Successfully Copied

दुखाइ कम गर्न ‘पेन म्यानेजमेन्ट’

नेपालमा धेरै पहिले भित्रिएको ‘पेन म्यानेजमेन्ट’ पछिल्लो समय बढी चर्चामा छ । हाम्रो कुनै अङ्गमा बाधा हुने गरी लामो समयसम्म एकनासले वा तीन महिनाभन्दा बढी असह्य पीडा हुनु दीर्घकालीन दुखाइ हो । यसको कारण पत्ता लगाएर दुखाइ व्यवस्थापन गर्नु नै ‘पेन म्यानेजमेन्ट’ हो । 

पेन म्यानेजमेन्ट के हो ?

नेपालमा धेरै पहिले भित्रिएको ‘पेन म्यानेजमेन्ट’ पछिल्लो समय बढी चर्चामा छ । हाम्रो कुनै अङ्गमा बाधा हुने गरी लामो समयसम्म एकनासले वा तीन महिनाभन्दा बढी असह्य पीडा हुनु दीर्घकालीन दुखाइ हो । यसको कारण पत्ता लगाएर दुखाइ व्यवस्थापन गर्नु नै ‘पेन म्यानेजमेन्ट’ हो । 

पछिल्लो समय यसमा नयाँ–नयाँ आयाम र प्रविधि थपिँदै यो विधिबाट उपचार गराउने क्रममा तीव्रता आएको छ । दिनहुँ यसको स्कोप फराकिलो हुँदै गएको छ । पहिले दुखाइ र लक्षणको मात्र व्यवस्थापन गरिन्थ्यो । हाल जुन रोगको कारण दुखाइ हुन्छ त्यो पत्ता लगाई विनाअप्रेसन (स्ट्रिचलेस) कै रोगको निवारण/उपचार गरिन्छ । यो विधिमा टाँका नलगाई ‘इन्जेक्सन’ र स–साना ‘पोर्ट’ बाटै उपचार गर्न सकिन्छ । 

जस्तै, ढाडको नसा च्यापिएको उपचार गर्नुपर्दा के कारणले नसा च्यापिएको छ, दूरबिनबाटै ‘डिस्क’ को टुक्रा निकाल्न सकिन्छ, के कारणले दुखाइ भएको हो–पत्ता लगाउन सकिन्छ । यसैगरी हड्डीको ‘फ्याक्चर’ भएको हो भने सामान्य ‘इन्जेक्सन’ बाटै हड्डीमा सिमेन्ट प्लास्टर प्रवेश गराई उपचार गर्न सकिन्छ । 

यो उपचार प्रक्रियामा निकालिएको ‘डिस्क’ लाई ‘डिक्सेटोमी’ मात्र नगरी त्यसभित्रै भएको रोगलाई सुइ र लेजरलगायतका प्रविधिबाट बिनाशल्यक्रिया उपचार गर्न सकिन्छ । 

‘पेन म्यानेजमेन्ट’ अन्तर्गत टाउकोदेखि खुट्टासम्मको उपचार पर्छन् । टाउकोको उपचारका लागि ‘इन्जेक्सन’ कै माध्यमबाट दुखाइ कम गर्न सकिन्छ । यसैगरी, पछिल्लो समय नयाँ प्रविधि ‘बोटोक्स’ थपिएको छ । यसको माध्यमबाट बिग्रेको नसा र च्यातिएको मांसपेशीलाई स्वस्थ बनाउन सकिन्छ । 

