डा.श्रृजना श्रेष्ठ ललितपुरमा जन्मिइन् । आदर्श विद्या मन्दिरबाट स्कुले शिक्षा पूरा गरेकी उनले पाटन क्याम्पसबाट आइएस्सी, त्रिवि शिक्षण अस्पतालबाट एमबीबीएस र पाकिस्तानको लाहोर, पन्जाब युनिभर्सिटीबाट बाल स्वास्थ्यमा एमडी पूरा गरिन् । साहित्य लेखनमा पनि रुचि राख्ने सिर्जनाका नेवारी र नेपाली भाषाका कविता संग्रह प्रकाशित छन् । खोप अनुसन्धानमा पनि सक्रिय उनको हालसालै पोलियो उन्मूलनका लागि दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोग विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सल्लाहकार समूहकी अध्यक्ष पदमा मनोनयन भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालस्वास्थ्यका प्राध्यापक, चिकित्सा शिक्षा तथा स्वास्थ्य अनुसन्धान अभियन्ताका रुपमा काम गरिरहेकी छिन् । मेडिकल स्कुलका डिन लगायत प्रतिष्ठानमा रेक्टरको जिम्मेवारी वहन गरिसकेकी उनीस“ग गरिएको कुराकानी :
चिकित्सा पेसामा लाग्ने प्रेरणा कहाँबाट प्राप्त भयो ?
बाल्यकालमै चिकित्सक बन्ने सोच थियो । घरमा पनि अभिभावकले केही गर्नुपर्छ भन्नुहुन्थ्यो । बालरोग विशेषज्ञ बन्नका लागि एउटा घटनाले मोडिएँ । पाकिस्तानमा इन्टरनल मेडिसिन पढ्न गएको बेला साढे दुई वर्षको छोरालाई ज्वरो आयो । विभिन्न चिकित्सककहाँ उपचार गराउँदा चिकित्सकपिच्छे फरक औषधि र कुरा आयो । यसले मलाई निकै दिक्क लाग्यो र त्यसपश्चात बाल रोग विशेषज्ञ बनेमा आफ्नो बच्चा बिरामी हुँदा आफैं निर्णय लिन सक्छु भनेर इन्टरनल मेडिसिनमा भर्ना भएकी मान्छे बालरोग विशेषज्ञ हुन पुगेँ ।
अहिलेसम्म कहाँँ–कहाँ काम गर्नुभयो ?
एमडी पढ्न जानुअघि पनि पाटन अस्पतालमा मेडिकल अफिसर भएर विभिन्न डिपार्टमेन्टमा दुई वर्ष काम गरें । पाटन अस्पतालमा काम गर्न लागेको २६ वर्ष भयोे । एमडी गरेपछि बालरोग विशेषज्ञ, रजिस्टार, सिनियर रजिस्टार अनि कन्सल्टेन्ट, सिनियर कन्सल्ट्यान्टका रूपमा काम गरें । त्यसपछि डिपार्टमेन्ट चिफ भएर केही समय काम गरें । पाटन अस्पतालको बेसमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्यो । त्यसपछि प्राध्यापक र दोस्रो डिनका रूपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरें । दुईवटा कार्यकाल ८ वर्ष डिनका रूपमा काम गरें । त्यसो त डिन हुनुअघि करिकुलमको काममा सुरुदेखि नै संलग्न थिएँ ।
बालबालिकाको उपचार विधिमा के–कस्तो परिवर्तन आएको छ ?
धेरै परिवर्तन आइसकेको छ । डाइग्नोसिस–डायग्नोस्टिक सुविधामा धेरै परिवर्तन आएको छ । पाटन अस्पतालमा पहिले सिटिस्क्यान थिएन । अहिले सिटिस्क्यान, एमआरआई सबै भइसकेको छ । अहिले अटोमेटेड मेसिनले गर्दा ल्याब टेस्ट सजिलो र धेरै भरपर्दो भइरहेको छ । पहिले पाटन अस्पताल मात्र थियो भने सन् २००८ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ । विभिन्न विशेषज्ञको सुविधा पनि थपिँदै गएको छ । सेवामा वृद्धि, डायग्नोस्टिक्स र उपचार विधिमा पनि सुधारका साथै बिरामीको चाप पनि बढेको छ ।
दुई कार्यकाल डिन र त्यसपछि रेक्टर हुँदा के–के काम गर्नुभयो ?
