जाडो मौसममा बढी एक्टिभ हुन्छु
जाडो मौसम राम्रो लाग्छ । जाडो मौसममा बढी एक्टिभ हुन्छु र जे खाए पनि मीठो लाग्छ ।
पाटनमा जन्मेकी मन देवी श्रेष्ठले स्कुले शिक्षा पाटनस्थित बाल विनोद मा.वि.बाट पूरा गरिन् । स्कुलमा सधैं प्रथम उनले एसएलसी पनि प्रथम श्रेणीमै सकिन् । त्यसपछि पुल्चोक क्याम्पसबाट आर्किटेक्चरल इन्जिनियरिङ विषयमा डिप्लोमा ३ वर्षे कोर्स (ओभरसियर सरह) पूरा गरी ड्राफ्ट पर्सनका रूपमा २ वर्ष काम गरिन् । पुल्चोक क्याम्पसबाटै सिभिल इन्जिनियरमा ब्याचलर पूरा गरेर २ वर्ष काम गरिन् । मास्टर्स इन इन्टरडिसिप्लिनरी वाटर रिसोसेर्स म्यानेजमेन्टमा नेपाल इन्जिनियरिङ कलेजबाट मास्टर्स गरेकी हुन् । थेसिस बाँकी हुँदा लोक सेवामार्फत उनी विद्युत् विकास विभागमा प्रवेश गरेकी हुन् । उनी हाल विद्युत् विकास विभागकी प्रथम महिला महानिर्देशक हुन् । उनी मातहत १ सय २७ जना कर्मचारी छन् । यो स्थानसम्म पुग्न उनले गरेका संघर्षबारे गरिएको कुराकानी -
सरकारी सेवामा कसरी आकर्षित हुनुभयो ?
यसमा मेरो दाइको ठूलो भूमिका छ । उहाँले सधैं महिलालाई सरकारी सेवा सहज हुन्छ भन्नुहुन्थ्यो । त्यसो त पढ्दाखेरि सुरुसुरुमा प्राइभेट अफिसमा काम गरें । त्यहाँ प्रोजेक्ट रहुन्जेल मात्र काम हुन्थ्यो । सरकारी सेवामा काम गर्दा स्थायित्व हुने सोचेर यसतर्फ मोडिएँ । त्यस्तै सरकारी सेवामा लागेर यो जिम्मेवारीसम्म पुग्नमा श्रीमान्को महत्वपूर्ण देन छ । श्रीमान्को साथ र परिवारको सहयोगविना यो स्थानसम्म पुग्न सम्भव थिएन । हामी संयुक्त परिवारमा बस्ने भएकाले दाजु–भाउजूको सहयोगप्रति पनि कृतज्ञ छु ।
सरकारी सेवा प्रवेश कत्तिको सहज छ ?
लोकसेवामा परीक्षा दिएको पहिलोपटकमा नाम निस्केन । हरेश नखाई दोस्रो पटक परीक्षा दिएँ, नाम निस्क्यो । कतिपय मास्टर्समा पढेका कुरा पनि काम लागे । लोकसेवामा नाम निकाल्न दिनरात मेहनत गरें । एकपटकको असफलतामा हार मान्नुहुँदैन ।
विद्युत् विकास विभागको प्रथम महिला महानिर्देशक हुँदा कस्तो महसुस भयो ? यहाँसम्म पुग्दाको अनुभव कस्तो रह्यो ?
विद्युत् विकास विभागको महानिर्देशकका रूपमा काम गर्न पाउँदा अत्यन्तै खुसी छु । थप जिम्मेवारी पनि महसुस भएको छ । म विद्युत् विकास विभागमा काम सुरु गर्दाको समयमा महिला कर्मचारी कमै थिए । इन्जिनियरका रूपमा २०६६ सालमा यहाँ प्रवेश गरेकी थिएँ । २०७१ सालमा उप–सचिवमा बढुवा भएँ । २०७३ मा सहसचिव बढुवा भएपछि यही विभागमै उप–महानिर्देशकको जिम्मेवारी सम्हाल्ने अवसर पाएँ । सात महिना जति लगानी बोर्डमा रहेर अनुभव संगाल्ने अवसर प्राप्त गरें । उप–महानिर्देशक भएर यहाँको अनुमतिपत्र र योजना महाशाखामा रहें । त्यसपछि विद्युत् नियमन आयोगमा सचिवको भूमिकामा रही डेढ वर्ष अनुभव संगाल्ने अवसर मिल्यो ।
काम गर्न कत्तिको सहज छ ?
यही विभागमा उप–महानिर्देशकको भूमिकामा रही काम गरेकीले त्यस्तो कुनै असहज महसुस गरेकी छैन । तर महानिर्देशकको भूमिकामा रहँदा जुनसुकै समयमा पनि खट्नुपर्ने र मन्त्रालयको समन्वयमा काम गर्नुपर्ने भएकाले समय व्यवस्थापन भने गर्नुपर्छ । अहिले पदसँगै कामको जिम्मेवारी पनि बढेको छ ।
अहिलेको जिम्मेवारी कस्तो रहेको छ ?
