नम्रता भण्डारी
आफू जति नै सामान्य हुन खोजे पनि म आज किन सामान्य हुन सकिन ? डरले मलाई चिथरिरहेको मात्र थिएन, मनै भारी थियो । पछाडिबाट कुनै आवाज आएको अनुभूति भयो । केही थाहा नभएझैं भारी मनका साथ हिँड्दै थिएँ ।
मनमा दु:खको सागर उर्लिन थालेपछि एकाएक मुटुमा ढ्याङ्ग्रो बजिरह्यो । अत्यासको क्षणबाट आफूलाई बचाउन र त्यहाँबाट भाग्न निकै प्रयास गरे पनि त्यो सम्भव थिएन । आँखामा आँसु लुकाउँदै म हिँडिरहेकी थिएँ । नरकटको झाडी र कालोपुलको खोला आफ्नै सुरमा सुसाइरहेका थिए । समयले नयाँ रहस्य खोतल्दै गरेको अनुभव हुँदै थियो । यात्रामा म एक्लो तर कमजोर देखिन चाहिन । तर पछाडिको आकृतिसँग आँखा जुधाउन पनि सकिन । नजिकै थियो कलेज तर डरको डिग्री अझ नजिक थियो । यसै बीचमा आफू उभिएको ठाउँबाट उज्यालो ओझेल पर्यो । तैपनि म सहजरूपमा छिटो–छिटो अघि बढ्दै थिएँ ।
मानवरूपी दानवहरूलाई हेर्दिनथें । तैपनि आफैभित्र जन्मिएको मुटु काँप्ने वास्तविकताबाट म मुक्त रहिन ।
ती दानवहरू योजनाबद्ध रूपमा हिँडिरहेको आवज आइरहेको अनुभूति भइरह्यो । डरले मन र तन दुवै अत्तालिएको थियो । बाँच्ने रहरबाहेक अर्को कुनै चाहना थिएन ।
आफू मरेको खबर सुनेर आफन्तहरूमा वियोगको छाल उर्लिएको सम्झँदा म धेरै कहालिएकी थिएँ । साथीहरू साँझ–बिहान भूतको कथा सुनाएर तनाव बढाउँथे । आफ्ना खुट्टाहरू उभिएकै ठाउँमा काँप्थे । एकछिन वातावरणमा कोलाहल छायो । हिँडिरहेका हाम्रा खुट्टाहरू टक्क रोकिए । को हो हँ, हाम्रो पछाडि हिँड्ने फेरि सर्याक सर्याक हिँडेकै आवाज । को हो हँ, तर्साउने ? हामी भुतभुताउँदै हिँड्थ्यौं । यी सबै क्रियाकलाप अचानक हुन्थे । आखिरको होलान् ती ? यति बिहानै यसरी पछ्याउँदै हिँड्ने । यो त अचाक्ली हुँदैछ लुकेर केही मानिस पछाडि भएजस्तै लाग्छ । यताउता हेर्दा केही देखिँदैन । अहो अझै बाँचेका छौं, साथीहरू हामीहरू त । आ–आफ्नै काँपेको ओठ र चिसो मन गुटमुटाउँदै हिँडेका ती अप्ठ्यारा पलहरू सम्झ्यौं । शून्य परिवेश सम्झ्यौं ।
रित्तो आँखा–मुहार सम्झ्यांै । थरर्र काँपेको मन तथा शरीर सम्झ्यांै । त्यस्तो दुस्साहस गर्ने दोषी को होला ?
अस्तिको चिसो सिरेटो सम्झदा पनि वाक्क लाग्छ । यत्तिको अत्यासको क्षणमा कहिल्यै पिरोलिएको थिइन । तर आज डिल्लीबजार सडकपेटीमा पुग्दा मेरा खुट्टाहरू काँपिरहे । डर, आक्रोश र तनावले ओठ कलेटी परेका थिए । केही बोल्न नसक्ने अवस्थामा चूपचाप हिँडिरहें । मलाई शङ्का लाग्यो, अब मृत्यु नजिक छ । यी दानवहरूले मेरो निर्दोष कोमलतालाई लुच्छन् । हातखुट्टा, मुहार र शरीरमाथि गिद्धे नजर दौडाउँछन् । ती बौलाहा, राक्षसी अपराध विकृतिकाहरूले मेरो सम्पूर्णतालाई नष्ट पार्छन् । मन अझैं पनि अस्पष्टतामा अल्मलिएको थियो ।