डिनको पहिलो कार्यकालमा स्नातक तह अर्थात् एमबिबिएस कार्यक्रमको पाठ्यक्रम र परीक्षा प्रणालीलाई सुदृढ बनाइयो । दोस्रो कार्यकालको दौरान स्नातकोत्तर तहमा कम्पिटेन्सीमा आधारित एमडी एमएस कार्यक्रम सुरु गरियो । केही नयाँ फेलोसिपका कार्यक्रम सुरु भए । अहिले केही कोर्सलाई परिमार्जन गर्ने काम भइरहेको छ । भर्खरै पिएचडी इन पब्लिक हेल्थ कार्यक्रम सुरु गर्यौं । पहिलो वर्ष चार जना लिएका छौं । यसमा पब्लिक हेल्थ, मेडिकल, नर्सिङबाट आउन मिल्छ । यसैगरी एमबिबिएसको पाठ्यक्रमको करिकुलम रिभ्युको काम भइरहेको छ । सबै ठीक भए नभएको परिमार्जन गर्नुपर्ने कतै ग्याप छ कि सुधार गर्नुपर्ने छ कि त्यसका लागि रिभ्युको काम सुरु गरेका छौं । हस्पिटल डिजिटलाइज्ड भएजस्तै यता एकेडेमिकमा विद्यार्थीको पढाइ–लेखाइ लगायत मूल्यांकन प्रणालीलाई पनि डिजिटलाइज्ड गर्ने काम गरिरहेका छौं । रेक्टरको जिम्मेवारीमा प्रतिष्ठान अन्तर्गतका तीनवटा स्कुल (मेडिकल नर्सिङ र जनस्वास्थ्य) को अध्ययन–अध्यापन र फ्याकल्टीको वृत्ति विकास पर्छ । करिकुलम, परीक्षा प्रणाली हेर्नुपर्छ ।
यसबाहेक यहाँले गर्नुभएको नोटिसेबल काम के होलान् ?
बाल स्वास्थ्य र अध्ययन अध्यापन बाहेक स्वास्थ्य अनुसन्धानमा पनि काम गर्दै आएको छु । खासगरी संक्रामक रोग र भ्याक्सिनले बचाउन सक्ने रोगहरूका बारेमा पाटन अस्पतालको बालरोग विभागले अक्सफोर्ड युनिभर्सिटी, अक्सफोर्ड भ्याक्सिन ग्रुपसँगको सहकार्यमा यस्ता अनुसन्धान गर्न थालेको २१ वर्ष भयो । हामीकहाँ बालबालिकामा कुन खालका संक्रामक रोगहरू छन् , कुन रोग र कुन खालका किटाणु छन् भनेर अध्ययन गरेका छौँ । त्यसबाहेक बालबालिकामा त्यसबाहेक निमोनिया गराउने निमोकोकस नामक किटाणुको बारेमा अध्ययन गरी कुन खालको निमोकोकोस हाम्रो बच्चाहरूमा देखिन्छ, कुन खालको निमोनियाको खोप लगाउँदा सही हुन्छ भनेर हेर्यौ । साथै हाम्रा बालबालिकाका लागि कुन खोप तालिका उपयुक्त हुन्छ भनेर अध्ययन गर्यौ । त्यो अध्ययनको रिपोर्ट स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखा, खोपको सल्लाहकार समितिमा जानकारी गरायौं । त्यसैका आधारमा निमोनियाविरुद्धको खोप र खोप तालिकाको छनोटको निर्णय गर्न सहज भयो । हाल यो खोप राष्ट्रिय खोप तालिकामा समावेश भइसकेको छ । त्यसैगरी अर्को टाइफाइडको खोप, जुन केही वषै यता सरकारी खोप तालिकामा समावेश भएको छ, त्यससम्बन्धी अध्ययन