गर्भावस्था पीडादायी हुन्छ । यो अवस्थामा शरीरमा धेरै हर्मोनल परिवर्तन भैरहेको हुन्छ । हाड, ‘लिगामेन्ट’ र ‘जोर्नी’ प्रभावित हुनसक्छन् । यसका कारण दुखाइ महसुस हुनसक्छ । यो दुखाइ प्राकृतिक र सामान्य भनेर धेरैले उपेक्षा गर्छन् । कारण यसप्रकारको दुखाइको उपचारमा जाँदा गर्भस्थ शिशुलाई बेफाइदा हुन्छ भन्ने मानसिकता धेरैमा रहेको पाइन्छ । नयाँ प्रविधिले गर्भावस्थाको दुखाइलाई व्यवस्थापन गर्न सकिन्छ । यसका लागि सुरुदेखि नै ‘स्ट्रेचिङ’ र योगा गर्नुपर्ने हुन्छ । यसले ‘जोइन्ट’ लाई ‘डेलिभरी’ गर्ने समयमा बिस्तारै बानी परेर सहयोग पुग्छ । धेरैको स्वस्थ जीवनशैली रहेको पाइँदैन । यस्तो अवस्थामा गर्भस्थ शिशुको भार पर्दा धेरै महिलामा ढाड दुख्ने ‘हिप’ को समस्या, गर्भावस्थापछि पनि यस्ता समस्या भोग्नुपर्ने हुनसक्छ । यी सबैलाई साधारण व्यायाम, सही शिक्षाको माध्यमबाट रोक्न सम्भव छ । सुरुदेखि व्यायाम, फिजियोथेरापी गरे ‘लेबर पेन’ कम हुन्छ । कतिपयमा ‘पेन म्यानेजमेन्ट’ ले दुखाइ नै हुँदैन भन्ने छ, जुन गलत हो ।

‘पेन म्यानेजमेन्ट’ र फिजियोथेरापी एक–अर्काका परिपूरक हुन् । फिजियोथेरापी ‘मसल्स पावर’, ‘पोस्चर’, ‘हेल्थ’, ‘स्ट्रेचिङ’ मा केन्द्रित हुन्छ भने ‘पेन म्यानेजमेन्ट’ निदान, दुखाइ कसरी उत्पन्न हुन्छ ? त्यो पत्ता लगाउन अनि त्यसलाई ‘इन्जेक्सन’ को माध्यमबाट उपचार गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन्छ । ‘पेन म्यानेजमेन्ट’ पछि ‘फिजियोथेरापी’ कहाँ पठाइदिनुपर्ने हुन्छ । दुखाइ कम गरेर मात्र उपचार पूरा हुँदैन । दुखाइ किन भयो, के मिलेको छैन ? भन्ने जानकारी लिनु ‘होलिस्टिक अप्रोच’ हो । 

पछिल्लो समय काठमाडौंका अधिकांश अस्पतालमा ‘पेन म्यानेजमेन्ट’ विभाग क्रियाशील छ । यो बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि उपयोगी छ । धेरैमा ढाड र घुँडा दुख्ने समस्या पाइन्छ । नेपालमा जीवनशैलीका कारण यी समस्या आएका हुन् । यसैगरी, कतिपयमा पैताला राम्रोसँग टेक्नै नजानेका कारण घुँडामा समस्या देखिन्छ । जुत्ता–चप्पल लगाएको नमिल्दा पनि समस्या हुनसक्छ । त्यसैले जुत्ताअनुसारको खुट्टा भन्दा पनि खुट्टाअनुसारको जुत्ता लगाउनुपर्छ । 

कस्तो दुखाइलाई दुखाइ मान्ने ?

तीन महिनाभन्दा बढी कडा दुखाइ भएमा उपचार आवश्यक पर्छ । उपचारपछि बिरामीलाई कुनै रोग निको भएपछि पनि दुखाइ तीन महिनासम्म कायम रहेमा दुखाइ व्यवस्थापन आवश्यक पर्न सक्छ । दुखाइको उपचार आवश्यकतानुसार औषधि, व्यायाम, अकुपञ्चर, फिजियोथेरापी, ‘इन्टरभेनसनल पेन म्यानेजमेन्ट’ एवं शल्यक्रियाबाट गरिन्छ । यी विधि दुखाइको अवस्था तथा आवश्यकताअनुसार प्रयोग गरिन्छ । 

बढी समस्या कसलाई भएको छ ?