विद्युत् विकास विभागको मुख्य उद्देश्य भनेकै विद्युत् विकासमा निजी क्षेत्रका प्रबर्द्धकहरूलाई प्रबर्द्धन गर्नु हो । निजी क्षेत्रका प्रबर्द्धकहरूलाई प्रचलित ऐन, नियमानुसार जलाशययुक्त वा बहुऊद्देश्यीयबाहेकका १ सय मेगावाटसम्म क्षमताका जलविद्युत् आयोजनाको, सौर्य शक्ति, वायु शत्तिलगायतका वैकल्पिक स्रोतबाट विद्युत् उत्पादन गरिने आयोजनाको, विद्युत् प्रसारण तथा वितरण आयोजनाको अनुमतिपत्र प्रदान गर्ने र १ सय मेगावाट भन्दा बढी क्षमता भएका तथा जलाशययुक्त वा बहुउद्देश्यीय आयोजनाका लागि मन्त्रालयसमक्ष सिफारिस गर्ने, विद्युत् आयोजना निर्माणको अवधिमा आवश्यक विभिन्न सुविधा सिफारिस गर्ने काम विभागबाट हुन्छन् । यसका अलावा विद्युत् आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिको सिफारिसका साथै विद्युत् आयोजनाको पहिचान तथा अध्ययन पनि गर्दछ । त्यसैगरी विद्युत् विकासका सन्दर्भमा तयार पारिने नीति निर्माणमा मन्त्रालयलाई आवश्यक सहयोगसमेत गर्दछ । यी विभागका काम सम्पन्न गर्नु नै महानिर्देशकको जिम्मेवारीभित्र पर्दछ ।
महानिर्देशक भएपछि कस्ता काम गर्नुभयो ?
महानिर्देशकका रूपमा आएपछि विभागमा हुने नियमित काममा ढिलासुस्ती नगरी छिटो–छरितो र प्रभावकारी किसिमले सेवाग्राहीलाई सेवा दिने काममा लागेकी छु । त्यस्तै जलविद्युत् आयोजनाको अनुमतिपत्र लिई लामो समयदेखि काम नगरी बस्नेको अनुमतिपत्र खारेज गर्नेगरी काम अगाडि बढाइरहेकी छु । जसले प्रणालीलाई थप व्यवस्थित र उत्तरदायी बनाउने विश्वास लिएकी छु ।
ऊर्जा क्षेत्रमा नेपालले कस्तो योगदान पुर्याएको छ ?
हाल नेपालमा जलविद्युत् तथा अन्य वैकल्पिक माध्यमबाट करिब चार हजार मेगावाट जति विद्युत् उत्पादनको जडित क्षमता पुगेको छ । यो कामका लागि विभिन्न निजी क्षेत्रका प्रबर्द्धक, नेपाल विद्युत् प्राधिकरण र ने.वि.प्रा.का सहायक कम्पनीको योगदान रहेको छ । नेपालको आन्तरिक खपतको सन्दर्भमा लक्ष्मीपूजाका दिन सबैभन्दा बढी बिजुली खपत हुने भन्ने आँकलन गरिएको थियो, जुन दिन १६ सय ५० मेगावाट मात्र खपत भयो । नेपालभर सार्वजनिक बिदा भएकाले त्यस दिन सबै उद्योगधन्धा बन्द थिए । सामान्यतया हाल आन्तरिक खपतका लागि अधिकतम माग २२ सय मेगावाटसम्म जान्छ भन्ने आँकलन गरिएको छ । ४ हजार मेगावाट उत्पादन क्षमता भइसकेको विद्यमान अवस्थामा बढी भएको बिजुली भारतमा निर्यात भइरहेको छ । नदी/खोलाको बहाव घट्ने हिउँदका सुख्खा समयमा आयात गरेर भए पनि व्यवस्थापन गरिरहेको छ । समग्रमा आयात भन्दा निर्यात बढी गर्न सफल भई नेपाल विद्युत् निर्यात राष्ट्र बन्न सफल भएको छ । कतिपय आयोजना निर्माणाधीन रहेका तथा कतिपय निर्माणको तयारीमा रहेका आयोजनाबाट छिट्टै विद्युत् उत्पादन हुन आउने भएकाले यो क्षेत्रले अझ बढी निर्यात गर्न सक्ने अवस्था सिर्जना हुनुका साथै हिउँदका सुख्खा समयमा समेत आयात गर्नुपर्ने अवस्थाबाट मुक्त हुने देखिन्छ । यसरी ग्रिन इलेक्ट्रिसिटीमा नेपालले हाइड्रोपावरको विकास गरेर योगदान पुर्याइरहेको छ ।
जाडोमा धेरै ऊर्जा आवश्यक पर्ने हो ?