पनि हामीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेका थियौं । ललितपुर जिल्लाका २० हजार बालबालिकालाई खोप दिएर अध्ययन गर्दा सो खोप सुरक्षित र प्रभावकारी देखियो । यस अध्ययनबाट प्राप्त जानकारीले सरकारलाई टाइफोइड खोप बालबालिकामा लगाउन सुरु गर्न सघाउ पुर्यायो । हाल यो खोप राष्ट्रिय खोप तालिकामा समावेश भइसकेको छ र बालबालिकालाई १५ महिनाको उमेरमा लगाइन्छ । यी दुवै खोपको अध्ययनमा मुख्य अनुसन्धानकर्ताको रुपमा म संलग्न थिएँ । नेपालभित्र मात्र होइन नेपालबाहिर पनि खोपसम्बन्धी नीति निर्माणका लागि यी अध्ययनहरूले सघाउ पुर्याएका छन् ।
अन्य प्रतिष्ठान वा विश्व विद्यालयभन्दा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा के फरक छ ?
संस्था स्थापनाको उद्देश्य फरक रहेको हुँदा हामीले लिएको बाटो अलि फरक छ । गाउँगाउँमा गएर काम गर्न चाहने र काम गर्ने क्षमता राख्ने स्वास्थ्यकर्मी बनाउनुपर्छ भनेर यो प्रतिष्ठान सुरु भएको हुँदा, हामीले पाठ्यक्रम र पढाउन तरिका अलि फरक खालका बनाएका छौं । सामाजिक उत्तरदायित्व बोध भएको डाक्टर र स्वास्थ्यकर्मी बनाउनका लागि समुदायमा गएर बस्ने, त्यहाँबाट सिक्ने र काम गर्ने व्यवस्था गरेका छौ । डाक्टर र नर्सबीच सहकार्य र टिमवर्कका लागि डाक्टर पढ्ने विद्यार्थीहरूले क्लिनिकल पोस्टिङमा आउनुअघि एक हप्ता नर्सको रुपमा काम गर्ने व्यवस्था पनि मिलाइएको छ । त्यस्तै हाम्रा विद्यार्थीहरूले मेडिकल ह्युमानिटीज कोर्स अन्तर्गत मानवीय संवेदनाका बारेमा पनि अध्ययन गर्ने गर्छन् । देशको माटो र परिस्थिती सुहाउँदो स्वास्थ्यकर्मी बनाउने उद्देश्य रहेको हुँदा हाम्रो पाठ्यक्रम र पठनपाठनको विधि त्यसैको सेरोफेरोमा घुम्दछ । त्यसैगरी अन्त जाँच दिँदा रिजल्ट आएपछि नम्बर टाँसिन्छ, हामीले कहिले राख्दैनौं । यसको उद्देश्य विद्यार्थीहरूले एकअर्काबाट सिकुन् , सिकाउन र अनावश्यक प्रतिस्पर्धा नहोस् भन्नुका साथै एक दुईजना मात्र एकदम राम्रा र उत्कृष्ट डाक्टर वा नर्स होइन कि सबै राम्रा र उत्कृष्ट स्वास्थ्यकर्मी बनुन् भन्ने हो ।
डिजिटल स्वास्थ्य सेवा टेलिमेडिसिनमा अस्पतालको योजना के छ ?
टेलिमेडिसिन पहिले पनि थियो । अहिले पनि केही ठाउँमा छन् । केही जिल्लामा गरेका थियौं, बीचमा बन्द भए पनि रिभाइभ गर्ने प्रयास गरेका छौं । ओपिडी पेपरलेस भइसक्यो । वार्डमा पनि डिजिटलाइजेसन गर्ने तयारीमा छौं ।