी छु । अरूको अस्तित्व स्वीकार गर्छु । तिमी अमेरिका आएर पढे पनि मस्तिष्कमा कत्रो फोहोर सजाएर राखेका छौ आफूलाई राम्रोसँग हेर ।
जागिर भनेको पैसा कमाउने बाटो मात्र होइन महोदय π तिम्रा पुर्खाले पनि तिमीलाई सुती–सुती खान पुग्ने कमाएर राखिदिएकै थिए । अनि अमेरिका आएर किन यत्रो दु:ख गरेर पढेको ? किन जागिर खाएको ? मैले एमबीबीएमा गोल्ड मेडल कोठाभित्र बस्नलाई प्राप्त गरेको होइन । म काम गर्छु । मलाई मन लागेको काम गर्छु । तिमीले गरेको जुन प्रेम छ यो महिला हिंसा हो । तिमी जस्तो मान्छे नेभर सेकेन्ड भएको धाक के लगाउँछौ ? आशा गर्छु अब मान्छे हुन सिक ।’
विवाह भएको दुई महिनामै ऋचाको राजनसँग सम्बन्ध विच्छेद भएको थियो । चार वर्षपछि ऋचाको जीवनमा लागेको राजनको ग्रहण हटेर स्वप्निल उज्यालो चारैतिर पोखिँदै गयो ।