के गलत के सही म छुट्याउन सकिरहेकी थिइन । के गर्ने मेरो भाग्यमा यस्तै लेखेको रहेछ भन्दै म आत्तिएर हतारिँदै दौडिरहेकी थिएँ । मेरो अन्तर मनले मलाई सरापिरहेको थियो । किन र कहिलेसम्म सधै छोरी, दिदीबहिनी, बुहारी, भाउजू र आमाहरू डराउनुपर्ने ? कुण्ठित र संकुचित नेपाली समाजका ती दानवहरू हराउन अघि बढ्दै थिए तर मेरा हातहरूले हिर्काउन सकिरहेका थिएनन् ।
के परम्परादेखि चलिआएको कुरीतिविरुद्ध म आफै आवाज उठाउन सक्दिन । सधै कति चूपचाप सहने सोझी, लाटी डराउने पात्रको बिम्ब बोकेर । अनि कति बाँच्नू ? अब लाटी केटी होइन, लाठी बनेर बर्सिनु थियो, ती दानवहरूमाथि । एकाएक मभित्र उज्यालोको ज्योति बलेको थियो । मैले आफूलाई पूर्णरूपमा सरल र सहज वातावरणमा पाएँ । डर, चिन्ता र उकुसमुकुसले बेरिएको थिइन बरु कालो बादललाई स्वच्छ वर्षाले संघर्ष गरेझंै बाँच्न, लड्न र विकल्प खोज्न सिकाएँ । आफूभित्रको विद्रोहको चेतनाको ज्वाला बलेपछि अब म कुनै पनि ज्यादतीहरू सहेर बस्न बाध्य थिइन । अहिले मभित्र आक्रोशका झिल्काहरूले दोहोरी खेल्दैछन् । तर म दोधारमै उभिएकी छु । मनमनै नानाथरिका कुरा खेल्छन् ।
यो सहरमा उच्च शिक्षा हासिल गरेर घर छोडी बस्ने मजस्ता हजारौं युवा छन् । डेरामा कोही साथीहरू मिलेर त कोही आफन्तका घरमा बसेर पढ्थ्यौं । बिहान कलेज, दिउँसो स्कुल र बेलुका ट्युसनबाट थकित भएर सबै आफ्नो डेरामा फर्कन्थ्यांंै ।
राति खाना खाएपछि सबै भेला हुन्थ्यांै । आ–आफ्ना कथा–व्यथासहितका दिनचर्या सुनाउँदै सुत्ने तरखरमा हुन्थ्यौं । कोही गीत गुन्गुनाउँदै हुन्थे । कोही डायरी लेख्दै हुन्थे । रात परेपछि चारैतिर शून्यता छाउँथ्यो । कहिलेकाहीँ कालोपुलको खोला बगेको स्वर सुनिन्थ्यो ।
अनि नरकटको झाडीबाट स्यालको आवाज आउँथ्यो । त्यसपछि साथीहरू डरले आत्तिएर मुख छोपी सुत्ने र निदाउने प्रयास गर्थे ।
आफ्नो मनमा अनेकौं तरङ्ग सल्बलाउँछन् । म निदाउनै सक्दिन । कोठामै यताउता टहलिन थाल्छु । म जस्तै मन पनि अशान्त छ । झ्यालबाट एकपटक फेरि बाहिर नियाल्छु । कालो
बादल मडाारिँदै छ बाहिर पनि शून्यतामा । मेरो मटुभित्र पनि अशान्तिको राँको सल्किएको छ । डरले हातखुट्टा लुला भएका थिए । बिहान हिँड्दा मेरा पदचापहरू पछ्याउँदै हिँड्न कुनै भूत थियो कि जीव ? पछाडि फर्केर हर्ने आँट र मन दुवै थिएन । एकाएक मुटुको ढुकढुकी बढ्यो, सास फुल्यो ।
केही दिनसम्म कसैलाई केही भनिन । कसैसँग पनि कुरा खोलिन । डर र संकोचले मन बाँधेर राखेको थिएँ । एक
कुनामा थुचुक्क ओइलाएको फूलझंै बस्थें । मानौं म भित्रभित्रै जल्दै थिएँ, गल्दै थिएँ । मितिनी कलेजबाट आउँदा आफ्ना सारा कथा बताउँथी तर म सधै एउटै पीडा लुकाएरै बस्थें ।
आफैलाई अनौठो लाग्थ्यो–के हो केटीको जात सधै दोस्रो दर्जामा जिउनुपर्ने हो र ? केही बोल्न, गर्न खोजे उल्टो अर्थ लगाइदिने, समाजको कुरीति । जतिसुकै असल संस्कार र परिवारकी केटी नै किन नहोस् एक्लै बाटोमा हिँडेको देख्नै नहुने । कहिले झूटो आरोपमा फसाउन खोज्ने, कहिले र्याल चुहाउँदै झम्टिन खोज्ने । फेरि के विधिको खेदो गर्ने उनीहरूको निर्णयलाई ? के सडकमा एक्लै हिँड्नु पाप हो ?