जाडो मौसममा पानी कम पर्ने भएकाले हाम्रो देशमा उत्पादित बिजुलीले मात्र पुग्दैन । अहिले १० मेगावाटको लाइसेन्स दिए पनि जाडोमा ३ मेगावाटभन्दा बढी आउँदैन, त्यसैले सुक्खा याममा भारतबाट आयात गर्नुपर्छ । यी सबै काम नेपाल विद्युत् प्राधिकरणमार्फत हुन्छ ।
ऊर्जा क्षेत्रमा के–कस्ता समस्या छन् ?
नेपालमा सम्भावना धेरै छ । स्वदेशी खपत बढाउन सकिएको छैन । उद्योग चलेका बेला पनि करिब २२ सय मेगावाट मात्र ऊर्जा खपत हुन सकेको छ । जबकि ४ हजार मेगावाट उत्पादन क्षमता पुगेको छ र यसमा अझ थप हुँदै जाने अवस्था छ । यो ग्याप/खाडललाई कम गर्नुपर्ने छ । हाम्रा आन्तरिक खपत/उपभोग बढाउन इभीलाई जोड दिनुपर्छ । तर यो सबै ठाउँमा सम्भव छैन । नेपालमा उपत्यका तथा तराई क्षेत्र भन्दा अन्यत्रका सडक उकालो–ओरालो बढी छ भने कतिपय सडक खाल्डाखुल्डीसहित जीर्ण छन् । तिनलाई सुधार गर्नुपर्छ । प्रदूषण कम गर्ने तथा बिजुलीको आन्तरिक खपत बढाउने हिसाबले इभी ठीक हो, तर बाटो असहज छ । ग्यासको प्रतिस्थापन इलेक्ट्रिकल चुल्हो (इन्डक्सन) लाई जोड दिनुपर्छ । कतिपय अवस्थामा हामी अभ्यस्त भइसकेका छैनौं । उद्योग चलाउन सक्नुपर्यो । यसो भएमा देशभित्रै रोजगारीको सम्भावना बढ्छ । भारतमा १०६० मेगावाट तथा बंगलादेशमा ४० मेगावाट निर्यात गर्ने अनुमति पायौं जसले केही राहत दिएको छ । उत्पादन बढाएसँगै खपतमा पनि जोड दिनुपर्छ ।
महिलाले गरेका काम कत्तिको विश्वास गरिन्छ ?
धेरैजसो काम सल्लाह र सबैको सहयोगमा हुने भएकाले विश्वास नगर्ने वातावरण हुँदैन । तर विगतमा कहिलेकाहीँ कुनै विषयमा छलफल हुँदा आफ्नो कुरा राख्दा यसले कुरै नबुझी बोल्दैछ भन्ने जस्तो गरी असजिलो महसुस गराइन्थ्यो । त्यसलाई बेवास्ता गरेर अघि बढ्ने हो । अहिले अवस्था सहज बन्दै गएको महसुस भैरहेको छ ।
प्रसंग बदलौ, कामका सिलसिलामा कुनै स्मरणीय घटना छन् ?
काम गर्दा जिल्लातिर खासै जानु नपरे पनि कहिलेकाहीँ अनुगमन वा समितिमा रही काम गर्दा आयोजनास्थल जानुपर्ने हुन्छ । यही सिलसिलामा केही वर्षअघि नुवाकोटस्थित तादी खोला जलविद्युत् आयोजनाको निर्माण गर्ने क्रममा आयोजना स्थलसँगै रहेको दुप्चेश्वर मन्दिरको विषयलाई लिएर निर्माणमा अवरोध आउँदा त्यहाँ गएर स्थानीय, प्रवर्द्धकसँग छलफल गर्दा स्थानीयहरू आक्रामक तरिकाले प्रस्तुत हुँदा अप्ठ्यारो स्थिति सिर्जना भएको थियो, जुन अहिलेसम्म अविस्मरणीय रहेको छ । तर हाल यो विषय टुंगिसकेको र आयोजना निर्माण भइरहेको अवस्था छ ।
हरेक क्षेत्रमा महिला सफल कसरी हुने ?
आफूलाई हरेक विषयमा सक्षम बनाउँदै जानुपर्छ, अवसर आउँछ । शिक्षालगायतका सबै कुरामा ज्ञान राख्नुपर्छ । कसैले कुरा राख्दा आफ्नो विचार दिन सकेमा विश्वास हुन्छ । ‘नलेज इज पावर’ भन्ने अवधारणामा अघि बढ्नुपर्छ ।
भविष्यको योजना के रहेको छ ?
म राष्ट्रसेवक भएर यो क्षेत्रमा लागिसकेकीले भविष्यमा सचिव भएर यही क्षेत्रमा निरन्तर सेवा गर्ने र राष्ट्रलाई योगदान दिने लक्ष्य छ