पछिल्लो समय १९ वर्षका किशोरी पनि ढाडको नसा च्यापिएर उपचारका लागि पुगेका छन् । यो समस्या महिलामा धेरै देखिएको छ । ४० र ६० वर्ष उमेरमाथिका महिलामा ढाड र घाँटी दुख्ने समस्या हुन्छ । पक्षघातपछिको दुखाइले पनि धेरै जना उपचार गराउन पुगेका हुन्छन् । दुखाइको कुनै सीमा हुँदैन । हरेक रोगले दुखाइ उत्पन्न हुन्छ । 

दुखाइ हुन नदिन के गर्नुपर्छ ?

धेरै समस्या जीवनशैलीका कारण उत्पन्न भएको पाइन्छ । हामीमध्ये धेरैले आफ्नो ‘पोस्चर’ मा ध्यान दिएका हुँदैनौं । हिँड्ने र बस्ने शैली नमिल्दा पनि समस्या हुन्छ । पछिल्लो समय युवालाई ढाड दुख्ने समस्या बढी छ । कम्प्युटरमा काम गर्नेलार्ई यस्तो समस्या बढी देखिएको छ । सबैले कुर्सीलाई दोष दिन्छन् । यसका लागि आफ्नो वजन, बस्ने शैली, शरीरको सन्तुलन, ‘मसल्स पावर’ आदिमा ध्यान दिन जरुरी छ । बच्चा पाएका धेरै महिलामा ढाड दुख्ने समस्या हुन्छ । हर्मोनल परिवर्तनले शरीरलाई कमजोर बनाउने भएकाले यो समस्या हुन्छ । यसका लागि नियमित शारीरिक अभ्यास गर्नुपर्छ, क्याल्सियम सेवन गर्नुपर्छ । पहिलेदेखि स्वास्थ्यलाई प्राथमिकता दिएमा मेनापज (महिनावारी सुक्ने) पछि समस्या देखिँदैन । आफ्नो शरीरको माया गरी सन्तुलित खाना खानुपर्छ । आफ्नो तौल र ‘पोस्चर’ प्रति सचेत हुनुपर्छ । यसका लागि फिजियोथेरापिस्ट, ‘जिम ट्रेनर’ सँग सल्लाह पनि लिन सकिन्छ ।

रोकथामका उपाय के–के हुन सक्छन् ?

दुखाइका कारण मानसिक स्वास्थ्यमा असर परी गुणस्तरीय जीवनयापनमा बाधा पुग्छ । यसले धेरै समस्या उत्पन्न हुने भएकाले समयमै उपचार गराउनुपर्छ । दुखाइ छ, रोग पत्ता लागेको छैन भने ‘पेन फिजिसियन’ कहाँ उपचार गराउनुपर्छ । धेरै दुखाइपछि उपचार गर्न गाह्रो हुने भएकाले स्कुलमै यसबारेमा ज्ञान दिनु आवश्यक छ । सुरुवाती अवस्थामै आएमा रोग निको हुन्छ । क्यान्सर रोगीको उपचारमा ‘पेन म्यानेजमेन्ट’ को सहयोगी भूमिका हुन्छ । कतिपय उपचारमा शल्यक्रिया र व्यायाम गर्न नमिल्ने पनि हुनसक्छ । यस्तो अवस्थामा जुन ठाउँको दुखाइ छ, त्यहाँको नसालाई सुताइदिन सकिन्छ । यो उपचारले जीवन बढाउन (स्पान्ड) नसके पनि बाँकी जीवन गुणस्तरीय (दुखाइरहित) बनाउन सकिन्छ । यसलाई कतिपय अस्पतालले प्राथमिकता नदिएकाले धेरै बिरामी दुखाइ सहन बाध्य छन् । त्यसैले ‘पेन म्यानेजमेन्ट’ बारेमा सचेतना जगाउनुपर्ने बेला अब टड्कारो भइसक्यो । 

डा. निनादिनी श्रेष्ठ

कन्सल्टेन्ट इन्टरभेन्सनल 

पेन फिजिसियन, त्रि.वि शिक्षण अस्पताल 

 Image