बाटोमा ठिङ्ग उभिएका दानवहरूसँगै लडेर आफ्नो सुरक्षा गर्दा मुहारमा मुस्कान पछिसम्म पछ्याइ रहन्छ ।
तर त्यो काहालीलाग्दो समयलाई सम्झँदा जिउ नै सिरिङ्ग हुन्छ । म केही बोल्न सक्दिन । केवल डरले मनमा कुरो गडिरहेको हुन्छ ।
ए मितिनी दिउँसै कोठामा ढोका लाएर एक्लै बस्ने, के हो यस्तो अनौठो पारा उनी बाहिरबाटै बोलाउँछिन् ।
उनी बारम्बार मलाई प्रश्न तेर्साउँछिन् । उनी फेरि सोध्छिन्, ‘भन्नु न केही भन्नु छ कि ?’ तिमीलाई ।
होइन... यसै यसै... केही होइन । म उनलाई पुलुक्क हेर्दै फिस्स हाँस्छु ।
चिसो मन लिएर, अनि किन तिमी सधै मुहारमा ग्रहण थापेर बस्छ्यौ ? नभनी किन घाँटीमा अड्काइराख्ने त्यो रहस्यको पोका । कुनै पनि कुरो भन्न सङ्कोच मान्नु पर्दैन ऊ भन्दै थिई । मनको गाँठो फुकाऊ, खुलस्त कुरा गर । उनी बालकले झंै मसँग जिद्दी गर्दैछिन् । मेरा पाखुरा च्याप्प समात्दै किन आफूलाई दु:खको सागरमा होमेकी फेरि घचघच्याउँदै सोध्छिन्, ‘ल भन तिमीले भन्न नसकेको कुरो नभनी हुँदैन । लभन अहिल्यै भन ।
आखिरमा उसको आँखामा आँखा जुघाउँदै म भन्न विवश हुन्छु, ‘केही समय एक्लै कोठा लिएर बसूँ कि ?’
आफ्नो खुसी नै परपर सरेको अनुमान लाएपछि उनको मुहारको कान्ति हराउँछ, ओठको मुस्कान बिलाउँछ । सोच्दै नसोचेको कुरा सुन्नु परेपछि उनी झर्कदै बोल्छन् ।
तँलाई मसँग बस्दा के अप्ठ्यारो छ कि नयाँ मितिनी बनाइस्– ऊ प्रश्न ठडाउँछे । तिम्रो मनमा के छ भन मलाई आफ्नै सम्झिएर, उनी पुन: रिसाउँछिन् ।
झट्ट हेर्दा लाग्छ, म सामान्य रूपमा बसेकी छु । तर भित्रभित्रै निराशा र वेदनाले निमोठिएकी छु । दोधारमा थिचिएर पिल्सिएकी छु । तैपनि नयाँ रहस्यको गाँठो खुल्ने विचारसहित नजिकै बसेकी मितिनीको हात समाउँदै विस्तारै अघि बढ्छु । बल्ल हिम्मत र साहस बटुल्दै छु । आफूलाई निकै हलुङ्गो अनुभव गर्छु, उनको साथले । तर रित्तिएको मनमा व्यथाको सागर उर्लिएकै छ ।
बल्ल खोतल्ने भयो समयले त्यो रहस्यको ठेली । मितिनीकै हात च्यााप्प समातेर म भक्काानिँदै पीडाको कथा ओकल्दै थिएँ । अस्ति तिमीलाई याद छ, म डराउँदै कोठामा हुत्तिएकी थिएँ । त्यो बिहानीको थकानले तिमी सुतेका थियौ । मेरो पदचाप पछ्याउँदै त्यो पनि कोठासम्म आइपुगेको थियो । तर हामीसँगै देखेपछि त्यो बाहिरैबाट फर्कियो । सम्पूर्ण शरीर डरले काँपेको थियो । मुखबाट आवाजै निस्किएन । त्यही दिन म अस्मितासँग हतार–हतार होस्टेल सरेकी थिएँ ।
तिमीलाई छोडेर जाने मन त थिएन तर आफ्नो शरीरको सुरक्षाका लागि त्यो ठाउँ छोडें, आफन्तहरूको साथ खोज्दै थिएँ । त्यो मिर्मिरेमा कलेज नपुग्दै बाटोमा कसैले मेरो पाखुरामा च्याप्प समात्यो । आफ्नो रक्षा आफै गर्न म सडकमा लड्दै थिएँ । कसैले मलाई एक्लो भेटाएर मेरो सम्पूर्णता लुट्न खोज्दै थिए । म के देख्छु हतपतीमा प्रमोद दाइको मुखुन्डो लाएको मुहार उदाङ्ग थियो । मैले देखें ऊ त्यही त हो नि बहिनी–बहिनी भनेर कहिल्यै नथाक्ने मितदाइ । मुखुन्डो लाएर मलाई अठ्याउन अघि बढ्दै थियो ।
मलाई अचम्म लाग्छ अझै पनि किन छोरी, दिदीबहिनी, बुहारी, भाउजू र मैले नै आँखाको आँसु लुकाउनुपर्ने, हरेक मोडमा डराउनुपर्ने । के यो समाजको हेर्ने आँखा सधै दोषी हुन्छ ? विद्या आर्जन गरेर आफ्नै खुट्टामा उभिन खोज्दा पनि किन अझै छोरीहरू समाजको आँखामा दोषी हुन्छन् ?