Successfully Copied

हत्केलामा पसिना केको संकेत ?

जब पसिना ग्रन्थिहरू आवश्यकता भन्दा बढी सक्रिय हुन्छन्, तब हात, खुट्टा वा अनुहारमा बढी पसिना आउन सक्छ ।

धेरै मानिसले हात मिलाउँदा, लेख्दा वा मोबाइल चलाउँदा आफ्नो हत्केला चिपचिपे भएको अनुभव गरेका हुन्छन् । प्राय: मानिसले यसलाई गर्मी, तनाव वा घबराहटको असर भनेर सामान्य रूपमा लिन्छन् । तर हत्केलामा बारम्बार र बढी पसिना आउँछ, भने यसलाई बेवास्ता गर्नु हुँदैन, किनकि कहिलेकाहीँ यो शरीरभित्र लुकेको स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ ।
के हातमा पसिना आउनु सामान्य हो ?
पसिना आउनु शरीरको स्वाभाविक प्रक्रिया हो, जसले शरीरको तापक्रम नियन्त्रण गर्न मद्दत गर्छ । तर जब पसिना ग्रन्थिहरू आवश्यकता भन्दा बढी सक्रिय हुन्छन्, तब हात, खुट्टा वा अनुहारमा बढी पसिना आउन सक्छ । चिकित्सकीय भाषामा हत्केलामा बढी पसिना आउने समस्यालाई ‘पामर हाइपरहाइड्रोसिस’ भनिन्छ ।
हत्केलामा धेरै पसिना आउने कारण
तनाव र चिन्ता
जब मानिस तनाव, डर वा घबराहटमा हुन्छ, शरीरको सिम्याथेटिक नर्भस सिस्टम सक्रिय हुन्छ । त्यसले गर्दा हत्केलामा पसिना आउन सक्छ । केही मानिसमा एन्जाइटी डिसअर्डरका कारण पनि यस्तो समस्या बारम्बार देखिन सक्छ ।
थाइराइड ग्रन्थि अत्यधिक सक्रिय
थाइराइड ग्रन्थि अत्यधिक सक्रिय भयो भने शरीरको मेटाबोलिजम बढ्छ । यो अवस्थामा अत्यधिक पसिना आउने, मुटुको धड्कन छिटो हुने, हात काँप्ने तथा तौल घट्ने जस्ता लक्षण देखिन सक्छन् । यस्तो अवस्थामा थाइराइड फङ्सन टेस्ट गराउनु उचित हुन्छ ।
लो ब्लड सुगर
डाइबिटिज भएका बिरामीले औषधि वा इन्सुलिन प्रयोग गर्दा कहिलेकाहीँ रगतमा चिनीको मात्रा कम हुन सक्छ । यस्तो अवस्थामा हत्केलामा पसिना आउने, कमजोरी महसुस हुने, चक्कर लाग्ने जस्ता लक्षण देखिन सक्छन् ।
संक्रमण
कहिलेकाहीँ क्षयरोग (टीबी) जस्ता संक्रमणमा राति अत्यधिक पसिना आउने समस्या देखिन्छ । केही अवस्थामा हत्केलामा पनि पसिना बढी आउन सक्छ ।
औषधिको साइड इफेक्ट
केही एन्टिडिप्रेसेन्ट वा अन्य औषधि प्रयोग गर्दा साइड इफेक्टका रूपमा पनि पसिना बढ्न सक्छ । यस्तो अवस्थामा चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ ।
के यो चिन्ताको विषय हो ?
प्रत्येक पटक हत्केलामा पसिना आउने गम्भीर रोगको संकेत नहुन पनि सक्छ । धेरै मानिसमा स्वाभाविक रूपमा पसिना ग्रन्थि बढी सक्रिय हुने भएकाले यस्तो समस्या देखिन सक्छ ।
समस्या कम गर्ने उपाय
पर्याप्त पानी पिउनु, चिया, कफी जस्ता क्याफिनयुक्त पेय पदार्थ कम गर्नु, तनाव कम गर्न योग, ध्यान वा व्यायाम गर्नुुका साथै चिकित्सकको सल्लाहअनुसार टपिकल एन्टिपर्सपिरेन्ट लोसन प्रयोग गर्नुपर्छ ।
कतिपय गम्भीर अवस्थामा चिकित्सकले औषधि र इन्जेक्सन लगाउने सल्लाह दिन सक्छन् । तर यो उपचार चिकित्सकको निगरानीमा मात्र गर्नुपर्छ ।
निष्कर्ष
कहिलेकाहीँ हत्केलामा पसिना आउनु सामान्य हो । तर पसिना बढी र लगातार आउँछ, साथै मुटुको धड्कन बढ्ने, हात काँप्ने वा तौल घट्ने लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ । सही परीक्षणबाट कारण पत्ता लगाएर समस्या नियन्त्रण गर्न सकिन्छ ।
(डा.अरुण बालबालिकाको डाक्टर साथी पुस्तकका लेखक पनि हुन् ।)

 Image